सिके राउतलाई सांसद सापकोटाको चुनौती–आरोप प्रमाणित गर्नुस्

 गोमा लाभ (सापकोटा) जनमत पार्टीकी समानुपातिक सांसद हुन् । पार्टी फुटाउने गतिविधि गरेको आरोपमा उनलाई जनमत पार्टीले सांसद पदबाट हटाउन पटक-पटक प्रयास गरेको छ ।

पार्टीले अनुशासनको कारबाही गरेकाले सभामुखले पनि सूचना टाँस गरेर पदबाट हटाइएको जानकारी दिनुपर्ने माग जनमतको छ । यही मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ मा सभामुख समक्ष निवेदन दिएको थियो । तीनैपटक सभामुखले कारबाहीको निर्णय नगरेपछि चौथोपटक कात्तिक २७ गते पनि जनमतले संसद सचिवालयमा निवेदन दिएको छ ।

frontline

यो पनि पढ्नुहोस

आफ्नै सांसद हटाउन सीके राउतको मरिहत्ते

तर सांसद सापकोटाले भने यसबारे सार्वजनिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेकी छैनन् । अनलाइनखबरले प्रतिक्रिया माग्दा सांसद सापकोटाले विनाकारण आफूलाई सांसदबाट हटाउने प्रयास गरिएको गुनासो गरिन् । आफूले पार्टीको अहित हुने गरी कुनै पनि काम गरेको भन्दै सापकोटाले आफूलाई हटाउन खोज्नुको कारण नबुझेको बताइन् । यदि आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको पनि उनले बताइन् ।

सांसद सापकोटासँग अनलाइनखबरले लिएको प्रतिक्रिया :

तपाईंलाई पार्टीले सांसद पदबाट पटक–पटक हटाउने प्रयास किन गरेको हो ?

खै त्यसको बारेमा मलाई जानकारी नै छैन ।

तपाईंलाई सांसद पदबाट हटाउनुपर्‍यो भनेर तपाईंकै पार्टीले सभामुखलाई पत्र पठाएको थाहा छैन ?

त्यो त अनलाइनखबरको समाचार हेरेर थाहा पाएको थिएँ ।

मिडियाबाट भए पनि थाहा पाएपछि नेताहरुलाई सोध्नु भएन ?

छैन । पार्टीबाट कुनै कुरै आएको छैन । म जिल्लातिरै पार्टीको काममा पनि, आफ्नो काममा पनि थिएँ । अनलाइनखबरमा समाचार देखेपछि के रहेछ भनेर बुझ्न हिजोमात्र काठमाडौं आको ।

खबर बुझ्न भ्याउनु भएको छैन यसको मतलव ?

छैन । केही पनि छैन ।

फोन गर्नुभएन नेताहरुलाई ?

छैन । कसैलाई फोन गरेको पनि छैन ।

यो ठूलो कुरा होइन भन्ने लागेर तपाईंले मतलवै नगरेको कि अरु कुनै कारण छ ?

कारबाही गर्न त मैले गल्ती गर्नुपर्‍यो नि । पार्टीले मलाई किन त्यस्तो गर्न खोज्दैछ त्यसको बारेमा पनि मलाई जानकारी छैन । म त पार्टीको हितका लागि काम गरिरहेको छु । अझै राम्रो गर्ने कोसिस गरिरहेको छु । उहाँहरुले त्यो कुरा बुझ्नुपर्ने हो ।

अनुशासन विपरीत काम गरेको भनेर तपाईंमाथि आरोप रहेछ नि ?

मैले अनुशासन विपरीत, पार्टीको अहित हुने काम त केही पनि गरेको जस्तो लाग्दैन । मलाई पत्र पठाउनु भएको पनि छैन । संसद सचिवालयमा पठाएको पत्रमा पनि मेरोबारेमा के लेखिएको छ भन्नेबारे समेत जानकारी छैन ।

अनि पार्टीले किन त्यस्तो आरोप लगाएको होला ?

मैले केही नगर्दा पनि पटकपटक झुठो आरोप लगाइराख्नु भएको छ । आरोप लगाउँदाखेरि पुष्टि पनि त गर्नुपर्‍यो । मैले त फेरि केही गरेकै छैन । मैले गल्ती गरेको पुष्टि भए त सुरुमै पदबाट हटिसक्थें होला । गल्ती नगरेको, गल्ती नदेखिएको कारणले होला नि त चार-चार पटक पत्र पठाउनुपरेको । गल्ती गरेको भए त एकचोटीमै कारबाही भइसक्थ्यो नि त ।

तर पनि तपाईं चुप लागेर बसेको जस्तो देखिन्छ । आफूमाथि लगाइएका आरोपको किन प्रतिवाद नगर्नुभएको ?

उहाँहरुले मलाई कारबाहीको जानकारी गराउनुपर्‍थ्यो नि त । पार्टीले मलाई बोलाएर एकपटक सोधेको पनि छैन के ।

सभामुखसँग केही छलफल, सोधपुछ भयो कि भएन ?

त्यहाँबाट पनि छैन । संसद नचलेको बेलामा जिल्ला गएको थिएँ । भर्खर फर्किएर आएको छु । अब बुझ्नुपर्ला ।

तपाईंलाई पार्टीले स्पष्टीकरण सोधेको थियो नि । चार–चारपटक कारबाहीको पत्र संसद सचिवालयमा पनि पुग्यो । तर तपाईंले योबारेमा थाहै छैन भन्नुहुन्छ । कसरी पत्याउने ?

स्पष्टीकरण त सोधेको थियो । त्यसमा ममाथि जति आरोप लगाइएका थिए । ती सबै झुठा थिए । मैले गर्दै नगरेका कुरा पनि थिए । त्यसको जवाफ लगाएको हुँ । तर पनि उहाँहरुलाई किन सन्तुष्टि मिलेको छैन भन्ने कुरा चाहिँ मैले बुझ्न सकेको छैन ।

झुठो आरोप लगाइएको हो भने यो कुरा त आफ्ना मतदातालाई जानकारी दिनुपर्छ, सार्वजनिक रुपमा स्पष्ट पार्नुपर्छ भन्ने लागेन ?

गल्ती मैले गरेकै छैन भनेर किन सार्वजनिक रुपमा बोल्नु भनेर नबोलेको हुँ । उहाँहरुले लगाएका आरोप प्रमाणित गर्नुहुन्छ भने ठिकै छ, कारबाही भोग्न तयार छु ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here