राजावादी शक्तिहरूमा फेरि बढ्यो अविश्वास, अब प्रदर्शन के होला ?

राजावादी शक्तिबीच सुरु भएको मेलमिलाप आइतबार राति भने देखिएन । संयुक्त जनआन्दोेलन समितिमा रहेका नेताहरूका अनुसार राप्रपालाई सुवेदी नेतृत्वको संयुक्त आन्दोलनसँग केही कुरामा असन्तुष्टि छ ।

  • राजावादी शक्तिहरूबीच १५ जेठदेखि सहमति भए पनि १८ गतेको आन्दोलनपछि अविश्वास फेरि देखिएको छ।
  • राप्रपा र अन्य शक्तिहरूले संयुक्त आन्दोलनबाट अलग हुन र विरोध प्रदर्शन गर्न थालेका छन्।
  • सुवेदी नेतृत्वको समितिले आगामी कार्यक्रमको निर्णय गर्न बैठक बस्ने तयारी गरेको छ।

१९ जेठ, काठमाडौं । १५ जेठदेखि संयुक्त आन्दोलन गर्न बल्लतल्ल सहमत भएका राजावादी शक्तिहरूबीच नै फेरि अविश्वास देखिएको छ ।

frontline

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्रको पक्षमा हुने आन्दोलनमा नवराज सुवेदीको नेतृत्व अस्वीकार गर्दै आएको थियो । १५ जेठबाट राजतन्त्रको पक्षमा हुने आन्दोलनमा भने राप्रपासहित अन्य राजावादी शक्ति सुवेदीको नेतृत्वमा एकताबद्ध भए । अनिश्चितकालीन आन्दोलनमा सुवेदीको नेतृत्व स्वीकार्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट लगायत सहमत भएका थिए । राजावादी नेताहरूको दाबी अनुसार राजतन्त्रको पक्षमा भएको आन्दोलनमा ४४ वटा शक्ति छन् ।

बल्लतल्ल जोडिएका राजावादी शक्तिहरूमा १८ गतेको आन्दोलनपछि भने एक अर्काप्रति अविश्वास फेरि पैदा भएको छ । १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका राजावादी शक्तिहरूको सामूहिक प्रतिबद्धताको पहिलो बुँदामै उनीहरूले आइतबारदेखि उल्लंघन सुरु गरिसकेका छन् । उक्त बुँदामा भनिएको छ, ‘परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारको बीचमा सामाञ्जस्यता कायम गर्दै सबै विचारधारा र शक्तिहरू अटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना ।’

राजावादी शक्तिबीच सुरु भएको त्यही सामञ्जस्यता आइतबार राति भने देखिएन । संयुक्त जनआन्दोेलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, राप्रपालाई सुवेदी नेतृत्वको संयुक्त आन्दोलनसँग असन्तुष्ट देखिएका छन् ।

संयुक्त जनआन्दोेलन समितिले आइतबारका लागि नक्सालस्थित नारायणचौरमा विरोध प्रदर्शन राखेको थियो । प्रहरीको घेरो तोडेर प्रदर्शन गर्न अघि बढ्न खोजेपछि राप्रपाका नेता कमल थापासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

थापालाई भेट्न गएका राप्रपा नेता एवं प्रतिनिधि सभा सदस्य दीपक सिंहलाई पनि प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएको थियो । नेताहरू प्रक्राउ परेपछि आन्दोलनकर्मीका नेतृत्वकर्ता सुवेदीले विज्ञप्ति निकालेर सोमबारका लागि उपत्यकाका बन्दको घोषणा गरे ।

बन्द घोषणा गर्दै सुवेदीले निकालेको विज्ञप्तिमा भनिएको थियो, ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु ।’

राप्रपालाई संयुक्त जनआन्दोलनबाट अलग गरिसकिएको उल्लेख गर्दै समितिका प्रवक्ता नेपालले अनलाइनखबरसँग भने, ‘राप्रपालाई छोडि पनि सकेको हुनाले र आज दरबार हत्याकाण्डको दीप प्रज्ज्वलन गर्न ठीक हुन्छ भनेर आजको बन्द फिर्ता लिएका हौं ।’

