समयमा पुस्तक नपुग्दा विद्यार्थीहरूको पठनपाठन ठप्प
१० असार, काठमाडौं । समयमा पुस्तक नपुग्दा माध्यमिक तहका विद्यार्थीहरूको पठनपाठन ठप्प भएको प्रधानाध्यापक प्रेमबहादुर विष्ट बताउँछन्।
विष्टका अनुसार कक्षा ९ का ६२ र १० का ४७ विद्यार्थी कसैसँग पनि प्रथम ऐच्छिक गणित र शिक्षा विषयको पुस्तक छैन। कक्षा १० का केही विद्यार्थीले अघिल्लो कक्षाका विद्यार्थीहरूको पुस्तक प्रयोग गरिरहेको भए पनि कक्षा ९ को पाठ्यक्रम परिवर्तन भएपछि पहिलेको पुस्तक काम लाग्दैन।
अहिलेसम्म पुस्तक नहुँदा समस्या सिर्जना भएको एवम् विद्यालय, शिक्षक र विद्यार्थी सबैलाई मारमा पारेको विष्टको बुझाइ छ।
पाठ्यपुस्तक अभाव मङ्गलासैनी विद्यालय वा दुर्गम भेगका विद्यार्थीहरूले मात्र झेलिरहेको समस्या भने होइन। सुगम क्षेत्रका विद्यालयहरूमा पाठ्यपुस्तकका अभावले समस्या पारेको छ।
काठमाण्डू उपत्यकामा सर्वाधिक विद्यार्थी भएको सामुदायिक विद्यालय बाफलस्थित ज्ञानोदय उच्च माध्यमिक विद्यालयका विद्यार्थीले पुरानो पुस्तकको फोटोकपी गरेर काम चलाइरहेका छन्।
प्रधानाध्यापक नातिकाजी महर्जनका अनुसार कक्षा १० का ४१५ र ८ का ३८० विद्यार्थीहरूले पुस्तक अभावको असर भोगेका छन्। उनीहरूमध्ये कसैले पनि स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण र अकुपेसन विषयका पुस्तक प्राप्त गरेका छैनन्।
काठमाण्डूको सुगम क्षेत्रमा रहेको विद्यालयमा समेत समयमा पुस्तक नआउनुलाई गम्भीर समस्या भन्दै महर्जन प्रश्न गर्छन्: “गाउँ-गाउँको हालत झन् कस्तो होला?”
“अभावको कारणबारे बुझ्दा ‘कक्षा ८ र १० को पाठ्यक्रम अर्को वर्ष बद्लिँदै र अहिले छापे अर्को वर्ष काम नलागेर प्रकाशकलाई घाटा हुन्छ’ भन्ने कुरा सुन्यौँ,” महर्जनले भने।
“घाटा हुन्छ भन्दैमा विद्यार्थीलाई अप्ठ्यारोमा पार्नु हुँदैन। यसअघि कै पुस्तकको केही पाठ फोटोकपी गरेर प्रथम त्रैमासिक परीक्षालाई पुग्दो तयारी गर्दैछौँ।”
पाठ्यपुस्तक छाप्ने जनक शिक्षा सामग्री संस्थानको किताब त्यसपछि पनि नपाए निजी प्रकाशनको पुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गर्ने सोच रहेको उनले सुनाए।
निजी विद्यालयको अवस्था के छ?
