विचार विज्ञानको सशक्त सङ्ग्रह :नेपाल नखुलेका पाटाहरू

मैले सोधेँ, ‘इलाम कस्तो लाग्यो ? उनले भने, ‘…बाँकी ७४ वटै जिल्लामा अलिअलि इलाम छरिदिउँजस्तो लाग्यो ।’
भूपि शेरचनको यो भनाइ इलामको सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक छ, जुन कुरा त्यहाँको प्राकृतिक सुन्दरता र हरियालीले प्रतिविम्बित गर्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा करिब चार दशक अगाडिबाटै स्थानीय समुदायको निजी प्रयास र मिहिनेतमा हरियाली इलामको जागरण सुरु भयो । चियाको बगान, उत्तिसको वन, अलैँचीका घारी र अम्रिसोका पाखाहरू इलामको भूमिमा विस्तार भए । वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठको पुस्तका ‘नेपाल नखुलेका पाटाहरू’मा इलामको सुन्दरतासँगै समग्र नेपालको भूप्राकृतिक संरचना र लुकेका पाटालाई निकै गहिरोसँग उजागर गरिएको छ ।




५० वटा विचार (आलेख) समेटेर तयार पारिएको यो पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा नेपालको भूप्राकृतिक संरचनाको वर्णन गरिएको छ । ११ वटा विचार रहेको पहिलो खण्डमा नेपालको भू–राजनीतिक अवस्थिति र क्षेत्रफल, हिमाल, पहाड तथा वस्तीहरूका बारेमा चर्चा गरिएको छ । लेखकका अनुसार नेपाल हिमालको काखमा नभई हिमाल नेपालको काखमा बसेको छ । उनी भन्छन्, ‘नेपालको भू–आकार यसको आयतनमा नापिनुपर्छ, क्षेत्रफलले मात्रै पुग्दैन, किनकि नेपाल लम्बाई र चौडाइसँगै उचाइ समेत भएको देश हो ।’
लेखकले पुस्तकमा चुरे क्षेत्रको संरक्षणको महत्त्व, आवश्यकता र यससँगको जनजीवनको सम्बन्धलाई गहिरो रूपमा वर्णन गरेका छन् । चुरेलाई ‘कान्छी बहिनी’को उपमा दिँदै तराई तथा भित्री मधेसको संरक्षण र वातावरणीय सुरक्षाका लागि चुरेको संरक्षण गरिनुपर्ने तर्क गरिएको छ । चुरेको संरक्षणका लागि महेन्द्र राजमार्गको उत्तरी भागमा वन कायम गर्नुपर्ने र दक्षिणी भागमा बसोबास गराउने नीति उपयोगी हुने भएकाले राज्यले यस दिशातर्फ सोच्नुपर्ने सुझाव लेखकले पेस गरेका छन् ।
नेपालको पहाडी भू–बनोट तथा मनसुनी अवस्थालाई मध्यनजर गर्दै लेखकले नेपालको विकास निर्माणका लागि तीन एम (म्यान, मनसुन र माउन्टेन अर्थात् मान्छे, मनसुन र पहाड) लाई सूत्रबद्ध गर्नुपर्ने तर्क गरेका छन् । उनका अनुसार पहाड–पर्वत र मनसुनको गतिशील रहस्यलाई बुझ्न नसक्ने हो भने नेपालको विकास निर्माणमा निकै ठुलो समस्या सिर्जना हुन सक्छन् । यसका साथै नेपालजस्तो जटिल पर्वतीय देशको भू–भागमा स्थानीय पहिचान र रैथाने परिभाषामा आधारित विकास अवधारणा अवलम्बन गरिनुपर्छ ।
