युक्रेनसँग रूसद्वारा घोषित तीन दिने युद्धविराम आजदेखि लागू

युक्रेनले युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन । युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ ।

२५ वैशाख, काठमाडौं । तीन वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध कहिले रोकिएला ? यो अनिश्चयका बीच तीन दिने अल्पकालीन युद्धविराम भने बिहीबारबाट सुरु हुँदैछ । त्यो पनि एकतर्फी रुपमा ।

frontline

अर्थात्, युक्रेनविरुद्धको युद्धमा रहेको रुसले एकतर्फी रुपमा घोषित तीन दिने युद्धविराम बिहीबारदेखि लागू भएको हो । क्रेमलिनले तीन दिने युद्धविरामका लागि आवश्यक आदेश दिइसकेको जनाएको छ ।

युद्धविरामलाई रूसले शान्तिका लागि किएभ (युक्रेको राजधानी)को तत्परताको परीक्षण भएको बताएको छ । यो युद्धविराम यस्तो बेला सुरु हुँदैछ, जुन बेला चिनियाँ राष्ट्रपति सी जिनपिङ, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र सर्बियाका अलेक्जेन्डर भूसिकसहितका विश्वका नेताहरू मस्कोमा छन् ।

दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मनाइने कार्यक्रममा सहभागिताका लागि यी नेता मस्कोमा भेला भएका हुन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जर्म नाजीविरूद्ध मस्कोको विजय दिवस परेडको अवसर पारेर एकतर्फी रूपमा अस्थायी युद्धविराम गर्न आदेश दिएका हुन् ।

यद्यपि, युक्रेनले यो युद्धविराम प्रस्तावमा सहमति जनाएको छैन । युक्रेनले यसलाई नाटकको संज्ञा दिँदै युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ र यसको सट्टा ३० दिनको युद्धविरामको आह्वान गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार साँझ आफ्नो सम्बोधनमा ३० दिने युद्धविरामका लागि आह्वान गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जनवरीमा युक्रेनको सत्ता सम्हालेयता मस्कोले युक्रेनमाथि गरेको तीन वर्षे सैन्य आक्रमण अन्त्य गर्ने प्रयास गरे पनि दुई देशबीचको शत्रुता कम गर्न असफल देखिएका समय एकतर्फीरूपमा भएको युद्धविरामलाई पुटिनको रणनीतिका रूपमा अथ्र्याइएको छ ।

पुटिनको आदेश लागू हुनुभन्दा केही घण्टाअघि मस्को र किएभले हवाइ आक्रमण गरेका छन् जसका कारण रुसी एक विमानस्थलमा सेवा अवरूद्ध भएको छ भने युक्रेनमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

रुसको पश्चिमी क्षेत्रमा रहेको निज्नी नोभगोरोड विमानस्थलमा नागरिक र उडानको सुरक्षा सुनिश्चित गर्न बिहीबार बिहान करिब डेढ घण्टाका लागि बन्द गरिएको संघीय हवाइ यातायात निकायका प्रवक्ताले बताए ।

क्रेमलिनले रुसी सेनाले पुटिनको आदेशलाई पालना गर्ने तर आक्रमण भएमा तुरुन्तै जवाफ दिने बताएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

रुस-युक्रेन युद्धविराम

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here