राजनीतिक समितिको संयोजक बनेपछि पौडेल गुटमा खटपट

३ मंसिर, काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडल उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनेपछि पौडेल गुटमा खटपट सुरु भयो। पार्टी सभापति शेरबहादुर देउवाइतर गुटबाट सभापतिमा एक जना मात्र उम्मेदवारको कुरा अघि बढिरहेको थियो। तर, सल्लाह नै नगरी सुटुक्क समितिको संयोजक बनेको भन्दै पौडेलमाथि गुटकै नेताहरू रिसाए। त्यसपछि सभापतिको उम्मेदवार आफू बन्न सबै नेता सक्रिय बने। 

सभापति देउवाले बोलाएपछि पौडेल फुरुङ्ग परेर गएको भन्दै सबैभन्दा पहिले प्रकाशमान सिंह पौडेलमाथि खनिए। अर्कोतिर महाधिवेशनको मैदानमा आफैं उत्रिने अवस्था देखेपछि नेता सिंहले पौडेलबाट पार्टी नचल्ने सार्वजनिक अभिव्यक्तिसमेत दिए। उनको सो अभिव्यक्तिपछि पौडेल र सिंहबीच दूरी बढेको छ। उनीहरूबीच लामो समयदेखि बोलचालसमेत भएन। केही दिनअघि पौडेलले डाकेको बैठकमा नेता सिंह अनुपस्थित भए।  

frontline

बिहीबार बिहान भने पौडेल सिंह निवास चाक्सीबारीमा पुगेको प्रकाशमानले बताए। उनले भने, ‘पौडेल जी आउनुभएको थियो। उहाँ आफू पनि सभापतिमा अघि बढ्छु मलाई सघाउनुहोस् भन्नुभयो। मैले म पनि सभापतिबाट पछि हट्ने उम्मेदवार हैन भनेँ। अरू खास विशेष छलफल भएन।’ पौडेलले आफूलाई सभापतिमा लड्न नदिने छाँट देखेर आफूलाई एक वर्षका लागि सभापति दिएमा पार्टीलाई प्रतिनिधिसभाको निर्वाचनमा बहुमत ल्याएर देखाइदिने भनी लोभ्याउँदै आएका छन्। पौडेल निकट देखिएका अर्जुननरसिंह केसीलगायतका नेताहरू पौडेललाई सभापतिमा उठाएर आफूहरू पदाधिकारीमा अटाउने दाउमा छन्। नेता अर्जुननरसिंह केसी भन्छन्, ‘सहमति गरेर जाउँ भन्ने हो। यदि गर्नै सकिँदैन भने यसपटक पौडेलजीलाई मौका दिऊँ। उहाँ अर्को पटक लड्दिनँ भन्नुभएको छ। एक जुट हुन नसक्दा देउवाजीले कब्जा गर्ने पक्का हो।’

यसैगरी महामन्त्री डा. शशांक कोइरालाले पनि पूर्वमहामन्त्री प्रकाशमान सिंहको पकड काठमाडौंमा मात्रै रहेको भन्दै अभिव्यक्ति दिए। शशांकले काठमाडौं बाहिर उनलाई कसैले नचिन्ने बताएपछि  सिंह उनीसँग पनि आक्रोशित छन्। महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा नेता कार्यकर्तासँगको भेटका क्रममा सिंहलाई काठमाडौं बाहिर कसैले नचिन्ने हुँदा उनले पार्टीलाई नेतृत्व दिन नसक्ने बताएका थिए। त्यसलगत्तै नेता सिंहले पनि महामन्त्री कोइरालालाई जवाफ फर्काएर आफ्नो रेकर्ड पल्टाएर हेर्न भनेका थिए। 