पुस्तकमा स्थान नामहरूको महत्त्वलाई उजागर गरिएको छ । कुनै पनि ठाउँको नाम विनाकारण सिर्जना वा परिवर्तन गर्नुहुँदैन भन्ने तर्क लेखकको छ । जौबारी, तोरीखर्क, निबुबटार, चाक्सीबारी, आरुघाट, आँपचौर, लगनखेल, टुँडिखेल, गहते, सल्लेरी सिरुबारी, ल्होमान्थाङ इत्यादि नामले हाम्रो कृषि बाली, फलफूलहरूको इतिहास, ती स्थानका प्राकृतिक परिवेश, वातावरण, धर्म–संस्कृति, परम्परा तथा भाषा–साहित्यको विशिष्ट पहिचान बोकेका छन् । आज ‘माउन्ट एभरेस्ट’ भनेको सगरमाथा हो कि सगरमाथा भनेको माउन्ट एभरेस्ट हो छुट्ट्याउन गाह्रो परिरहेको छ । माछापुच्छ्रे हिमाल ‘फिसटेल’ नामबाट चिनिन थालेको छ । भेडेटारलाई ‘चाल्र्स प्वाइन्ट’ भन्न पाउँदा हामी रमाउन थालेका छौँ । पातले छाँगो आज ‘डेभिड फल’मा परिणत भएको छ । यसले हाम्रो पहिचान, परम्परा र संस्कृतिमाथि असर गरेको छ । स्थान नामहरू जनजीवनसँग सम्बन्धित हुने र तिनले इतिहास बोक्ने भएका कारण कुनै पनि ठाउँको नाम विनाकारण परिवर्तन गर्नुहुँदैन भन्ने तर्क लेखकको छ ।
बाघले आफ्नो वासस्थान छुट्ट्याउन सिमानाको रूपमा आफ्नो पिसाब प्रयोग गर्छ । गाउँगाउँमा बाँदर तथा बँदेलले खेतीबाली खाएर निकै हैरानी दिएको अवस्थामा यसको नियन्त्रणका लागि बाघको पिसाबलाई समेत प्रयोग गर्न सकिने विचार व्यक्त गरिएको छ ।
पर्वतारोहरणको महिमा र सगरमाथाको अस्तित्वका सम्बन्धमा लेखकले एउटा चाखलाग्दो विषय उद्धरण गरेका छन् । एकपटक जर्ज मेलोरीलाई प्रश्न गरिएको थियो– तिमी किन बारम्बार एभरेस्ट चढ्न चाहन्छौँ ? उनको उत्तर थियो, ‘किनभने त्यो त्यहाँ छ ।’ अर्थात् नेपालबाहेक अन्य ठाउँमा सगरमाथा छैन । सगरमाथाको अस्तित्व नेपालमा हुनुको कारण नै मेलोरीजस्ता पर्वतारोही आकर्षित भएका छन्, तर हाम्रा कतिपय हिमशिखर अझै पनि नामविहीन रहेको तथा उपेक्षामा परेका कारण त्यस्ता हिमशिखरलाई राष्ट्रियता, स्थानीयता, भौगोलिक र सांस्कृतिक मूल्य–मान्यताका आधारमा नामकरण गरिनुपर्ने र थप प्रचार–प्रसार गरेर यस्ता अमूल्य सम्पदाबाट हुने आय–आर्जनका अवसर सिर्जना गर्नुपर्ने तर्क पुस्तकमा गरिएको छ ।
लेखकले नेपालको भू–स्वरूप र यसको विविधतालाई लोकतन्त्र र समावेशीकरणसँग समेत जोडेका छन् । नेपालको भौगोलिक विविधतालाई ख्याल नगर्ने हो भने ‘लोकतन्त्र नेपालीको हुने तर नेपालको भने नहुने’ तर्क पेस गरिएको छ । उनी लेख्छन्, ‘लोकतन्त्रले टाउकाको मात्र गन्ती गर्यो र टाउको अटाउने ओतको हेक्का गरेन भने लोकतन्त्र दिगो हुन सक्दैन ।’
लोकतन्त्रको सबलीकरणका लागि भौगोलिक यथार्थतालाई बुझेर समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई अवलम्बन गरिनुपर्छ । भौगोलिक समावेशीकरणका आधार समेत पहिल्याई नेपालको लोकतन्त्र निर्माण हुनुपर्छ । उदाहरणका लागि डोल्पा, मनाङजस्ता जिल्लामा जनघनत्व अत्यन्त कम छ, तर काठमाडौँ लगायत जिल्लामा प्रतिवर्ग किलोमिटर सयौँको संख्यामा मानिस बस्छन् । यस्तो असमानतालाई लोकतन्त्रभित्रको समानुपातिक समावेशीकरणको सिद्धान्तले सम्बोधन गर्न सक्नुपर्छ । भौगोलिक रूपमा सबैको प्रतिनिधित्व सुनिश्चित गर्नेतर्फ राज्यको ध्यान पुग्नुपर्छ । ‘भौगोलिक अग्राधिकार’को व्यवस्थाद्वारा पनि यस्ता विषयलाई सम्बोधन गर्न सकिने तर्क पुस्तकमा गरिएको छ ।
