वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड

समाचार सारांश
- नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षायाममा पहिरोको समस्या समाधानका लागि काम सुरु गरिएको छ।
- गत वर्षको दुर्घटनाबाट पाठ सिक्दै, संवेदनशील ठाउँहरूमा पहिरो नियन्त्रणका उपायहरू अपनाइएका छन्, जसमा चेक ड्याम र खोल्सो बनाउने काम समावेश छ।
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा वर्षायाममा हुनसक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ । गत वर्षको असारमा सिमलतालमा दुई वटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनिएर नारायण लामिछानेका अनुसार संवेदनशील ठाउँहरुमा पहिरो नियन्त्रणका काम भएका छन् । गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागमा लेदो बगेर नआओस् भन्नका लागि ससाना ‘चेक ड्याम’ निर्माण गरिएको उनले बताए । यस्तै मौरी खोला पुलको माथिल्लो भागमा पनि चेक ड्याम र खोल्सो बनाउने (लाइनिङ) को काम भएको छ ।
कालीखोलालगायतका जोखिमयुक्त ठाउँहरुमा पनि आवश्यकता अनुसार पहिरो रोकथामका काम भएको उनले बताए । उनले भने, ‘यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरौँ ।’ पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको उनी बताउँछन् ।




कार्यालयले सडकखण्डको सेतीदोभान क्याम्पमा ब्याकुलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको उनले जानकारी दिए । यसैगरी भरतपुरको कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पहिरो नियन्त्रण र पहिरो खसिहालेमा तत्काल पन्छाउनका लागि आवश्यक तयारी गरिएको बताए । उनका अनुसार डिभिजन सडक र सुरक्षा निकायका अधिकारीहरुको बीचमा यसअघि छलफल गरी तयारीको काम सुरु गरिएको छ । गत वर्षको असार २८ गते दुई वटा रात्रि बस बगाउँदा ६२ जना हाराहारीलाई बगाएको थियो । तीमध्ये कतिपय अझै बेपत्ता छन् । ती दुई बस समेत फेला परेका छैनन् ।
सिमलतालमा बेपत्ता बसका ३९ यात्रु अझै भेटिएनन्
गत वर्षको असार २८ गते राति दुईवटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।
दुवै बस अहिलेसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता छन् । तीमध्ये सात जना भारतीय यात्रु रहेकोमा दुई जना मृत फेला परेका थिए भने चार जना अझै बेपत्ता छन् ।
त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए । तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् ।
लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो ।
उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो । तर गोताखोरले पनि बेपत्ता यात्रु र बस बस फेला पार्न सकेका थिएनन् । त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस फेला नपरेका हुन् । कतिपय शव त्रिशूली र नारायणीका विभिन्न क्षेत्रबाट फेला परेका थिए । दुई वटा शव भारतमा फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्