“विज्ञापन घोटाला : सम्पादक र पालिकाका अधिकारीमाथि भ्रष्टाचार मुद्दा”

विज्ञापन प्रकाशन नगरी झुटा विवरण पेस गरेर रकम भुक्तानी लिएको आरोपमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले तथा रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बगाले र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवसहित पालिकाका तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।




रौतहटको फतुवा विजयपुर नगरपालिका-४ स्थित कृषकलाई औषधि स्प्रे ट्यांकी वितरणमा अनियमितता गरेको आरोपमा उजुरी परेपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो । ट्यांकी खरिदका लागि आह्वान गरिएको बोलपत्र सूचना पत्रिकामा प्रकाशित गरेको देखाएर पत्रकार र कर्मचारीको मिलेमतोमा सूचनै प्रकाशित नगरी रकम भुक्तानी लिएको खुलेको थियो ।
भुक्तानीका लागि काटिएको चेकमा उल्लेख भएको नामसमेत केरमेट गरेको, नगरपालिकामा रहेका सरकारी कागजात केरमेट गरी सच्याउने कार्य गरेको अख्तियारले फेला पारेको थियो ।
प्रकाशित नै नभएको बोलपत्र आह्वानको सूचना प्रकाशन भएको भनी १ लाख ७२ हजार ८२५ रुपैयाँ जनसवाल राष्ट्रिय दैनिकलाई र ३९ लाख ४ सय तराई पोष्टलाई गरी जम्मा २ लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
श्री कान्त यादव रौतहट
प्रतिक्रिया दिनुहोस्