पुस्तकको दोस्रो खण्डमा विज्ञान, प्रविधि र परम्परासम्बन्धी २० वटा विचारहरूमाथि चर्चा गरिएको छ । यस खण्डमा हाम्रा संस्कार तथा परम्परा कसरी विज्ञानसँग जोडिएका छन् भन्ने विषयलाई उजागर गरिएको छ । चङ्गाको संस्कृति र विज्ञानबारे कुरा गरिएको छ । लप्सी, तितौरा र तरुलको महिमा र महत्त्व दर्शाइएको छ । चियाको परम्परा, इतिहास र संस्कृतिबारे व्याख्या गरिएको छ । पारिजात र शिरीषको पनि चर्चा गरिएको छ । गाजा, भाङ र शिवरात्रिको महत्त्वबारे सूचित गरिएको छ । उनी लेख्छन्, ‘गाँजा तथा भाङलाई उचित व्यवस्थापन गर्ने हो भने नेपालले काँचुली फेर्न सक्छ । औद्योगिक राष्ट्रहरूले विकासशील राष्ट्रको सम्पदामा कानुनी अड्चन लगाएर सोही पदार्थ कृत्रिम निर्माण गरी बजारमा एकाधिकार जमाउन शोषणको रणनीति अपनाएका छन्, जसका कारण नेपालको आय–आर्जन र विकासमा गम्भीर असर परेको छ ।’
पुस्तकमा जैविक प्रविधिको जोखिम र सुरक्षाको चर्चा गरिएको छ । ‘जेनेटिक इन्जिनियरिङ’ मानव सभ्यताकै लागि सबैभन्दा ठुलो चुनौती भएकाले जैविक सुरक्षासम्बन्धी स्पष्ट नीति र मार्गनिर्देशन जरुरी रहेको विषयलाई उठाइएको छ । जैविक विविधता, भौगोलिक अवस्था तथा मौसमी फरकपनका कारण वंशाणुगत फेरबदलका लागि नेपाल उपयुक्त भूमि भएको र अन्य देशले ‘जेनेटिक इन्जिनियरिङ’को प्रयोगशाला बनाउन सक्नेतर्फ सरकार सचेत हुनुपर्ने र जैविक सुरक्षातर्फ ध्यानदिनुपर्ने सुझाव पुस्तकमा पेस गरिएको छ ।
पुस्तकले संस्कृतिमा लुकेको सम्पदाको चर्चा गरेको छ । हाम्रा प्रत्येक चाडपर्व जैविक विविधतासँग जोडिएका छन् । दसैँको फूलपातीमा चढाइने ‘नौ’ पाती (केरा, धान, दारिम, बेसार, हलेदो, अशोक, जयन्ती, बेल र कर्कलो) यसैको उदाहरण हो । हरेक पर्वहरूमा केही न केही सांस्कृतिक तथा जैविक मूल्य–मान्यता रहेका छन् । संस्कार र संस्कृतिलाई नबुझी यत्तिकै छाड्नु वा पछ्याउनु हुँदैन भन्ने तर्क लेखकको छ । त्यसैले आजको नवपुस्ता आफ्नो संस्कृतिप्रति जानकार हुनुपर्ने र हाम्रो औपचारिक शिक्षामा समेत संस्कृतिलाई सम्पदाको रूपमा समावेश गर्नुपर्ने सुझाव दिइएको छ ।
जैविक सम्पदा तथा आदिवासी जनजातिका परम्परागत सीप र ज्ञानलाई कानुनी रूपमा अभिलेख गर्नुपर्ने तथा विश्व समुदायमा नेपालको बौद्धिक अधिकार कायम गर्नुपर्ने लेखकको सुझाव छ । यसमा ढिलाइ गर्दा हाम्रा अमूल्य सम्पत्ति अन्य देशको हातमा पुग्न सक्ने र हामी ‘विना लालपुर्जाका जमिन जोत्ने किसान’जस्तै हुनुपर्ने चिन्ता व्यक्त गरिएको छ ।
