मार्खेजको प्रसिद्ध अन्तर्वार्ता– ‘छोरी नहुनु मेरो जीवनको एकमात्र पछुतो’

(विख्यात उपन्यासकार ग्याब्रियल गार्सिया मार्खेजको यो अन्तर्वार्ता उनले नोबेल पुरस्कार प्राप्त गर्नुभन्दा ठीक एक वर्ष अगाडि (सन् १९८१ मा) द पेरिस रिभ्युमा छापिएको थियो । आख्यानको कला श्रृङ्खला अन्तर्गत प्रकाशित यो अन्तर्वार्ता पिटर स्टोनले लिएका हुन् । यसलाई अङ्ग्रेजीबाट नेपालीमा उपन्यासकार तीर्थ गुरुङले अनुवाद गरेका छन् ।)

गाब्रिएल गार्सिया मार्खेजको अन्तर्वार्ता उनको स्टुडियो/कार्यालयमा लिइएको थियो, जुन मेक्सिको सिटीको पुरानो र रमणीय क्षेत्र सान एन्जेल इनमा रहेको उनको घरको ठीक पछाडि अवस्थित छ । यहाँ रंगीन फूलहरू फुलिरहेका हुन्छन् । स्टुडियो मुख्य घरबाट छोटो पैदल दूरीमा छ । होचो र लामो यो भवन मूल रूपमा अतिथि गृहको रूपमा डिजाइन गरिएको जस्तो देखिन्छ । भित्र, एउटा छेउमा एउटा सोफा, दुईवटा आरामदायी कुर्सी र एउटा अस्थायी बार छ, एउटा सानो सेतो फ्रिज, जसको माथि मिनरल वाटर राखिएको छ ।

frontline

कोठाको सबैभन्दा आकर्षक विशेषता सोफामाथि रहेको एउटा ठूलो फोटो हो, जुन गार्सिया मार्खेजको एकल तस्वीर हो । उनी टोपी लगाएर हावा चलिरहेको कुनै स्थानमा ठाँट्टिदै उभिएका छन्, जुन केही हदसम्म एन्थोनी क्विन जस्तो देखिन्छ ।

गार्सिया मार्खेज स्टुडियोको पल्लो कुनामा आफ्नो डेस्कमा बसिरहेका थिए । हल्का पाइलाले छिटोछिटो हिँड्दै उनी मलाई अभिवादन गर्न आए । उनी बलिष्ठ शरीर भएका व्यक्ति हुन्, करिब पाँच फिट आठ वा नौ इन्च मात्र अग्ला, जो मध्यम तौलका राम्रा लडाकु जस्ता देखिन्छन्—चौडा छाती तर खुट्टा अलि पातला । कटराइजको प्यान्ट, पातलो टर्टलनेक स्वेटर र कालो छालाको बुटमा सहज उनको कपाल गाढा खैरो र घुम्रिएको छ, ओठमाथि मोटो जुँगा ।

यो अन्तर्वार्ता तीनवटा अपराह्नका भेटघाटहरूमा भएको थियो, प्रत्येक बसाइ लगभग दुई घण्टा जतिको । गार्सिया मार्खेजको अंग्रेजी निकै राम्रो भए पनि अन्तर्वाता अवधिभर प्रायः स्पेनिसमा बोले र उनका दुई छोराले अनुवादमा सघाए । जब गार्सिया मार्खेज बोल्छन्, उनको शरीर प्रायः अगाडि–पछाडि हल्लिन्छ । साना तर निर्णायक इशाराहरू गर्न, कुनै कुरालाई जोड दिन वा आफ्नो सोचाइको दिशा परिवर्तन भएको संकेत गर्न पनि उनी प्रायः हात चलाइरहन्छन् । उनी कहिले श्रोतातिर अगाडि झुक्छन्, कहिले विचारशील रूपमा बोल्दा खुट्टा खप्टाएर पछाडि अडेसिन्छन् ।

अन्तर्वार्ताकार: टेप रेकर्डर प्रयोग गर्नेबारे तपाईंलाई कस्तो लाग्छ ?

गाब्रिएल गार्सिया मार्खेजः  यहाँ समस्या के हुन्छ भने अन्तर्वार्ता रेकर्ड भइरहेको छ भनेर थाहा पाएपछि तपाईंको व्यवहार बदलिन्छ । मेरो हकमा, म तुरुन्तै रक्षात्मक ढङ्गमा प्रस्तुत हुन्छु । पत्रकारको रूपमा हामीले अझै टेप रेकर्डर प्रयोग गरेर अन्तर्वार्ता कसरी गर्ने भनेर सिकेका छैनौं जस्तो लाग्छ । मेरो विचारमा, सबैभन्दा राम्रो तरिका भनेको पत्रकारले कुनै नोट नलिई लामो कुराकानी गर्नु हो । त्यसपछि उसले कुराकानी सम्झनु पर्छ र आफूले महसुस गरेको प्रभावको रूपमा लेख्नुपर्छ, आवश्यक रूपमा व्यक्त गरिएका ठ्याक्कै शब्दहरू प्रयोग गर्नु पर्दैन । अर्को उपयोगी तरिका भनेको नोटहरू लिने र त्यसपछि अन्तर्वार्ता लिइएको व्यक्तिप्रति निश्चित निष्ठाका साथ तिनको व्याख्या गर्नु हो ।

टेप रेकर्डरले सबै कुरा रेकर्ड गर्छ र अन्तर्वार्ता लिइएको व्यक्तिप्रति वफादार हुँदैन किनकि यसले तपाईंले मुर्ख्याइँ गरेको पनि रेकर्ड गर्छ र सम्झन्छ जुन निकै झर्को लाग्दो कुरा हो । त्यसैले जब टेप रेकर्डर हुन्छ, अन्तर्वार्ता दिइरहेको छु भनेर म सचेत हुन्छु । जब टेप रेकर्डर हुँदैन म अचेतन मनले र पूर्ण रूपमा प्राकृतिक तरिकाले कुरा गर्छु ।

अन्तर्वार्ताकार:ठीक छ, तपाईंले मलाई यो प्रयोग गरेकोमा अलिकति दोषी महसुस गराउनुभयो, तर मलाई लाग्छ यस किसिमको अन्तर्वार्ताका लागि हामीलाई यो चाहिन्छ ।

मार्खेजः जे होस्, मैले भर्खरै भनेको कुराको सम्पूर्ण उद्देश्य तपाईंलाई रक्षात्मक बनाउनु थियो ।

अन्तर्वार्ताकारः त्यसोभए तपाईं आफैंले अन्तर्वार्ताका लागि चाहिँ टेप रेकर्डर कहिल्यै प्रयोग गर्नुभएन त ?

मार्खेजः पत्रकारको रूपमा म कहिल्यै प्रयोग गर्दिनँ । मेरो एउटा धेरै राम्रो टेप रेकर्डर छ, तर म त्यसलाई संगीत सुन्न मात्र प्रयोग गर्छु । पत्रकारको रूपमा मैले कहिल्यै अन्तर्वार्ता गरेको छैन । मैले रिपोर्टहरू त गरेको छु, तर प्रश्न र उत्तरसहितको अन्तर्वार्ता कहिल्यै गरेको छैन ।

अन्तर्वार्ताकारः मैले एउटा प्रसिद्ध अन्तर्वार्ताको बारेमा सुनें, जुन डुबेको कुनै जहाजको नाविकसँग थियो ।

मार्खेजः त्यो प्रश्न–उत्तरमा थिएन । नाविक मलाई आफ्ना साहसिक कथाहरू सुनाउँथे र म तिनलाई उनकै शब्दहरू प्रयोग गरेर प्रथम पुरुष शैलीमा लेख्थें, मानौं उनी आफैंले लेखिरहेका छन् । त्यो एउटा अखबारमा हरेक दिन एउटा भाग गरी शृंखलाको रूपमा दुई सातासम्म प्रकाशित भयो, त्यो मेरो नभई नाविकको नाममा हस्ताक्षर गरिएको थियो । त्यो खासमा मैले लेखेको थिएँ भनेर बीस वर्षपछि त्यो पुनः प्रकाशित नभएसम्म कसैले थाहा पाएनन् । मैले वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड लेखिसकेपछि मात्र बल्ल सम्पादकहरूले त्यो राम्रो थियो भनेर महसुस गरे ।

अन्तर्वार्ताकारः हामीले पत्रकारिताको बारेमा कुरा गर्न थालेका छौं, लामो समयसम्म उपन्यासहरू लेखिसकेपछि फेरि पत्रकार हुँदा कस्तो लाग्छ ? के तपाईं यो फरक भावना वा फरक दृष्टिकोणले गर्नुहुन्छ ?

मार्खेजः मेरो वास्तविक पेशा पत्रकारिता हो भनेर म सधैं विश्वस्त छु । पहिले मलाई पत्रकारितामा काम गर्ने अवस्थाहरू मन पर्दैनथे । त्यसबाहेक, मैले आफ्नो विचार र धारणाहरूलाई अखबारको चासोअनुसार ढाल्नुपर्थ्याे । अब, उपन्यासकारको रूपमा काम गरेपछि र त्यसको रूपमा आर्थिक स्वतन्त्रता हासिल गरेपछि, म साँच्चै आफूलाई रुचि लाग्ने र आफ्नो विचारसँग मेल खाने विषयहरू छान्न सक्छु । जे होस्, मलाई सधैं पत्रकारिताको एउटा उत्कृष्ट काम गर्ने अवसर धेरै मन पर्छ ।

अन्तर्वार्ताकारः तपाईंको लागि उत्कृष्ट पत्रकारिताको काम के हो ?

मार्खेजः जोन हर्सीको हिरोसिमा एउटा असाधारण काम थियो ।

अन्तर्वार्ताकारः के आजको दिनमा कुनै कथा छ जुन तपाईं विशेष रूपमा गर्न चाहनुहुन्छ ?

मार्खेजः धेरै छन्, र वास्तवमा केही मैले लेखेको पनि छु । मैले पोर्चुगल, क्युबा, अंगोला र भियतनामको बारेमा लेखेको छु । मलाई पोल्याण्डको बारेमा लेख्न धेरै मन पर्छ । मलाई लाग्छ यदि मैले अहिले त्यहाँ भइरहेको कुरालाई ठ्याक्कै वर्णन गर्न सकें भने, यो एकदमै महत्वपूर्ण कथा हुनेछ । तर अहिले पोल्याण्डमा धेरै चिसो छ, म आफ्नो सुखसुविधा मन पराउने एउटा पत्रकार हुँ ।

अन्तर्वार्ताकारः के तपाईंलाई पत्रकारिताले गर्न नसक्ने केही कुराहरू उपन्यासले गर्न सक्छ जस्तो लाग्छ ?

मार्खेजः लाग्दैन, मलाई यसमा कुनै फरक छ जस्तो लाग्दैन । स्रोतहरू उस्तै छन्, सामग्री उस्तै छ, साधनहरू र भाषा पनि उस्तै छन् । ड्यानियल डिफोको द जर्नल अफ द प्लेग इयर एउटा उत्कृष्ट उपन्यास हो र हिरोसिमा पत्रकारिताको महान् कृति हो ।

वास्तविक तथ्यहरूबाट सम्भावनाहरू पत्ता लगाउनु पत्रकार र उपन्यासकारको कर्तब्य हो, र यो भविष्यवक्ताको काम पनि हो ।

अन्तर्वार्ताकारः के सत्य र कल्पनालाई सन्तुलन गर्ने जिम्मेवारी पत्रकार र उपन्यासकारको फरक हुन्छ ?

