स्थानीय तह निर्वाचन : ३५ हजार २२१ पदका लागि उम्मेदवारको खोजीमा दलहरु
१२ चैत्र, काठमाडौं । बैशाख ३० गते नजिकिदै गर्दा गाउँमा निर्वाचनको माहोल बन्दै गएको छ। गाउँमा उम्मेदवारको खोजीमा दलहरु जुटेका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालका अनुसार कूल ३५ हजार २२१ पदका लागि चुनाव हुँदैछ। स्थानीय तह निर्वाचन २०७९ आउन मात्र ४९ दिन बाँकी छ।
देशभरीका ७५३ वटै स्थानीय तहमा चुनावी रौनक छाएको छ। देशभरीमा महानगरपालिकाको संख्या ६ वटा छ। ११ वटा उपमहानगरपालिका रहेको छ।
नगरपालिकाको संख्या २७६ भने गाउँपालिकाको संख्या ४६० रहेको छ। ७५३ पालिका प्रमुखका लागि चुनाव हुँदैछ। सोही संख्यामा पालिका उप–प्रमुखका लागि पनि निर्वाचनको तयारी भइरहेको आयोगका सूचना अधिकारी अर्यालले बताए।
उनका अनुसार, ६ हजार ७४३ वडा अध्यक्ष छनौट गरिदैंछ। सोही संख्यामा महिला वडा सदस्य र दलित महिला वडा सदस्यको छनौट निर्वाचनबाट गरिन्छ।
प्रत्येक वडामा २ जना वडा सदस्यका लागि कूल १३ हजार ४८६ पदका लागि मतदाताले मतदान गर्ने तयारीमा छन्।
चुनाव जित्न दलहरु तयारी गरिरहेको बेला आयोगका कर्मचारीहरु भने अन्तिम मतदाता नामावलीको टुङ्गो लगाउन अहोरात्र खटिरहेका छन्।
चुनावको अघिल्लो दिन बैशाख २९ गतेसम्मको मितिलाई हेर्दा झण्डै १ करोड ७९ लाख मतदाताले मतदान गर्ने आयोगको प्राम्भिक तथ्यांकले आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए।
‘चैत्र १३ गते हामीले अन्तिम मतदाता नामावली प्रकाशित गर्ने तयारी गरेका छौं’, उनले भने, ‘नेपालको निर्वाचन इतिहासमा पहिलोपटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी मतदाता उमेर पुगेका र मतदाता नामावलीमा नाम भएकाले मतदान गर्ने पाउने व्यवस्था गरेका छौं।’
यो व्यवस्थासँगै वैशाख ३० मा हुने स्थानीय तह सदस्यको निर्वाचमा मतदाता नामावलीमा नाम समावेश भएका झण्डै २ लाख युवा पुस्ताका मतदाताले मतदान गर्न अवसर पाउने उनले बताए। १८ वर्ष पूरा भएका नागरिकलाई मतदान गर्ने अधिकारी सुनिश्चिता २०७२ को संविधानले नै गरेको छ।
निर्वाचनका लागि झण्डै २ करोड मतपत्र छापिन लागेको छ। ‘निर्वाचनमा प्रयोग गरिने मतपेटीका, स्टामप्याड, स्वस्तिक चिह्न लगातका समाग्रि खरिद गर्न सप्लायर्ससंग सम्झौता भएर काम अघि बढि सकेको छ।
केही दिनभित्र त्यो सरसमान आयोगमा आइपुग्छ। प्याकिङ गरेर जिल्ला निर्वाचन कार्यालय हुँदै समयमै मतदान केन्द्रमा पुर्याउँछौं,’सूचना अधिकारी अर्याल भन्छन्, ‘२२ हजार मतदान केन्द्र तोकिन्छ।
विकटता र सुरक्षालाई मध्य नजर गरेर पहाडी तथा हिमाली जिल्लामहरुमा हेलिकप्टबाट पनि छौं।’
आयोगको परामर्शमा सरकारले स्थानीय तह सदस्य निर्वाचन आउँदो वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने गरी मिति माघ २४ गते घोषणा गरेको थियो।
कानुनतः निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्यसम्पादन गर्न आयोगलाई १२० दिन आवश्यक हुन्छ। आउँदो निर्वाचनका लागि ९५ दिन मात्र निर्वाचन अवधि आयोगलाई प्राप्त भएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र ढंगबाट सम्पन्न गर्न आयोगका प्रमुख आयुक्त दिनेशप्रसाद थपलियाको टोली देश दौडामा निस्किएका छन्। टोलीमा आयुक्त राम प्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, सगुन शमशेर जबरा छन्।
निर्वाचन अचारसंहितालाई कडाइपूर्वक लागु गराउन आयोगले प्रदेश तथा जिल्लास्तरमा अभियान चलाएको छ। चैत्र ९ गतेदेखि चैत्र १७ गतेसम्म सातै प्रदेश केही जिल्ला स्तरमा राजनितिक दल, पदाधिकारी र सरोकारवला संघसंस्थाहरुबीच छलफल तथा अन्तर्क्रिया गर्ने तालिका बनाएको छ।
आचारसंहिता कार्यान्वयका लागि बुधबार आयोगले प्रदेश १ को विराटनगरमा राजनितिक दल, पदाधिकारी, सरोकारवालाबीच अन्तरक्रिया गरेको छ। आचारसंहितालाई कडारुपमा कार्यान्वयन गर्न दलहरुले माग गरेका थिए।
आयोगले चैत्र १५ गतेबाट निर्वाचन आचारसंहिता लागु गर्न आन्तिरिक तयारी गरिरहेको छ। चैत्र ३ गते आयोगबाट ‘निर्वाचन आचारसंहिता–२०७८’ राजपत्रमा प्रकाशित भएको थियो।
७९ वटा दलले निर्वाचनमा भाग लिदैंछन्। राष्ट्रिय दल र अन्य दललाई चुनाव चिन्ह दिन आयोगले आन्तरिक तयारी गरिरहेको छ।
निर्वाचनका लागि २ लाखको संख्यामा कर्मचारीले खटिनेछ। ती मध्य ७७ जना मुख्य निर्वाचन अधिकृतको भूमिकामा हुनेछन्।
प्रतिक्रिया दिनुहोस्