महामन्त्री चुचुराे नियाल्दै, उपमहासचिव फन्को लगाउँदै

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दोधारमा परेका छन् । यस वर्षको सगरमाथा आरोहणको सिजन बन्द हुने समय नजिकिएपछि उनले अगाडि बढ्ने कि फर्किने भन्नेमा अन्यौलता छाएको बताए ।
सामान्यतयाः मे २९ देखि आरोहण सिजन बन्द हुने गर्छ । तर अहिले क्याम्प–२ मा पुगेको र रोटेसनको लागि थप समय लाग्ने भएकाले शेर्पा (सहजकर्ता)हरुसँग परामर्श गरिरहेको शर्माले जनाए ।




‘चैत दोस्रो सातातिरै बेसक्याम्प पुगेकाहरु अहिले कोही आरोहणमा छन्, कोही तेस्रो र चौथो क्याम्पको क्यूमा छन्’, उनले भनेका छन्, ‘अब यहाँबाट अघि बढुँ कि फर्कु कि, या रोटेसनमा जाउ, शेर्पा साथीहरूसँग परामर्शमा छु ।’
हिमाल चढ्नुभन्दा ओर्लिनु कठिन रहेको शर्माको अनुभव छ । ‘आँट र स्टामिना निरन्तर साथ छन्, हाइ एल्टिच्युडसँग जुध्दैछु, टाउको दुख्ने या जिउ फतक्क गल्नेस्थितिबाट हालसम्म मुक्त छु’, उनले थप जानकारी दिँदै भनेका छन्, ‘प्रशिक्षणमा म सबल उतिर्ण भएको उक्लिनमा हो, ओर्लिनमा मेरो दक्षताको चित्तबुझ्दो प्रगति, न मैले महशुस गरेको छु, न शेर्पा साथीहरूले गर्नुभएको छ, त्यसैले अझै माथि उक्लनुपूर्व ओर्लने क्षमता थप विकास गर्नुछ ।’
के हो रोटेसन ?
सामान्यतयाः ८ हजार मीटरभन्दा अग्ला हिमाल आरोहण गर्ने क्रममा ६ हजार मीटरको उचाईमा पुगेपछि आरोहीलाई १५ सयदेखि २ हजार मिटरसम्म तल फर्काइन्छ । त्यसरी तल झर्दा चुचुरोसम्मको यात्रा सजिलो बनाउन शारीरिक अभ्यास र आराम हुने गर्छ । त्यसरी ६ हजारको उचाईमा पुगेपछि पुनः केही तल झरेर चुचुरोसम्मको यात्रा तय गर्नुलाई रोटेसन भनिन्छ ।
संसदको सबैभन्दा ठूलो दलका महामन्त्री सगरमाथा चढ्ने कि छोड्ने दोधारमा परिरहँदा दोस्रो ठूलो पार्टी नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली रारा पुगेका छन् । कार्यकर्ता प्रशिक्षणका लागि मुगु पुगेको मेसोमा उनी रारा ताल घुम्न गएका हुन् ।
उपमहासचिव ज्ञवालीले घोडा चढेर राराको दृश्यावलोकन गरेपछि भनेका छन्, ‘अलिकति विहङ्गम दृष्टि, अलिकति धरातलीय ।’ उनले कालिका मालिका मन्दिरको दर्शन गरेको पनि जानकारी दिएका छन् । ज्ञवाली साताअघि गृहजिल्ला गुल्मी पुगेर नेपालगञ्ज हुँदै मुगु पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्