मार्खेजः पत्रकारितामा एउटा मात्र गलत तथ्यले सम्पूर्ण कामलाई प्रभावित गर्छ । यसको विपरीत, आख्यानमा एउटा मात्र सत्य तथ्यले सम्पूर्ण कामलाई वैधानिकता दिन्छ । फरक यति हो, र यो लेखकको प्रतिबद्धतामा भर पर्छ । एउटा उपन्यासकारले जे पनि गर्न सक्छ, जबसम्म उसले पाठकहरूलाई विश्वस्त पार्न सक्छ ।

अन्तर्वार्ताकारः केही वर्षअघिका अन्तर्वार्ताहरूमा, तपाईंले पत्रकारको रूपमा आफ्नो विगतलाई हेर्दा त्यतिबेला कति छिटो काम गर्थें भनेर आश्चर्य व्यक्त गर्नुभएको जस्तो देखिन्थ्यो ।

मार्खेजः मलाई अहिले पहिलेभन्दा लेख्न गाह्रो लाग्छ, उपन्यास र पत्रकारिता दुवैमा । अखबारहरूका लागि काम गर्दा म हरेक शब्दप्रति त्यति सचेत थिइनँ, तर अहिले छु । जब म बोगोटामा एल स्पेक्टाडोर का लागि काम गर्थें, म सातामा कम्तीमा तीनवटा फिचर लेख्थें, हरेक दिन दुई वा तीनवटा सम्पादकीय टिप्पणीहरू लेख्थेँ र म फिल्म समीक्षाहरू पनि गर्थें । त्यसपछि राति, सबै घर गएपछि, म आफ्नो उपन्यास लेख्थें । मलाई लाइनोटाइप मेसिनको आवाज मन पर्थ्याे, जुन वर्षाजस्तो सुनिन्थ्यो । यदि तिनीहरू रोकिन्थे र म मौनतामा अड्किएँ भने, काम गर्न असमर्थ हुन्थेँ । अहिले, त्यो जाँगर तुलनात्मक रूपमा कम छ । राम्रो काम गर्ने दिनमा, बिहान नौ बजेदेखि दिउँसो दुई वा तीन बजेसम्म काम गर्दा, म बढीमा चार वा पाँच पंक्तिको एउटा छोटो अनुच्छेद लेख्न सक्छु, जुन म प्रायः भोलिपल्ट च्यातिदिन्छु ।

अन्तर्वार्ताकारः यो परिवर्तन तपाईंका कामहरूको धेरै प्रशंसा भएको कारणले हो वा कुनै राजनीतिक प्रतिबद्धताको कारणले ?

मार्खेजः दुवैबाट हो । मैले कल्पना गरेकोभन्दा धेरै मानिसहरूका लागि लेखिरहेको छु भन्ने विचारले साहित्यिक र राजनीतिक दुवै हिसाबले एउटा सामान्य जिम्मेवारी सिर्जना गरेको जस्तो मलाई लाग्छ । यसमा गर्वानुभूति पनि समावेश छ, पहिले जे गरें त्यसभन्दा कम नहोस् भन्ने चाहना छ ।

अन्तर्वार्ताकारः तपाईंले लेख्न कसरी सुरु गर्नुभयो ?

मार्खेजः चित्र कोरेर । कार्टुनहरू कोरेर । पढ्न वा लेख्न सक्नुभन्दा पहिले म स्कूल र घरमा कमिक्सहरू बनाउँथें । रमाइलो कुरा त के छ भने, मलाई अहिले थाहा छ हाई स्कूलमा मलाई लेखकको रूपमा चिनिन्थ्यो, जबकि मैले वास्तवमा कहिल्यै केही लेखेको थिइनँ । यदि कुनै पर्चा वा निवेदन पत्र लेख्नुपर्थ्याे भने, मैले नै त्यो काम गर्थें किनभने म कथित रूपमा लेखक थिएँ ।

जब म कलेज गएँ, मेरो सामान्य साहित्यिक पृष्ठभूमि मेरा साथीहरूको औसतभन्दा निकै माथि थियो । बोगोटा विश्वविद्यालयमा मैले नयाँ साथीहरू र परिचितहरू बनाउन थालें जसले मलाई समकालीन लेखकहरूसँग परिचय गराए । एक रात एकजना साथीले मलाई फ्रान्ज काफ्काको छोटा कथाहरूको किताब उधारो दिए । म बासस्थानमा फर्कें र द मेटामोर्फोसिस पढ्न थालें । पहिलो पंक्तिले मलाई ओछ्यानबाटै झन्डै खसालिदियो । म धेरै विस्मयमा परें ।

पहिलो पंक्ति, ‘जब ग्रेगोर साम्सा त्यो बिहान असहज सपनाहरूबाट ब्यूँझिए, उनले आफूलाई आफ्नो ओछ्यानमा एउटा विशाल कीरामा परिणत भएको पाए…’ पढ्दा कसैलाई यस्ता कुराहरू लेख्न अनुमति छ भन्ने थाहा नै नभएको मलाई लाग्यो । यदि मलाई थाहा भएको भए, मैले धेरै अघि नै लेख्न सुरु गरिसकेको हुन्थें । त्यसैले मैले तुरुन्तै छोटा कथाहरू लेख्न थालें । ती पूर्ण रूपमा बौद्धिक छोटा कथाहरू थिए किनभने म तिनलाई मेरो साहित्यिक अनुभवको आधारमा लेखिरहेको थिएँ र मैले अझै साहित्य र जीवनबीचको सम्बन्ध फेला पारेको थिइनँ । ती कथाहरू बोगोटाको एल स्पेक्टाडोर अखबारको साहित्यिक परिशिष्टमा प्रकाशित भए र त्यतिबेला तिनले केही सफलता पाए—सम्भवतः किनभने कोलम्बियामा कसैले बौद्धिक छोटा कथाहरू लेखिरहेका थिएनन् । त्यतिबेला लेखिने कुराहरू प्रायः ग्रामीण जीवन र सामाजिक जीवनका बारेमा हुन्थे । जब मैले मेरो पहिलो छोटो कथाहरू लेखें, तिनमा जोयसको प्रभाव छ भनेर मलाई भनियो ।

धेरै मानिसहरू मलाई अद्भुत आख्यानकार ठान्छन्, जबकि वास्तवमा म धेरै यथार्थवादी व्यक्ति हुँ र मलाई मैले लेखेको कुरा साँचो समाजवादी यथार्थवाद लाग्छ ।

अन्तर्वार्ताकारः के तपाईंले त्यतिबेला जोयस पढ्नुभएको थियो ?

मार्खेजः  मैले जोयस कहिल्यै पढेको थिइनँ, त्यसैले मैले युलिसिस पढ्न थालें । मैले उपलब्ध एकमात्र स्पेनिस संस्करणमा यो पढें । त्यसपछि, अंग्रेजीमा र धेरै राम्रो फ्रान्सेली अनुवादमा पनि युलिसिस पढेपछि, मूल स्पेनिस अनुवाद त धेरै खराब पो रहेछ भनेर मलाई थाहा भयो । तर मैले केही सिकें जुन मेरो भविष्यको लेखनमा धेरै उपयोगी भयो—आन्तरिक एकालापको तरिका । पछि मैले यो भर्जिनिया वुल्फमा पनि पाएँ र मलाई उनले प्रयोग गरेको तरिका जोयसको भन्दा बढी मन पर्छ । यद्यपि यो आन्तरिक एकालापको आविष्कार गर्ने व्यक्ति लाजारिलो दे तोर्मेस नामका अज्ञात लेखक पो रहेछन् भनेर पछि मैले महसुस गरें ।

अन्तर्वार्ताकारः के तपाईं आफ्ना प्रारम्भिक प्रभावहरूको नाम लिन सक्नुहुन्छ ?

मार्खेजः मलाई बौद्धिक ढङ्गबाट छोटो कथाहरू लेख्नबाट मुक्त गर्न साँच्चिकै सहयोग गर्नेहरू अमेरिकी लस्ट जेनेरेसनका लेखकहरू थिए । उनीहरूको साहित्य जीवनसँग सम्बन्ध थियो, जुन मेरो छोटो कथाहरूमा थिएन भनेर मलाई महसुस भयो । र त्यसपछि एउटा घटना घट्यो जुन यो मनोवृत्तिको सन्दर्भमा धेरै महत्वपूर्ण थियो ।

त्यो अप्रिल ९, १९४८ मा घटेको बोगोटाको परिघटना थियो, जब एकजना राजनीतिक नेता गाइटानलाई गोली हानियो र बोगोटाका मानिसहरू सडकमा उन्मत्त भए । मैले यो समाचार सुन्दा म आफ्नो ठाउँमा दिउँसोको खाना खान लाग्दै थिएँ । म त्यो ठाउँतिर दौडें, तर गाइटानलाई भर्खरै ट्याक्सीमा राखेर अस्पताल लगिएको थियो । फर्कंदा बाटोमा मानिसहरू पहिले नै सडकमा उत्रिसकेका थिए र उनीहरू प्रदर्शन गरिरहेका थिए, पसलहरू लुटिरहेका थिए र भवनहरू जलाउँदै थिए । म पनि उनीहरूसँग मिसिएँ । म कस्तो देशमा बसिरहेको छु र मेरा छोटा कथाहरूको त्योसँग कति कम सम्बन्ध रहेछ भनेर मैले त्यो दिउँसो र साँझ थाहा पाएँ । पछि मलाई मैले मेरो बाल्यकाल बिताएको क्यारिबियनको ब्यारान्क्विल्ला फर्कन बाध्य पारियो र त्यो नै मेरो जीवन थियो जुन मैले बाँचेको थिएँ, चिनेको थिएँ र लेख्न चाहन्थें भनेर मैले महसुस गरें ।

१९५० वा ५१ तिर अर्को घटना घट्यो जसले मेरो साहित्यिक प्रवृत्तिलाई प्रभावित गर्‍यो । मेरी आमाले मलाई म जन्मेको र मैले पहिलो वर्षहरू बिताएको घर बेच्न अराकाटाका सँगै जान आग्रह गर्नुभयो । जब म त्यहाँ पुगें, त्यसले पहिलो पटक मलाई धेरै स्तब्ध पार्‍यो किनभने म त्यतिबेला बाइस वर्षको थिएँ र आठ वर्षको उमेरपछि त्यहाँ गएको थिइनँ । वास्तवमा त्यहाँ केही पनि परिवर्तन भएको थिएन । गाउँलाई साँच्चै हेरिरहेको नभई बरु पढिरहेको जस्तो अनुभव मलाई भयो । यो यस्तो थियो मानौं मैले देखेका सबै कुरा पहिल्यै लेखिएको थियो र मैले गर्नुपर्ने भनेको बस्नु र त्यहाँ भएको र मैले भर्खर पढिरहेको कुरालाई सार्नु थियो ।

घरहरू, मानिसहरू, र सम्झनाहरू सबै व्यावहारिक उद्देश्यका लागि साहित्यमा विकसित भएको थियो । मैले त्यतिबेला फकनर पढेको थिएँ कि थिइनँ यकीन छैन तर मलाई अहिले थाहा छ कि फकनरको जस्तो तरिकाले मात्र मैले देखिरहेको कुरा लेख्न सम्भव बनाउँथ्यो । गाउँको वातावरण, पतन र गर्मी लगभग फकनरलाई पढ्दा मैले महसुस गरेको जस्तै थियो । यो फलफुल कम्पनीका धेरै अमेरिकीहरू बस्ने केरा घारीको क्षेत्र थियो, जसले डिप साउथका लेखकहरूमा मैले पाएको जस्तै वातावरण प्रदान गर्‍यो । समीक्षकहरूले ममा फकनरको साहित्यिक प्रभावको कुरा गरेका छन्, तर म यसलाई संयोगको रूपमा देख्छुः मैले केवल त्यस्तो सामग्री फेला पारेको थिएँ जसलाई फकनरले उही तरिकाले प्रयोग गर्नुपर्थ्याे ।