अबेर साँझ प्रहरीले नियन्त्रणमा लिएका एक जना बाहेकलाई रिहा गरिदियो । अर्कोतर्फ, सुवेदी नेतृत्वको समितिले बन्दको घोषणा गरेपछि सबैतिरबाट विरोध सुरु भयो । राजावादी शक्तिहरूसँग समन्वय नगरी सुवेदीले बन्दको आव्हान गरेका थिए । बन्दलाई राप्रपाले अस्वीकार गरिदियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो दल बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्ष रहेको बताए । उनले अबेर राति सामाजिक सञ्जालमा लेखे, ‘आज सरकारको तर्फबाट पक्राउ परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसंग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु ।’

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ बन्द घोषणा गर्ने पक्षले आवश्यक समन्वय नगरेको बताउँछन् । ‘हामी बन्दको पक्षधर कहिले होइनौं । राप्रपाले बन्द नगर्ने घोषणापत्रमै लेखेको छ । उहाँहरूले बन्दको घोषणा गरिदिनुभयो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हामीले बन्द अस्वीकार गरेपछि फिर्ता लिन बाध्य हुनुभयो नि ।’

राजावादी शक्तिहरू नै बन्दको विपक्षमा देखिएपछि संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले सोमबार विहान विज्ञप्ति निकालेर उपत्यका बन्द फिर्ता लिए । हिजोको मिति राखेर बिहान सबेरै सार्वजनिक भएको विज्ञप्तिमा ‘हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेकको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ,’ उल्लेख गरिएको छ ।

राजावादी शक्तिहरूमा एकत्व नभएको आजको विरोध प्रदर्शन के गर्ने ? भन्ने अन्योल पनि देखिन्छ । अनिश्चिकालीन आन्दोलनको घोषणा गरेका राजावादी समूहले सोमबारका लागि अबेरसम्म के गर्ने निर्णय लिन सकेका थिएनन् ।

आइतबार राति राप्रपा अध्यक्ष लिङ्देनले आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भए पश्चात आफ्नो दलको सक्रिय सहभागिता हुने जनाएका थिए । पूर्व राजा वीरेन्द्र शाहको देहवसान भएको दिन परेको हुँदा १९ जेठ (आज) जुलुस, धर्ना लगायतका आन्दोलन नगर्ने सुवेदी नेतृत्वको समितिले जनाएको छ । आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रम राखिएको सुवेदीले जानकारी गराएका छन् ।

गत चैत ४ मा संयुक्त जनआन्दोलन समिति गठन हुँदा आफूहरूसँग आपसी सल्लाह नभएको भन्दै सुवेदी नेतृत्वको समितिमा लिङ्देन, थापा र विष्ट सदस्य बस्न अस्वीकार गरेका थिए ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको जनकमाण्डर दुर्गा प्रसाईंलाई तोकिएपछि लिङ्देन, थापा लगायतका नेताहरू सहभागी भएनन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा भने तीनकुनेको प्रदर्शनमा सहभागी भएका थिए ।

मिश्र र राणालाई सुवेदी नेतृत्वको समितिमा समेत राखिएको थियो । लिङ्देनले राप्रपाले आफ्नै दलको नेतृत्वमा राजसंस्थाको पक्षमा आन्दोलन गर्ने बताएका थिए । श्रेष्ठका अनुसार बन्दको विषयमा फरक मत रहेको र अन्य कार्यक्रम छलफल गर िसंयुक्त रुपमा निर्णय हुनेछ ।

थप कार्यक्रम तय गर्नका लागि आज बैठक बस्ने भनिएपनि समय भने निर्धारण भएको छैन । राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘कि आन्दोलन सकियो भन्नुपर्‍यो । होइन भने आज बैठक गरेर अबको आन्दोलनको कार्यक्रम निश्चित गर्नुपर्‍यो ।’

संयुक्त आन्दोलनका समितिका प्रवक्ता नेपालले अपरान्ह बैठक बस्ने जानकारी गराएका छन् भने राप्रपा प्रवक्ता श्रेष्ठले समय निश्चित नभएको बताए ।

राजावादी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here