सिल्ट्रेसन ड्याम बाढीले बगायो

श्रोत : ईन्टरनेट

पोखरा । फेवातालमा बर्सेनि जम्मा हुने गेग्य्रान रोक्न भन्दै पोखरा महानगरले बनाएको सिल्ट्रेसन ड्याम बाढीले बगाइदिएको छ ।

पोखरा २३ स्थित हर्पनखोलामा बनेको ड्याम निर्माण पूरा भएको २ वर्ष नपुग्दै बाढीले बगाइदिएको हो  ।

frontline

‘राति आएको बाढीले ड्याम नै बगाइदियो । बढेको पानी अहिले ठूलाखेतको बस्तीमा छिरिसक्यो” पोखरा २३ वडाध्यक्ष भरतराज भण्डारी भन्छन्, ”मान्छेलाई अहिलेसम्म केही क्षति पुर्‍याएको छैन ।

तर, बस्तीका ६ घरलाई भने क्षति पुर्‍याउन सुरु गरिसक्यो ।”

हर्पन खोला फेवातालको मुख्य मुहान खोला मानिन्छ ।

हर्पनजस्तै तालका अन्य सहायक मुहानहरुबाट वर्षेनि १ लाख २४ हजार मेटि्रक टन गेग्य्रान फेवा पुग्ने तथ्यांक छ ।

तिनै गेग्य्रान रोक्ने र ताल बचाउने भन्दै महानगर र प्रदेशले २ वर्षअघि ड्याम बनाएका थिए ।

फेवा मुहानका विभिन्न खोलामा ५ वटा सिल्ट्रेसन ड्याम बनेका छन् ।

०७६ पुस महिनादेखि सुरु गरेको बाँध बनाउने काम १५ महिनाभित्र सक्ने सम्झौतासहित सिल्ट्रेसन ड्याम निर्माण सुरु भएको थियो ।

गण्डकी प्रदेश र पोखरा महानगरको संयुक्त २८ करोड १६ लाख रुपैयाँमा ती ड्याम बनेका हुन् ।

फेवा मुहानका बेत्यानी खोलामा २ वटा, खहरे खोला, घाँटीछिना र लौरुक खोलामा एक/एक गरी ५ वटा ड्याम बनाउने गरी पोखरा २४ स्थित बेत्यानी खोलामा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखराका मेयर मानबहादुर जिसीले शिलान्यास गरेका थिए ।

सुरुदेखि ‘कच्चा माल’, विरोधमा थिए स्थानीय

पोखरा २३, हर्पनमा बगेको उक्त ड्याम खड्का कृष्ण/पि.के जेभी दाङले निर्माणको ठेक्का लिएको थियो ।

जेभीसँग ७ करोड ८८ लाख ६२ हजार रुपैयाँमा ड्यामको निर्माण सम्झौता गरिएको थियो।

०७६ पुसमा निर्माण सुरु भएको उक्त ड्याम बनाउन सुरु गरेदेखि नै विवादित थियो ।

निर्माण शुरु गरेको दुुई महिना नबित्दै सामान्य हातले छुँदा पनि भत्किन शुरु गरेपछि स्थानीयले विरोध नै गरेका थिए ।

छिटो सक्ने नाममा कच्चा सामग्री प्रयोग गरेको र त्यसले बस्ती जोखिममा परेको भन्दै उनीहरुले विरोध गरेका थिए ।

बनिनसक्दै ‘प्लस्टर’ उप्किन सुरु गरेपछि प्रदेश सभामै यसबारे कुरा उठेको थियो ।

तर, प्रदेश र महानगर दुवैले ड्यामको गुणस्तरमा ध्यान नदिँदा बाढीले बगाएर बस्ती नै डुबानमा परेको स्थानीयले आरोप लगाएका छन् ।

पोखरा २३ का जनप्रतिनिधि स्वयं आफ्नो वडामा सिल्ट्रेसन ड्याम बनाउँदासमेत आफूहरुलाई कुनै जानकारी नै नदिएको भन्दै विरोधमा उत्रिएका थिए ।

”म बाँधको विरुद्ध बोलेको थिइनँ । तर, बनाइसकेपछि बलियो बनाउने, राम्रो प्लस्टर त गर्नुपर्‍यो नि !” वडाध्यक्ष भण्डारीले भने, ”त्यसले बस्तीलाई क्षति पुर्‍याउँछ भनेर विरोध गरेका हौं ।”

ड्याममा जम्मा भएको गेग्य्रान समयमै निकाल्न नसक्दा दुर्घटना हुन पुगेको वडाध्यक्ष भण्डारीको भनाइ छ ।

”सुरुमा स्थानीयसँग गरिएको सम्झौताभन्दा अहिले बाँधको क्षेत्र बढाइयो । समयमै त्यहाँ जम्मा भएको गेग्य्रान उठाउन पनि भनेका थियौं ।

नगर्दा यस्तो भयो,” उनले भने ।

ड्यामका ढुंगा, बालुवा बेच्ने जिम्मा निजी कम्पनीलाई

कुल २८ करोड लगानीमा बनेका ती ५ वटा सिल्टेसन ड्यामबाट सुरुआती समयमा महानगरले वाषिर्क २३ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो ।

बाँधमा जम्मा भएका ढुंगा, बालुवाजन्य पदार्थ बेच्ने र आर्थिक आम्दानी गर्ने महानगर र प्रदेश दुवैको योजना थियो ।

तर, हाल आएर ती सिल्ट्रेसन ड्याम निजी कम्पनीलाई सुम्पिएको छ ।

सार्वजनिक निजी साझेदारी (सानिसा) योजनाअन्तर्गत महानगरले २४ वर्षका लागि नदीजन्य पदार्थ बेच्ने अधिकार ‘फेवा सिल्ट्रेसन प्राली’ नामक निजी कम्पनीलाई दिने निर्णय गरेको हो ।

उक्त निर्णय पोखरा महानगरको ४९ औं कार्यपालिका बैठकले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

poster-here