मलाई लाग्छ असाधारण अनुशासन बिना तपाईं कुनै पनि मूल्यवान किताब लेख्न सक्नुहुन्न । राम्रो लेखक हुन तपाईं लेखनको हरेक क्षणमा पूर्ण रूपमा स्पष्ट हुनुपर्छ, र राम्रो स्वास्थ्यमा हुनुपर्छ ।

त्यो गाउँको यात्राबाट फर्केर मैले आफ्नो पहिलो उपन्यास लीफ स्टोर्म लेखें । अराकाटाकाको त्यो यात्रामा मलाई वास्तवमा के भयो भने मेरो बाल्यकालमा भएका सबै कुराको साहित्यिक मूल्य थियो जुन मैले अब मात्र कदर गरिरहेको थिएँ । लीफ स्टोर्म लेखेको क्षणदेखि मैले लेखक बन्न चाहेको महसुस गरें र कसैले मलाई रोक्न सक्दैन भन्ने थाहा भयो र मलाई बाँकी रहेको एकमात्र कुरा विश्वको सबैभन्दा उत्कृष्ट लेखक बन्ने प्रयास गर्नु थियो । त्यो १९५३ को कुरा थियो, तर १९६७ सम्म मेरा आठ किताबमध्ये पाँचौं लेखिसकेपछि मात्र मैले मेरो पहिलो रोयल्टी पाएको थिएँ ।

अन्तर्वार्ताकारः युवा लेखकहरू प्रायः आफ्नो बाल्यकाल र अनुभवहरूको मूल्यलाई अस्वीकार गर्छन् र सुरुमा तपाईंले जस्तै बौद्धिक बनाउँछन् भन्ने तपाईंलाई लाग्छ ?

मार्खेजः होइन, यो प्रक्रिया सामान्यतया उल्टो दिशामा हुन्छ, तर यदि मलाई कुनै युवा लेखकलाई सल्लाह दिनुपर्‍यो भने, उसले आफूसँग भएको कुराबारे लेख्नुपर्छ, लेखकले आफूसँग भएको कुरा लेखिरहेको छ वा उसले पढेको वा सुनाइएको कुरा लेखिरहेको छ भनेर थाहा पाउन सधैं सजिलो हुन्छ भन्थें ।

पाब्लो नेरुदाको एउटा कवितामा एउटा पंक्ति छ जसमा भनिएको छ, ‘मैले गाउँदा आविष्कार गर्नबाट भगवानले मलाई बचाऊन् ।’ मेरो कामको सबैभन्दा ठूलो प्रशंसा मेरो कल्पनाशक्तिको लागि आउँछ भन्दा सधैं मलाई रमाइलो लाग्छ, जबकि सत्य त मेरो सम्पूर्ण काममा एउटा पनि पंक्ति छैन जसको आधार वास्तविकतामा नहोस् भन्ने हो । समस्या चाहिँ क्यारिबियन वास्तविकता सबैभन्दा डरलाग्दो कल्पनासँग मिल्नु हो ।

अन्तर्वार्ताकारः त्यतिबेला तपाईं कसका लागि लेख्दै हुनुहुन्थ्यो ? तपाईंका पाठक को थिए ?

मार्खेजः लीफ स्टोर्म मेरा साथीहरूका लागि लेखिएको थियो जो मलाई सहयोग गरिरहेका थिए, मलाई आफ्ना किताबहरू उधारो दिइरहेका थिए र मेरो कामप्रति धेरै उत्साहित थिए । सामान्यतया तपाईं प्रायः कसैका लागि लेख्नुहुन्छ भन्ने मलाई लाग्छ । जब म लेख्छु, यो साथीलाई यो मन पर्नेछ, वा त्यो साथीलाई यो अनुच्छेद वा अध्याय मन पर्नेछ, सधैं विशिष्ट व्यक्तिहरूको बारेमा सोच्दै म सचेत रहन्छु । अन्ततः सबै किताबहरू तपाईंका साथीहरूका लागि लेखिन्छन् । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड लेखेपछि समस्या भयो । अब म लाखौं पाठकहरूमध्ये कसका लागि लेखिरहेको छु मलाई थाहा हुन्न, यो कुराले मलाई असहज बनाउँछ र म रोकिन्छु । यो यस्तो हो मानौं लाखौं आँखाहरूले तपाईंलाई हेरिरहेका छन् र उनीहरूले के सोचिरहेका छन् तपाईंलाई साँच्चै थाहा हुन्न ।

अन्तर्वार्ताकारः तपाईंको आख्यानमा पत्रकारिताको प्रभाव कस्तो छ ?

मार्खेजः मलाई प्रभाव पारस्परिक छ जस्तो लाग्छ । आख्यानले मेरो पत्रकारितालाई सहयोग गरेको छ किनभने यसले पत्रकारितालाई साहित्यिक मूल्य दिएको छ । पत्रकारिताले मेरो आख्यानलाई सहयोग गरेको छ किनभने यसले मलाई वास्तविकतासँग नजिकको सम्बन्धमा राखेको छ ।

अन्तर्वार्ताकार: लीफ स्टोर्म पछि र वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड लेख्न सक्षम हुनुअघि तपाईंले गर्नुभएको शैलीको खोजी कसरी वर्णन गर्नुहुन्छ ?

मार्खेजः लीफ स्टोर्म लेखिसकेपछि, गाउँ र मेरो बाल्यकालको बारेमा लेख्नु भनेको देशको राजनीतिक वास्तविकताको सामना गर्न र लेख्नबाट भाग्नु हो भनेर मैले निर्णय गरें । यस्तो स्मृतिदंशको पछाडि लुकेर राजनीतिक कुराहरूको सामना गर्नबाट जोगिरहेको छु भन्ने मेरो गलत धारणा थियो । त्यो साहित्य र राजनीतिबीचको सम्बन्धको बारेमा धेरै चर्चा हुने समय थियो । मैले यी दुईबीचको खाडललाई कम गर्न प्रयास गरिरहें । म फकनरबाट प्रभावित थिएँ नै, अब यसमा हेमिङ्वे पनि मिसिएका थिए ।

मैले नो वन राइट्स टु द कोलोनेल, इन इभिल आवर, र बिग ममाज फ्युनरल लेखें, जुन सबै लगभग एकै समयमा लेखिएका थिए र धेरै कुराहरूमा ती समान छन् । यी कथाहरू लीफ स्टोर्म र वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड भएको गाउँभन्दा फरक गाउँमा घट्छन् । यो जादु नहुने गाउँ हो । यो पत्रकारितात्मक साहित्य हो । तर जब मैले इन इभिल आवर समाप्त गरें, मेरा सबै धारणाहरू फेरि गलत रहेछन् भन्ने पाएँ । वास्तवमा मेरो बाल्यकालबारेको लेखन बढी राजनीतिक थियो र मैले सोचेको भन्दा त्यो मेरो देशको वास्तविकतासँग बढी मेल खान्थ्यो भन्ने महसुस भयो । इन इभिल आवर पछि मैले पाँच वर्षसम्म केही लेखिनँ । म सधैं केही गर्ने विचारमा थिएँ, तर केही खट्किन्थ्यो र त्यो के थियो, म निश्चित थिइनँ । एक दिन मैले सही स्वर फेला पारें—जुन स्वर मैले अन्ततः वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड मा प्रयोग गरें । यो मेरी हजुरआमाले आफ्ना कथाहरू सुनाउने तरिकामा आधारित थियो । उनी अलौकिक र अद्भुत तरिकाले कुराहरू सुनाउँथिन्, तर पूर्ण प्राकृतिक र सहजताका साथ । जब मैले प्रयोग गर्नुपर्ने स्वर फेला पारें, मैले अठार महिनासम्म हरेक दिन काम गरें ।

पाँचवटा किताब प्रकाशित गरिसकेको भए पनि चालीस वर्षको नहुँदासम्म मैले लेखकको रोयल्टी बापत एक पैसा पनि पाएको थिइनँ । १९६७ सम्म मेरा आठ किताबमध्ये पाँचौं लेखिसकेपछि मात्र मैले मेरो पहिलो रोयल्टी पाएको थिएँ ।

अन्तर्वार्ताकारः उनी ‘अनौठो’ कुरालाई कसरी यति प्राकृतिक रूपमा व्यक्त गर्थिन् ?

मार्खेजः सबैभन्दा महत्वपूरर्ण कुरा उनको अनुहारको अभिव्यक्ति थियो । उनी आफ्ना कथाहरू सुनाउँदा आफ्नो अभिव्यक्ति कति पनि परिवर्तन गर्दिनथिन्, र सबैजना आश्चर्यमा पर्थे । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड लेख्ने पहिलाका प्रयासहरूमा, मैले कथालाई विश्वास नगरी सुनाउने कोसिस गरेको थिएँ । मैले थाहा पाएँ, मैले तिनमा आफैं विश्वास गर्नुपर्ने थियो र मेरी हजुरआमाले सुनाएको जस्तै अभिव्यक्तिका साथ लेख्नु थियोः ढुङ्गाजस्तो भावहीन तरीकाले ।

अन्तर्वार्ताकारः त्यो तरिका वा स्वरमा पनि पत्रकारितात्मक गुणस्तर देखिन्छ । अलौकिक लाग्ने घटनाहरूलाई तपाईं यति सूक्ष्म विवरणमा वर्णन गर्नुहुन्छ कि तिनले आफ्नै वास्तविकता प्राप्त गर्छन् । के यो तपाईंले पत्रकारिताबाट सिक्नुभएको कुरा हो ?

मार्खेजः यो एउटा पत्रकारितात्मक चाल हो जुन तपाईं साहित्यमा पनि लागू गर्न सक्नुहुन्छ । उदाहरणका लागि, यदि तपाईंले आकाशमा हात्तीहरू उडिरहेका छन् भन्नुभयो भने मानिसहरूले तपाईंलाई विश्वास गर्दैनन् । तर यदि तपाईंले चार सय पच्चीसवटा हात्तीहरू आकाशमा उडिरहेका छन् भन्नुभयो भने, मानिसहरूले सम्भवतः तपाईंलाई विश्वास गर्नेछन् । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड यस्तै कुराहरूले भरिएको छ ।

यो ठ्याक्कै मेरी हजुरआमाले प्रयोग गरेको विधि हो । मलाई विशेष रूपमा एउटा पात्रको कथा सम्झना छ जसलाई पहेंलो पुतलीहरूले घेरेका हुन्थे । म धेरै सानो छँदा एउटा इलेक्ट्रिसियन हाम्रो घरमा आउँथ्यो । म धेरै उत्सुक हुन्थें किनभने ऊ एउटा पेटी बोकेर हिँड्थ्यो जसलाई ऊ बिजुलीको खम्बामा झुन्डिन वा अड्किन प्रयोग गथ्र्यो । हरेक पटक त्यो मानिस आएर फर्किंदा उसलाई पुतलीहरूले घेरेको हुन्थ्यो भनेर मेरी हजुरआमाले भन्नुहुन्थ्यो । तर जब म यो लेख्दै थिएँ, यदि मैले पुतलीहरू पहेंला छन् भनी नभनेको भए मानिसहरूले विश्वास गर्दैनथे भन्ने लाग्यो । जब म रेमेडियोस द ब्यूटी स्वर्गमा जाने प्रसंग लेख्दै थिएँ, त्यसलाई विश्वसनीय बनाउन मलाई धेरै समय लाग्यो ।

एक दिन म बगैंचामा गएँ र घरमा कपडा धुन आउने महिलालाई देखें र उनी तन्नाहरू सुकाउँदै थिइन् र त्यहाँ धेरै हावा चलिरहेकोले उनी चादरहरू नउडाउन हावासँग बहस गरिरहेकी थिइन् । यदि मैले रेमेडियोस द ब्यूटीका लागि तन्नाहरू प्रयोग गरें भने, उनी माथि जान्छिन् भनी मैले पत्ता लगाएँ । त्यसलाई विश्वसनीय बनाउन मैले त्यसै गरें । हरेक लेखकको समस्या विश्वसनीयता हो । जसले जे पनि लेख्न सक्छ, जबसम्म त्यसमा विश्वास गरिन्छ ।

अन्तर्वार्ताकारः वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड मा अनिद्राको महामारीको उत्पत्ति के थियो ?