देशभरका केही निजी विद्यालयहरूमा पनि पुस्तक अभाव भइरहेको निजी विद्यालयको छाता सङ्गठन प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना बताउँछन्।
निजी विद्यालयहरूले नेपाली, अङ्ग्रेजी र सामाजिक शिक्षा विषयको हकमा जनक शिक्षा सामग्री केन्द्रले नै प्रकाशित गर्ने पुस्तकको प्रयोग गर्छन्।
ढुङ्गानाले भने, “निजी प्रकाशन गृहले त समयमै पुस्तक उपलब्ध गराउने प्रयास गरेका छन्। तर सामुदायिक विद्यालयमा पुस्तक अभाव छ। त्यहाँ नपुगेको पुस्तक निजीले समयमै पाउने कुरै भएन।”
निजी विद्यालयहरूले पाठ्यक्रममा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत जोड दिने भएकाले विद्यार्थीहरूमा पुस्तक अभावको असर पर्न नदिएको उनको दाबी छ।
“सम्बन्धित शिक्षकहरूले यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ। पाठ्यक्रमका आधारभूत कुराहरू विद्यार्थीलाई बुझाइरहनु भएको छ। यसरी विद्यालयमा त काम चल्छ तर घरमा गएपछि मर्कामा पर्ने भनेको विद्यार्थी नै हुन्। उनीहरूलाई गृहकार्य वा पुनर्अभ्यास गर्नै गाह्रो हुन्छ,” उनले भने।
केही विद्यालयले पुराना पुस्तक पुनर्प्रयोगको प्रयास थाले पनि यो धेरै व्यवहारिक नभएको उनले बताए।
पुस्तक झुत्रो हुने, त्यसमा लेखिसकेको वा केरमेट बढी भएको हुने, केही विद्यालयले पाठ्यक्रम वा प्रकाशक नै फेरबदल गर्नेजस्ता गतिविधिहरू अड्चन बन्ने उनले बताए।
“नयाँ कक्षामा नयाँ जोसजाँगर बोकेर आएका विद्यार्थीहरूले पुरानो पुस्तक प्रयोग गर्न नमान्ने पनि देखेका छौँ,” ढुङ्गानाले भने।
जनक शिक्षा सामग्री केन्द्रले बताए अनुसार अहिले देशभर पाँच प्रतिशत पाठ्यपुस्तक अभाव छ।
केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यका अनुसार नेपाली, अङ्ग्रेजी र सामाजिक शिक्षा विषयका पुस्तकहरू निजी विद्यालयले पनि खपत गरेका कारण ती पाठ्यपुस्तक अभाव भएको हो।
त्यसबाहेक आगामी वर्ष पाठ्यक्रम परिवर्तन हुने भनिएको कक्षा ५, ८ र १० का पुस्तकहरू पनि सीमित प्रति छपाइ भएकाले ती कक्षाका पुस्तक नपाएको गुनासो आएको उनले सुनाए।
“अर्को वर्ष पाठ्यक्रम बदलिने भएकाले जति आवश्यक पर्छ त्यति मात्र छाप्न लागेका हौँ। सतर्कता अपनाएर काम गर्दा संस्थालाई घाटा हुँदैन,” आचार्यले भने।
यद्यपि नेपाल पस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले यसै साता सङ्कलन गरेको तथ्याङ्क अनुसार देशभर अझै पनि ४० प्रतिशत पुस्तक अभाव देखिएको छ।
केन्द्रका प्रवक्ता आचार्यका अनुसार शैक्षिक सत्र सुरु हुनु र पुस्तक छपाइको निम्ति समय थोरै हुनु समस्याको मुख्य कारण हुन्।
“गत वर्षको तुलनामा यस पटक महिना दिनअघि नै शैक्षिक सत्र सुरु भयो। हामीसँग पुस्तक छापी सक्न पर्याप्त समय भएन।”
त्यस्तै आफूहरूसँग भएको महामारी अघिको तथ्याङ्कमा भन्दा विद्यार्थीको सङ्ख्या उल्लेख्य बढेको उनको ठहर छ।
