राष्ट्रिय राजनीतिकै घुम्ती बन्न सक्छ कांग्रेस महाधिवेशन

अहिलेकै अवस्था यथावत् रहे संसद्को ठूलो दल कांग्रेसले अर्को वर्ष महाधिवेशन गर्नेछ । तर आगामी महाधिवेशन थुप्रै कारणले उसका लागि मात्रै होइन, राष्ट्रिय राजनीतिकै लागि महत्वपूर्ण मोड बन्न सक्ने देखिन्छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • महाधिवेशनले पार्टीको नेतृत्व चयन, नीति निर्माण र संगठनको पुनर्गठनमा महत्वपूर्ण कार्य मात्रै गर्दैन, भावी दिशाको छनक समेत दिनेछ ।
  • पार्टीको ठूलो पङ्क्ति आमूल रूपान्तरणको पक्षमा भएको हुँदा १५औं महाधिवेशन मार्फत बदलिएको कांग्रेस देखिने नेताहरु दाबी गर्छन् ।
  • कांग्रेससँग नजोडिएका तर मत भने दिइरहेका मतदातालाई आफूसँग कायम राख्ने चुनौती कांग्रेससँग छ ।

९ जेठ, काठमाडौं । ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि २०७८ साल ठूलै महत्वको वर्ष थियो । चार वर्षअघि ती दलहरूले आ–आफ्ना नेता चुन्न महाधिवेशन आयोजना गरेका थिए ।

कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक चुनिएका थिए । देउवा सत्तामै थिए, पार्टी सत्तामा दोहोरिन कत्ति पनि कठिन थिएन ।

उसो त देउवाले एकैपल्ट पाएको सफलता थिएन त्यो । उनी त दशौं महाधिवेशनदेखि नै कांग्रेसको नेतृत्वका लागि लड्दै हार्दै गरिरहेका थिए । कहिले गिरिजाप्रसाद कोइरालासँग लड्थे, कहिले सुशील कोइरालासँग । १३औं महाधिवेशनमा मात्रै उनी रामचन्द्र पौडेललाई हराएर सभापति बन्न सफल बनेका थिए ।

अब उतापट्टि एमालेको महाधिवेशन सम्झौं । २०७८ मै एमालेले पनि चितवनमा १०औं महाधिवेशन गर्‍यो । तर एमालेभित्रको प्रतिस्पर्धी माहोल कांग्रेसको जस्तो हुन सकेन ।

अध्यक्षमा केपी शर्मा ओलीको प्रतिस्पर्धी उत्रिन नदिनका लागि मूल नेतृत्वकै आडमा जोड लगाइयो । नेता भीम रावलको जोडबलले ओली समूह लतारिएर निर्वाचनमा पुग्न त पुग्यो, तर रावलका पक्षमा मत खसाल्न नदिन ओली पक्षले कार्यकर्ता पंक्तिमा अभियान नै चलायो ।

अन्तिममा नाम मात्रैको निर्वाचन भयो, जसमा ओलीले चाहे अनुसारको नतिजा प्राप्त गरे । आफू अनुकूल हुने गरी नेताहरूलाई जिम्मेवारीमा ल्याए । २०७१ सालमा भएको नवौं महाधिवेशनबाट अध्यक्ष बनेका ओलीका लागि दोस्रोपटक सोही पदमा पुग्न हरसम्भव लोकतान्त्रिक विधि लत्याउन चाहे ।

प्रतिनिधिसभाको तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले पनि त्यही वर्ष नेतृत्व चयन गर्‍यो । साढे तीन दशकदेखि नेतृत्वमा विराजमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टक्कर दिने गरी दोस्रो व्यक्ति अघि सरेन । राष्ट्रिय सम्मेलनलाई अन्तिम घडीमा महाधिवेशनमा रूपान्तरण गरेर प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको थियो ।

