माओवादी केन्द्रका पुर्व नेतालाई फर्काउने जिम्मा कृष्णबहादुर महरालाई

सोमबार, काठमाण्डु । नेकपा एमाले रोजेका माओवादी केन्द्रका पुर्व नेताहरुलाई माओवादीमै फर्काउने पहल सुरु भएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग-अलग बनेसँगै माओवादीका केही नेताहरुले एमाले रोजेका थिए ।

माओवादीका प्रभावशाली नेताहरु रामबहादुर थापा ,लेखराज भट्ट, टोपबहादुर रायमाझी , प्रभु साह र गौरीशंकर चौधरीलगायत नेताहरु एमालेमै बसेका थिए । त्यसमध्ये रामबहादुर थापाले एमालेबाटै वागमती प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिएका नेताहरुले उनको साथ छोडेपछि पार्टीमा खैलावैला मच्चिएको थियो ।

frontline

आफ्ना विश्वासपात्र मानिएका नेताहरुले नै साथ छोडेपछि प्रचण्ड उनीहरुलाई माओवादीमा फर्काउने कसरतमा लागेका हुन् । माओवादीबाट प्रभावशाली नेताहरुले नै पार्टी परित्याग गर्ने क्रम सुरु भएपछि नेताहरुलाई पुनः पार्टीमा फर्काउने रणनीतिमा दाहाल लागेका छन् ।

उनले नेताहरुलाई पार्टीमा फर्काउने जिम्मेवारी स्थायी कमिटी सदस्य कृष्णबहादुर महरालाई दिएको स्रोतले जनाएको छ । महराले माओवादीका पूर्व नेताहरुसंग एक चरण छलफल गरिसकेको स्रोत बताउंछ ।

महराले नेताहरुलाई सम्पर्क गरेर पार्टीमा फर्काउने कोशिस गरेको बताइएपनि एमालेमा बसेका नेताहरु भने माओवादीमा नर्फकिने बताउँछन् । माओवादी नेता महरा निकट एक नेताले उनिहरुसंग दैनिकजसो वार्ता भएपनि निष्कर्ष ननिस्केको बताए ।

उनी भन्छन्,‘अध्यक्षाबाट महराजीले जिम्मेवारी पाउनुभएको छ । दिनहुँ छलफल भइरहेको भएपनि ठोस निष्कर्ष निस्केको छैन । नेताहरुबाट सकारात्मक जवाफ आएको छैन ।’

यता एमालेमा रहेका माओवादीका पूर्व नेता लेखराज भट्ट भने माओवादीमा फर्किने सम्भावना नरहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेलाई १ प्रतिशत पनि सम्भावना छैन भोलीका दिनमा राजनीति हो । जे पनि होला तर म फेरी पनि भन्छु अहिलेलाई फर्किने सम्भावना जिरो छ ।’

नेता भट्टले अहिले आफुहरुको एमाले बाहेक अरु कुरामा ध्यान नदिएको स्पष्ट पारे । उनले अहिले माओवादीमा फर्किने, नयाँ पार्टी खोल्नेलगायतका विषयमा आफूहरुको योजना नरहेको स्पष्ट पारे । पूर्वमन्त्री समेत रहेका नेता भट्टले आफूहरु पार्टीको महाधिवेशनमा केन्द्रीत भएको जानकारी दिए ।

‘अहिले माओवादीमा फर्किने, नयाँ पार्टी खोल्ने त्यस्तो केही योजना छैन् । एमालेको महाधिवेशन आउँदैछ । हामी त्यसैमा केन्द्रित भएर छलफलमा छौँ,’ भट्टले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमालेतिर लाग्दा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको छ । त्यसपछि उनीहरुले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग राख्दै निर्वाचन आयोग गएका थिए । आयोगले माओवादी वैधानिक रहेकाले खारेज गर्नुनपर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाले भने विगतका सबै गल्ति भुलेर उनीहरुलाई पार्टीमा स्वागत गर्न तयार रहेको सन्देश महरामार्फत दिएका छन् । निर्वाचन नजिकिँदै गर्दा प्रचण्डले पूर्व माओवादीलाई एकतावद्ध बनाउन पहल सुरु गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here