१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान

रित्तिँदै पहाडी जनसंख्या, आन्दोलनले थलियो मधेश पनि
काठमाडौं । २०७८ सालमा नेपालमा रहेको जीवित जनसंख्यामध्ये १ लाख ५७ हजार ४०४ जनाको जन्म भोजपुर जिल्लामा भएको थियो । त्यसमध्ये १ लाख ४६ हजार ९५२ जना (९३.०४ प्रतिशत) अहिले भोजपुरमा बस्दैनन् ।




उनीहरूले कहिलै नफर्कनेगरी स्थायी बसाइँसराइ गरेर जिल्ला छाडेका छन् । अन्य जिल्लामा जन्म भएका ११ हजार ८५१ जना बसाइँ सरेर भोजपुर गएकोले बसाइँसराइ खुददर ८५.८ प्रतिशतले नकारात्मक रहेको देखिएको छ ।
सोही जिल्लासँग नजिक रहेका दुई जिल्लाहरू, खोटाङ र तेह्रथुमको अवस्था पनि त्यस्तै छ । कुल जनसंख्यामध्ये खोटाङमा १ लाख ७५ हजार ७ जना जन्मिएका थिए । त्यसमध्ये १ लाख ५८ हजार ४८८ जना (९०.६० प्रतिशत) ले जिल्ला छाडिसकेका छन् । उक्त जिल्लामा ८ हजार ८८० जना बाहिरबाट बसाइँ सरेर आएका छन् । योसँगै खोटाङको बसाइँसराइदर ८५.०५ प्रतिशतले नकारात्मक रहेको देखिएको छ ।
त्यस्तै तेह्रथुम जिल्लामा जन्मिएका ८८ हजार २१२ जनामध्ये ७९ हजार ८७२ जना (९०.५ प्रतिशत) मानिस जिल्लाबाट स्थायी रूपमै बाहिरिएका छन् । उक्त जिल्लामा १२ हजार २१० जना बसाइँ सरेर आएकोले खुद बसाइँसराइ भने ७६.७ प्रतिशत मात्रै नकारात्मक रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘नेपालमा आन्तरिक बसाइँसराइ’ प्रतिवेदनमा देखिएको कहालीलाग्दो तथ्यांक हो यो । पूर्वीपहाडी क्षेत्रमा पर्ने यी जिल्लाहरूमा बाँकी रहेको जनसंख्या १५ प्रतिशत हाराहारी मात्रै देखिन्छ । बाँकी ८५ प्रतिशत नागरिक जन्मस्थान छोडेर स्थायी रूपमै बाहिरिसकेका छन् ।
देशको कुल जनसंख्याको अवस्था हेर्ने हो भने स्थायी रूपमै बसाइँसराइ गरेर आवतजावत गर्नेको संख्या मात्रै १ करोड १३ लाख ९५ हजार ५६२ रहेको छ । यो कुल जनसंख्याको झण्डै ४० प्रतिशत हो ।
- कहालीलाग्दो बसाइँसराइ तथ्यांक
तर समस्या यी जिल्लामा मात्रै देखिँदैनन् । पहाडका अधिकांश जिल्लादेखि मधेशका जिल्लासमेत बसाइँसराइको नकारात्मक अवस्थाबाट गुज्रिएका देखिन्छन् । तथ्यांकअनुसार देशका ७७ जिल्लामध्ये ५८ जिल्लाको बसाइँसराइदर नकारात्मक छ । कोशी प्रदेशका १४ मध्ये ११, मधेश प्रदेशका ८ मध्ये सबै, बाग्मती प्रदेशका १३ मध्ये ९, गण्डकीका ११ मध्ये ८, लुम्बिनीका १२ मध्ये ६ जिल्ला, कर्णालीका १० मध्ये ९ जिल्ला र सुदूरपश्चिमका ९ मध्ये ७ जिल्लामा खुद बसाइँसराइदर नकारात्मक रहेको कार्यालयको तथ्यांक छ ।