जुन विधि अपनाएर होस्, तीन प्रमुख दलले नेतृत्व चयन गरे । तर, आम नागरिकलाई उनीहरू नेतृत्वमा आउँदा खुशी/उत्साह थपिएको देखिएन ।

त्यही वर्ष राप्रपाले गरेको महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन चयन भए । लिङ्देन अध्यक्षमा निर्वाचित हुँदा राप्रपा कार्यकर्तामा आशाको सञ्चार देखियो । पार्टीमा एकछत्र रजाइँ गर्दै आएका कमल थापा हटेकोमा बहुसंख्यक राप्रपा कार्यकर्ता खुशी देखिए, भलै थापा त्यसपछि निर्मलनिवास अर्थात् पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टीभित्र चलखेल गरेको आरोप लगाउँदै पार्टीबाटै बाहिरिए । जेसुकै भए पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व परिवर्तन भई पार्टीभित्र नयाँ अनुहार आउँदा खुशी, आशा, अपेक्षा देखिएको दृष्टान्तका रूपमा लिङ्देनको जितलाई लिन सकिन्छ ।

२०७१ सालदेखि पार्टी नेतृत्व पाएका ओलीका बारेमा आम रूपमा जेसुकै टिप्पणी चलिरहे पनि पार्टीको ठूलो तप्काभित्र ‘फेरि पनि अध्यक्ष नै हुन्’ भन्ने धारणा भेटिन्छ । माथि नै भनिसकियो, चालीसको दशकदेखि पार्टीलाई काबुमा राखेका प्रचण्ड आजपर्यन्त अध्यक्ष छन् । तर, कांग्रेसले भने आसन्न महाधिवेशन मार्फत परम्परागत नेतृत्वलाई बिदा गर्नेछ । अनि पार्टी सभापतिमा नयाँ अनुहार आउने छन् । यस अर्थमा महाधिवेशन कांग्रेसको आन्तरिक जीवनका लागि मात्रै होइन, राष्ट्रिय राजनीतिकै लागि महत्वपूर्ण प्रस्थानविन्दु बन्न सक्ने देखिन्छ ।

कांग्रेसको विधानलाई याद गरौं । त्यसमा पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधि भन्दा बढी सोही पदमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । विधान कार्यान्वयन हुँदा सभापतिमा देउवा तेस्रोपटक उम्मेदवार हुन पाउँदैनन् । तेस्रोपटक सभापति हुने सुविधा देउवालाई विधानले नदिंदा मूल नेतृत्वमा नयाँ अनुहार देखिने छन् ।

विगत उदाहरणबाट देखिएकै छ, मूल नेतृत्वमा परीक्षण हुन बाँकी व्यक्ति पार्टीको सत्तामा पुग्दा नागरिकको अपेक्षा स्वतः वृद्धि हुन्छ । अन्य दलमा नेतृत्व परिवर्तन हुनै नसकेको अवस्थामा कांग्रेसमा नयाँ व्यक्ति सभापति पदमा पुग्दा त्यो समय समग्र राजनीतिको मोड अर्थात् ‘टर्निङ प्वाइन्ट’ हुने विश्लेषण शुरू भएको छ । कांग्रेसभित्र हुने रूपान्तरण र पुस्तान्तरण अवलम्बन गर्न अन्य परम्परागत दललाई पनि दबाब सिर्जना हुने परिस्थिति बन्नेछ ।

यसकारण ‘टर्निङ प्वाइन्ट’

देउवा, ओली र प्रचण्ड इतिहासमा जतिसुकै ठूलो संघर्ष, अनि त्यागका शृंखला रचेर आएका भए पनि बहुदलयताका वर्षहरूमा खेलेका उज्याला–अँध्यारा सबै खाले भूमिकाका कारण उनीहरू यति बेला आम समीक्षाको केन्द्रमा छन् । आजको दिनमा आम मान्छेलाई वितृष्णाको मुख्य कारण सोधियो भने तीन ठूला पार्टीका यिनै तीन नेताको नाम लिन्छन् ।