मार्खेजः ओडिपसदेखि नै म सधैं महामारीहरूमा रुचि राख्थें । मैले मध्ययुगीन महामारीहरूको बारेमा धेरै अध्ययन गरेको छु । अन्य कारणहरूमध्ये मेरो मनपर्ने किताबहरूमा एउटा ड्यानियल डिफोको द जर्नल अफ द प्लेग इयर हो, किनभने डिफो एक पत्रकार हुन् जसले भनेको कुरा शुद्ध कल्पना जस्तो सुनिन्छ । धेरै वर्षसम्म मलाई डिफोले लन्डनको महामारीको बारेमा आफूले देखेर लेखेका होला भन्ने लाग्थ्यो । तर पछि मैले यो त एउटा उपन्यास पो रहेछ भनेर पत्ता लगाएँ किनभने लन्डनमा महामारी हुँदा डिफो सात वर्षभन्दा कम उमेरका थिए । महामारीहरू सधैं मेरो बारम्बार र विभिन्न रूपहरूमा आउने विषयहरूमध्ये एउटा भएको छ । इन इभिल आवरमा, पर्चाहरू महामारी हुन् । धेरै वर्षसम्म मलाई कोलम्बियाको राजनीतिक हिंसाको तत्वमीमांसा महामारी जस्तै लाग्थ्यो । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड अघि, मैले वन डे आफ्टर स्याटरडे भन्ने कथामा सबै चराहरूलाई मार्न महामारी प्रयोग गरेको थिएँ । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड मा मैले अनिद्राको महामारीलाई साहित्यिक चालको रूपमा प्रयोग गरें, किनभने यो निदाउने महामारीको उल्टो हो । अन्ततः साहित्य भनेको काष्ठकला मात्र हो ।

मेरा किताबहरूले मेरो मृत्युपछि मान्यता प्राप्त भएको भए राम्रो लाग्थ्यो, कम्तीमा पूँजीवादी देशहरूमा, जहाँ तपाईं एक प्रकारको व्यापारिक वस्तु बन्नुहुन्छ ।

अन्तर्वार्ताकारः के तपाईं त्यो उपमालाई अलि बढी व्याख्या गर्न सक्नुहुन्छ ?

मार्खेजः दुवै धेरै कठिन काम हुन् । केही लेख्नु भनेको टेबल बनाउनु जत्तिकै गाह्रो छ । दुवैमा तपाईं वास्तविकतासँग काम गरिरहनुभएको हुन्छ, जुन काठ जत्तिकै कठोर सामग्री हो । दुवैमा चाल र विधिहरू हुन्छन् । मूल रूपमा धेरै कम जादु र धेरै कठिन परिश्रम समावेश हुन्छ । र प्राउस्टले, मलाई लाग्छ, भनेका थिए, यसमा दस प्रतिशत प्रेरणा र नब्बे प्रतिशत पसिना लाग्छ । मैले कहिल्यै काठको काम गरेको छैन, तर यो मलाई सबैभन्दा मन पर्ने काम हो, किनभने विशेष गरी तपाईंले आफ्नो लागि यो काम गर्न कसैलाई भेट्टाउन सक्नुहुन्न ।

अन्तर्वार्ताकारः वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड मा भएको केरा उन्माद के हो ? त्यो युनाइटेड फ्रुट कम्पनीले गरेको घटनामा कति आधारित छ ?

मार्खेजः केरा उन्माद वास्तविकताको नजिकमा आधारित छ । अवश्य पनि, मैले ऐतिहासिक रूपमा प्रमाणित नभएका कुराहरूमा साहित्यिक चालहरू प्रयोग गरेको छु । उदाहरणका लागि, चोकमा भएको नरसंहार पूर्ण रूपमा सत्य हो जुन मैले साक्षी र कागजातहरूको आधारमा लेखें, तर ठ्याक्कै कति मानिस मारिए कहिल्यै थाहा भएन । मैले तीन हजारको तथ्याङ्क प्रयोग गरें, जुन स्पष्ट रूपमा अतिशयोक्ति हो । तर मेरो बाल्यकालको एउटा सम्झनामा एउटा धेरै, धेरै लामो रेल केरा घारीबाट निस्किएको थियो, जुन कथित रूपमा केराले भरिएको थियो । त्यसमा तीन हजार मृत मानिसहरू हुन सक्दथे, जुन अन्ततः समुद्रमा फालिए । वास्तवमा अचम्म लाग्दो कुरा के छ भने अहिले उनीहरू संसद् र अखबारहरूमा ‘तीन हजार मृत’ को बारेमा धेरै स्वाभाविक रूपमा कुरा गर्छन् । मलाई आशंका लाग्छ, हाम्रो इतिहासको आधा हिस्सा यस्तै तरिकाले बनाइएको छ । द अटम अफ द प्याट्रियार्क मा, यो अहिले सत्य नभए पनि केही फरक पर्दैन, किनभने भविष्यमा यो सत्य हुनेछ भनेर तानाशाहले भन्छ । ढिलो वा चाँडो मानिसहरूले सरकारभन्दा लेखकहरूलाई विश्वास गर्छन् ।

अन्तर्वार्ताकारः यसले लेखकलाई धेरै शक्तिशाली बनाउँछ, होइन त ?

मार्खेजः हो, र म त्यसलाई पनि अनुभव गर्न सक्छु । यसले मलाई ठूलो जिम्मेवारीको भावना दिन्छ । म वास्तवमा पत्रकारिताको एउटा काम गर्न चाहन्छु जुन पूर्ण रूपमा सत्य र वास्तविक होस्, तर वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड जस्तै अद्भुत लागोस् । जति धेरै म बाँच्छु र विगतका कुराहरू सम्झन्छु, त्यति मलाई साहित्य र पत्रकारिता एकअर्कासँग नजिकको सम्बन्धमा छन् भन्ने लाग्छ ।

अन्तर्वार्ताकारः द अटम अफ द प्याट्रियार्कमा एउटा देशले आफ्नो विदेशी ऋणको लागि समुद्र नै छोड्छ नि, त्यो के हो ?

मार्खेजः हो, तर त्यो वास्तवमा भएको थियो । यो भएको छ र धेरै पटक फेरि हुनेछ । द अटम अफ द प्याट्रियार्क पूर्ण रूपमा ऐतिहासिक किताब हो । वास्तविक तथ्यहरूबाट सम्भावनाहरू पत्ता लगाउनु पत्रकार र उपन्यासकारको कर्तब्य हो, र यो भविष्यवक्ताको काम पनि हो । समस्या के हो भने धेरै मानिसहरू मलाई अद्भुत आख्यानकार ठान्छन्, जबकि वास्तवमा म धेरै यथार्थवादी व्यक्ति हुँ र मलाई मैले लेखेको कुरा साँचो समाजवादी यथार्थवाद लाग्छ ।

लेखन जारी राख्न चाहने कुनै प्रसिद्ध लेखकले प्रसिद्धिको विरुद्ध निरन्तर आफूलाई बचाउनुपर्छ ।

अन्तर्वार्ताकारः के यो यूटोपियन हो ?

मार्खेजः यूटोपियन शब्दको अर्थ वास्तविक हो वा आदर्श हो त्यसमा म निश्चित छैन । तर मलाई लाग्छ यो वास्तविक हो ।

अन्तर्वार्ताकारः के द अटम अफ द प्याट्रियार्क का पात्रहरू, उदाहरणका लागि तानाशाहहरू, वास्तविक व्यक्तिहरूमा आधारित छन् ? फ्रान्को, पेरोन, र ट्रुजिलो जस्ता समानताहरू देखिन्छन् नि ।

मार्खेजः हरेक उपन्यासमा, पात्र भनेको कोलाज हो, तपाईंले चिनेका, सुनेका वा पढेका विभिन्न पात्रहरूको कोलाज । मैले गत शताब्दी र यो शताब्दीको सुरुका ल्याटिन अमेरिकी तानाशाहहरूको बारेमा पढ्न सकिने सबै कुरा पढें । मैले तानाशाहीमा बाँचेका धेरै मानिसहरूसँग पनि कुरा गरें । मैले यो कम्तीमा दश वर्षसम्म गरें । र, जब मलाई पात्र कस्तो हुने भन्ने स्पष्ट विचार भयो, मैले पढेका र सुनेका सबै कुरा बिर्सने प्रयत्न गरें, ताकि वास्तविक जीवनमा भएको कुनै पनि परिस्थितिको प्रयोग नगरी मैले आविष्कार गर्न सकूँ ।

एक ठाउँमा आएर मैले म आफैं कुनै पनि अवधिको लागि तानाशाहीमा नबाँचेको महसुस गरें, त्यसैले मैले सोचें, यदि मैले यो किताब स्पेनमा लेखें भने, स्थापित तानाशाहीमा बाँच्नुको वातावरण कस्तो हुन्छ भनेर म देख्न सक्छु । तर फ्रान्कोको नेतृत्वमा स्पेनको वातावरण क्यारिबियन तानाशाहीको वातावरणभन्दा धेरै फरक भएको मैले पाएँ । त्यसैले त्यो किताब लगभग एक वर्षसम्म अवरुद्ध जस्तै भयो । केही नपुगेको जस्तो थियो र कि त्यो के थियो त्यसमा म निश्चित थिइनँ । त्यसपछि सबैभन्दा राम्रो कुरा भनेको क्यारिबियनमा फर्कनु हो भनेर एक रात मैले निर्णय गरें । त्यसैले हामी सबै कोलम्बियाको ब्यारान्क्विल्ला फर्कियौं । मैले पत्रकारहरूसित एउटा घोषणा गरें जुन उनीहरूलाई ठट्टा जस्तो लाग्यो । मैले अम्बाको गन्ध कस्तो हुन्छ भनेर बिर्सिएको हुनाले म फर्केर आएको छु भनेको थिएँ । वास्तवमा, मलाई आफ्नो किताब पूरा गर्नु थियो । मैले क्यारिबियनको यात्रा गरें । जब म टापुबाट टापुमा गएँ, मैले आफ्नो उपन्यासमा कमी भएका तत्वहरू फेला पारें ।

अन्तर्वार्ताकारः तपाईं प्रायः शक्तिको एकाङ्कीपनको विषय प्रयोग गर्नुहुन्छ नि ।

मार्खेजः  जति धेरै शक्ति तपाईंसँग हुन्छ, त्यति नै धेरै कसले तपाईंलाई ढाँटिरहेको छ वा छैन भनेर थाहा पाउन गाह्रो हुन्छ । जब तपाईं पूर्ण शक्तिमा पुग्नुहुन्छ, वास्तविकतासँग कुनै सम्पर्क रहँदैन र त्यो सबैभन्दा खराब प्रकारको एकाङ्कीपन हो । कुनै धेरै शक्तिशाली व्यक्ति वा तानाशाह, स्वार्थहरू र त्यस्ता मानिसहरूबाट घेरिएको हुन्छ जसको अन्तिम उद्देश्य त्यो शक्तिशाली व्यक्तिलाई वास्तविकताबाट अलग गर्नु हुन्छ; उक्त प्रदर्शनीमा सबै कुरा उसलाई अलग गर्ने ध्याउन्नमा हुन्छन् ।

अन्तर्वार्ताकारः लेखकको एकाङ्कीपन चाहिँ के हो ? यो फरक हुन्छ ?

