सरकारलाई भारतीय सेना छिरेको सूचना

नेपाल र भारतको सम्बन्ध सदियौं पुरानो छ । छिमेकी मात्र नभएर अन्य धेरै कारणले यो सम्बन्धलाई घनिष्ट बनाएको छ । त्यही सम्बन्ध र विश्वासका कारण दुई देश जोड्ने सीमाना खुला राखिएको छ । भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारतमा बिना भीसा प्रवेश गर्न पाउँछन् । राजनीतिज्ञ, ठूला अधिकारी, प्रहरी, सेनालगायतका सरकारी अधिकृत अफिसियल काममा आउँदा भने जानकारी गराउनुपर्छ, अनुमति लिनुपर्छ । तर, बारम्बार सो नियम लत्याउने काम भइरहेको छ । आश्चर्यजनक कुरा त के भने, उनीहरू नेपाल छिरी आफ्नो ‘मिसन’ सकाएर फर्किसक्दा पनि नेपाली पक्षले सुइँको पाउँदैन । भारतीय अखबार र अनलाइनमा बुट्टेदार खबर निस्किएपछि मात्र थाहा पाउने प्रवृत्तिका कारण नेपालको सुरक्षा संयन्त्रमाथि पटकपटक प्रश्न उठ्ने गरेको छ ।
यसवीच भारतीय सेनाले नेपाल छिरेर गोप्य अपरेशन चलाएको भन्दै हेलो सरकारमा उजुरी परेको छ । गत चैत २ गते परेको टिकट एचएस–डब्ल्युईबी–७९८३२ वाला उजुरी प्रधानमन्त्री कार्यालयले कार्यार्थ गृह मन्त्रालय पठाएको छ । गृहले त्यसबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको बुझिएको छ । गृहको गुनासो व्यवस्थापन शाखाका प्रमुख उपसचिव प्रेमप्रसाद दाहालले प्रहरी मुख्यालयबाट त्यसको जवाफ आइसकेको बताए । जनआस्थासँग भने, ‘प्रहरीले केही दिनअगाडि मात्र त्यसको जवाफ पठाएको छ । पत्रमा भारतीय सेना र प्रहरी नेपाल प्रवेश गरेको जानकारी छैन भनिएको छ । यसविषयमा सातै प्रदेशसँग पनि सोधिएको छ ।’




गत चैतमा काठमाडौंको नागार्जुनबाट झण्डै दुई दर्जन भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको सूचना अनलाइनहरुमा आएको थियो । त्यसपछि मात्रै उजुरी परेकोे हो । पञ्जाब प्रहरीको एन्टी–ग्याङ्स्टर टास्क फोर्स (एजिटिएफ) को टोली एक कुख्यात अपराधीलाई पक्रन आएको ती सञ्चार माध्यमहरुको दावी थियो । भारतीय अर्ध सैनिक बल नेपाल प्रवेश गरेर दादागिरी देखाइरहेको भिडियो अहिले भने सामाजिक सञ्जालमा भाइरल बनेको छ । कञ्चनपुरमा लगाइएको तारबार भत्काएर उनीहरूले नेपाली नागरिकमाथि दमन गरिरहेको पुरानो भिडियो हो त्यो ।
केही समय पहिले ठगी आरोपमा फरार एक नागरिकलाई समात्न भारतीय प्रहरीले ‘अपरेशन’ नै चलाएका थिए । बिहार स्थायी घर भएर नेपालमा लुकिरहेका उनलाई पक्राउ गरेर लैजाँदासमेत नेपालले जानकारी पाएन । भारतीय मिडियाले लेखेपछि मात्र घटना बाहिर आएको थियो । महाकाली नदीमा पौडी खेलेर नेपाल छिर्ने एक भारतीय जवानलाई समातेर फिर्ता पठाएको घटना पनि छ । गृहका उपसचिव दाहालले यस्ता विषयमा सरकार निकै गम्भीर रहेको बताए । प्रहरीलाई चनाखो भएर बस्न निरन्तर निर्देशन दिइरहेको उनको भनाइ छ । ‘यी विषयमा निकै गम्भीर छौं । देशको सुरक्षासँग जोडिएको सवालमा चनाखो हुन गृहले प्रहरीलाई निर्देशन दिइरहेको हुन्छ । भारतीय सेना नेपाल प्रवेश गरेको भिडियोहरू सामाजिक सञ्जालमा आएपछि गृहले तत्काल प्रहरीलाई सोधेको थियो । उताबाट त्यस्तो केही पनि छैन भन्ने जवाफ आएको छ’, उनले भने ।
‘राष्ट्रिय सुरक्षासँग जोड्नुपर्ने विषय होइन’
पूर्वडिआइजी हेमन्त मल्ल एउटा मुलुकको प्रहरी कुनै ‘अपरेशन’ को लागि अर्को मुलुक जाँदा सरकारबाट अनुमति लिनुपर्ने बताउँछन् । एकअर्कासँग समन्वय गरेर ‘अपरेशन’ चलाउने गरिएको उनको भनाइ छ । तर, कहिलेकाँही त्यस्ता घटना हुन जाने उनले सुनाए । ‘पहिले त सरकारबाट अनुमति लिनुपर्छ । त्यसपछि सो मुलुकको प्रहरीसँग समन्वय गर्नुपर्छ । अनि बल्ल जाने हो । नेपाल र भारतको सम्बन्ध निकै गाढा छ । तैपनि कुनै अपरेशनका लागि एकअर्काको मुलुक जाँदा आधिकारिक रूपमा जानकारी गराउनुपर्छ । तर, कहिलेकाँही त्यस्ता छिटफुट घटना हुन्छ । त्यसलाई राष्ट्रिय सुरक्षासँग जोड्नुपर्ने आवश्यकताचाँहि म देख्दिनँ’,उनले भने ।
प्रतिक्रिया दिनुहोस्