युवाले खेती नगर्ने खतरा

अन्य विकल्पमा काम गर्न नसकेपछि मात्रै मान्छेले खेती गर्ने हो भन्ने आम सोचाइ भएको समाजले कुनै युवालाई खेती गर्न प्रोत्साहन गर्ने त परको कुरा, खेती गर्छु भन्ने सोचाइ राख्नेलाई समेत निरुत्साहित गरिरहेको छ ।

केही समयअघि युवालय भन्ने संस्थाले ‘कृषिमा युवा’ भन्ने कार्यक्रम आयोजना गर्‍यो । कृषि तथा पशुपंक्षी विकास मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उपसचिवहरू, युवा तथा खेलकुद मन्त्रालयकी उपसचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि र कृषि उद्यमीहरूको उपस्थितिमा भएको कार्यक्रममा उठेको प्रमुख प्रश्न थियो– नेपालमा किन युवा कृषिमा छैनन् ?

frontline

उत्तरहरूको प्रकृति पनि प्रायः एउटै थियो– नेपालको कृषिमा आधुनिकीकरण छैन । कृषि व्यावसायिक छैन । कृषकको आत्मसम्मान छैन, त्यसैले युवा कृषिमा छैनन् ।

केहीपछि खाद्यका लागि कृषि अभियानले आयोजना गरेको कृषि नीतिमाथिको छलफलमा पनि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सांसदहरूको कुरा पनि लगभग उस्तै थियो । जिम्मेवार निकायको समधारणाबाट एउटै पेचिलो प्रश्न सतहमा आयो– के नेपालको कृषिमा आधुनिकीकरण, व्यावसायीकरण भयो र कृषि पेसा सम्मानजनक भयो भने युवाले खेती गर्लान् त ?

योङ फार्मर म्यानिफेस्टो अनुसार युरोपमा १ करोड २० लाख किसान छन्, जसमध्ये ६ प्रतिशत मात्रै ३५ वर्षभन्दा मुनिका छन् । युरोप औद्योगिकीकरणको सुरुवात गर्ने महादेश हो । प्रायः विकसित राष्ट्र भएको महादेशमा सायदै कृषिमा आधुनिकीकरण र व्यावसायीकरणको समस्या पनि छैन । तर पनि किन युवा किसानको संख्या न्यून छ र घटिरहेको छ ? हामीले देखेको कृषिको व्यावसायीकरण, आधुनिकीकरण विकसित देशहरूको जस्तै होइन र ?

केही समयअघि टाइम्स म्यागजिनमा ‘अमेरिकाका युवा किसान थाकिसकेका छन् । म पनि छाडें’ शीर्षकमा एउटा लेख प्रकाशित भएको थियो । जसमा अमेरिकामा युवाहरू वातावरणीय संकट, कृषि उपजको न्यून बजार मूल्य र यसले सिर्जना गरेको आर्थिक तनावका कारणले कृषिमा टिक्न नसकेको कुरा उल्लेख गरिएको छ ।

यस्तै डीडब्ल्यूमा प्रकाशित ‘किन जापानी युवाहरू कृषिबाट भागिरहेका छन् ?’ भन्ने लेखमा शहरमा बसाइँसराइ र शहरी रमाइलो, कृषिमा लागेका मान्छेहरू बुढो उमेरका भएका जस्ता कारणले युवा कृषिमा नरहेको उल्लेख गरिएको छ ।

उसो त, आधुनिक भनिएका देशहरूमा नै किसानको औसत उमेर तीव्र रूपमा बढिरहेको तथ्यांकले देखाएको छ । जसले हामीले भन्दै आइरहेको आधुनिकीकरण, व्यावसायीकरण, बजारको प्रबन्ध मात्रै युवालाई कृषिमा टिकाउन पर्याप्त नभएको पुष्टि गर्छ ।

अमेरिकी मनोवैज्ञानिक एरिक एरिक्सनले लेखेको ‘पहिचानः युवा र संकट’ भन्ने पुस्तकमा एक युवाले १२ देखि १८ वर्षभित्रमा म को हुँ ?, म के बन्न चाहन्छु ?, मेरा विश्वास र मूल्य–मान्यता के–के हुन् ? र मेरो वरिपरीको विश्वमा म कसरी अटाउन सक्छु ? भनेर प्रश्न गर्ने बताउँदै यदि उत्तर नपाए उसलाई पहिचान संकट हुने र रुमल्लिने कुरा उल्लेख गरेका छन् । यदि एरिक्सनलाई मान्ने हो भने, हाम्रो देशमा कुनै १२ देखि १८ वर्षको युवाले म किसान हुन्छु भनेर भन्ने आधार के छन् त ?