दलहरूको मूल नेतृत्वमा पुगेपछि त्यसको जिम्मेवारीबाट मुक्त हुन नखोज्ने प्रवृत्ति र अपेक्षा अनुसार डेलिभरी गर्न नसक्दा शीर्ष नेतृत्वप्रति वितृष्णाको मात्रा बढेको छ । साझा नेतृत्व भन्दा अध्यक्षात्मक प्रणालीमा तीन दलले जोड दिएको हुँदा मूल नेतृत्व झनै शक्तिमान हुन गयो, अनि सामूहिक निर्णय प्रक्रिया सधैं ओझेलमा ।

नागरिकमा अलोकप्रिय भए पनि पार्टीका संरचना कब्जा गरेका कारणले त्यही शक्तिको आडमा मूल नेतृत्वमा पुगिरहेका छन् । पार्टी कब्जा गरिरहने अवस्था किन बन्यो ? जवाफमा कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘नियन्त्रित सदस्यता प्रणाली छ । खुला सदस्यता प्रणाली हुने हो भने यी वितृष्णा जगाउनेहरू चुनिनै सक्दैनन् । जो जति लामो समय माथि रह्यो त्यसले पार्टी कब्जा गर्ने विधि अपनाइरहेको हुन्छ ।’

मुलुकका प्रमुख तीन दलका मूल नेतृत्वको कार्यशैलीबाट नागरिक आजित देखिन्छन् । पार्टीको सत्ता कब्जा गर्दै देशको कार्यकारी पदमा पुग्दा परिणाम दिन नसकेको प्रति उनीहरूमाथि नागरिकहरूमा चरम आक्रोश छ । उनीहरूको कार्य क्षमताका कारणले वर्तमान शासन प्रणालीप्रति प्रश्न उठ्ने अवस्था बनेको छ । उनीहरूको ‘अक्षमता’ भारी व्यवस्थालाई व्यवस्थाले भोग्नु परेको टिप्पणी हुँदै आएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्रले ‘डेलिभरी’ दिन नसकेकै कारणले त्यसकै जगमा वितृष्णा फैलाएर त्यसबाट लाभ लिन खोज्ने शक्तिहरू पनि छन् ।

पुरानो पुस्ताले वितृष्णा बढाइरहेको मतहरू बढिरहँदा कांग्रेसले आगामी महाधिवेशनबाट छुट्कारा पाउने अवस्था बन्न सक्छ । देउवा, ओली, प्रचण्डलाई देखिरहेको नागरिकले कांग्रेसलाई फरक रूपमा पाउन सक्छ । ‘भूतपूर्व प्रधानमन्त्रीहरूको क्लबमा एउटा नयाँ मान्छेको प्रवेश हुन्छ । त्यो कांग्रेसबाट मात्रै सम्भव छ । देउवाको ठाउँमा नयाँ व्यक्ति आउँछ’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘त्यो नयाँ मान्छेको प्रवेशले तिनीहरू बीचमा हुने बैठकका विषय बदलिन सक्छ ।’

पार्टीको भावी दिशाको छनक पनि दिन्छ । कांग्रेसको विधानमा खुला सदस्य नभई नियन्त्रित प्रणाली भए पनि देउवाले नेतृत्व छोड्नैपर्ने बाध्यात्मक अवस्था छ । देउवा सभापतिबाट बिदा हुँदै गर्दा ‘शंकाको लाभ’ उनको पद सम्हाल्ने व्यक्तिले प्राप्त गर्दछ । पात्र फेरिने तर प्रवृत्ति उस्तै राख्ने व्यक्ति नेतृत्वमा आए महाधिवेशन टर्निङ प्वाइन्ट भने हुन नसक्ने नेताहरू दाबी गर्छन् । ‘शैली र अन्तर्य फेर्न सक्ने नेतृत्व आएन भने एउटा व्यक्तिको ठाउँमा अर्को व्यक्ति आएको त हो नि भन्ने हुन्छ’ कांग्रेसका शीर्ष तहका नेताले अनलाइनखबरसँग भने, ‘रूपान्तरण सहित पुस्तान्तरण हुने अवस्था भयो भने त्यसले आशा साँच्चै जगाउँछ ।’

