स्वास्थ्यमन्त्री बिरोध खतिवडाको ‘मनोमानी’ कर्मचारी सरुवामा
‘५ फागुन, काठमाडौं । मेरो कार्यकालमा भ्रष्टाचार, ऐन, नियमभन्दा बाहिर गएर गरेको कुरा लेख्न, देख्न र सुन्न पाउनुहुन्न,’ स्वास्थ्यमन्त्री बिरोध खतिवडाले गत २२ असोजमा पदभार ग्रहण गरेको केही दिनपछि पत्रकार सम्मलेनमा भनेका थिए ।
खतिवडाले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको चार महिनाका बीचमा दुई पटक गरी २० भन्दा बढी उच्च अधिकारीको सरूवा गरेका छन् । हुनत मन्त्रालयहरुमा हुने कर्मचारी सरुवा नियमित प्रक्रिया हो ।
तर, मन्त्री खतिवडाले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले अनुसारको दरबन्दी संरचना र स्वास्थ्य सेवाप्रवाहको सामान्य सिद्धान्त विपरीत सरुवा गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले मन्त्रालय मातहतका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरे । तर, यसमा वरिष्ठता, पद र समूहलाई ख्याल नगरी मनोमानी गरेको उनीहरुको भनाइ छ ।
मंगलबार सरुवा भएका आठ जना उच्च अधिकारीमध्ये सात जनालाई पद समूह नमिल्ने गरी जिम्मेवारी दिइएको छ । ‘आफ्नो निकट भएको संकेत पाएपछि मात्रै जिम्मेवारी हेरफेर गर्ने गरेका छन्,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्री अन्य नीतिगत कामभन्दा सरुवा प्रक्रियामा अल्झिएर बसेका छन् ।’
यसअघि स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का प्रमुख रहेका डा. कृष्ण पौडेललाई मन्त्रालयको नीति योजना महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
नीति योजना महाशाखामा जनस्वास्थ्य प्रशासक राख्नुपर्ने नीतिगत व्यवस्था भए पनि बाल रोग विशेषज्ञ डा. पौडेललाई राखिएको छ । कोरोना महामारीको जोखिम कायम रहेकै बेला ईडीसीडीको नेतृत्व परिवर्तन गर्नु पनि बेठीक भएको जनस्वास्थ्यका जानकारहरु बताउँछन् ।
मन्त्री खतिवडाले ईडीसीडीमा कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याएका छन् । महाशाखामा जनस्वास्थ्य प्रशासकको दरबन्दी भएपनि जनरल हेल्थ सिर्भिसेस समूहका डा. दासलाई जिम्मेवारी दिइएको छ ।
हेल्थ इन्सपेक्सनको दरबन्दी रहेको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा भएका केशव पण्डितलाई हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्र प्रमुखको जिम्मेवारी दिइएको छ ।
पण्डितको सेवा समूह मिल्दा मिल्दै पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा डा. यदुचन्द्र घिमिरेलाई ल्याइएको छ । पटक पटक तालिम केन्द्रको जिम्मेवारी पाएका डा. घिमिरे एकीकृत चिकित्सा समूहका हुन् ।
राष्ट्रिय क्षयरोग केन्द्र तथा रााष्ट्रिय एड्स तथा यौनरोग केन्द्रमा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको दरबन्दी रहेको छ । तर, मन्त्री खतिवडाले राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रको प्रमुखमा ऐन, कानुन विपरीत जनरल हेल्थ सिर्भिसेस समूहकी डा. सुधा देवकोटालाई ल्याएका छन् ।
राष्ट्रिय क्षयरोग केन्द्रमा जनरल हेल्थ सिर्भिसेस समूहका डा. सञ्जय ठाकुरले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहका डा. प्रकाश शाहलाई केन्द्रीय कारागार अस्पतालको जिम्मेवारी दिएको मन्त्रालयको स्रोतले जनाएको छ । केन्द्रीय कारागारमा जनरल हेल्थ सिर्भिसेसको दरबन्दी छ । डा. शाह हाल मन्त्रालयमा फाजिलमा रहेका छन् ।
कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. युवानीधि बसौलालाई दिइएको छ । बरिष्ठ बालरोग विशेषज्ञ बसौला यसअघि भरतपुर अस्पतालमा थिए । कान्तिमा डा. अजित रायमाझी कार्यकारी निर्देशक थिए । डा. बसौलाको भने सेवा समूह मिलेको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन भने सेवा समूह नमिले पनि जिम्मेवारी दिएका व्यक्तिले ६ महिना काजमा काम गर्न पाउने नीतिगत व्यवस्था भएको बताउँछ ।