माथि उल्लेखित तीनबाहेक ताप्लेजुङ, रामेछाप, स्याङ्जा ओखलढुंगा, पर्वत, पाँचथर गुल्मीका जन्मिएको संख्याभन्दा आधा जनसंख्या पनि बाँकी छैन । सोलुखुम्बु, गोरखा, दोलखा, अर्घाखाँची, धनकुटा, लमजुङ र मनाङमा जन्मिएका आधा जनसंख्याले जन्मस्थान छाडिसकेका छन् । यद्यपि बसाइँ सरेर आउने संख्याका कारण यी जिल्लाको जनसंख्या आधाभन्दा कम मात्रैले घटेको देखिन्छ ।

माथि उल्लेख गरिएका जिल्ला सबै पहाडी भेगका हुन् । त्यति मात्रै नभएर यी जिल्ला तुलनात्मक रूपमा सुगम मानिने क्षेत्रसमेत हुन् । त्योभन्दा कम सुगम मानिने जिल्लाको अवस्था त्यत्तिकै नभए पनि कम भने छैन ।
तथ्यांकअनुसार पाल्पा, बैतडी, अछाम, नुवाकोट, रुकुम (पूर्व), दैलेख, धादिङ, म्याग्दी र डोटीमा समेत खुद बसाइँसराइ ३० देखि ४० प्रतिशत नकारात्मक छ ।
त्यस्तै, काभ्रे, सल्यान, दार्चुला, प्युठान, मनाङ, सिन्धुली र रोल्पामा २० देखि ३० प्रतिशत नकारात्मक अवस्था छ । डडेल्धुरा, रसुवा, बझाङ, कालीकोट, तनहुँ, बाजुरा, इलाम, जाजरकोट, जुम्ला, हुम्ला, मुगुमा १० देखि २० प्रतिशत खुद नकारात्मक बसाइँसराइ भएको देखिन्छ ।
रुकुम, डोल्पा सप्तरी, सिरहा, उदयपुर, महोत्तरी, मकवानपुर, रौतहट, बारा, पर्सा, सर्लाही र धनुषामा समेत बसाइँसराइ दर नकारात्मक रहेको देखिन्छ । यद्यपि यी जिल्लामा यो दर १० प्रतिशत भन्दा कम छ ।

उल्लेखितमध्ये १० प्रतिशतसम्म नकारात्मक बसाइँसराइ भएका जिल्लामा मधेश प्रदेशका ८ वटै जिल्ला छन् । अन्नको भण्डार मानिने यी जिल्लामा जनसंख्या बढ्नुको सट्टा उल्टै घट्ने क्रम देखिएको हो । यसमध्ये उपमहानगरपालिकासहित मधेश प्रदेशको राजधानी भएको धनुषा, महानगरपालिका भएको पर्सा र २ उपहानगरपालिका भएको बारा जिल्लामा समेत बसाइँसराइ नकारात्मक देखिन्छ । भित्री मधेशका जिल्ला उदयपुर र बाग्मती प्रदेशको राजधानीसमेत भएको मकवानपुर जिल्लाबाट समेत बसाइँ सरेर जाने क्रम नै बढ्दो देखिएको छ ।
राष्ट्रिय जनगणनाले देशका ३४ जिल्लाको जनसंख्या घटेको देखाएको थियो । बसाइँ सराइको दर भने ५८ जिल्लामा घटेको हो । जुन निकै कहालीलाग्दो तथ्यांक हो ।
- खुद बसाइँसराइ सकारात्मक भएका यी जिल्ला