महाधिवेशनले पार्टीको नेतृत्व चयन, नीति निर्माण र संगठनको पुनर्गठनमा महत्वपूर्ण कार्य मात्रै गर्दैन, भावी दिशाको छनक समेत दिनेछ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार वर्तमान राजनीतिक शक्तिहरूमा कांग्रेसको भूमिका अभिभावकीय र मियो शक्तिका रूपमा हुनुपर्दछ । विगतमा देशले भोगेका राजनीतिक कठिन कालखण्डमा समाधान निकाल्ने र सबैलाई सम्हालेर अघि बढ्न सक्ने शक्ति कांग्रेस भएको दाबी थापा गर्छन् ।

थापाका अनुसार नेपाली समाजमा निराशा नभई असन्तुष्टि, आक्रोश र बेचैनी छ । नागरिकमा भएको बेचैनी अन्त्य गर्ने शक्ति कांग्रेस भएको उनी दाबी गर्छन् । दलभित्रको सुधारसँग जोडिने १५औं महाधिवेशन कांग्रेसका लागि महत्वपूर्ण अवसर भएको थापा बताउँछन् ।

तर, कांग्रेस मियोको भूमिकामा देखिने भन्दा पछिल्लो समय सरकार बनाउन एमाले र माओवादीको सारथि हुँदै आएको छ । संसद्को पहिलो दल बनेर पनि कांग्रेसले सरकारको नेतृत्व गर्न सकेको छैन । कांग्रेस २०७९ को चुनावपछि क्रमशः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र हाल एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएर सरकारमा सहभागी भएको छ ।

कांग्रेस राजनीति माथि विश्लेषण गर्दै आएका सुदर्शन आचार्य आफूले बसालेको पद्धतिलाई कार्यान्वयन गर्न कांग्रेस चुकेको बताउँछन् । उनी भन्छन्, ‘कांग्रेसलाई डोर्‍याउने वामपन्थी शक्ति छन् । कांग्रेसले कहिले माओवादी, कहिले एमालेलाई बोक्छ । कांग्रेस अलमलमा देखिन्छ । आफ्नो नेतृत्वदायी भूमिका यतिबेला दिन सकेको छैन ।’

पुराना दल सबै उस्तै र ‘असफल’ पार्टी नेतृत्वबाट रुष्ट व्यवस्था विरोधीलाई मलजल पुगेको टिप्पणी हुँदै आएको छ । पुराना दलहरूप्रति विशेषतः मूल नेतृत्वप्रति देखिएको वितृष्णा र त्यसकै जगमा मौलाएका शक्तिहरूको चुनौती सामना गर्ने र नागरिकमा असन्तुष्टि हटाउने राजनीतिक टर्निङ प्वाइन्ट कांग्रेस महाधिवेशन हुने विश्लेषण उक्त पार्टीका नेताहरू गर्छन् ।

पार्टीको ठूलो पङ्क्ति आमूल रूपान्तरणको पक्षमा भएको हुँदा १५औं महाधिवेशन मार्फत बदलिएको कांग्रेस देखिने केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् । ‘एजेण्डामा आधारित नेताको खोजी भइरहेको छ । पहिले कांग्रेस बदल्ने र बदलिएको कांग्रेसले जनताको अवस्था बदल्नुपर्दछ’ आचार्य भन्छन्, ‘जनताको अवस्था परिवर्तन गर्ने नेतृत्व चयन गर्न पार्टी पङ्क्ति आतुर छ ।’ कांग्रेसभित्रको रूपान्तरणले अन्य दललाई पनि दबाब पुग्ने आचार्यको विश्वास छ ।

