माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

१६ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक जारी रहेको छ। बन्दसत्रमा प्रतिवेदनमाथि प्रतिनिधिहरुले उठाएका प्रश्न, सुझाव र जिज्ञासा जवाफ दिन काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा शुक्रबार स्थायी कमिटीको बैठक बसेको हो।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो।




प्रतिवेदनमाथि छलफल गर्न बनेका २५ वटै समूहले बिहीबार निष्कर्ष पेस गरिसकेका छन्। सोही प्रतिवेदनमाथि विभिन्न समूहहरुबाट आएका सुझावहरुको प्रष्टिकरणका लागि आवश्यक छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ।
स्थायी कमिटी बैठकमा प्रचण्डको प्रतिवेदनको लिखित फरक मत/ पुरक प्रस्तावलाई स्थान दिने कि नदिने भन्नेबारे पनि छलफल हुनेछ। माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने, राम कार्की लगायतले फरक मत राखेका छन्।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष पेस गर्ने क्रममा प्रतिनिधिहरुले समाजवादको स्पष्ट व्याख्या र क्रान्तिको स्पष्ट कार्यदिशा ल्याउन सुझाव दिएका छन्। उनीहरुले पार्टीमा ‘बा प्रवृत्ति’ देखिएको, प्रचण्डभित्र आत्मकेन्द्रित व्यक्तिवादको समस्या रहेको टिप्पणीसमेत गरेका छन्।
महाधिवेशन प्रतिनिधिहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि सार्नुपर्ने, अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा २ कार्यकाल, मन्त्री र सांसदमा ४ कार्यकालभन्दा बढी हुन नहुने, पार्टी कमिटीको प्रमुख पदमा २ कार्यकाल मात्र काम गर्नुपर्ने, समानुपातिक पदहरूमा एक कार्यकाल मात्र पठाउनुपर्ने सुझाव दिएका छन्।
पार्टीभित्रै वर्ग जन्मिएको भन्दै महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि र चिन्तासमेत व्यक्त गरेका छन्। वर्गीय शोषण, दमन अन्त्य गर्न राजनीतिमा आएका नेता तथा कार्यकर्ताहरू नै मिटर ब्याजी बनेको विषय पनि उठेको छ। गरिबलाई रुवाउन उनीहरूले सुदखोरलाई सघाउने गरेको पनि निष्कर्ष निकालिएको छ।
प्रतिवेदनमाथि उठेका प्रश्न, सुझाव र जिज्ञासाको अध्यक्ष प्रचण्डले शुक्रबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा जवाफ दिने र प्रतिवेदन पारित गर्ने कार्यसूची छ।
त्यससँगै अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ। उक्त प्रक्रिया सकिएपछि मात्रै नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ। नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्