राजावादीलाई रास्वपाको जवाफ– हाम्रो कुनै सहकार्य हुँदैन

News Summary
Generated by OK AI. Editorially reviewed.
- राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी समूहसँग कुनै सहकार्य नराख्ने स्पष्ट पारेको छ।
- संयुक्त जनआन्दोलन समितिले रास्वपासँग सहकार्यको प्रस्ताव गरे पनि पार्टीले अस्वीकार गरेको हो।
- समितिले यस महिनाको १५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी समूहसँग आफ्नो पार्टीको कुनै सहकार्य नहुने बताएको छ ।




पार्टीका कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले अनलाइनखबरसँग कुराकानी गर्दै राजावादी समूहका कुनै पनि गतिविधिमा आफूहरूको संलग्नता नरहने प्रष्ट पारेका हुन् ।
संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले पत्र लेख्दै सहकार्यको प्रस्ताव गरेको थियो ।
‘हाम्रो समर्थन, हाम्रो सहकार्य अनि ऐक्यबद्धता केही हुँदैन । हामी सार्वजनिक संस्था हौं,’ अर्यालले भने, ‘पार्टी हौं यस्ता पत्र आउन सक्छन् । हाम्रो केही समर्थन, ऐक्यबद्धता संलग्नता केही हुँदैन ।’
रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गरेर आन्दोलनमा सहकार्य गर्न जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पत्रमार्फत प्रस्ताव गरेका थिए ।
सुवेदीले वर्तमान व्यवस्थामा रास्वपा सभापति रवि लामिछानेले निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त भएको पत्रमा लेखेका छन् ।
सुवेदी नेतृत्वको रहेको समितिले यसै महिनाको १५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्