विदेशीसामु झुक्नुभन्दा जनताको चाहना अनुरूप चल्ने राजसंस्थाको विशेषता हो : राप्रपा अध्यक्ष

श्रोत : ईन्टरनेट

१४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरूप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन्। 

स्व. राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा राप्रपाको भ्रातृ संगठन नेपाल प्राज्ञिक परिषदले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्र : एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्र निर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए।

frontline

उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रूपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन्। 

सिक्किमले देशको पहिचान गुमाउँदै गर्दा राजा वीरेन्द्रले नेपाली राष्ट्रियताको जग बलियो बनाउन ऐतिहासिक भूमिका निर्वाह गरेको प्रसंग उल्लेख गर्दै लिङ्देनले नेपालका राजा र राजसंस्थाले पटक-पटक देशभक्ति प्रमाणित गरेको बताए।

नेपाली कांग्रेसका नेता एवम् नेविसंघका संस्थापक सभापति विपिन कोइरालाले नेपालो संविधानले सबैलाई समेट्न नसकेको बताउँदै संविधान बनाउने मतियारहरू नेतृत्व तहबाट पाखा नलागेसम्म देश बन्न नसक्ने खरो टिप्पणी गरे। 

राप्रपाले महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर राष्ट्रियता, प्रजातन्त्र र धर्म संस्कृतिको रक्षाको आशा राख्ने र परिवर्तनको चाहना राख्ने जनताको ठूलो पंक्तिलाई आशा जगाएको बताएका छन्। 

कोइरालाले दलीय सदस्यबाट गणतन्त्रको राष्ट्रपति चयन हुने व्यवस्था नेपालका लागि उपयुक्त नभएको समेत बताए।

कोइरालाले नेपालमा संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना नभएसम्म देशमा स्थिरत्वा कायम हुन नसक्ने र कालान्तरमा नेपाल सुरक्षित पनि नरहने ठोकुवा गरेका छन्।

पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले राजा वीरेन्द्र राष्ट्र हित र जनताको अपेक्षालाई सर्वोपरि ठान्ने राजा भएको तर राजा भन्नासाथ सामन्त हुने गलत भाष्यको विकास गरेर राजसंस्थालाई बदनाम गरिएको बताएका छन्। 

ज्ञवालीले राजाहरूबाट जलश्रोतको क्षेत्रमा राष्ट्रघात नभएको तर जनताबाट निर्वाचित दल र नेताहरूबाट जलश्रोतमा गम्भीर त्रुटि भएको र त्यसले देशलाई दीर्घकालसम्म असर पार्ने उल्लेख गरे। 

नेपाल भारत सम्बन्धको विषयमा चर्चा गर्दै ज्ञवालीले नेपालले विकासको नजरबाट हेर्ने तर भारतले सुरक्षाको नजरबाट नेपाललाई हेर्ने गरेको हुँदा यदाकदा समस्या पैदा हुने गरेको बताए।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलले राजा वीरेन्द्र जनचाहना अनुरूप चल्ने प्रजातान्त्रिक राजा भएको बताए।

उनले विकास क्षेत्रको अवधारणाले क्षेत्रीय विकासमा योगदान दिने राजा वीरेन्द्रको प्रयास उल्लेखनीय रहेको बताए। 

नेपाल प्राज्ञिक परिषदका अध्यक्ष जयन्तनाथ खनालले इतिहासका राम्रा पक्ष र राम्रा पात्रको योगदानको चर्चा गर्ने परम्पराको अन्त्य भएको गुनासो गर्दै राजा वीरेन्द्रको योगदानबारे विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गर्न माग गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here