कांग्रेस विधानको दफा ४३ अनुसार पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने व्यवस्था छ । त्यस अनुसार यही वर्षको मंसिरभित्र कांग्रेसले महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने हुन्छ । विधानमा प्राप्त सुविधा अनुसार कार्यावधि एक वर्ष थप्न सकिने हुँदा २०८३ मंसिरसम्म महाधिवेशन गर्ने छुट कांग्रेसलाई छ । एक वर्ष समयावधि थप्नका लागि ‘असाधारण स्थिति’ हुनुपर्दछ । विगतमा एक वर्ष अवधि थपेर महाधिवेशन गर्ने पद्धति जस्तै बनेको हुँदा यसपटक पनि चारवर्षे कार्यकालभित्र नयाँ नेतृत्व आउने सम्भावना देखिंदैन ।

कांग्रेस नेताहरूका अनुसार महाधिवेशन २०८३ को मंसिर अघि हुने छाँटकाँट देखिन्न । यद्यपि, कांग्रेस महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी, समीकरण, गुट परिवर्तन लगायतमा चर्चा शुरू भइसकेको छ । देउवाकै शैली पछ्याउने व्यक्ति सभापति होलान् वा पुस्तान्तरण सहित नयाँ एजेण्डा बोक्ने नेतृत्वमा आउला भन्ने चासो छ ।

रूपान्तरण सहितको पुस्तान्तरण सम्भव छ ?

कांग्रेसको नेतृत्वमा पुग्न मूलतः दुइटा तप्का खोजिरहेको छ । पहिलो, परम्परागत शैलीलाई अंगीकार गर्ने समूह । नीति, विचार सहितको एजेण्डा सहित पुस्तान्तरण चाहेको समूह । कांग्रेसको केन्द्रीय तहमा ४० देखि ८० वर्ष उमेर समूहका नेताहरू छन् । ८० वर्ष पुगेका सभापति देउवाले मूल नेतृत्वबाट बहिर्गमित हुँदा उनकै हाराहारी उमेर रहेका दोस्रो तहका नेताहरूले उक्त पदमा पुग्ने आकांक्षा देखाएका छन् । उनीहरूको आकांक्षा मात्रै छैन; १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने गरी दौडधुप शुरू गरिसकेका छन् ।

अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह फेरि पनि सोही पदमा उठ्ने इच्छा राखेर अघि बढेका छन् । १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार कृष्णप्रसाद सिटौलादेखि पूर्व महामन्त्री डा.शेखर कोइराला पनि सभापति हुने चाहनाले गतिविधि बढाएका छन् । पूर्व पदाधिकारीको छुट्टै समूह बनाउने गरी सात नेताहरूको बैठकले निरन्तरता पाएको छ । उक्त उमेर समूहका नेताहरूको क्षमता माथि प्रश्न उठाउँदै एक केन्द्रीय सदस्य भन्छन्, ‘उमेर र विचारले उहाँहरू विश्राम लिने अवस्थामा पुगिसक्नुभएको छ । सभापति, प्रधानमन्त्री हुने अपेक्षा राख्न पाइयो । उहाँहरूले आशा सञ्चार गर्ने होइन । सभापति हुन्छु भन्दै हिंड्दा कांग्रेसका कार्यकर्ता र पार्टीका शुभेच्छुकलाई निराशा छर्ने काम हुन्छ ।’

महामन्त्री थापाले १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने सार्वजनिक रूपमा बोलेका छैनन् । उनी निकटका नेताहरूको दाबी अनुसार महामन्त्री थापा सभापतिको उम्मेदवार हुने गरी सक्रिय छन् । पछिल्लो समय थापाको जिल्ला दौडलाई महाधिवेशनसँग जोडेर विश्लेषण पनि हुने गरेको छ । वर्तमान र पूर्व प्रधानमन्त्रीहरू भन्दा आफू त्यो पदमा पुगे राम्रो परिणाम दिने उनको दाबी रहँदै आएको छ । संसदीय दलको नेता हुने प्रयास गरेका थापाले भावी सभापति हुने गरी गतिविधि बढाएको उनी निकट नेताहरू बताउँछन् ।