राजेन्द्र महतो स्वास्थ्य मन्त्री हुँदा पद समूह वा कर्मचारी अभाव भएमा काजमा ६ महिनालाई काम गर्न दिने व्यवस्था गरेका थिए । त्यही बुँदालाई टेकेर भएको ऐन, नियम विपरीत जिम्मेवारी हेरफेर गरिरहेको मन्त्रालयका अधिकारी बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल कर्मचारी अभाव वा पद समूह नमिलेमा ६ महिनासम्म कामकाजमा पठाउने व्यवस्था रहे पनि यसको दुरुपयोग भएको बताउँछन् ।
‘पद समूह मिलेका मानिसहरु फाजिलमा बसिरहेका छन् । आफ्नो पार्टीका मानिसलाई घुसाउने वा आर्थिक लाभको नाममा ऐन, नियम विपरीत काम भइरहेको देखिन्छ,’ डा. प्याकुरेल थप्छन् ।
कर्मचारी सरुवामा मन्त्री खतिवडाले आर्थिक चलखेल गर्ने गरेको मन्त्रालयका कर्मचारीको आरोप छ । मन्त्रीले आफुखुशी निर्णय गर्दा स्वास्थ्य सचिव डा. रोशन पोखरेल मुकदर्शक बनेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘पद र समूह नै नमिल्ने गरी मन्त्री खतिवडाले सरुवा गरिहेका छन् । तर, स्वास्थ्य सचिवले अडान लिन सक्नुपथ्र्यो,’ मन्त्रालयका ती कर्मचारी भन्छन्,’ मन्त्रीले आफ्नो अनुकुलमा निर्णय गर्नका लागि दुई सचिवलाई राखेका छन् ।
’मन्त्री खतिवडाकै चाहनामा मन्त्रालयमा जनसंख्या सचिवका रुपमा देवकुमारी गुरागाईंलाई ल्याइएको मन्त्रालय स्रोतको दावी छ ।
पूर्व प्रमुख विशेषज्ञ डा. प्याकुरेल जिम्मेवारी हेरफेर गर्दा दरबन्दी अनुरुप नै गर्नुपर्ने बताउँछन् । ‘सेवा समूह भनेर नै त्यही आधारमा लोकसेवा खोलिएको हो ।
त्यही अनुसारको दरबन्दी मन्त्रालयका सिर्जना गरिएको हो,’ उनी भन्छन्, ‘नेतृत्व गर्ने ठाउँमा सेवा समूह नमिल्दा उपलब्धि हासिल हुन सक्दैन ।’
मन्त्री खतिवडाले उच्च अधिकारीहरु छिटो छिटो सरुवा गर्ने गरेको र यसले स्वास्थ्य सेवामा सुधार नगर्ने मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।
‘दुई–दुई महिनामा मन्त्रीले जिम्मेवारी हेरफेर गरिरहेका छन् । एउटा विषयमा विशेषज्ञता भएको व्यक्तिलाई अर्को जिम्मेवारी दिँदा स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ भन्ने के आस गर्न सकिन्छ,’ ती अधिकारी भन्छन् ।
मन्त्री खतिवडाले कोरोना खोपमा केही राम्रो काम गरेता पनि स्वास्थ्यका अन्य महत्वपूर्ण कार्यक्रमलाई अगाडि बढाउन सकेका छैनन् । सरकारको महत्वपूर्ण मानिएको स्वास्थ्य बीमा सहज बनाउने नीतिगत काममा पनि खासै ध्यान दिएका छैनन् ।
त्यसैगरी, सरकारी स्वास्थ्य सेवा सुधारमा कोशेढुंगा मानिएको ‘एक स्वास्थ्य संस्थाः एक चिकित्सक÷स्वास्थ्यकर्मी’ कार्यक्रम पनि अलपत्र नै छ । अघिल्लो सरकारले एकै पटक शिलान्यास गरेर सुरु गरेका ३ सय ९७ अस्पतालहरुको निर्माणले गति लिन सकेको छैन ।
मन्त्रालयले अगाडि सारेका प्रतिष्ठान छाता ऐन, फुड एण्ड एडमिनिष्ट्रेसन, सेन्ट्रल फर डिजिज कन्ट्रोललगायतका दूरगामी नीतिगत काममा पनि मन्त्री खतिवडले वास्ता नगरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यशोवद्र्धन प्रधानले मन्त्री खतिवडा विगतका मन्त्री भन्दा फरक नदेखिएको बताउँछन् ।
‘अहिले स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी हेरफेर ऐन, कानुन बोजिम हुने प्रचलन हराइसकेको छ । अगाडिका मन्त्रीले पनि आफ्नो पार्टीका मान्छेलाई घुसाउने गरेको देखियो । खतिवडाले पनि त्यही निरन्तरता दिएको देखिन्छ,’ डा. प्रधान भन्छन् ।
स्वास्थ्यमा दीर्घकालीन रुपमा नीतिगत तहमा काम गरेमा मात्रै स्वास्थ्य सेवा सुधार हुने डा. प्रधान बताउँछन् ।
‘राम्रा–राम्रा दक्ष कर्मचारी मन्त्रालय, विभाग वा अन्य स्वास्थ्य क्षेत्रको माथिल्लो तहमा पुग्न सक्दैन । अहिले त, आफ्ना मान्छे र आर्थिक लोभको आधारमा पद समूह नमिल्नेलाई पनि ऐन विपरीत घुसाउने गरेका छन्’ डा. प्रधान भन्छन् ।
प्रतिक्रिया दिनुहोस्