एक अमेरिकी पत्रकार डेभिड वालेस–वेल्सले त अबको पुस्ताले जीवनको आधा समय प्रकोप उद्धारमा बिताउनुपर्ने तर्कसंगत प्रक्षेपण गरेका छन् । जलवायुजन्य संकटले विकास गर्ने महासंकट हो– खाद्य संकट । जसबाट जुध्न तयार युवा तयार गर्नुको हामीसँग विकल्प छैन ।

नेपालमा एउटा बच्चा विशेषतः ४ क्षेत्रमा हुर्कन्छ– घर–परिवार, समाज, विद्यालय र राज्य । हाम्रा यी क्षेत्रहरू नै युवालाई कृषिमा नलाग्न प्रेरित गरिरहेका छन् । प्रायः घर–परिवारमा कृषिमा आवद्ध अघिल्लो पुस्ता छ, जसको आर्थिक उन्नति कृषिभन्दा अन्य क्षेत्रमा लाग्दा भएको कारणले ऊ आफूभन्दा पछिल्लो पुस्ता आफूजस्तै आर्थिक रूपमा विपन्न नहोस् भन्ने चाहन्छ ।

किसानलाई हेर्ने सामाजिक मनोविज्ञानमा त झन् ठूलो समस्या छ । अन्य विकल्पमा काम गर्न नसकेपछि मात्रै मान्छेले खेती गर्ने हो भन्ने आम सोचाइ भएको समाजले कुनै युवालाई खेती गर्न प्रोत्साहन गर्ने त परको कुरा, खेती गर्छु भन्ने सोचाइ राख्नेलाई समेत निरुत्साहित गरिरहेको छ ।

हाम्रा विद्यालय तथा शैक्षिक संस्था र पाठ्यक्रमहरू उद्यमशिलता वा जीवनशैलीलाई प्रोत्साहन गर्ने खालका छैनन् । यस्तो पढाइले कुनै एक युवा विद्यार्थीलाई कृषक बनाउँछ वा खेती गर्न प्रेरित गर्छ भन्ने कल्पनासम्म गर्न सकिँदैन ।

डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘भाग्यवाद र विकास’ मा धेरै वर्ष पहिले हाम्रो शिक्षा प्रणाली सरकारी जागिर खान र विदेशिन बनेको कुरा उल्लेख गरेका छन् । विष्टले खेती–किसानीमा कुनै पनि लगाव नभएको र खेतीपाती घरायसी पेसा नभएको मान्छेले कृषि पढ्ने र उसको ध्येय सरकारी जागिर मात्रै हुने बताएका थिए, जुन कुरा अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

बाँकी रह्यो राज्यको कुरा, राज्यका कुनै तहको सरकारको ध्येय युवामा कृषि उद्यमशिलताको सोच बढाउनेतिर छैन । अहिले पनि देशका प्रधानमन्त्री र सत्तासीन दलका नेताहरू युवालाई विज्ञान र प्रविधिमा लाखौँ कमाइ हुने सपना बाँडिरहेका छन् ।

कृत्रिम बौद्धिकताको विकाससँगै धराशायी बनिरहेको र अस्थिर संरचनामा टिकेको यो क्षेत्रमा, सरकारको कुनै पनि उपस्थितिविना नै युवाहरूको स्वतन्त्रतामा अघि बढेको देखिन्छ । तर लाखौँ युवालाई स्वरोजगार बनाउन सकिने क्षमता भएको कृषि क्षेत्रले सरकारको उपेक्षा खेपेको खेप्यै छ ।

उद्यमशील युवा तयार गर्ने दूरदृष्टिसहित निर्माण भएको राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ नेपालका युवाहरूलाई हेर्ने राज्यको दृष्टियोजना हुन् । तर दुःखसाथ भन्नुपर्छ, यिनै योजनाहरू पनि कृषि क्षेत्रमा युवाहरूको संलग्नताको बारेमा एकदमै सतही छन् ।

अहिले विश्वमा किसानको सरदर औसत आयु ६० वर्ष पुगेको छ र यो बढ्दो छ । खाद्य तथा कृषि संगठनका अनुसार १५ प्रतिशत विश्वको जनसंख्या भएको १५ वर्षदेखि २४ वर्षका युवाहरूको २ प्रतिशतले मात्रै कृषि तथा कृषि श्रम गरिरहेका छन् ।

नेपालको सन्दर्भमा पनि खेती गर्ने युवाको संख्या घट्दै गइरहेको छ । वैदेशिक अध्ययन होस् या रोजगारी, नेपाली युवाको प्रथम रोजाइमा कृषि पर्दैन । प्राथमिक उत्पादन क्षेत्रमा बढिरहेको यो उपेक्षा एकदमै डरलाग्दो छ । यदि सरकारको नीति, कार्यक्रम तथा प्राथमिकता यथावत् रहिरहने, परिवार वा समाजले प्राथमिक उत्पादनलाई हेर्ने नजर यस्तै रहने, विद्यालय शिक्षा पनि यथावत् रहने हो भने नेपाली युवाले खेती गर्दैनन् ।

तर, खेती गर्दिनँ भनेर युवाहरूले सुख पाउनेवाला छैनन् । जलवायुजन्य संकट बढ्दो छ । एक अमेरिकी पत्रकार डेभिड वालेस–वेल्सले त अबको पुस्ताले जीवनको आधा समय प्रकोप उद्धारमा बिताउनुपर्ने तर्कसंगत प्रक्षेपण गरेका छन् । जलवायुजन्य संकटले विकास गर्ने महासंकट हो– खाद्य संकट । जसबाट जुध्न तयार युवा तयार गर्नुको हामीसँग विकल्प छैन ।