यता सिंहले पार्टी विभाजन हुँदा शेरबहादुर देउवा र एकतापछि गिरिजाप्रसाद कोइरालासँग उपसभापति भएर काम गरेको कुरा निकालेर सहानुभूति समेट्ने प्रयास गर्दैछन्,। सिंहले भने, ‘मलाई कसैले थपक्क ल्याएर राखिदिएको हैन गणेशमान सिंहको छोरा मात्र मेरो परिचय हैन। मैले जिरो लेभलबाट राजनीतिमा आएको हुँ।’

शशांकले बोली फेरे नेतृ सुजाता कोइराला पनि आफूलाई मन्त्री नबनाएको भन्दै वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँग रुष्ट छिन्। त्यसैले उनले पनि पौडेल र शशांकबाट पार्टी नचल्ने अभिव्यक्ति दिइसकेकी छन्। 
जिल्लाको कार्यक्रम सम्बोधन गर्न संखुवासभा पुगेका शशांक पत्रकारसमक्ष शेखर कोइरालालाई आफूूले सभापतिमा नछोडको बताए। शशांकले भने, ‘शेखर दाईले किन त्यसो बोल्नुभयो मलाई थाहा छैन। सभापतिमा म दाबेदार हुँ। देउवाजीलाई पछि पार्न मेरो नेतृत्वले मात्र सम्भव छ।’ संस्थापनइतर समूहमा रहेका केन्द्रीय सदस्य डा. शेखर कोइराला भने चुप नै देखिन्छन्। 

नेता पौडेलले संस्थापनइतर समूहलाई एक ढिक्का राख्न आफू सभापतिको उम्मेदवार बन्नुपर्नेमा जोड दिन छाडेका छैनन्। तर, नेता सिंहले आफूले सभापतिको तयारी अगाडि बढाइसकेकाले पौडेललाई अभिभावक भएर बस्न आग्रह गरेका छन्। 

कुटिल सिटौला 
नेता कृष्णप्रसाद सिटौलाको छुट्टै समूह छ। उनी १३औं महाधिवेशनदेखि कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन्। सिटौलाले यतिबेला कोइराला परिवारभित्रको नेतृत्व विवादमा मुख खोलेका छैनन्। उनले भने, ‘यस्तै हुन्छ भन्ने पूर्वानुमान थियो। महाधिवेशन हो सबैले आफूलाई नै हेर्छन्। पौडेलजी आफैंअघि सर्दा उक्त समूहमा विवाद बढेको हो।’  

१३औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए। महाधिवेशनपछि पनि सिटौलाले आफ्नो समूहलाई निरन्तरता दिए। १४ औं महाधिवेशन आइपुग्दा यो समूह निर्णायक समूहका रूपमा देखिएको छ। यद्यपि, उनको समूहका प्रभावशाली नेता गगन थापा भने पौडेलको पक्षमा पुगिसकेका छन्। सिटौला समूह भने च्याखे थापेर बसेको अवस्था छ। 
सुरुआती दिनमा २ गुटमा देखिएको कांग्रेस १३औं महाधिवेशनबाट ३ गुट देखियो। संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए। सभापतिमा विजयी भने संस्थापन इतरका शेरबहादुर देउवा भए।

संस्थापन समूहमा फुट कस्तो छ ? 
अबको महाधिवेशनमा परम्परागत गुट भत्किने र नयाँ गुट थपिने देखिएको छ। देउवाले नेतृत्व गरेको संस्थापन समूहमा अहिले कम्तीमा दुई गुट देखिएको छ। देउवाका निकट मानिएका उपसभापति विमलेन्द्र निधिले नै देउवालाई चुनौती दिँदै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। 

देउवाका अर्का सहयोगी गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन्। सभापतिमा उम्मेदवार घोषणा गरेका गोपालमान श्रेष्ठ भन्छन्, ‘मैले देउवाजीलाई १३औं अधिवेशनमा सघाएको हो। यसपालि मेरो समूहमा जिल्ला–जिल्लाबाट साथीहरू हुनुहुन्छ। मैले कसैका लागि सहमति जनाउदिनँ।’ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here