सभापति देउवाको नेतृत्वबाट अपेक्षित नतिजा हासिल गर्न नसकेको भन्दै आलोचना भइरहँदा उनकै शैली पछ्याउनेहरू सभापति हुँदा असन्तुष्टि बढ्ने नेताहरू बताउँछन् । पूर्व पदाधिकारी गठजोडप्रति सकारात्मक देखिएका नेताहरू परिपक्व नेतृत्वका लागि राजनीतिमा लामो इतिहास व्यतीत गरेका व्यक्ति नेतृत्वमा आउनुलाई सहज रूपमा लिनुपर्ने धारणा राख्छन् ।

संस्थापन पक्षका केन्द्रीय सदस्य गुरु बराल जोश र जाँगर सहित नयाँ नेतृत्व आउँदा जनतामा आशाको सञ्चार पैदा हुने दाबी गर्छन् ।

‘एउटै नेताले लामो समयसम्म पद छोडेनन् भन्ने भाष्य बनेको छ । १५औं महाधिवेशनले त्यो कुरालाई तोडेर जान्छ’, केन्द्रीय सदस्य गुरु बराल भन्छन् । अर्का एक केन्द्रीय सदस्य पुरानै ढर्रामा चल्ने नेताहरू अघि सर्न खोज्नु प्रणालीलाई संकटतिर धकेल्ने चेष्टाका रूपमा बुझ्छन् । उनी भन्छन्, ‘२०१७ सालमा मुलुकमा अतिवाद हावी हुँदा ३० वर्ष पञ्चायती व्यवस्था बेहोर्नुपर्‍यो । पुरानै थितिबाट चल्ने पार्टीमा नेतृत्व आए मुलुकले अर्को अतिवाद खेप्नुपर्ने हुन्छ ।’

संस्थापन पक्षका केन्द्रीय सदस्य गुरु बराल

रूपान्तरण सहित हुने पुस्तान्तरण हुँदा नयाँ आएको नेतृत्वलाई ‘हेरौं न’ भन्ने अवस्था बन्ने नेताहरूको विश्वास छ । शान्तिकाल पछि प्रचण्ड, गिरिजाप्रसाद कोइराला हुँदै संविधान निर्माण पछि जनताले ओलीलाई दिएको शंकाको लाभ कांग्रेसमा आउने सभापतिले प्राप्त गर्ने शीर्ष तहका एक नेता बताउँछन् । भन्छन्, ‘हामीप्रति आक्रोश र संशय छ । यसको बाबजुद पनि २०६३ पछि गिरिजाप्र्रसाद कोइराला, प्रचण्डले जुन विश्वास पाउनुभयो नि ! त्यो विश्वास र अवसर नयाँ नेतृत्वको लागि हुन्छ ।’ उनका अनुसार शंकाको लाभ भने छोटो समयलाई मात्रै हुनेछ ।

नेतृत्वसँग जोडिने चुनावी मत

कांग्रेसको महाधिवेशन नेतृत्व चयनमा मात्रै सीमित हुँदैन । महाधिवेशनले २०८४ मा हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनको तयारीको आधारशिला समेत खडा गर्नेछ । गतिशील नेतृत्व हुँदा चुनावी परिणाममा सकारात्मक टेवा पुग्दछ । कांग्रेसबाट बिच्किएका शुभेच्छुक फिर्ता हुने र समानुपातिकको मत बढ्ने आधार नेतृत्वले निर्माण गर्न सक्दछ ।