पुस्तकले पशुबलिका बारेमा चर्चा गर्दै पशुबलि गर्ने संस्कार हाम्रो नभएको विषयमा सचेत गराएको छ । बाइसे–चौबिसे राज्यकालदेखि शाहकालसम्म सिपाहीहरूले खुकुरी र तरबारको भरमा लडाइँ गर्नुपर्ने हुन्थ्यो । त्यसैले रगतसँग खेल्ने बानी बसाल्न पशुवधलाई पर्वका रूपमा लिइएको हुन सक्ने र पछि सोही विषय परम्पराको रूपमा विकास भएको, दोस्रो विश्वयुद्धमा समेत गोर्खालीका खुकुरीको वीरतालाई प्रचार–प्रसार गरेर अङ्ग्रेजले फाइदा उठाएको तर्क गरिएको छ । देवी–देवताका नाममा निरीह र निर्दाेष राँगा–बोकाको शिर छिनाउने कार्य नेपाली संस्कार नभएकाले यो संस्कार त्याग गर्नुपर्ने तर्क लेखकको छ । मासुका लागि पशुपक्षीको वध गर्न सकिने भए पनि सास्ती दिएर देवी–देवताका नाममा वध गर्नु मानवीय धर्म नभएको र यसलाई कानुनी रूपमै रोक्नुपर्ने सुझाव दिइएको छ ।
पुस्तकको तेस्रो खण्डमा १९ वटा विचार प्रस्तुत गरिएका छन् । यस खण्डमा जैविक विविधता र सम्पदाको चर्चा, संरक्षणको प्रयास, आवश्यकता, सिमसारको महत्त्व लगायत विषयमा व्याख्या गरिएको छ । नेपाल जैविक विविधताको क्षेत्रमा अपार धनी रहेको र यसलाई दिगो विकाससँग जोडेर विश्व–व्यापारको आर्थिक प्रणालीमा समावेश गर्न नेपालले प्रयास गर्नुपर्ने विचार व्यक्त गरिएको छ । साथै, जैविक सम्पदा तथा आदिवासी जनजातिका परम्परागत सीप र ज्ञानलाई कानुनी रूपमा अभिलेख गर्नुपर्ने तथा विश्व समुदायमा नेपालको बौद्धिक अधिकार कायम गर्नुपर्ने लेखकको सुझाव छ । यसमा ढिलाइ गर्दा हाम्रा अमूल्य सम्पत्ति अन्य देशको हातमा पुग्न सक्ने र हामी ‘विना लालपुर्जाका जमिन जोत्ने किसान’जस्तै हुनुपर्ने चिन्ता व्यक्त गरिएको छ । जैविक विविधता र रैथाने जैविक प्रजातिको दृष्टिले नेपाल विश्वमै अग्रणी रहेकाले जैविक विविधताभित्रको रैथाने प्रजातिको संरक्षणमा ध्यान दिनुपर्ने विचार लेखकले प्रस्तुत गरेका छन् ।
यस खण्डले राष्ट्रिय निकुञ्ज, सिमसारको महत्त्व, रक्तचन्दनको महिमा, गुराँस, सुनगाभा तथा कृषि बालीको विविधता तथा बाघ र गैँडाको संरक्षणको विषयमा पनि ज्यादै मिहीन ढङ्गले चर्चा गरेको छ । नेपालको संरक्षित जनावरको रूपमा रहेको गैँडाको चोरी तथा सिकारी उसमा हुने ‘खाग’कै कारण बढ्दै गइरहेको सन्दर्भमा गैँडालाई नै शल्यक्रियामार्फत ‘खागविहीन’ गर्न सकिने विकल्प समेत लेखकले दिएका छन् ।
परम्परा, धर्म–संस्कृति अनि प्रकृति समेतलाई विकृत बनाएर जथाभावी रूपमा पर्यटकीय पूर्वाधारका नाममा कंक्रिट निर्माण गर्न नहुने र पर्यापर्यटनको विकासमार्फत लाभ लिनका लागि जैविक विविधताको ख्याल गर्नुपर्ने तर्क ‘माईपोखरी कस्तो नबनाउने’ भन्ने आलेखमा लेखकले प्रस्तुत गरेका छन् । प्रकृतिको यथार्थता बुझेर मात्रै विकास निर्माणका कार्य गरिनुपर्ने र नेपालको विकास प्रयोजनका लागि जिल्ला तथा स्थानीयस्तरको भू–परिवेशमा आधारित पर्यावरणीय नक्सा (इकोलजिकल म्याप) आवश्यक रहेको तर्क पुस्तकमा गरिएको छ । हाम्रा नीति तथा योजना बनाउँदा हिमाली तथा पहाडी जिल्लाहरूको यथार्थता, त्यहाँको औल तथा बेसी क्षेत्रको अवस्था बुझिनुपर्ने र नेपालको जैविक विविधतालाई लाभका रूपमा लिएर जैविक विविधता अनुसारका उत्पादनमा अन्य देशसँग प्रतिस्पर्धा गरिनुपर्ने विषयलाई लेखकले सुझावको रूपमा उठाएका छन् ।
