सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा, स्थानीयहरु त्रसित

राजविराज । चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ ।

केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लोपटक अपरान्ह ५ बजे मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ ।

frontline

सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको छ ।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सप्तरी, सुनसरी र उदयपुरका स्थानीयहरु त्रसित बनेका हुन् । कोसीको बहाव बढदै गएपछि सुनसरीको चतरा, श्रीलंका टापु क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ सिसौली उत्तर लाहुरेको खोजभन्दा २ सय मिटर दक्षिण तिब्र कटान थालेको छ ।

कटान तिब्र भएकाले धार परिवर्तन गरी कोशी बस्तीमा पस्ने भन्दै बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ का साथै सप्तरीको सप्तकोसी र कञ्चनरुप नगरपालिकाका नागरिकलाई सजक रहन अनुरोध गरेका छन् ।

उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिले तत्काल ३ सय मिटर कटान क्षेत्रमा तटबन्ध गर्ने भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले टापु क्षेत्रका केही स्थानमा नदीले पुनः कटान गरेको बताए ।

भारी वर्षाको सम्भावना रहेको र चतरा क्षेत्रमा कटान भइरहेको जानकारी दिँदै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले सप्तरीको सप्तकोसी, कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाको कोसी किनारका बस्ती तथा होचा स्थानहरुमा कटान हुने तिब्र सम्भावना रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहलाई सतर्क रहन र तयारी अवस्थामा रहन सूचना जारी गरेको छ ।

सूचनामा आगामी ३ दिनसम्म ठूला तथा साना सहायक नदीहरुको तल्लो तटीय होचा तथा डुबान क्षेत्रका बासिन्दाहरुको जिउधनको सुरक्षाका लागि तत्काल आवश्यक तयारी गर्न र आवश्यक सतर्कता तथा समन्वय गर्न अनुरोध गरिएको छ ।

नेपालको सबैभन्दा ठूलो नदी कोसीका सहायक नदीहरू अरूण, तमोर, सुनकोसी, भोटेकोसी, लिखु, तामाकोसी, इन्द्रावती हुन्। पहाडी क्षेत्र र पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले उक्त सहायक नदीहरुको जलस्तर बढ्नाले कोसीको वहान अझै बढ्नसक्ने अनुमान गरिएको छ । साँझ ६ बजे गरिएको मापनमा २ लाख ७० हजार ३०० क्युसेक प्रतिसेकेण्ड बहाव भए पनि उतारचढाव भइरहने कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा रहेको देखाएको छ । जसका कारणसमेत कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ । जलस्तर कमी नभएकाले तटबन्धहरुमा दवाव बढ्दै गएको छ ।

हिमालयबाट उत्पत्ति भएका सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्छन् ।

सुनसरीको लौकही र सप्तरीको भारदहको बीचमा बनेको कोसी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्छन् । भारतको बिहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्ने नदीले वर्षायाममा बाढी आउँदा सप्तरी, सुनसरी, उदयपुर हुँदै भारतको बिहारलाई डुबानमा पार्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here