गत स्थानीय तहको निर्वाचनमा युवा पुस्ताबाट काठमाडौंको मेयरमा उम्मेदवार बनाउन महामन्त्री थापाले जोड गरे । सभापति देउवाले सिर्जना सिंहलाई अघि सारे । युवा पुस्ताबाट उम्मेदवार बनाउन सकिएको भए कांग्रेसले जित्ने विश्लेषण थापाको थियो । आखिरमा कांग्रेस र एमाले जस्ता परम्परागत मताधार बलियो भएका, अनि संगठनात्मक शक्ति भएका दलहरूलाई पछि पार्दै मेयरमा बालेन शाहले जिते । यो युवा चुनौती यतिमा रोकिएन । स्वतन्त्र उम्मेदवार बालेनले जितेपछि रवि लामिछानेलाई पार्टी गठन गर्ने हुटहुटी चल्यो । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर कांग्रेसले भोग्यो । कांग्रेसका शुभेच्छुक, मतदाताहरू रास्वपातिर लागे । समानुपातिकतर्फको मतमा क्षति बेहोर्‍यो ।

कांग्रेस हाल संसद्को सबैभन्दा ठूलो दल रहे पनि समानुपातिकतर्फ भने पहिलो दल हुन सकेन । पछिल्लो निर्वाचनहरूमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त गर्ने मतहरू घट्दै गएको छ । समानुपातिक मत घट्नुमा पार्टी नेतृत्वको कार्यशैली र छनोट गरिएका अनुहारलाई हेरेर मतदाताले दोस्रो स्थानको मत दिएको कतिपय नेताको बुझाइ छ । २०६४ मा कांग्रेसले समानुपातिकतर्फ २२ लाख ६९ ८८३ प्राप्त गरेको थियो भने २०७० मा २४ लाख १८ हजार ३७० मत प्राप्त गर्‍यो । २०७४ मा ३१ लाख २८ हजार ३८९ मत पाउँदा गत निर्वाचनमा २७ लाख १५ हजार २२५ मत ल्यायो ।

गत निर्वाचनमा कांग्रेस र एमालेको समानुपातिक मत नयाँ दल रास्वपाले तान्दा उनीहरूको घटेको थियो । दुवै दलले करिब ६ प्रतिशत मत समानुपातिकमा घटाएका थिए । रास्वपाले समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत ल्याएको थियो । कांग्रेससँग नजोडिएका तर मत भने दिइरहेका मतदातालाई आफूसँग कायम राख्ने चुनौती कांग्रेससँग छ । पार्टीले प्राप्त गर्ने मतलाई बढाउन बल पुग्ने प्रस्थानविन्दु आगामी महाधिवेशन हुने कांग्रेस नेताहरू दाबी गर्छन् । महाधिवेशनपछि आउने नेतृत्वलाई ‘गर्न त के गर्छन्, तैपनि हेरौं’ भन्ने जनमत फेरि कांग्रेसतिर देखिने नेताहरू बताउँछन् ।

‘महाधिवेशनले व्यवस्था विरोधी र वैकल्पिक शक्तिहरूसँग मुकाविला गर्ने हिम्मत पनि जुटाउँछ’ एक पदाधिकारी भन्छन्, ‘कमजोरी सुधार्दै हामी नै हो देश सम्हाल्ने भन्ने बल दिन्छ । अलमल हटाउँछ । पार्टी चलायमान हुन्छ । पार्टीमा नेतृत्व फेरिने वित्तिकै शुभेच्छुकहरूको साथ बढ्छ ।’

जनताको अपेक्षा अनुसार रूपान्तरण सहितको कांग्रेस बनाउन नसके जनताले विकल्प खोज्ने केन्द्रीय सदस्य आचार्य बताउँछन् । ‘परिवर्तित कांग्रेस जनताले खोजेका छन् । यदि परिवर्तित कांग्रेस देखेनन् भने कांग्रेसकै विकल्प खोज्छन्’ आचार्य भन्छन्, ‘मुलूक अप्ठ्यारो र असहज अवस्थामा भएको बेला निकासमा पुर्‍याउने काम कांग्रेसले नै गर्दै आएको छ ।’

कांग्रेस महाधिवेशन |नेपाली कांग्रेस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here