लोक्पा पहिरो : पन्छाउन नसक्दा चामललगायत दैनिक उपभोग्य सामग्री अभाव
१३ असोज, गोरखा । लोक्पा पहिरो पन्छाउन नसक्दा चुम्चेत र छेकम्पारका बासिन्दालाई चामललगायत दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ। चुमनुब्री गाउँपालिका ६ को डुयुखोला र सर्दीभीरको बीचमा गत असारदेखि निरन्तर झरेको पहिरो पन्छ्याएर बाटो सुचारु गर्न नसक्दा खाद्यान्न लगायतका सामग्री अभाव हुन थालेको स्थानीयबासीको गुनासो छ।
आठसय मिटर लामो पहिरोमा मान्छे तथा खच्चड हिंड्न सक्ने अबस्था नरहेको वडाअध्यक्ष सरोज लामाले जानकारी दिए। सडक सञ्जालले नछोएको सो क्षेत्रमा खाद्यान्न लगायतका सामग्री ढुवानी गर्ने एक मात्र माध्यम खच्चड हो।
‘असारअघि ढुवानी गरेर राखेको चामल, खानेतेल, चिनीलगायतका खाद्यान्न सकिन थालेको छ। अहिले ढुवानी गर्न पहिरोमा खच्चड हिँडाउन सकिँदैन’, लामा भन्छन्, ‘पहिरो आठसय मिटर लामो छ। जतिचोटि बनाए पनि, भोलिपल्टै पहिरो झरेर बाटो लैजान्छ।’
सो पहिरोका कारण लोक्पाभन्दा माथिका वडा नं. ६ का चुम्लिङ, चुम्चेत, सिप्चेत, खार, ताज्यू, रेञ्जम, घो, याच्र्यू, खारगुम्बा, थारोङका २८० घरधुरीका बासिन्दा र वडा नं. ७ का नौ वटा टोलका तीनसय भन्दा धेरै घरधुरीका बासिन्दा आवतजावत गर्न नसकेका उनले बताए।
ती सबै ठाउँमा भोटे लामा समुदायको बसोबास छ। खाद्यान्न ढुवानी गर्न नसक्दा गाउँघरमा धार्मिक तथा सांस्कृतिक कार्यहरु गर्न पनि नसकिएको स्थानीयबासीको गुनासो छ।
‘गुम्बामा बत्ती बाल्ने तेल छैन। चामलको पनि अभाव छ’, चुमनुब्री ७ का ङवाङ लामा भन्छन्, ‘अकालमा मरेकाहरुको नाममा गुम्बामा ४५ दिनभित्र बत्ती बाल्नुपर्छ। तोर्मा लगायतका प्रसाद चढाउनु पर्छ। गाउँलेलाई खुवाउनु पर्छ, तर तेल, चामल लगायतका खाद्य सामग्री नहुँदा पितृकर्म गर्न पनि पाएका छैनन्।
’पहिरोका कारण बाटो अवरुद्ध हुँदा पर्यटकहरु चुमभ्याली जान र पुगेका पर्यटक फर्कन समस्या भएको अर्का स्थानीय सेराप गुरुङ बताउँछन्। ‘केहीदिनअघि गाउँलेहरु मिलेर बल्लतल्ल पहिरो पन्छ्याएका थियौँ। एक ग्रुप पर्यटक पनि पहिरो कटेर चुमभ्याली पुगेका थिए तर रातभर पानी परेर फेरि सबै बाटो लग्यो’, उनी भन्छन्, ‘त्यसपछि चुमभ्याली पुगेका पर्यटक फर्कन पनि पाएनन्। वडा नं. ७ मा लैजान भनेर लोक्पामा थुपारिएको खाद्यान्न त्यतिकै रहेको छ।’
पहिरो पार गर्ने वैकल्पिक बाटो पनि नरहेको अर्का स्थानीय गोपाल लामा बताउँछन्। ‘जति दुख गरे पनि, जति खर्च गरे पनि त्यहाँ पहिरो नियन्त्रण गर्न सकिने अबस्था छैन। वैकल्पिक बाटो खुलाउने ठाउँ पनि छैन’, उनी भन्छन्, ‘धोर्जुङडाँडाबाट जाने हो भने दुई दिनको बाटो बढि हिड्नु पर्छ। बीचमा बस्ती छैन। जंगलमा बास बस्नु पर्छ। त्यहाँ पनि ठूलो खोला छ। बाटो उस्तै कहालीलाग्दो जोखिम छ।’
गतबर्ष यही ठाउँमा गएको पहिरो तीन महिनासम्म खुल्न नसक्दा खाद्यान्न अभाव टार्न हेलिकोप्टरले खाद्यान्न ढुवानी गरेको वडा नं. ७ का पूर्व वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए। ‘मुख्य कुरा त यहाँ तिब्बतबाट खाद्यान्न ढुवानी गरिन्थ्यो, तर तीनबर्ष भयो, तिब्बती नाका पनि खुलेको छैन।
तल्लो भेगको बजारबाट सामान ढुवानी गर्न पनि पहिरोले रोकेको छ’, उनी भन्छन्, ‘पोहोर पनि यस्तै समस्या भएको थियो। सरकारले वडा नं. ६ र ७ का बासिन्दाका लागि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको थियो। ढुवानी भाडा निशुल्क भए पनि चामल भने किनेर खान पाएका थियौँ, तैपनि जनता खुशी थिए। तर यसपाल त त्यो पनि पाइएन।’ पैसा भएर पनि पसलबाट खाद्यान्न किनेर खान नपाएको उनको गुनासो छ।
स्थानीय उत्पादन कुटानी पिसानी गर्न विद्युतीय मिल पनि नभएको र पुरानो पानीघट्टा पनि विस्थापित भएको चुमनुब्री ७ मिङ्ग्युर दोर्जे लामाले बताए। ‘यहाँ १२ महिनामा एक खेती मात्र हुन्छ।
अहिले गहुँ, जौ, करु र आलु भित्र्याउने सिजन हो’, उनले भने, ‘तर विद्युत क्षमता नहुँदा विद्युतीय मिल चल्दैन। ढुवानी गर्न नसक्दा पेट्रोल मिल पनि चलाउन सकिएको छैन।’ पहिरोले गर्दा चुमनुब्री ६ र ७ का बासिन्दालाई असाध्यै सकस भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्