तथ्यांक अनुसार कोशी प्रदेशको झापा, मोरङ र सुनसरी बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर र चितवन, गण्डकीका कास्की, नवलपरासी (पूर्व) र मुस्ताङ, लुम्बिनीमा नवलपरासी (पश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया, कर्णालीमा सुर्खेत र सुदूरपश्चिमम कैलाली र कञ्चनपुर जिल्लामा खुद बसाइँसराइ सकारात्मक भएको देखिन्छ ।
काठमाडौंमा १९ लाख ८९ हजार ५८२ जना व्यक्ति जन्मिएकोमा थप ११ लाख ३८ हजार ४२६ जना (५७.२ प्रतिशत) बसाइँ सरेर आएका छन् । त्यस्तै, १ लाख २४ हजार ४१० जना (६.३ प्रतिशत) ले स्थायी रूपमा जिल्ला छाडेको देखिएको छ । बसाइँ सरेर आउने र जाने समेतको तथ्यांकअनुसार खुद बसाइँसराइ दर ५१ प्रतिशत रहेको देखिन्छ ।
त्यस्तै, भक्तपुरमा ४ लाख २८ हजार ४३९ जना व्यक्ति जन्मिएकोमा थप २ लाख १५ हजार ११७ (५०.२ प्रतिशत) बसाइँ सरेर आएका छन् भने ३७ हजार २७६ जना (८.७ प्रतिशत) ले जिल्ला छाडेका छन् । यसअनुसार खुद बसाइँसराइ दर ४१.५ प्रतिशत रहेको देखिन्छ ।
त्यस्तै, ललितपुरमा ५ लाख ४१ हजार २२३ जना व्यक्ति जन्मिएकोमा थप २ लाख ५० हजार २८३ जना (५०.२ प्रतिशत) बसाइँ सरेर आएका छन् भने ३९ हजार ७३ जना (८.७ प्रतिशत) स्थायी बसाइँ सरेर गएका छन् । यस अनुसार खुद बसाइँ सराइ दर ३९ प्रतिशतले सकारात्मक देखिन्छ ।

सकारात्मक बसाइँसराइ दर हुने जिल्लामध्ये चितवन, कास्की, कञ्चनपुर, नवलपरासी पूर्व, रूपन्देही कैलाली र झापाको बसाइँसराइ दर २० प्रतिशत भन्दा माथि देखिन्छ । बाँके, सुनसरी, मोरङ, नवलपरासी पश्चिम र दाङमा १० देखि २० प्रतिशत र कपिलवस्तु, बर्दिया, सुर्खेत र मुस्ताङमा १० प्रतिशत भन्दा कम दरले सकारात्मक देखिन्छ । यसमध्ये सकारात्मक बसाइँसराइ भएका पहाडी हिमाली जिल्लाहरू काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र सुर्खेत मात्रै हुन् ।
- जनसांख्यिक असन्तुलनको तथ्यांकमा उठेका सवाल
सुविधाको लागि गाउँबाट शहर पस्ने वा उब्जाउका लागि पहाडबाट तराई–मधेशमा बसाइँ सर्ने क्रम असामान्य होइन । तर उल्लिखित तथ्यांकले केही महत्वपूर्ण प्रश्न उब्जाएको देखिन्छ ।
पहिलो– पहाडमा जनसंख्या घट्दै गर्दा केही जिल्लाको अवस्था मात्रै किन कहालीलाग्दो भयो ?
दोस्रो– विकट कर्णाली बसाइँसराइ दर किन कम भयो ?
तेस्रो– तराई र भित्री मधेशका जिल्लामा समेत किन जनसंख्या घटिरहेको छ ?
चौथो– समस्याको समाधान के हो ?
