रेलको गीत : रेलको बाटो पुग्दैछ रे

- प्रधानमन्त्री केपी ओलीले रेल परियोजनाका बारेमा र गीतहरूको महत्व व्यक्त गरे।
- नेपालमा रेलको गीतहरू परम्परागत र आधुनिक शैलीमा लेखिएका छन्।
- रेलको गीतहरूले वियोग, प्रेम र परदेशको पीडालाई व्यक्त गर्छन्।
प्रधानमन्त्री केपी ओलीले एकफेर भनेका थिए, ‘केरुङ–काठमाडौं, काठमाडौं–पोखरा रेल । पोखरा रेल आइसकेपछि बेनीसम्मका लागि केही भन्नुपर्ला जस्तो लाग्दैन । पोखरा रेल आएपछि बेनी जाँदैन ?’
अस्ति भर्खर चाहिँ उनले बालुवाटारमा कलाकर्मीमाझ यसो भने, ‘हामीले गरेको काम किन नदेख्ने ? अब जनकपुरको रेलबारे पनि गीत लेख्नुहोस् ।’ दार्जिलिङको रेलबारे धेरै गीत लेखिएको सुनाउँदै उनले कलाकर्मीलाई यस्तो आग्रह गरेका थिए ।




त्यसो त धेरैजसो नेपालीले रेलको सक्कल देखेकै छैनन् । रेल चढ्ने परको कुरा । किनभने नेपालमा जनकपुर-जयनगर रेलबाहेक अन्यत्र छैन । तर, रेलको गीत यतिविध्न लेखिएको छ कि, मानौं पूर्व ओलाङ्चुङगोलादेखि पश्चिम घनघश्याको उकालोसम्म रेल दौडिरहेको छ । लिपुलेकदेखि कन्चनपुरसम्म रेल दौडन्छ ।
जतिबेला हामीकहाँ रेल कुदाउने भाषण नै हुँदैनथ्यो, त्यसबेला पनि रेलको गीत चल्तीमा थियो । ‘रेलै घुमेर, गयो बहिनीको आधा उमेर ।’ राम थापा र सुनिता सुब्बाको आवाजमा यो गीत अहिले पनि युट्युबमा सुन्न सकिन्छ । लोकभाकाको यही गीत नेपालमा सर्वाधिक सुनिएको ‘रेल गीत’ हुनुपर्छ ।
‘चोली दिउँला मखमली, साडी दिउँला फाइबर
मै हुँ कान्छी रेलको ड्राइभर’
कल्याण शेरचनले गाएको यो गीत निकै रमाइलो छ । कुनै मायालुलाई फकाउने शब्दलहर यसमा उनिएको छ । मखमली चोली, फाइबरको साडी किनिदिने बाचासहितको गीतमा स्थायी यस्तो छ, ‘सोह्र वर्षे उमेरमा मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भइयो र।’
गायक रामकृष्ण ढकालले पनि रेलको गीत छुटाएका छैनन् । उनको एउटा गीत यस्तो छ, ‘पहाडको छुकछुके रेल, गयो माया रोक्दै नरोकी । यसमा रोमान्टिक नभई प्रेमविरहको भाका छ । त्यसो त रेललाई कहिले उमंग त कहिले वियोगको बिम्ब बनाइएको छ । जस्तो एउटा निकै प्रचलित गीत छ, रेल सम्बन्धी ।
यो गीतको स्थायी यस्तो छ, ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा ।’ लोकबहादुर क्षेत्रीले गाएको यस गीतले त्यसबेलाको नेपाली परिवेशमा विदेशिनेको पीडा व्यक्त गरेको छ ।
रेल नै नभएको मुलुकमा रेलको गीत चाहिँ किन लेखियो होला ? किन गाइयो होला ? यसको फेरो खोज्दै जाँदा परदेश जाने नेपालीहरूको अनुभव र याद जोडिन्छ । जनजीविकाको खोजी गर्दै मुग्लाङ पस्ने नेपालीले रेल देखे, रेल चढे । सम्भवत घर फर्केर उनीहरूले रेलको कथा सुनाए । यसरी वैभव र विरहसँग रेलको किस्साहरू जोडिए ।
दशकौं अघि मात्र होइन, अहिले पनि रेललाई उस्तै बिम्ब बनाएर गीतहरू तयार गरिएको छ । त्यसमध्ये निकै मर्मस्पर्शी गीत हो, ‘रेलको बाटो ।’
सुदूरपश्चिमको विकट धरातल र कठिन जीवनलाई चित्रित गर्दै यो गीत तयार गरिएको छ । गीतको शब्दलहर यस्तो छ–‘रेलको बाटो पुग्दैछ रे, तिमी बस्ने शहरैमा….।’
सिटामोलको अभावमा रोग पाल्नुपर्ने, गर्भावस्थामा ज्यानै गुमाउनुपर्ने, एक मुठी नुनका लागि ज्यानको बाजी थाप्नुपर्ने भूगोलका बासिन्दाले रेलको कल्पना कसरी गर्छन् ? यस गीतले भन्छ । सुरज पण्डितले गाएको यो गीतको पृष्टभूमिमा सरकारले चीनको केरुङ नाकाबाट रेल ल्याउन गरेको तयारीबारे समाचार राखिएको छ ।
कहिले विरहको भाकामा त कहिले रोमाञ्चकताको, कहिले जन जीविकाको भाकामा त कहिले वियोगको । अनेक ढंगले रेलको गीत गाइएको छ । ‘चरी उड्यो बादल छुनलाई, म बसेको रेलै गुड्यो, कान्छी बसिन् एक्लै रुनलाई’ गीतको भाव पनि वियोगान्त छ । तर यसलाई लोक पप शैलीमा गाइएको छ ।यस्तै स्टेज प्रस्तुतीका लागि अहिलेका सर्वाधिक चल्तीका गायक दुर्गेस थापाले पनि रेललाई छाडेका छैनन् । उनले पूर्ववत् शैलीमा रेलको गीत यसरी गाएका छन्, ‘कि दुर्गे रेलमा, कि दुर्गे जेलमा ।’
हेमन्त रानादेखि नेपथ्य व्यान्डसम्मले रेलको गीत घन्काइसकेका न् । नेपथ्यको ‘उडायो रेलैले’ त जनजिब्रोमा झुन्डिएको गीत नै भयो । भनिन्छ वि.सं. १९८५ मा मेलवादेवी गुरुङले रेलको गीत गाइसकेकी थिइन् । उनको गीतको शीर्षक थियो, सवारी रेलैमा । यो नै पहिलो गीत थियो, जसमा नेपाली महिला स्वर रेकर्ड गरिएको थियो । मेलवादेवीले रेलको गीत गाइरहँदा सम्भवत नेपालमा मोटरगाडी पनि दुर्लभ हुँदो हो ।
आखिर रेल देख्दै नदेखको भएपनि, रेल चढ्दै नचढेको भएपनि हामीले रेलको गीत गाएकै छौं । यसैमा ढुक्क छौं । जस्तो पछिल्लो सुपरहिट गीतमा भनिएको छ,
प्रतिक्रिया दिनुहोस्