मार्खेजः यसको शक्तिको एकाङ्कीपनसँग धेरै सम्बन्ध छ । वास्तविकतालाई चित्रण गर्ने लेखकको प्रयासले प्रायः उसलाई त्यसको विकृत दृष्टिकोणतिर लैजान्छ । वास्तविकतालाई स्थानान्तरण गर्ने कोसिसमा उसले त्यससँग सम्पर्क गुमाउन सक्छ, जस्तो हात्तीको दाँतको धरहरा भनिन्छ नि । पत्रकारिता त्यसको विरुद्धमा धेरै राम्रो रक्षक हो । त्यसैले म सधैं पत्रकारिता गरिरहने प्रयत्न गर्छु, किनभने यसले मलाई वास्तविक संसारसँग, विशेषतः राजनीतिक पत्रकारिता र राजनीतिसँग सम्पर्कमा राख्छ । वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड पछि मलाई हुने एकाङ्कीपनको खतरा लेखकको एकाङ्कीपन थिएन; यो प्रसिद्धिको एकाङ्कीपन थियो, जुन शक्तिको एकाङ्कीपनसँग धेरै मिल्छ । मेरा साथीहरूले मलाई त्यसबाट जोगाए, मेरा साथीहरू जो सदा त्यसका लागि उभिएका हुन्छन् ।

विख्यात उपन्यासकार ग्याब्रियल गार्सिया मार्खेजको कोलम्बियाको ब्यारान्क्विल्लास्थित घर, जसलाई अहिले संग्रहालय बनाइएको छ ।

अन्तर्वार्ताकारः कसरी ?

मार्खेजः किनभने मेरो जीवनभरि उही साथीहरूलाई कायम राख्न म सफल भएको छु । अर्थात्, मैले आफ्ना पुराना साथीहरूसँग सम्बन्ध तोड्दिनँ वा टाढिन्नँ, र तिनीहरूले नै मलाई धर्तीमा फर्काउँछन्, तिनीहरू सधैं जमिनमा खुट्टा राख्छन् र तिनीहरू प्रसिद्ध छैनन् ।

अन्तर्वार्ताकारः कुराहरू कसरी सुरु हुन्छन् ? द अटम अफ द प्याट्रियार्क मा बारम्बार आउने एउटा छवि भनेको दरबारमा गाईहरू छन् । के यो मूल छविमध्ये एउटा थियो ?

मार्खेजः मसँग एउटा फोटोग्राफीको किताब छ जुन म तपाईंलाई देखाउनेछु । मैले विभिन्न अवसरमा मेरा सबै किताबहरूको उत्पत्तिमा सधैं एउटा छवि हुन्छ भनेको छु । द अटम अफ द प्याट्रियार्क को लागि मेरो मनमा आएको पहिलो छविमा कुनै धेरै विलासी दरबारमा एउटा धेरै बूढो मानिस थियो जहाँ गाईहरू आउँछन् र पर्दाहरू खान्छन् । तर त्यो छवि मैले फोटो नदेखेसम्म ठोस आकारमा आएन । रोममा म एउटा किताब पसलमा गएँ र फोटोग्राफी किताबहरू हेर्न थालें, जुन मलाई संकलन गर्न मन पर्छ । मैले यो फोटो देखें, र यो एकदम सही लाग्यो । मैले यो ठ्याक्कै यस्तै हुने छ भनेर पाएँ । आफू ठूलो बौद्धिक नभएकोले म आफ्ना पूर्ववर्तीहरूलाई ठूला उत्कृष्ट कृतिहरूमा होइन बरु जीवनको दैनन्दिन कुराहरूमा भेट्टाउन सक्छु ।

मलाई समीक्षकहरूले मेरो बारेमा के सोच्छन् भन्नेमा कुनै रुचि छैन; न त मैले धेरै वर्षदेखि समीक्षकहरू नै पढेको छु । तिनीहरूले लेखक र पाठकबीचको मध्यस्थकर्ताको भूमिका आफैंले दाबी गरेका छन् ।

अन्तर्वार्ताकारः के तपाईंका उपन्यासहरूले कहिलेकाहीं अप्रत्याशित मोड लिन्छन् ?

मार्खेजः पहिले मलाई यस्तो हुन्थ्यो । मैले लेखेका प्रारम्भिक कथाहरूमा मसँग मनोदशाको एउटा सामान्य विचार हुन्थ्यो, तर म संयोगले अघि बढ्थें । मलाई सुरुमा दिइएको सबैभन्दा एउटा राम्रो सल्लाह थियो । म युवा छँदा यस्तो तरिकाले काम गर्न ठीक थियो किनभने मसँग प्रेरणाको बाढी हुन्थ्यो । तर यदि मैले विधि सिकिनँ भने पछि प्रेरणा हराउँदा विधिले त्यसको पूर्ति गर्नुपर्छ र म समस्यामा पर्नेछु भनियो । यदि मैले यो समयमै नसिकेको भए म अहिले अग्रिम रूपरेखा बनाउन असमर्थ हुन्थें । संरचना भनेको पूर्ण रूपमा विधिको समस्या हो र यदि तपाईंले यो सुरुमा सिक्नुभएन भने, तपाईंले कहिल्यै सिक्नुहुन्न ।

अन्तर्वार्ताकारः त्यसोभए अनुशासन तपाईंको लागि धेरै महत्वपूर्ण छ ?

मार्खेजः मलाई लाग्छ असाधारण अनुशासन बिना तपाईं कुनै पनि मूल्यवान किताब लेख्न सक्नुहुन्न ।

अन्तर्वार्ताकारः कृत्रिम उत्तेजकहरूको बारेमा के भन्नुहुन्छ ?

मार्खेजः हेमिङ्वेले लेखेको एउटा कुराले मलाई धेरै प्रभावित गरेको थियो । उनको लागि लेखन बक्सिङ जस्तै हो । उनी आफ्नो स्वास्थ्य र भलाइको ख्याल राख्थे । फकनर जँड्याहाको रूपमा प्रतिष्ठित थिए, तर उनले दिएको हरेक अन्तर्वार्तामा उनले मात्तिएर एउटा पंक्ति पनि लेख्न असम्भव छ भने । हेमिङ्वेले पनि यही भने । खराब पाठकहरूले मैले केही कृतिहरू लेख्दा मादक पदार्थ सेवन गरेको थिएँ कि थिइनँ भनेर मलाई सोधेका छन् । तर यसले उनीहरूलाई साहित्य वा मादक पदार्थको बारेमा केही थाहा नभएको देखाउँछ ।

राम्रो लेखक हुन तपाईं लेखनको हरेक क्षणमा पूर्ण रूपमा स्पष्ट हुनुपर्छ, र राम्रो स्वास्थ्यमा हुनुपर्छ । म लेखनको रोमान्टिक अवधारणाको धेरै विपक्षमा छु जसले लेखनलाई बलिदान ठान्छ, र जति खराब आर्थिक अवस्था वा भावनात्मक स्थिति हुन्छ, त्यति राम्रो लेखन हुन्छ भन्ने मान्यता राख्छ । म त तपाईं धेरै राम्रो भावनात्मक र शारीरिक अवस्थामा हुनुपर्छ भन्ठान्छु । मेरो लागि साहित्यिक सिर्जनाको निम्ति राम्रो स्वास्थ्य चाहिन्छ, र लस्ट जेनेरेसनले यो कुरा बुझेका थिए । तिनीहरू जीवनलाई माया गर्ने मानिसहरू थिए ।

म अर्को भाषामा पढ्दा कहिल्यै सहज महसुस गर्दिनँ, किनभने मेरो भित्र साँच्चै महसुस हुने एकमात्र भाषा स्पेनिस हो । यद्यपि, म इटालियन र फ्रान्सेली बोल्छु, र म अंग्रेजी पनि राम्ररी जान्दछु ।

अन्तर्वार्ताकारः ब्लेज सेन्ड्रार्सले लेखन धेरैजसो कामको तुलनामा विशेषाधिकार हो, र लेखकहरूले आफ्नो पीडालाई अतिशयोक्ति गर्छन् भने । तपाईंलाई के लाग्छ ?

मार्खेजः मलाई लेखन धेरै गाह्रो लाग्छ, तर कुनै पनि काम सावधानीपूर्वक गरियो भने त्यस्तै हुन्छ । तर आफ्नो सन्तुष्टिको लागि काम गर्नु विशेषाधिकार हो नै । म स्वयं आफैंबाट र अरूबाट अत्यधिक अपेक्षा राख्छु भन्ने लाग्छ किनभने म गल्तीहरू सहन सक्दिनँ; मलाई कुनै पनि कुरालाई पूर्ण रूपमा गर्नु विशेषाधिकार हो भन्ने लाग्छ । यो सत्य हो कि लेखकहरू प्रायः अहंकारी हुन्छन् र आफूलाई ब्रह्माण्डको केन्द्र र समाजको विवेक ठान्छन् । तर म राम्रोसँग गरिएको कामको सबैभन्दा बढी प्रशंसा गर्छु । यात्रा गर्दा सधैं जसो जब पाइलटहरू म लेखक भएको भन्दा राम्रा पाइलट हुन् भन्ने मलाई थाहा हुन्छ म धेरै खुसी हुन्छु ।

अन्तर्वार्ताकारः तपाईं अहिले कतिखेर सबैभन्दा राम्रो काम गर्नुहुन्छ ? तपाईंसँग कामको तालिका छ ?

