मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली इराक उड्यो

फ्रन्टलाइन खेल । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गरेका छन् । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज(मंगलबार) राति इराक प्रस्थान गरेका हुन् ।

नेपाली टिम कतार एयरवेजबाट इराक प्रस्थान गरेका हुन् । नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए । प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् ।

frontline

नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् भने सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

नेपाली टिममा परेका खेलाडीहरु यसप्रकार छन् ः

गोलरक्षक ः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर ः रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर ः विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड ः अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रतिक्रिया दिनुहोस्

poster-here