रेमिट्यान्स बढ्दा राष्ट्र बैंकमा थुप्रियो ४ खर्ब, तरलता खिच्न बढाइँदै दीर्घकालीन उपकरण

News Summary
Generated by OK AI. Editorially reviewed.
- वित्तीय प्रणालीमा अधिक तरलता समस्या रेमिट्यान्स आप्रवाह र उपभोगमा कमीले बढेको हो।
- केन्द्रीय बैंकले विदेशी मुद्रा बिक्री र निक्षेप संकलनमार्फत प्रणालीको तरलता नियन्त्रण गर्छ।
- आइतबार ४२ दिने निक्षेप संकलनमा ४० अर्ब रुपैयाँ माग र ४२ अर्ब २० करोड संकलन भयो।




१ असार, काठमाडौं । वित्तीय प्रणालीको अधिक तरलता समस्या दिनहुँ बढ्दै गएको छ । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधार र उपभोगमा आएको कमीले अधिक तरलता समस्या झनै बढेको हो ।
आर्थिक गतिविधिमा आएको सुस्तताका कारण समग्र बजारको माग बढ्न सकेको छैन । बजार माग नबढेपछि उपभोग पनि बढ्न सकेको छैन । त्यसले गर्दा बैंक वित्तीय संस्थाको कर्जा लगानी समेत अपेक्षा अनुसार बढ्न सकेको छैन ।
रेमिट्यान्स आप्रवाह बढी राख्ने र उपभोगमा सुधार नआउँदा वित्तीय प्रणालीमा अधिक तरलता समस्या देखिएको हो । आइतबारसम्म मात्रै वित्तीय प्रणालीको अधिक तरलता निक्षेप संकलन र स्थायी निक्षेप सुविधा मार्फत कुल ४ खर्ब १५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको छ ।
चालु आव वैशाखसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स स्वदेश भित्रिएको छ । गत आव सोही अवधिमा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आव वैशाखमा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड छ । गत आव सोही अवधिमा १ खर्ब १५ अर्ब ९९ करोड थियो ।
रेमिट्यान्स आप्रवाह बढ्दा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई बिक्री गरी नेपाली रुपैयाँ लैजाँदा तरलता अधिक हुन मद्दत पुगेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पँगेनीले बताए ।
‘उपभोगमा अपेक्षित सुधार नआएपछि वित्तीय प्रणालीमा अधिक तरलता भएको हो,’ पँगेनीले भने, ‘रेमिट्यान्स निरन्तर बढेको छ, उपभोग बढेको छैन, कर्जाको मागमा समेत हुनुपर्ने जति नहुँदा प्रणालीको पैसा केन्द्रीय बैंकमा खिचिएको हो ।’
रेमिट्यान्स आप्रवाहमा आएको सुधारले बैंक तथा वित्तीय संस्थासँग विदेशी मुद्रा सञ्चिति बढेको छ । बैंकहरूले तोकिएको सीमाभन्दा धेरै विदेशी मुद्रा राख्न पाउँदैनन् । त्यसपछि सीमाभन्दा धेरै भएको विदेशी मुद्रा केन्द्रीय बैंकलाई बिक्री गर्नुपर्छ ।
केन्द्रीय बैंकले विदेशी मुद्रा लिएर बैंक तथा वित्तीय संस्थालाई दिएको पैसाले अधिकत तरलता भएपछि विभिन्न वित्तीय औजार मार्फत सोही पैसा फिर्ता लगेको हो । यसरी केन्द्रीय बैंकले पैसा फिर्ता लिँदा बैंकहरूलाई ३ प्रतिशतसम्म ब्याजदर दिने गरेको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भए पनि अल्पकालीन ब्याजदरमा अस्वाभाविक गिरावट आउँछ । त्यसैले केन्द्रीय बैंकले ब्याजदरको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न पनि प्रणालीको तरलता खिच्छ ।
पछिल्लो समय केन्द्रीय बैंकले प्रणालीको तरला खिच्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ । तर, पछिल्लो समय अल्पकालीन निक्षेप संकलन उपकरणभन्दा पनि दीर्घकालीनमा केन्द्रीय बैंकले जोड दिन थालेको छ । आइतबार केन्द्रीय बैंकल जेठयता २ पटक ४२ दिने निक्षेप संकलन उपकरण प्रयोग गरिसकेको छ । त्यसभन्दा पनि धेरै अवधिको निक्षेप उपकरणका सन्दर्भमा समेत राष्ट्र बैंकको खुला बजार कारोबार समितिमा छलफल भइरहेको पँगेनीले बताए ।
आइतबार केन्द्रीय बैंक ४० अर्ब रुपैयाँ बराबर ४२ दिने निक्षेप संकलन माग गरेको थियो । त्यसमा बैंक तथा वित्तीय संस्थाले ४२ अर्ब २० करोड दिन तयार भएका थिए । आइतबार निक्षेप संकलनको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्