मार्खेजः जब म व्यावसायिक लेखक बनें, मेरो सबैभन्दा ठूलो समस्या मेरो तालिका थियो । पत्रकार हुनुको अर्थ राति काम गर्नु थियो । जब मैले पूर्णकालिक लेखन सुरु गरें, म ४० वर्षको थिएँ, मेरो तालिका मूल रूपमा बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म थियो जब मेरा छोराहरू स्कूलबाट फर्किन्थे । म कडा परिश्रममा यति अभ्यस्त थिएँ कि बिहान मात्र काम गर्दा मलाई दोषी महसुस हुन्थ्यो; त्यसैले मैले दिउँसो पनि काम गर्ने कोसिस गरें, तर दिउँसो गरेको काम भोलिपल्ट बिहान फेरि गर्नुपर्ने अवस्था हुन्थ्यो । त्यसैले मैले बिहान नौ बजेदेखि साढे दुई बजेसम्म मात्र काम गर्छु र अरू केही गर्दिनँ भन्ने निर्णय गरें । दिउँसो मसँग भेटघाट, अन्तर्वार्ता र अरू जे आउन सक्छ त्यो हुन्छ । म केवल परिचित वातावरणमा मात्र काम गर्न सक्छु जुन पहिल्यै मेरो कामले वार्म अप भएको होस्, त्यो मेरो अर्को समस्या हो ।

म होटलहरूमा, भाडाका कोठाहरूमा वा सापटी मागेर चलाएको टाइपराइटरमा लेख्न सक्दिनँ । यसले समस्याहरू सिर्जना गर्छ किनभने म यात्रा गर्दा काम गर्न सक्दिनँ । अवश्य पनि, तपाईं सधैं कम काम गर्नको लागि बहाना खोज्नुहुन्छ । त्यसैले तपाईंले आफैंमाथि लगाउने सर्तहरू समयसँगै झन् कठिन हुँदै जान्छन् । तपाईं जस्तोसुकै परिस्थितिमा पनि प्रेरणाको आशा गर्नुहुन्छ । यो शब्द रोमान्टिकहरूले धेरै प्रयोग गरे । मेरा माक्र्सवादी मित्रहरूलाई यो शब्द स्वीकार गर्न धेरै कठिनाइ हुन्छ । तर, जे नाम दिए पनि, एउटा विशेष मनोदशा हुन्छ जसमा तपाईं धेरै सहजताका साथ लेख्न सक्नुहुन्छ र कुराहरू स्वतः बग्छन् भन्नेमा म विश्वस्त छु । सबै बहानाहरू—जस्तै कि तपाईं घरमा मात्र लेख्न सक्नुहुन्छ—हराउँछन् । जब तपाईंले सही विषय र त्यसलाई व्यवहार गर्ने सही तरिकाहरू फेला पार्नुहुन्छ तब त्यो क्षण र त्यो मनोदशा आउँछ । र यो तपाईंलाई साँच्चै मन पर्ने कुरा पनि हुनुपर्छ, किनभने तपाईंलाई मन नपर्ने कुरा गर्नुभन्दा खराब काम अरू छैन ।

सबैभन्दा कठिन कुराहरूमध्ये एउटा पहिलो अनुच्छेद हो । मैले पहिलो अनुच्छेदमा कैंयौं महिना बिताएको छु, र त्यो भएपछि बाँकी धेरै सजिलोसँग आउँछ । पहिलो अनुच्छेदमा तपाईं आफ्नो किताबका धेरैजसो समस्याहरू समाधान गर्नुहुन्छ । विषय, शैली र स्वर परिभाषित हुन्छन् । कम्तीमा मेरो हकमा, पहिलो अनुच्छेद भनेको बाँकी किताब कस्तो हुनेछ भन्ने नमुना हो । त्यसैले छोटा कथाहरूको किताब लेख्नु उपन्यास लेख्नुभन्दा धेरै गाह्रो छ । हरेक पटक छोटो कथा लेख्दा तपाईंले फेरि सुरुबाट प्रारम्भ गर्नुपर्छ ।

मलाई लाइनोटाइप मेसिनको आवाज मन पर्थ्याे, जुन वर्षाजस्तो सुनिन्थ्यो । यदि तिनीहरू रोकिन्थे र म मौनतामा अड्किएँ भने, काम गर्न असमर्थ हुन्थेँ ।

अन्तर्वार्ताकारः के सपनाहरू कहिल्यै प्रेरणाको स्रोतको रूपमा महत्वपूर्ण हुन्छन् ?

मार्खेजः सुरुमा मैले तिनमा धेरै ध्यान दिएँ । तर पछि मैले जीवन आफैं प्रेरणाको सबैभन्दा ठूलो स्रोत हो र सपनाहरू त्यो जीवनरुपी बाढीको धेरै सानो हिस्सा मात्र हुन् भन्ने महसुस गरें । मेरो लेखनको बारेमा धेरै सत्य कुरा के हो भने म सपनाहरूको विभिन्न अवधारणा र तिनको व्याख्यामा धेरै रुचि राख्छु । म सपनालाई जीवनको सामान्य हिस्साको रूपमा लिन्छु, तर वास्तविकता धेरै रोचक छ । तर सायद मेरा सपनाहरू धेरै कमजोर छन् ।

अन्तर्वार्ताकारः के तपाईं प्रेरणा र अन्तर्ज्ञानबीच भेद गर्न सक्नुहुन्छ ?

मार्खेजः जब तपाईंले सही विषय फेला पार्नुहुन्छ त्यो प्रेरणा हो जुन तपाईंलाई साँच्चै मन पर्छ; त्यसले कामलाई धेरै सजिलो बनाउँछ । अन्तर्ज्ञान चाहिँ कथा लेखनको लागि चाहिने आधारभूत विशेष गुण हो जसले तपाईंलाई वैज्ञानिक ज्ञान वा कुनै विशेष प्रकारको शिक्षाबिना नै वास्तविक कुरा बुझ्न मद्दत गर्छ । गुरुत्वाकर्षणका नियमहरू अरू कुनै पनि कुराले भन्दा अन्तर्ज्ञानले धेरै सजिलोसँग पत्ता लगाउन सकिन्छ । यो अनुभव गर्ने एउटा तरिका हो जसको निम्ति तपाईंले संघर्ष गर्नुपर्दैन । उपन्यासकारको निम्ति अन्तर्ज्ञान आवश्यक छ । मूल रूपमा यो बौद्धिकताको विपरीत हुन्छ जुन सम्भवतः मलाई संसारमा सबैभन्दा धेरै घृणा लाग्ने कुरा हो—किनकि यसले वास्तविक संसारलाई एक प्रकारको अचल सिद्धान्तमा परिणत गरिन्छ । अन्तर्ज्ञानको फाइदा छ, यो या त हुन्छ, या त हुँदैन । तपाईं गोलो किलालाई वर्गाकार प्वालमा राख्ने प्रयासमा संघर्ष गर्नुहुन्न ।

अन्तर्वार्ताकारः के यो सिद्धान्तकारहरूलाई मन नपर्ने हो ?

मार्खेजः ठ्याक्कै । किनभने मुख्य रूपमा म तिनलाई साँच्चै बुझ्न सक्दिनँ । त्यसैले मलाई धेरैजसो कुराहरू कथाहरूमार्फत व्याख्या गर्नुपर्छ, किनभने मसँग अमूर्तताको लागि कुनै क्षमता छैन । त्यसैले म सुसंस्कृत व्यक्ति होइन भनेर धेरै समीक्षकहरू भन्छन् । म पर्याप्त उद्धरण गर्दिनँ ।

अन्तर्वार्ताकारः के समीक्षकहरूले तपाईंलाई धेरै सजिलोसँग वर्गीकरण गर्छन् वा कस्तो प्रकारको हो भनी छुट्याउँछन् भन्ने लाग्छ ?

मार्खेजः मेरो निम्ति समीक्षकहरू बौद्धिकताको सबैभन्दा ठूला उदाहरण हुन् । सर्वप्रथम, तिनीहरूसँग लेखक कस्तो हुनुपर्छ भन्ने सिद्धान्त हुन्छ । तिनीहरू लेखकलाई आफ्नो नमूनामा फिट गर्न खोज्छन्, र यदि ऊ फिट भएन भने, तिनीहरू बलजफ्ती उसलाई फिट गर्न खोज्छन् । म यो प्रश्नको जवाफ केवल तपाईंले सोध्नुभएको कारणले दिँदै छु । मलाई समीक्षकहरूले मेरो बारेमा के सोच्छन् भन्नेमा कुनै रुचि छैन; न त मैले धेरै वर्षदेखि समीक्षकहरू नै पढेको छु । तिनीहरूले लेखक र पाठकबीचको मध्यस्थकर्ताको भूमिका आफैंले दाबी गरेका छन् । म सधैं धेरै स्पष्ट र सटीक लेखक बन्ने कोसिस गर्छु, समीक्षकको बाटो नगई सिधै पाठकसम्म पुग्ने प्रयास गर्छु ।

अन्तर्वार्ताकारः तपाईं अनुवादकहरूलाई कसरी हेर्नुहुन्छ ?

मार्खेजः म अनुवादकहरूको धेरै प्रशंसा गर्छु, तर फुटनोट प्रयोग गर्नेहरूलाई छोडेर । तिनीहरू सधैं पाठकलाई केही कुरा व्याख्या गर्न खोज्छन् जसको अर्थ सम्भवतः लेखकले राख्न खोजेको हुँदैन; यो त्यहाँ भएपछि पाठकले त्यसलाई सहनुपर्छ । अनुवाद गर्नु धेरै गाह्रो काम हो, जुन बिल्कुल पुरस्कृत छैन र धेरै कम तलब पाइन्छ । एउटा राम्रो अनुवाद सधैं अर्को भाषामा पुनर्जनन हो । त्यसैले म ग्रेगरी रबासाको यति धेरै प्रशंसा गर्छु । मेरा किताबहरू एक्काइस भाषाहरूमा अनुवाद भएका छन् र रबासा एक मात्र अनुवादक हुन् जसले कहिल्यै पनि फुटनोट राख्नको लागि मलाई केही स्पष्ट पार्न माग गरेनन् । मलाई मेरो काम अंग्रेजीमा पूर्ण रूपमा पुनर्जनन भएको लाग्छ । किताबका केही भागहरू शाब्दिक रूपमा पछ्याउन धेरै गाह्रो हुन्छ । अनुवादकले किताब पढ्यो र त्यसपछि आफ्नो सम्झनाबाट पुनर्लेखन गर्‍यो भन्ने प्रभाव पाइन्छ । त्यसैले म अनुवादकहरूको यति विघ्न प्रशंसा गर्छु । तिनीहरू बौद्धिकभन्दा बढी अन्तर्ज्ञानी हुन्छन् । प्रकाशकहरूले तिनलाई दिने तलब पूर्ण रूपमा दयनीय मात्र होइन, तिनीहरूका आफ्नो कामलाई साहित्यिक सिर्जनाको रूपमा पनि देख्दैनन् । केही किताबहरू छन् जुन म स्पेनिसमा अनुवाद गर्न चाहन्थें, तर त्यसको निम्ति मेरो आफ् नै किताब लेख्न जति नै समय र काम चाहिन्थ्यो र मलाई खानको लागि पर्याप्त पैसा पनि आउँदैनथ्यो ।

अन्तर्वार्ताकारः तपाईं के अनुवाद गर्न चाहनुहुन्थ्यो ?

मार्खेजः मालरोक्सका सबै । मलाई कोनराड र सेन्ट–एक्सुपेरी अनुवाद गर्न मन पर्थ्याे । जब म पढ्छु, कहिलेकाहीं मलाई त्यो किताब अनुवाद गर्न मन लाग्छ । ठूला उत्कृष्ट कृतिहरूलाई छोडेर, मूल भाषामा किताब पढ्न संघर्ष गर्नुभन्दा म मध्यम अनुवाद पढ्न रुचाउँछु । म अर्को भाषामा पढ्दा कहिल्यै सहज महसुस गर्दिनँ, किनभने मेरो भित्र साँच्चै महसुस हुने एकमात्र भाषा स्पेनिस हो । यद्यपि, म इटालियन र फ्रान्सेली बोल्छु, र म अंग्रेजी पनि राम्ररी जान्दछु, बीस वर्षदेखि हरेक साता टाइम म्यागजिनले मलाई विषाक्त बनाएको छ ।

अन्तर्वार्ताकारः के मेक्सिको अहिले तपाईंलाई घर जस्तो लाग्छ ? के तपाईं लेखकहरूको कुनै ठूलो समुदायको हिस्सा भएको महसुस गर्नुहुन्छ ?