एक महिना स्थानीय तह निर्वाचनको लागि मतपत्र छाप्नु र कागज समयमा आपूर्ति नहुनुजस्ता समस्या देखिएको आचार्यले बताए।
नेपाल पस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका अध्यक्ष सञ्जय चौधरी भने केन्द्रको तर्कको खण्डन गर्छन्।
निजी क्षेत्रलाई पर्याप्त कागज आउँदा सरकारीलाई नपुग्नु अविश्वसनीय भएको उनको भनाइ छ।
“यो जनक शिक्षा सामग्री केन्द्रमा मात्र सरकार निर्भर हुनुको नतिजा हो। हरेक वर्ष ‘अर्को वर्ष यस्तो हुँदैन’ भनेको सुनेको दश वर्ष भइसक्यो। कहिलेसम्म विद्यार्थीको भविष्यलाई धरापमा राख्ने?,” उनले भने।
मनसुनअघि पुस्तक नपुगेका दुर्गम ठाउँहरूमा अब सम्भवतः दशैँतिहारपछि मात्र पुस्तक पुग्ने उनको बुझाइ छ।
“वर्षका कारण अब अधिकांश ठाउँमा पहिरो र बाटो भत्किने समस्या देखिन्छ। ती समस्या समाधान हुँदा नहुँदै चाड पर्वको बिदा सुरु हुन्छ,” उनले भने।
शैक्षिक सत्र सुरु भएको महिनौँ बित्दा पनि पुस्तक नपुग्नु सरकारी निकायको कमजोरी भए पनि दोष सामुदायिक विद्यालय र त्यहाँका शिक्षकमाथि जाने उनको भनाइ छ।
“सामुदायिक विद्यालयबाट राम्रो परीक्षाफल अपेक्षा गर्ने हो भने सरकारले समयमा पुस्तक पठाउन सक्नु पर्यो।”
प्याब्सन पुस्तकको पुनर्प्रयोगलाई बृहत् ढङ्गमा अघि बढाउने प्रयासमा छ। यस विषयमा छलफल भइरहेको सङ्घका अध्यक्ष ढुङ्गानाले बताए।
जनक शिक्षा सामग्री केन्द्रले भने कहाँ कुन पुस्तकको अभाव छ त्यहाँबाट आफूहरूलाई जानकारी आए तत्काल समस्या समाधान गर्ने बताएको छ।
“एक जना विद्यार्थीको हातमा एउटा पुस्तक नपुग्नु भनेको पनि अभाव नै हो। हामी जहाँबाट जानकारी आउँछ त्यहाँ भोलिपल्टै पुस्तक पठाउँछौँ,” प्रवक्ता आचार्यले भने।
केन्द्रले जारी गरेको सूचनामा स्थानीय विक्रेतामार्फत ६६ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पुस्तक ढुवानी गरी जेठ ५ गतेदेखि नै बिक्रीवितरण सुरु गरेको जनाइएको छ।
विक्रेताले पाठ्यपुस्तकको प्रादेशिक कार्यालयहरूबाट समयमा पुस्तक नलैजाने र विद्यालयले समयमा खरिद नगरेको केन्द्रको भनाइ छ।
विक्रेताहरूले भने त्यो गलत भएको बताएका छन्।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घकी सचिव शकुन्तला शर्माले भनिन्,”सरकारले शैक्षिक क्षेत्र नै प्रभावित हुने गरी पुस्तक पर्खाएर हुँदैन। जनक शिक्षा सामग्री केन्द्रले मात्र सक्दैन भने निजीलाई उहीँ लागत र मुनाफामा पुस्तक छपाउन दिनु पर्छ।”
जसले समयमा मुद्रण गरेर सहजै पुस्तक पुर्याउन सक्छ, उनीहरूलाई जिम्मेवारी दिनु पर्ने शर्माको राय छ।
पुस्तक अभावले सबैभन्दा ठूलो असर भने विद्यार्थीलाई पर्ने शिक्षक बताउँछन्।
मङ्गलासैनी विद्यालयका प्रधानाध्यापक विष्ट भन्छन्, “विद्यालयलाई पहिलो त्रैमासिक परीक्षाअघि तोकिएको पाठ सक्नु पर्ने दबाव छ। विद्यार्थीहरूलाई पछि एकै पटक धेरै पाठ भ्याउनु पर्दा गाह्रो हुन्छ।”
प्रतिक्रिया दिनुहोस्