त्रिभुवन विश्वविद्यालय जनसंख्या शास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. योगेन्द्र गुरुङ धेरै विकट क्षेत्रका भन्दा तुलनात्मक रूपमा सुगम ठाउँबाट बसाइँ सर्ने प्रवृत्ति सुरुदेखि नै बढेकोले केही जिल्लाको बसाइँसराइ दर उच्च देखिएको बताउँछन् । ‘भोजपुर, खोटाङ, तेह्रथुम, ताप्लेजुङलगायत जिल्लाबाट पहिलेदेखि नै तराई झर्ने तथा काठमाडौं आउने क्रम सुरु भएको हो,’ गुरुङ भन्छन्, ‘पश्चिममा स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायत जिल्लाबाट पनि बुटवल झर्ने क्रम पनि पहिलेदेखिकै हो । त्यसैले यी जिल्लामा बसाइँसराइँ दर सबैभन्दा धेरै देखिएको छ ।
यसको विपरित कर्णालीका जिल्लामा बसाइँसराइ दर कम देखिन्छ । कर्णाली र सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्ला सुरुमा निकै विकट रहेको तथा बसाइँ सरेर जनसक्ने क्षमता समेत नभएको कारणले त्यहाँबाट बसाइँसराइ कम भएको उनको भनाइ छ । त्यसबाहेक कर्णाली तथा पिछडिएको विकट क्षेत्र स्थायी घर हुँदा यसले राज्यको सुविधा तथा सहुलियत लिन पाइने भएकाले पनि ती जिल्लाबाट बसाइँसराइ कम भएको हुन सक्ने बुझाइ सरोकारवालाहरूको छ ।
त्यति मात्रै होइन, अहिले तराइँका जिल्लामा समेत नकारात्मक बसाइँसराइको अवस्था देखिन्छ । मधेश प्रदेशका जिल्लाहरू सप्तरीदेखि पर्सासम्मका जिल्लाबाट बसाइँ सर्ने क्रम बढ्नुको पछाडि मधेश आन्दोलनको प्रभाव रहेको प्राध्यापक गुरुङ बताउँछन् । गुरुङ आफै यो प्रतिवेदन तयार गर्ने समितिमा सक्रियतापूर्वक सहभागी भएका व्यक्ति हुन् । उनी भन्छन्, ‘राष्ट्रिय तथ्यांकमा यो विषय लेख्दा विवादास्पद हुन्छ कि भनेर लेखेनौं, तर मधेश आन्दोलनका कारण त्यो प्रदेशलाई जनसंख्यामा ठुलो नोक्सान भएको छ ।’
त्यसो त पछिल्लोपटक बसाइँसराइको ट्रेन्डसमेत बदलिएको उनको भनाइ छ । पहिले जो मान्छे उब्जाउ भूमिका लागि तराइँ झर्थे, अब मान्छेको सोच अर्कै भयो । राम्रो अवसर र सुविधाका लागि बसाइँ सर्ने भए । कतिपय विदेश गएका छन् । त्यसैले यो अवस्था परिवर्तन भएको छ । हामीले यसमा चाहिँ आन्तरिक बसाइँसराइलाई मात्रै उल्लेख गरेका छौँ ।’
- समाधान सम्भव छ ?
बसाइँसराइको यो कहालीलाग्दो समस्या समाधान गर्ने ठोस सूत्र भने कसैसँगै छैन । प्राध्यापक गुरुङ बसाइँसराइ विश्वभरिकै ट्रेन्ड भएकोले यसलाई रोक्न सक्ने अवस्था नभए पनि सेवा सुविधा र रोजगारीको अवसर मिलाउने हो भने ‘रिभर्स माइग्रेसन’ केही हदसम्म सम्भव हुने बताउँछन् । यद्यपि यसलाई रोक्न भने नसकिने उनको भनाइ छ ।
‘सरकारले अहिले पहाडी जिल्लालाई जोड्नेगरी मध्य पहाडी राजमार्ग बनाएको छ । ती क्षेत्रलाई जोड्नेगरी नयाँ सहर विस्तार गर्ने योजना बनाएको छ । यो योजना सफल हुने हो भने यसले जनसंख्यालाई त्यसमा केन्द्रित गर्न सक्छ,’ गुरुङ भन्छन्, ‘सुविधा पनि दिने, अवसर पनि दिने हो भने यसलाई समाधान गर्दै जान सकिन्छ । तर, सुविधा मात्रै बढेर मात्रै हुँदो रहेनछ भन्ने कुराचाहिँ अहिले देखिएको छ । गाउँमा सुविधा पुग्दा पनि मान्छे सहर जाने क्रम रोकिएको छैन ।’
प्रतिक्रिया दिनुहोस्