मार्खेजः सामान्य रूपमा, म लेखक वा कलाकारहरूसँग केवल तिनीहरू लेखक वा कलाकार भएकै कारणले साथी बन्दिनँ । मेरा विभिन्न पेशाका धेरै साथीहरू छन्, जसमा लेखक र कलाकारहरू पनि छन् । सामान्य रूपमा भन्नुपर्दा मलाई आफू ल्याटिन अमेरिकाको कुनै पनि देशको मूल निवासी हुँ जस्तो लाग्छ, तर अन्यत्रको होइन । ल्याटिन अमेरिकीहरूलाई स्पेन एक मात्र देश हो जहाँ हामीलाई राम्रो व्यवहार गरिन्छ भन्ने लाग्छ, तर व्यक्तिगत रूपमा मलाई त्यहाँ भएको जस्तो लाग्दैन । ल्याटिन अमेरिकामा मलाई सीमा वा सिमानाको भावना हुँदैन । म एक देशबाट अर्को देशमा हुने भिन्नताहरूप्रति सचेत छु, तर मेरो मन र हृदयमा यो सबै एउटै हो । जहाँ म साँच्चै घर जस्तो महसुस गर्छु, त्यो क्यारिबियन हो, चाहे त्यो फ्रान्सेली, डच, वा अंग्रेजी क्यारिबियन किन नहोस् ।

जब म ब्यारान्क्विल्लामा विमानमा चढ्थें, एउटी काली महिला नीलो पोशाकमा मेरो राहदानीमा छाप लगाउँथिन्, र जब म जमैकामा विमानबाट ओर्लिन्थें, एउटी काली महिला नीलो पोशाकमा मेरो राहदानीमा छाप लगाउँथिन्, तर अंग्रेजीमा । त्यसमा म सधैं प्रभावित हुन्थें । मलाई भाषाले त्यति धेरै फरक पार्छ जस्तो लाग्दैन । तर विश्वको अन्य कुनै ठाउँमा म विदेशी जस्तो महसुस गर्छु, जुन भावनाले मबाट सुरक्षाको भावना खोस्छ । यो व्यक्तिगत भावना हो, तर यात्रा गर्दा मलाई सधैं यस्तो हुन्छ । ममा अल्पसंख्यक चेतना छ ।

अन्तर्वार्ताकारः के तपाईंलाई ल्याटिन अमेरिकी लेखकहरूले लागि केही समय यूरोपमा बस्नु महत्वपूर्ण हुन्छ भन्ने लाग्छ ?

मार्खेजः सायद बाहिरबाट वास्तविक दृष्टिकोण प्राप्त गर्नको लागि । मैले सोचिरहेको छोटो कथाहरूको किताब ल्याटिन अमेरिकीहरू यूरोप जाँदै गरेको बारेमा छ । बीस वर्षदेखि म यो सोचिरहेको छु । यदि तपाईंले यी छोटा कथाहरूबाट अन्तिम निष्कर्ष निकाल्न सक्नुहुन्छ भने, त्यो ल्याटिन अमेरिकीहरू यूरोपमा कमै मात्र पुग्छन् भन्ने हुनेछ, विशेष गरी मेक्सिकनहरू, र निश्चित रूपमा बस्नको लागि त होइन । मैले यूरोपमा भेटेका सबै मेक्सिकनहरू सधैं अर्को बुधबार फर्किहाल्छन् ।

अन्तर्वार्ताकारः तपाईंलाई क्युबाको क्रान्तिले ल्याटिन अमेरिकी साहित्यमा कस्तो प्रभाव पारेको छ जस्तो लाग्छ ?

मार्खेजः अहिलेसम्म यो नकारात्मक छ । आफूलाई राजनीतिक रूपमा प्रतिबद्ध ठान्ने धेरै लेखकहरू आफूले चाहेको कुराको बारेमा होइन, तर उनीहरूले चाहनुपर्छ भन्ने ठानेको कुराको बारेमा कथाहरू लेख्न बाध्य महसुस गर्छन् । यसले एक प्रकारको गणना गरिएको साहित्य सिर्जना गर्छ जसको अनुभव वा अन्तर्ज्ञानसँग कुनै सम्बन्ध हुँदैन । यसको मुख्य कारण क्युबाको सांस्कृतिक प्रभावको ल्याटिन अमेरिकामा धेरै विरोध गरिएको छ ।

क्युबा आफैंमा, यो प्रक्रियामा नयाँ प्रकारको साहित्य वा कला सिर्जना होस् भन्ने बिन्दुसम्म विकसित भएको छैन । त्यसको लागि समय चाहिन्छ । ल्याटिन अमेरिकामा क्युबाको ठूलो सांस्कृतिक महत्वको अर्थ यसले धेरै वर्षदेखि ल्याटिन अमेरिकामा विद्यमान साहित्यको प्रकार प्रसारणार्थ एक प्रकारको सेतुको रूपमा काम गर्नु हो । एक अर्थमा, संयुक्त राज्य अमेरिकामा ल्याटिन अमेरिकी साहित्यको उछाल क्युबाको क्रान्तिको कारणले भएको हो । त्यो पुस्ताका हरेक ल्याटिन अमेरिकी लेखक बीस वर्षदेखि लेखिरहेका थिए तर यूरोपेली र अमेरिकी प्रकाशकहरू उनीहरूप्रति धेरै कम रुचि राख्थे । क्युबाको क्रान्ति सुरु भएपछि अचानक क्युबा र ल्याटिन अमेरिकाको बारेमा ठूलो रुचि उत्पन्न भयो । क्रान्ति उपभोगको वस्तु बन्यो । ल्याटिन अमेरिका फेसनमा आयो । ल्याटिन अमेरिकी उपन्यासहरू अस्तित्वमा थिए जुन अनुवाद गर्न र सबै विश्व साहित्यसँगै विचार गर्न लायक थिए भन्ने पत्ता लाग्यो । वास्तवमा दुःखद कुरा के थियो भने ल्याटिन अमेरिकामा सांस्कृतिक औपनिवेशिकता यति खराब छ कि उनीहरू स्वयंलाई बाहिरी मानिसहरूले उनीहरूका आफ्नै उपन्यासहरू राम्रा थिए भनेर नभनेसम्म विश्वास गर्न असम्भव थियो ।

ल्याटिन अमेरिकामा सांस्कृतिक औपनिवेशिकता यति खराब छ कि उनीहरू स्वयंलाई बाहिरी मानिसहरूले उनीहरूका आफ्नै उपन्यासहरू राम्रा थिए भनेर नभनेसम्म विश्वास गर्न असम्भव थियो ।

अन्तर्वार्ताकारः के कुनै कम चिनिएका ल्याटिन अमेरिकी लेखकहरू छन् जसको तपाईं विशेष प्रशंसा गर्नुहुन्छ ?

मार्खेजः मलाई लाग्छ अब त्यस्ता कोही छैनन् । प्रकाशकहरू कुनै नयाँ कोर्टाजार नछुटून् भनेर सधैं सतर्क रहन्छन् जुन ल्याटिन अमेरिकी लेखनको उछालको सबैभन्दा राम्रो साइड इफेक्ट हो । दुर्भाग्यवश धेरै युवा लेखकहरू आफ्नो कामभन्दा प्रसिद्धिमा बढी चिन्तित छन् । ल्याटिन अमेरिकी साहित्यको बारेमा लेख्ने टुलुज विश्वविद्यालयका एक फ्रान्सेली प्रोफेसरलाई धेरै युवा लेखकहरूले मेरो बारेमा बढी नलेख्न पत्र लेखे किनभने मलाई अब त्यसको आवश्यकता थिएन र अरूलाई थियो । तर जब म उनीहरूको उमेरको थिएँ, समीक्षकहरूले मेरो बारेमा होइन, बरु मिगुएल एन्जेल एस्टुरियासको बारेमा लेख्थे भनेर उनीहरू बिर्सन्छन् ।

मैले भन्न खोजेको कुरा के हो भने यी युवा लेखकहरू आफ्नो लेखनमा काम गर्नुभन्दा समीक्षकहरूलाई पत्र लेखेर समय बर्बाद गरिरहेका छन् । लेखिएको हुनुभन्दा लेख्नु धेरै महत्वपूर्ण हुन्छ । मेरो साहित्यिक करियरको बारेमा एउटा कुरा मलाई धेरै महत्वपूर्ण लाग्छ, त्यो हो, पाँचवटा किताब प्रकाशित गरिसकेको भए पनि चालीस वर्षको नहुँदासम्म मैले लेखकको रोयल्टी बापत एक पैसा पनि पाएको थिइनँ ।

अन्तर्वार्ताकारः के तपाईंलाई लेखकको करियरमा धेरै छिटो प्रसिद्धि वा सफलता आउनु खराब हो भन्ने लाग्छ?

मार्खेजः कुनै पनि उमेरमा यो खराब हो । मलाई मेरा किताबहरूले मेरो मृत्युपछि मान्यता प्राप्त भएको भए राम्रो लाग्थ्यो, कम्तीमा पूँजीवादी देशहरूमा, जहाँ तपाईं एक प्रकारको व्यापारिक वस्तु बन्नुहुन्छ ।

अन्तर्वार्ताकारः तपाईंका मन पर्नेहरूबाहेक, तपाईं अचेल के पढ्नुहुन्छ ?

मार्खेजः  म अनौठा कुराहरू पढ्छु । केही दिनअघि म मुहम्मद अलीको संस्मरण पढिरहेको थिएँ । ब्राम स्टोकरको ड्य्राकुला एउटा उत्कृष्ट किताब हो, र यो सम्भवतः मैले धेरै वर्षअघि पढ्ने थिइनँ किनभने मलाई यो समयको बर्बादी लाग्थ्यो । तर विश्वासिलो कसैले सिफारिस नगरेसम्म म कुनै किताबमा साँच्चै संलग्न हुँदिनँ । अचेल म कथा पढ्दिनँ । म धेरै संस्मरण र कागजातहरू पढ्छु, चाहे ती जाली कागजातहरू नै किन नहोऊन् ।

र, म मेरा मनपर्नेहरू पुस्तकहरू पुनः पढ्छु । पुनः पढ्नुको फाइदा के छ भने तपाईं कुनै पनि पृष्ठ खोल्न सक्नुहुन्छ र तपाईंलाई साँच्चै मन पर्ने भाग पढ्न सक्नुहुन्छ । मैले ‘साहित्य’ मात्र पढ्ने पवित्र धारणा हटाएको छु । म जे पनि पढ्छु । म अद्यावधिक रहने कोसिस गर्छु । म हरेक साता विश्वभरका लगभग सबै महत्वपूर्ण पत्रिकाहरू पढ्छु । टेलिटाइप मेसिनहरू पढ्ने बानीले म सधैं समाचारको खोजीमा हुन्छु । तर मैले विश्वभरका सबै गम्भीर र महत्वपूर्ण अखबारहरू पढिसकेपछि, सधैं मेरी श्रीमती आउँछिन् र मैले नसुनेको समाचार बताउँछिन् । जब म उनलाई कहाँ पढेकी भनेर सोध्छु, उनी ब्यूटी पार्लरमा एउटा पत्रिकामा पढेकी भन्छिन् । त्यसैले म फेसन पत्रिकाहरू, महिलाहरूका लागि निस्किने हरेक प्रकारका पत्रिकाहरू र गसिप पत्रिकाहरू पढ्छु । र, म धेरै कुराहरू सिक्छु जुन मैले तिनलाई पढेर मात्र सिक्न सक्थें । त्यसले मलाई धेरै व्यस्त राख्छ ।

अन्तर्वार्ताकारः तपाईंलाई लेखकको लागि प्रसिद्धि यति विनाशकारी किन लाग्छ ?