प्रकृति संरक्षणको सवालमा ‘जंगल, जनावर र जनता’लाई अलग्गाएर हेर्न नमिल्ने विचार लेखकको छ । जैविक विविधता व्यवस्थापन, सिमसार संरक्षण, प्रकृति संरक्षणको क्षेत्रमा हामीसँग पर्याप्त अध्ययन, अनुसन्धान नभएको; पर्याप्त सूचना समेत नहुँदा व्यवस्थापनमा वैज्ञानिक आधार तय हुन नसकेको र पर्याप्त जैविक सम्पदा र सम्पत्तिले नेपाल सम्पन्न भए पनि नेपालले लाभ लिन नसकेको तर्फ सरोकारवालाको ध्यानाकर्षण गरिएको छ । लेखक बढ्दै गएको प्रकृतिको दोहनप्रति ज्यादै चिन्तित देखिन्छन् । उनी भन्छन्, ‘प्रकृतिले हामीलाई धनी बनायो तर हामी प्रकृतिलाई जीर्ण बनाउनतिर लाग्यौँ ।
लेखकले सिमसार संरक्षणको महत्त्व र आवश्यकतामाथि निकै महत्त्वपूर्ण विषय उठाएका छन् । सिमसारलाई ‘गरिबको जीवनरेखा’को रूपमा प्रस्तुत गरिएको छ । सिमसारको संरक्षण गर्न चराको संरक्षण गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘विनाचराको सिमसार मृत मिर्गौलाजस्तै हुन्छ ।’ नेपालको तराई क्षेत्रको आधारको रूपमा तीन ‘च’ (चुरे, चारकोसे झाडी र चरा) को चर्चा गरिएको छ । यी तीन ‘च’ को संरक्षण नहुने हो भने उर्वर तराई बलौटे मरभूमिमा परिणत हुनेतर्फ सचेत गराइएको छ ।
पुस्तकमा लेखकले नेपालमा निकै सफल मानिएको सामुदायिक वनको समेत चर्चा गरेका छन् । यस सफलताका चुनौतीका सम्बन्धमा पनि चर्चा गरिएको छ । ‘सामुदायिक वन :सबैका लागि सधैँका लागि’ भन्ने विषय हराउँदै गयो भने यसमा बढ्दै गएको जनसहभागिता, गहिरिँदै गएको आस्था र उत्तरदायित्व भत्किने हुँदा यसतर्फ विशेष ध्यान दिनुपर्ने सुझाव लेखकको छ । नेपालमा बेलाबेला उठ्ने गरेको बाघ र मान्छे बिचको द्वन्द्व र बाघ संरक्षणको महत्त्व समेत पुस्तकमा चर्चा गरिएको छ । बाघले आफ्नो वासस्थान छुट्ट्याउन सिमानाको रूपमा आफ्नो पिसाब प्रयोग गर्छ । गाउँगाउँमा बाँदर तथा बँदेलले खेतीबाली खाएर निकै हैरानी दिएको अवस्थामा यसको नियन्त्रणका लागि बाघको पिसाबलाई समेत प्रयोग गर्न सकिने विचार व्यक्त गरिएको छ ।
नेपालका पहाड, पर्वत, भीरपाखा, भञ्ज्याङ, हिमाली क्षेत्र तथा तराईका फाँटहरूमा करिब पाँच दशकसम्म पैदलै हिँडेर अध्ययन तथा अनुसन्धान गरेका डा. तीर्थबहादुर श्रेष्ठको प्रस्तुत पुस्तक वन, वनस्पति, जैविक विविधता, सिमसारसम्बन्धी रुचि हुनेहरूका लागि र हाम्रा सांस्कृतिक परम्पराहरूको वैज्ञानिक पक्षहरूबारे बुझ्न खोज्नेका लागि निकै गतिलो स्रोतका रूपमा रहेको छ । साथै, नेपालको विकास प्रशासन, योजना व्यवस्थापन तथा नीति निर्माणको सन्दर्भमा समेत पुस्तकमा प्रस्तुत विचार विज्ञानका बहुआयामिक विषय गहिरोसँग बुझेर अगाडि बढ्न सरोकारवालालाई मार्गदर्शन समेत गरेको छ ।
पुस्तक :नेपाल नखुलेका पाटाहरू
लेखक :डा. तीर्थबहादुर श्रेष्ठ
सम्पादन :राजेन्द्र दाहाल
प्रकाशक :बुक हिल पब्लिकेसन प्रालि, काठमाडौँ ।
प्रतिक्रिया दिनुहोस्