सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : ६ महिनामा १२३३ जनाको मृत्यु

सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : ६ महिनामा १२३३ जनाको मृत्यु

६ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ ।

frontline

लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा मृत्यु हुनेहरुको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।

गृह मन्त्रालयका अनुसार अघिल्लो आव ०८०/८१ को साउनदेखि पुससम्म १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको मृत्यु भएको थियो । चालु आवको वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको मृत्यु भएको छ ।

गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको मृत्यु भएको थियो । गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा २००, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ ।

अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ ।

भयावह आत्महत्या

मन्त्रालयका अनुसार चालु आवको ६ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले आत्महत्या गरेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ ।

यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ ।

साइबर अपराध

मन्त्रालयका अनुसार चालु आवको छ महिनामा १० हजार ७७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार १८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् ।

यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका ७३१ र टिकटकसँग जोडिएका १५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०/८१ मा कुल १९ हजार ७३०, आव २०७९/८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

४ नगर

poster-here