सभामुखलाई रविले भने : मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् ।
मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् ।




यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।
मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् ।
लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए ।
गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । पछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।
रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्याएको टिप्पणी समेत गर्दै आएको छ ।
संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो ।
कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रकै आधारमा लामिछानेको सांसद पद निलम्बनमा नपर्नुपर्ने जिकिर रास्वपाका नेताहरूले गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्