अहिले केही युवाहरू बाध्यताले र केही रहरले खेती गरिरहेका छन् । नयाँ युवालाई खेतीमा आकर्षित गर्ने हो भने युवा किन खेती गर्दैछन् भन्नेतर्फ ध्यान दिन आवश्यक छ । प्रसिद्ध पत्रिका द गार्जियनमा केही समयअघि इटालीका युवाहरू आकर्षक जागिरहरू छोडेर खेतीमा फर्किएकोबारे ‘जमिनमा फर्किंदैः युवा इटालियनहरू कृषिमा फर्केर ‘मिठो जीवन’ फेला पार्दै’ शीर्षकको लेख प्रकाशित भयो, जसमा युवाहरू खेतीमा फर्किनुका मुख्य कारणहरू सरल र शान्त जीवनशैली, संस्कृति र सामाजिक उत्तरदायित्वलाई प्रमुख बताइएको छ ।

करिब एक दशक अगाडि स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक विलियम डेमनले गरेको एक अध्ययनले युवाहरूले आफूले गरेका कामको सामाजिक तथा व्यक्तिगत दायित्व खोज्ने र सामाजिक दायित्व देखिने क्रियाकलापमा उनीहरू काम गर्न आकर्षित हुने देखाएको छ । यदि यो अध्ययनलाई आधार मान्ने हो भने खेतीलाई एक सरल जीवनशैली र प्रक्षेपण गरिएको जलवायुजन्य संकटबाट समाजलाई बचाउने कडीको रूपमा अगाडि सार्नुपर्छ, न कि पैसा फलाउने उद्योग ।
तुलनात्मक रूपमा कृषि क्षेत्रले धेरै श्रम खोज्छ । खाना आधारभूत आवश्यकता भएकाले विश्वभरि यसमा धेरै अनुदान दिइएको छ, जसका कारण श्रमको मात्रै हिसाब गर्दा विश्वभरि नै खेती कम नाफा हुने क्षेत्र हो ।

हामीले नेपालमा विगतका धेरै दशकदेखि कृषिलाई धेरै नाफा कमाउने क्षेत्रको रूपमा व्याख्या गर्‍यौं । आधुनिकीकरणको रटान लगायौं अनि खेतीको जीवनशैली र संस्कृतिसँगको सम्बन्ध टुटायौं। व्यावसायीकरणको रटान लगायौं र ठूलो आम्दानीको सपना बाँड्यौं । यसले हाम्रा युवाहरूलाई खेतीमा आकर्षित गर्न त सकेन नै, खेती गरिरहेका युवाहरूको पनि आर्थिक समृद्धिको सपना पूरा गरेन ।

तसर्थ, तहगत सरकारले व्यावसायीकरण, आधुनिकीकरण र सामाजिक सम्मानको कमी भएर युवाले खेती गरेनन् भन्ने रटान छोडेर युवालाई जलवायु र यसले ल्याउने संकटको बारेमा जागरुक गराउनुपर्छ ।

युवाको जिम्मेवारी शहरहरूमा जलवायु वित्त, जलवायु न्यायको लागि नारा लगाउने मात्रै होइन, यसको अनुकूलनका क्षेत्रमा अनुसन्धान गर्ने र पर्यावरणीय कृषि उत्पादनमा लाग्नु पनि हो भन्ने बोध गराउनुपर्छ । धनी हुनु नै सुखी हुनु हो भन्ने सामाजिक भाष्यलाई चिर्नुपर्छ । उत्पादनमा आत्मनिर्भर नभएसम्म राष्ट्रियता बलियो हुँदैन भन्ने कुरा बुझाउनुपर्छ । विद्यालय शिक्षामै कृषि क्षेत्रको स्वउद्यमशिलता र यसमा संलग्न जीवनशैलीको महत्वको बारेमा पठनपाठन गराउनुपर्छ ।

कृषि उद्यमशीलतामा लागेका युवाहरूलाई सम्मान तथा प्रोत्साहनका कार्यक्रम बनाउनुपर्छ, सरल, सहज भूमिको व्यवस्था, प्रयोगात्मक ज्ञान र सरल स्टार्टअप कर्जाहरूको व्यवस्था गर्नुपर्छ ।

जलवायुजन्य संकटले ल्याउने खाद्य संकटसँग जुध्न अहिलेबाटै युवालाई खेतीमा फर्काउनुको विकल्प छैन । यसले स्वतः स्थानीय अर्थतन्त्र चलायमान गर्न सघाउँछ । तर राज्यले खेतीपातीप्रति दृष्टिकोण परिवर्तन नगरेसम्म यो सम्भव छैन ।

(लेखक उब्जनी पर्माकल्चर फार्ममा जैविक खेती गरिरहेका छन् ।)

कृषि पेसा |खेतीपाती

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here