सहमतिका लागि दबाबको नीति लिन्नँ : अध्यक्ष ओली

८ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा सहमतिका लागि आफूले कसैलाई आग्रह नगर्ने बताएका छन्। सहमतिको आग्रह गर्दा दबाब दिएजस्तो हुने भएकाले यसबारे नबोल्ने अध्यक्ष ओलीले प्रस्ट पारेका छन्। बरु उनले ‘चुनावी प्रतिस्पर्धामा आए हुन्छ’, भनेका छन्।

‘सहमतिका लागि आग्रह गर्दिनँ’, अध्यक्ष ओलीले मंगलबार सञ्चारकर्मीसमक्ष भने, ‘नेताहरूको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ।’ पदाधिकारीको चुनावी प्रतिस्पर्धामा आफू बाधक नबन्ने ओलीले बताए। ‘लोकतान्त्रिक अभ्यासमा मनोवैज्ञानिक दबाब पुग्ने काम पनि गर्दिनँ’, ओलीले भने। 

frontline

ओलीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मै दबाब नदिने स्पष्ट पारे। ‘पदाधिकारीमा पनि त्यही हो, केन्द्रीय कमिटीमा पनि त्यही हो’, उनले भने, ‘त्यसकारण म घुमाइफिराई कुनै पनि हिसाबले सहमतिका लागि दबाबको नीति लिन्नँ।’ 

ओलीनिकट नेताले यो महाधिवेशनलाई सहमतिको बनाउने बताउँदै आएका बेला केहिले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छन्। उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उठ्ने बताइसकेका छन्। अरू थुप्रै नेता पदाधिकारीमा आकांक्षी देखिएका छन्। 

प्रतिस्पर्धीबीच सहमति भएर नेतृत्व चयन हुन सक्ने पनि ओलीले बताए। पार्टीका लागि समझदारी, सहमति र एकता महत्वपूर्ण भएको उनले बताए। सहमति वा निर्वाचनबाट छानिने नेतृत्व सहज रूपमा स्वीकार गर्ने उनले स्पष्ट पारे। 

‘तपाईंलाई सर्वसम्मत अध्यक्ष हुने स्थितिमा केही चुनौती आएको हो ?’ भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘एमाले लोकतान्त्रिक पार्टी हो। यसमा कुनै प्रकारको जोरजुलुम छैन। म उठ्ने–नउठ्ने टुंगो गरेको छैन। त्यसैले मलाई अध्यक्षमा छोड्न वा चुनौती दिन पाइन्छ। अरूलाई नउठ्न दबाब दिन्नँ। म अध्यक्ष भए पार्टीमा सबैलाई समान व्यवहार गर्छु।’

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर उपाध्यक्ष रावलले चुनौती नभई आफूप्रति माया र सम्मान देखाएको टिप्पणी ओलीले गरे। रावलको स्नेहपूर्ण सुझावबाट आफू प्रभावित भएको उनको भनाइ थियो। 

उनले वरिष्ठ उपाध्यक्ष र महासचिवमा आफूले मन पराएको नेता सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने बताए। भने, ‘जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो।’ 

उनले पार्टीमा प्रवेश गरिसकेपछि पूर्वमाओवादी, यो वा त्यो भन्ने नहुने बताए। ‘हामी पार्टीमा पस्नु अगाडि को पूर्वमाओवादी थियो, को के थियो भन्ने होला’, उनले भने, ‘एक ठाउँमा भइसकेपछि हामी एक ठाउँमा छौं। त्यसकारण यो पक्षको व्यवस्थापन, त्यो पक्षको व्यवस्थापन भन्ने छैन।’ उनले आफ्नो काम नेताहरूको व्यवस्थापनमा अल्झिने नभई देश र जनताका समस्या समाधान गर्ने भएको बताए। ‘अब कुन नेताको व्यवस्थापन के ? अहिलेको व्यवस्थापन भने चुनाव लडेर भोट ल्याउनुपर्छ’, उनले भने । 

उनले भने, ‘जुन पदमा भोट ल्याएर जित्छ, त्यही हो व्यवस्थापन। भोट ल्याएर जितेन भने त्यही हो व्यवस्थापन। यो पक्षको व्यवस्थापन, त्यो पक्षको व्यवस्थापन गर्न थाल्यो भने पार्टीभित्र पक्षीय वा विपक्षको निरन्तरता वा नयाँ सिर्जना हामी गर्दैनौं।’ 

उनले केही नेताले पार्टी छाडे पनि एमालेका मतदाता नघटेको दाबी गरे। ‘केही मान्छे बिग्रिएर पार्टी छाडेर गए। त्यसयता सयौंको पार्टी प्रवेशले पार्टी थप बलियो बनेको छ’, उनले भने, ‘आउने निर्वाचनबाट एमाले नै सरकारमा आउँछ।’ 

उनले देश बनाउने नीति, कार्यक्रम र योजना विधान महाधिवेशनले पारित गरिसकेको उल्लेख गरे। यो महाधिवेशनले नेतृत्व निर्माणको काम गर्ने उनको भनाइ थियो। ‘यसपल्ट मूल रूपमा उक्त नीतिहरूको कार्यान्वयनका लागि कस्तो नेतृत्व आवश्यक छ भन्ने छनोटको अभिभारा महाधिवेशनका प्रतिनिधिलाई सुम्पदै छौं’, उनले भने, ‘मुलुकको वर्तमान अवस्था के हुने र अब देशलाई कुन नीति र आधारका साथ अगाडि लान सकिन्छ भन्नेबारे नेतृत्व निर्माण गर्ने महाधिवेशनको मुख्य कार्यसूची छ।’ 

सवारी साधनको उपलब्धताको सीमाका कारण उद्घाटन सत्रमा ५ लाख जनता मात्रै सहभागिता गराउने उनले बताए। उनले नेकपा (एकीकृत समाजवादी)लाई दलीय हैसियतमा महाधिवेशनमा आमन्त्रण गर्न नमिल्ने बताए। वास्तविक कम्युनिस्टहरू एकताबद्ध रहेको तर कम्युनिष्टको बर्काे ओढेकाहरूलाई एकता नगरिने उनको भनाइ थियो। उनले  एमाले न्यायालय स्वतन्त्र, निष्पक्ष र लोकतान्त्रिक प्रणालीयुक्त होस् भन्ने चाहने स्पष्ट पारे। 

उनले एमाले फुट्यो, कमजोर भयो भन्ने भ्रमलाई महाधिवेशनले चिर्ने बताए। पार्टीलाई शुद्धीकरण गर्दै एउटै लयमा अगाडि बढाएर मुलुकको समृद्धिका लागि पुनः नेतृत्व गर्न सक्ने शक्ति आर्जनसमेत गराउने उनले बताए। एमाले एकजुट, सुदृढ र व्यापक छ भन्ने सन्देश महाधिवेशनले दिने उनको भनाइ थियो। 

सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले ५ लाखको सहभागितामा यही मंसिर १० गते चितवनको नारायणी नदी किनारमा विशेष मञ्चमा महाधिवेशन उद्घाटन गरिने बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here