मार्खेजः मुख्य रूपमा किनभने यो तपाईंको निजी जीवनमा प्रवेश गर्छ । यसले तपाईंको साथीहरूसँग बिताउने समय र काम गर्न सक्ने समय खोस्छ । यो तपाईंलाई वास्तविक संसारबाट अलग गर्नेतर्फ जान्छ । लेखन जारी राख्न चाहने कुनै प्रसिद्ध लेखकले प्रसिद्धिको विरुद्ध निरन्तर आफूलाई बचाउनुपर्छ । म यो भन्न साँच्चै मन पराउँदिनँ किनभने यो कहिल्यै इमानदार सुनिँदैन, तर साँच्चै मेरा किताबहरू मेरो मृत्युपछि प्रकाशित भएको भए मलाई यो सबै प्रसिद्धि र महान् लेखक हुने झ्याउलोबाट गुज्रनु पर्ने थिएन । मेरो हकमा, प्रसिद्धिको एउटा मात्र फाइदा भनेको मैले यसलाई राजनीतिक प्रयोजनका लागि कामयाब बनाउन सकेको छु । अन्यथा, यो एकदम असहज छ । समस्या भनेको तपाईं चौबीस घण्टा प्रसिद्ध हुनुहुन्छ र तपाईं भन्न सक्नुहुन्न, ‘ठीक छ, म भोलिसम्म प्रसिद्ध हुन्नँ,’ वा बटन थिचेर भन्न सक्नुहुन्न, ‘म यहाँ वा अहिले प्रसिद्ध हुन्नँ ।’

अन्तर्वार्ताकारः के तपाईंले वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड को असाधारण सफलताको अनुमान गर्नुभएको थियो ?

मार्खेजः यो मेरा साथीहरूलाई मेरो अन्य किताबहरूभन्दा बढी मन पर्ने किताब हुनेछ भनेर मलाई थाहा थियो । तर जब मेरो स्पेनिस प्रकाशकले मलाई आठ हजार प्रति छाप्ने बताए, म छक्क परें, किनभने मेरा अन्य किताबहरू सात सयभन्दा बढी बिक्री भएका थिएनन् । मैले उनलाई किन बिस्तारै सुरु नगर्ने भनेर भनेँ, तर उनले यो राम्रो किताब भएकोमा विश्वस्त भएको र मेदेखि डिसेम्बरसम्म सबै आठ हजार प्रतिहरू बिक्री हुने बताए । वास्तवमा, ती सबै ब्यूनस आयर्समा एक साताभित्रै बिक्री भएका थिए ।

अन्तर्वार्ताकारः तपाईंलाई किन वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड यति धेरै चलेको भन्ने लाग्छ ?

मार्खेजः मलाई अलिकति पनि थाहा छैन, किनभने म आफ्नै कामको धेरै खराब समीक्षक हुँ । मैले सुनेको सबैभन्दा बारम्बारको व्याख्या हो, यो ल्याटिन अमेरिकाका मानिसहरूको निजी जीवन बारेको एउटा किताब हो, त्यहीँकै लेखकबाट लेखिएको । यो व्याख्याले मलाई अचम्ममा पार्छ किनभने मेरो पहिलो प्रयास त यो किताबको शीर्षक द हाउस राख्ने भन्ने थियो । म उपन्यासको सम्पूर्ण विकास घरभित्रै होस् र बाहिरी कुनै पनि कुरा भए घरमा पर्ने प्रभावको सन्दर्भमा मात्र होस् भन्ने चाहन्थें । पछि मैले द हाउस शीर्षक छोडें, तर किताब माकोन्डो सहरमा प्रवेश गरेपछि यो त्योभन्दा अगाडि बढ्दैन । मैले सुनेको अर्को व्याख्या हो, हरेक पाठकले किताबका पात्रहरूलाई आफूले चाहेजस्तो बनाउन र  आफ्नो ठान्न सक्छ । म यसलाई फिल्म बन्न दिन चाहन्नँ किनभने फिल्म हेर्नेले एउटा अनुहार देख्छ जुन उसले कल्पना गरेको नहुन सक्छ ।

ल्याटिन अमेरिकामा क्युबाको ठूलो सांस्कृतिक महत्वको अर्थ यसले धेरै वर्षदेखि ल्याटिन अमेरिकामा विद्यमान साहित्यको प्रकार प्रसारणार्थ एक प्रकारको सेतुको रूपमा काम गर्नु हो ।

अन्तर्वार्ताकारः के यसलाई फिल्म बनाउने कुनै रुचि थियो ?

मार्खेजः हो, मेरो एजेन्टले प्रस्तावहरूलाई निरुत्साहित गर्न दश लाख डलर राखिन् र जब ती प्रस्तावहरू त्यो रकम नजिक पुगे, उनले त्यसलाई करिब तीस लाखसम्म बढाइन् । तर मलाई फिल्ममा कुनै रुचि छैन, र मैले यसलाई रोक्न सकेसम्म यो हुने छैन । म यसलाई पाठक र किताबबीचको निजी सम्बन्धको रूपमा रहोस् भन्ने चाहन्छु ।

यो पनि पढ्नुहोस

विश्वले हेरिरहेको आठ घण्टा लामो सिनेमा

अन्तर्वार्ताकारः के तपाईंलाई कुनै किताबलाई फिल्ममा सफलतापूर्वक अनुवाद गर्न सकिन्छ भन्ने लाग्छ ?

मार्खेजः म कुनै एउटा राम्रो फिल्मको बारेमा सोच्न सक्दिनँ जो राम्रो उपन्यासमा आधारित होस्, तर म धेरै राम्रा फिल्महरूको बारेमा सोच्न सक्छु जुन धेरै खराब उपन्यासहरूबाट आएका छन् ।

अन्तर्वार्ताकारः के तपाईंले आफैं फिल्म बनाउने सोच्नुभएको छ ?

मार्खेजः एक समय थियो जब म फिल्म निर्देशक बन्न चाहन्थें । मैले रोममा निर्देशनको बारेमा अध्ययन गरें । मलाई सिनेमा एउटा यस्तो माध्यम हो जसमा कुनै सीमा छैन र जसमा सबै कुरा सम्भव छ भन्ने लाग्थ्यो । म मेक्सिको आएँ किनभने निर्देशकको रूपमा नभई पटकथा लेखकको रूपमा म फिल्ममा काम गर्न चाहन्थें । तर सिनेमामा एउटा ठूलो सीमा छ, यो एउटा औद्योगिक कला हो, एउटा सम्पूर्ण उद्योग । सिनेमामा तपाईंले वास्तवमा भन्न चाहेको कुरा व्यक्त गर्न धेरै गाह्रो छ । म अझै पनि यसको बारेमा सोच्छु, तर यो अब मलाई एउटा विलासिता जस्तो लाग्छ जुन आफूलाई व्यक्त गर्ने कुनै आशा बिना म साथीहरूसँग गर्न चाहन्छु । त्यसैले म सिनेमाबाट झन् टाढा हुँदै गएको छु । फिल्मसँगको मेरो सम्बन्ध एउटा जोडीको जस्तो छ जो छुट्टिएर बस्न सक्दैनन्, तर सँगै बस्न पनि सक्दैनन् । तथापि, फिल्म कम्पनी वा जर्नलमध्ये एक छान्नुपरेमा म जर्नल छान्थें ।

कोलम्बियाको बोगोटास्थित ग्याब्रियल गार्सिया मार्खेज सांस्कृतिक केन्द्र ।

अन्तर्वार्ताकारः तपाईंले अहिले काम गरिरहनुभएको क्युबा बारेको किताबलाई कसरी वर्णन गर्नुहुन्छ ?

मार्खेजः वास्तवमा, यो किताब एउटा लामो अखबारी लेख जस्तो छ जुन क्युबाली घरहरूमा जीवन कस्तो छ, उनीहरूले अभावहरूलाई कसरी सामना गरेका छन् भन्ने बारेमा छ । पछिल्ला दुई वर्षमा क्युबाको धेरै यात्राहरू गर्दा मलाई प्रभावित गरेको कुरा हो, नाकाबन्दीले क्युबामा एक प्रकारको ‘आवश्यकताको संस्कृति’, एउटा सामाजिक स्थिति सिर्जना गरेको छ जसमा मानिसहरूले केही कुराहरू बिना नै चलाउनुपर्छ ।

नाकाबन्दीले मानिसहरूको मानसिकतालाई कसरी परिवर्तन गर्न योगदान गरेको छ भन्ने नै मलाई वास्तवमा रुचि लाग्ने पक्ष हो । हामीसँग उपभोक्ताविरोधी समाज र विश्वको सबैभन्दा उपभोगमुखी समाजबीचको टकराव छ । यो एउटा सजिलो, छोटो पत्रकारिताको आलेख मात्र हुनेछ भन्ने सोचेको थिएँ तर यो किताब अहिले धेरै लामो र जटिल किताबमा परिणत हुने चरणमा छ । तर त्यसले वास्तवमा फरक पार्दैन, किनभने मेरा सबै किताबहरू यस्तै भएका छन् । र त्यसको अतिरिक्त, यो किताबले ऐतिहासिक तथ्यहरूसहित क्यारिबियनको वास्तविक संसार वन हन्ड्रेड इयर्स अफ सोलिट्यूड का कथाहरू जस्तै अद्भुत छ भनेर प्रमाणित गर्नेछ ।

यो पनि पढ्नुहोस

मार्खेजको अन्तिम किताब- ‘अन्टिल अगस्ट’

अन्तर्वार्ताकारः लेखकको रूपमा तपाईंसँग कुनै दीर्घकालीन महत्वाकांक्षा वा पछुतो छ ?

मार्खेजः मलाई लाग्छ मेरो जवाफ प्रसिद्धिको बारेमा मैले तपाईंलाई दिएको जवाफ जस्तै हो । केही दिनअघि मलाई नोबेल पुरस्कारमा रुचि छ कि छैन भनेर सोधिएको थियो, तर मलाई मेरो लागि यो एकदमै विपत्ति हुनेछ जस्तो लाग्छ । निश्चित रूपमा यसको लागि योग्य हुनेमा म रुचि राख्छु, तर यो प्राप्त गर्नु भयानक हुनेछ । यसले प्रसिद्धिको समस्यालाई झन् जटिल बनाउँछ ।
छोरी नहुनु मेरो जीवनको मेरो एकमात्र पछुतो हो ।

अन्तर्वार्ताकारः के तपाईंसँग अहिले चलिरहेका कुनै परियोजनाहरू छन् जसको बारेमा छलफल गर्न सक्नुहुन्छ ?

मार्खेजः म मेरो जीवनको सबैभन्दा महान् किताब लेख्न गइरहेको छु, यसमा म पूर्ण रूपमा विश्वस्त छु तर यो कुन हुनेछ वा कहिले हुनेछ मलाई थाहा छैन । जब मलाई यस्तो लाग्छ—जुन म केही समयदेखि महसुस गरिरहेको छु—म धेरै चुपचाप बस्छु, ताकि यदि यो मेरो छेउबाट गुज्रियो भने म त्यसलाई समात्न सकूँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here