सप्तरीमा कालाजार, औलो, स्क्रब टाइफसका बिरामी फेला

८ फागुन, राजविराज । कोरोना संक्रमणको जोखिम कायमै रहेकै बेला सप्तरी जिल्लामा कालाजार, औलो र स्क्रब टाइफसका बिरामी फेला परेको छ ।

पछिल्लो ढेड महिना यता फरकफरक पालिकामा एक–एक जनामा ती रोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

frontline

धेरै ग्रामीण क्षेत्र र विपन्नहरूको बसोबास रहेको सप्तरी जिल्लामा गर्मी मौसमअगावै कालाजार, औलो र स्क्रब टाइफसको बिरामी देखिन थालेको हो । गर्मी बढ्नासाथ लामखुट्टे, भुसुना र मुसालगायतका प्रकोप बढ्ने र त्यसले यी रोगका बिरामी बढ्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार केही समयदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका कञ्चनरूप नगरपालिका–११ का ४८ वर्षीय पुरुषमा कालाजार पुष्टि भएको हो ।

माघ ११ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै ती बिरामीमा दोस्रो पटक कालाजार पुष्टि भएको यादवले जनाए । यसअघि ०७८ भदौ ११ गते उनमा कालाजार पुष्टि भएको थियो ।

हाल उनको प्रतिष्ठानमै उपचार भइरहेको छ । एक जनामा कालाजार फेला परेको र उक्त स्थानका अन्य व्यक्तिमा उक्त रोगको लक्षण भएका बिरामी नदेखिए पनि सचेतना अपनाउनु आवश्यक भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।

उनले उक्त स्थानमा तत्काल लामखुट्टे मार्ने औषधि छर्किनुपर्ने तथा झुलमा सुत्न सचेतना अपनाउनुपर्ने आवश्यकता रहेको बताए ।

तर स्थानीय पालिकाले भने कालाजारका बिरामी फेला परेको बारे अनभिज्ञता प्रकट गरे । कञ्चनरूप नगरपालिकाका स्वास्थ्य संयोजक रामसेवक यादवले कालाजारका बिरामी फेला परेको बारे स्थानीयस्तरमा आफूहरूलाई जानकारी नभएको बताए ।

यसैगरी डाकनेश्वरी नगरपालिका–८ का २३ वर्षीय एक पुरुषमा औलोको पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले जानकारी दिए । डाकनेश्वरी नगरपालिकाका स्वास्थ्य संयोजक उमेश साहले भारतको गुजरातबाट रोजगार गरी फर्किएका एक जनामा औलोको पुष्टि भएको थियो ।

डेढ महिनाअघि उनमा औलो पुष्टि भएको र उपचारपछि अहिले निको भएको स्वास्थ्य संयोजक साहले जानकारी दिए । ‘भारतबाट आएपछि उनी बिरामी भए, परीक्षणको क्रममा औलो पुष्टि भयो,’ उनले भने, ‘गुजरातबाट आएका उनमा मात्र औलो देखियो उक्त स्थानमा अन्य व्यक्तिमा देखिएको छैन ।’

यस्तै, सप्तरीको बोदेवरसाइन नगरपालिका–९ का एक पुरुषमा स्क्रब टाइफसको संक्रमण देखिएको छ । एक महिनाअघि कोसी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा ती बिरामीमा स्क्रब टाइफस देखिएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए । औलो, कालाजार र स्क्रब टाइफसका बिरामी एक/एक जना मात्र देखिए पनि चुनौती भएको यादवले बताए ।

कालाजार सार्ने भुसुनाको आकार लामखुट्टेको दाँजोमा एक चौथाइ मात्र हुन्छ । भुसुनाको शरीरको लम्बाइ १.५ मिलिमिटरदेखि ३.५ मिलिमिटर बीचमा हुन्छ ।

कालाजार रोग सार्ने भुसुना माटोको घर, नमी भएको ठाउँमा राम्ररी हुर्किन्छ । पोथी भुसुनाले आफ्नो फुललाई पोषणका लागि जनावर वा मनुष्यको रगत चुस्छ र यसै क्रममा रोगको किटाणु एक रोगीबाट अर्कोमा सारेर संक्रमित पार्छ ।

यस्तै संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेबाट सर्ने औलो एक प्रकारको ज्वरो हो । यो ज्वरो कामेर आउने गरेकोले बोलचालको भाषामा यसलाई कामज्वरो समेत भनिन्छ ।

औलो रोगको कारण परजीवी किटाणु चारथरीका भए पनि प्लाज्मोडियम भाइवेक्स र प्लाज्मोडियम फेल्सिफेरमले मुलुकमा औलो सार्छ । झुलको नियमित उपयोग र लामखुट्टे टोकाइबाट बाँच्ने प्रयासले यो संक्रमणबाट हदैसम्म बाँच्न सकिन्छ ।

स्क्रब टाइफसको लक्षण डेंगु, ब्रुसिलोसिस, औलोलगायतका थुप्रै संक्रामक रोगसँग मिल्दोजुल्दो हुन्छ । यो संक्रमण वर्षभरि नै हुने गरे पनि वर्षायामपछि र धान काट्ने समय मुसाको चहल–पहल बढ्ने समय बढी देखिने गर्छ ।

स्क्रब टाइफस रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने माइट (किरा) को टोकाइबाट मानिसमा सर्छ । ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने ब्याक्टेरिया (जीवाणु) किरा (माइट) मा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here