सभापतिले एमाले च्यापेको आरोपपछि गोकुल र अमरेशको भनाभन

नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटा र स्वतन्त्र सांसद अमरेशकुमार सिंहबीच चर्काचर्की परेको छ । सिंहदरबारमा केहीबेर अघि सकिएको सार्वजनिक लेखा समितिको बैठकमा उनीहरुले एकअर्कालाई औँला ठड्याउँदै भनाभन गरेका हुन् ।
पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको विषयमा छलफल चलिरहँदा एमाले सांसद तथा समिति सभापति ऋषिकेश पोखरलले बाँस्कोटालाई दोहोर्याएर बोल्न दिएपछि झगडाको शुरुवात भएको थियो । पोखरेलको अनुमतिसँगै बोल्नका लागि गोकुलले माइक समात्नेबितिक्कै सांसद सिंहले ‘एमाले मात्रै बोल्ने हो ?’ भन्दै प्रश्न उठाए ।




त्यसपछि बाँस्कोटाले जंगिदै आफू एमाले भएर नबोलेको जवाफ फर्काए । सिंहले सभापति पोखरेलतिर हेर्दै ‘सबैभन्दा पहिले पनि एमाले, बिचमा पनि एमाले, अन्त्यमा पनि एमालेको मात्र बोल्ने पालो कसरी आयो ?’ भनेर सोधे ।
पोखरेलले भने गलत वाख्या नगर्न आग्रह गरे । सिंहले फेरि बाँस्कोटातिर औँला तेर्साउँदै थपे, ‘बोल्ने भए विषयमा केन्द्रीत भएर बोल्नु न, ठेकेदारको भाषा नबोल्नु, यहाँ त्यस्तो भाषा हामी सहँदैनौ ।’
यत्तिकैमा सभापति पोखरेल भनाभन रोक्न खोज्दै भन्छन्, ‘आफ्नो-आफ्नो पालोमा कुरा राखौँ, मान्यज्यू (बाँस्कोटालाई) तपाई आफ्नो कुरा सक्नुस् ।’ तर उनीहरु रोकिदैनन् । बरु बाँस्कोटाको छेवैमा बसेका एमालेकै अर्का सांसद योगश भट्टराईले पनि सांसद सिंहलाई प्रश्न गर्छन्, ‘को हाे र तपाई डिक्लियर गर्ने ?’
त्यसपछि सिंहको छेवैमा बसेका नेकपा (माओवादी केन्द्र)का सांसद राजन दाहाल र नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आलेले एकै स्वर थप्छन्, ‘बोल्न दिनुपर्यो नि । कि तपाईहरु (एमाले) मात्रै बोल्नुस्, हामी सुन्ने मात्र गर्छौ आज । ल ल, बोल्नुस् के के बोल्ने हो…’
झण्डैँ पाँच मिनेटको भनाभनपछि बल्ल सांसदहरु रोकिएका थिए ।
प्रतिक्रिया दिनुहोस्