मान्छेको जिन नै कम खाने र धेरै हिँड्नुपर्ने खालको छ

पछिल्ला दिनमा जसरी नसर्ने रोगहरू बढिरहेका छन्, यसका लागि मुख्य दुई कारणलाई जिम्मेवार मानिएको छ । मान्छेको शारीरिक श्रम कम हुनु र आवश्यकताभन्दा बढी खानु।
शरीरलाई चाहिने भन्दा बढी खाएमा मोटोपनको समस्या देखिन्छ र यसले धेरै रोग निम्त्याइरहेको हुन्छ। यही कारणले हामी स्वस्थ रहनका लागि आवश्यकताभन्दा बढी नखान भनिरहेका हुन्छौँ ।




अर्को, हामी स्वस्थ रहन नियमित व्यायाम गर्नुपर्छ भनिरहेका हुन्छौँ । यसमध्येमा सबैभन्दा बढी सुझाव दिइने कुरा हो पैदल हिँड्न । हरेक दिन आघा घण्टा, एक घण्टा वा केही सयम हिँड्नुपर्छ भनिरहेका हुन्छौँ ।
शरीर स्वस्थ राख्नकै लागि हामीले हरेक बिहान मर्निङवाक पनि गरिरहेका हुन्छौँ । हिँड्नुपर्छ भन्छौँ तर कुनै कामबिना मात्रै शारीरिक कसरतकै लागि हिँड्न अल्छी लागिरहेको हुन्छ। हामी हिँड्न रुचि गर्दैनौँ । अनि, विभिन्न रोगले सताइरहेको हुन्छ ।
आखिर किन मान्छेलाई स्वस्थ रहन धेरै हिँड्नु र कम खाने जीवनशैली आवश्यक छ त ?
मानव विकासक्रमको इतिहासलाई हेर्ने हो भने मान्छे धेरै हिँड्ने प्राणीमा पर्छ । फिरन्ते युगतिर मान्छेहरू खानेकुरा खोज्नका लागि धेरै हिँड्थे । उनीहरू सयौँ किलोमिटर पैदल हिँड्ने गर्थे । धेरै हिँडेर संघर्ष गर्दै कन्दमुल, सिकारको जोहो गर्थे । ती खानेकुरा पनि प्रशस्त मात्रामा हुँदैनथ्यो, जति छ त्यही बाँडीचुँडी खान्थे । धेरै शारीरिक परिश्रम गरेर थोरै खाएरै मान्छे बाँचिरहेका हुन्थे ।
हजारौँ वर्षसम्म त्यही खालको जीवनशैली रहिरह्यो । यही कारणले गर्दा मान्छेको जिन त्यहीअनुसार विकसित हुँदै आयो, कम खाने र धेरै हिँड्दा तथा शारीरिक परिश्रम गर्दा अनुकूल हुने खालको।
पछिपछि पनि मान्छेले आफ्नो दैनिक गुजाराका लागि धेरै हिँड्नुपर्ने र शारीरिक श्रम गर्नु पर्ने अवस्था कायमै रहिरह्यो। ढुंगे युग, पशुपालन युग, कृषि युग यी सबै अवधिमा मान्छे कडा परिश्रम गर्थे, तर पनि खान कम मात्रै उपलब्ध हुन्थ्यो।
हामी अहिले नै पनि हेरौँ न, यातायातको कुनै सुविधा नभएका ठाउँका मान्छेले जीवन यापनका लागि दैनिक कति धेरै हिँड्नुपर्छ, कति शारीरीक कसरत गर्नुपर्छ ? हामीमध्ये धेरैले त्यो भोगेरै आएका छौँ । नभए पनि देखेका छौँ । त्यस्ता गाउँबस्तीमा गयो भने अहिले पनि देख्न सक्छौँ ।
हाम्रो जिन तथा डीएनएले नै धेरै हिँड्न तथा प्रशस्त शारीरिक श्रम गर्न मागेको हुन्छ । अनि, प्रकृतिले हामीलाई धेरै खानेकुरा खादा प्रतिकूल हुने खालको शरीर दिएको छ।
जब औद्योगिकीकरण, शहरीकरण हुँदै आयो, हामी एकै ठाउँमा लामो समय बसेर काम गर्न थाल्यौँ । हिँड्न छाड्यौँ । शारीरिक श्रम गर्न छाड्दै गयौँ । मतलब धेरै शारीरिक श्रम नगर्दा पनि मान्छेको जीवन चल्न थाल्यो । हामी सोखिन र अल्छी बन्दै गयौँ । खानाहरू धेरै उपलब्ध हुनथाल्यो । खानाका परिकार तथा विकल्पहरू पनि धेरै हुन थाले । हामीले धेरै खान थाल्यौँ ।
हामी हाम्रो शरीरको बनोट तथा प्राकृतिक विशेषताको विरुद्धमा हामी गयौँ । त्यही कारण शारीरिक कसरत नगर्दा र बढी खाँदा लाग्ने धेरै रोगहरू बढ्दै गइरहेका छन् । यस्ता रोग मानव समुदायमा ठूलो समस्याको रुपमा देखा परिरहेका छन्।
मोटोपना, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल बढ्ने र यसबाट विभिन्न रोग जन्मिनु हाम्रो शारीरिक विशेषताविरुद्ध हामीले अपनाइरहेको जीवनशैली र खानपानै जिम्मेवार छ ।
हाम्रो जिनमा भएको प्राकृतिक विशेषता अनुसार हामी धेरै हिँड्न, शारीरिक श्रम गर्न र शरीरलाई आवश्यक मात्रै खाने जीवनशैली अपनाउन थालियो भने थुप्रै रोग लाग्नबाट बच्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्