सामाजिक सञ्जालमा फिशिङ आक्रमण
प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो दुरुपयोग गर्दै फेसबुक लगायतका सामाजिक सञ्जालमा फिशिङ आक्रमण
काठमाडौं । केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो दुरुपयोग गर्दै फेसबुक लगायतका सामाजिक सञ्जालमा फिशिङ आक्रमण भएको पाइएको छ । प्रयाेगकर्ताकाे गाेप्य डेटामा पहुँच राख्न साइबर हमलाकारीहरूले नेपालमा निरन्तर फिशिङ गरिरहेका छन् ।
पछिल्लाे पटक फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्राेफाइल फाेटाे भएकाे नक्कली अकाउन्टबाट सरकारले ११ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको भन्दै दर्ता गर्न लिंक उपलब्ध गराइएको छ । यस्ता फिशिङ लिंक क्लिक गर्दा फिशिङकाे शिकार हुने जाेखिम रहेकाले सतर्कता अपनाउन सराेकारवालाले सचेत गराएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसैक्रममा नेपाल टेलिकमको नाममा फेसबुक पेज बनाएर साइबर अपराधीहरुले भ्रामक जानकारी सहित फिशिङ लिङ्क राखिएको पोस्ट बुस्ट गरेका छन् ।
यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ । यस्तोमा विभिन्न कम्पनीहरूले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिन आग्रह गरेका छन् ।
पुरस्कार अथवा चिट्ठाको प्रलोभन देखाएर बैंक ठेगाना माग्ने अनि त्यसैको आधारमा खाताबाट पैसा निकाल्नेजस्ता ‘फिशिङ’ का घटना विश्वमा भइरहेका छन् ।
झट्ट हेर्दा पत्यार लाग्नेजस्ता पाेस्ट, ईमेल, फोन अथवा म्यासेजबाट आउने सन्देशहरु तपाईंको सहयोगका लागि नभई तपाईंसम्म पहुच बनाएर फाइदा लिने तरिकाहरु हुन् । साइबर हमलामार्फत क्षति पुर्याउने लक्ष्य फिशिङ गर्नेहरुकाे हुन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले फिशिङका यस्ता घटनाबाट सुरक्षित रहने केही उपाय सुझाएको छ । प्राधिकरणले पुरस्कार अथवा चिट्ठाको लोभ देखाएर आउने ईमेल अथवा फोन कललाई रेस्पोन्स नगर्न आग्रह गरेको छ ।
अपरिचित व्यक्ती तथा ठेगानाबाट आएको ईमेल नखोल्न, ईमेल सङ्गै रहेको अट्याचमेन्ट र लिङ्क नहेर्न पनि प्राधिकरणले सुझाव दिएको छ । त्यस्ता ईमेललाई तत्काल ब्लक अथवा डिलिट गर्न प्राधिकरणले आग्रह गरेको छ ।
यसअघि पनि विभिन्न कम्पनीकाे नाम दुरूपयाेग गर्दै फिशिङ भइरहेकाे छ ।
यो क्याम्पियन अन्तर्गत ह्याकरहरुले विभिन्न मुलुकको स्थानीय फेसबुक पोस्ट तथा पेजहरुको नक्कल गरी तिनै मुलुकसँग मिल्ने किसिमका विज्ञापन तथा अफरहरुको लोभमा पारेर मानिसहरुलाई फिशिङको शिकार बनाइरहेका छन् ।
होस्टेड फिशिङ साइटमा प्रयोगकर्ताहरुका लागि लगइन प्यानल राखिने गरेकाे पाइएकाे छ । जहाँ लगइन गरिसकेपछि प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियल ह्याकरको हातमा पुग्छ ।
त्यसो त फेसबुकले यसअघि नै त्यस्ता किसिमका फिशिङ पेज निर्मुल गर्न एडका लागि अप्रुभ गर्न बन्द गरेको छ । तर स्क्यामरहरुले बिट्ली लिङ्क प्रयोग गर्ने गर्छन्, जुन सुरुमा हेर्दा एउटा इमान्दार पेज जस्तो देखिन्छ । तर अप्रुभ भइसकेपछि ती सबै फिशिङ डोमेनमा परिवर्तन हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्