भोजपुरका अधिकांश सडकमा पहिरोको जोखिम, आवतजावतमा समस्या
२६ असार, भोजपुर । मनसुनी वर्षाका कारण भोजपुरका अधिकांश सडकखण्डमा खसेको पहिरोले जोखिम बढाएको छ।
यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या बढेको छ। विभिन्न मुख्य तथा भित्री सडकहरू पहिरोले अवरुद्ध बनेपछि यातायात पनि ठप्प बनेको छ।
भोजपुर दिङ्ला सडकखण्डमा खसेको पहिरो र हिलाम्मे हुनाले षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वधारणलाई सदरमुकाम आउन सास्ती छ। व्यावसायिक कर तिर्न साल्पासिलिछो गाउँपालिका–५, फेदीका दिक्पाल राई दुई दिन लगाएर सदरमुकाम आए।
निरन्तरको वर्षात र कच्ची सडकको हिलाम्मे र पहिरोको जोखिम मोल्दै बल्लतल्ल आइपुगेको उनी बताउँछन्। ‘बर्खा लागेपछि सडकको दुर्दशा सधैं यस्तै हुन्छ।
के गर्नु कर तिर्न मुकामसम्म आउनैप¥यो। समयको बर्बादी र कष्टकर यात्राले सर्वसाधारण सेवाग्राहीलाई चरम सास्ती छ,’ उनले भने।
राई जस्तै दूरदराजका दुर्गम ग्रामीण भेगका नागरिकलाई सेवा लिन जोखिमपूर्ण सडककै कारण कष्ट भोग्नुपर्ने विडम्बना छ।
वर्षातले पहिरो र हिलो भएपछि भोजपुर दिङला सडकखण्ड, भोजपुर घोरेटार सडकखण्ड, आमचोक गाउँपालिका १० पाङ्चा राङ्चास्थित बालंखा–रानीटार कच्ची सडकखण्ड, हतुवागढी गाउँपालिका–९ हसनपुर साफिङटारस्थित घोडेटार–मचुवाटार सडकखण्डलगायत जिल्लाभित्रका मुख्य ग्रामीण सडकखण्डहरूमा यातायातका साधन चल्न सक्ने अवस्था छैन।
यस्तै, ६६ किलोमिटर भोजपुर लेगुवासडकखण्ड र ४२ किलोमिटर पुष्पलाल मध्यपहाडी लोकमार्ग विभिन्न स्थानमा पनि खसेको सुक्खा पहिरोले अवरोध पु¥याएको छ।
वर्षायाम सुरु भएसँगै दिङला क्षेत्र, उत्तरी साल्पासिलिछो क्षेत्रका ग्रामीण सर्वसाधरणहरू खाँदबारीदेखि धनकुटाको लेगुवा घुमेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ।
सर्वसाधरण पैदल अथवा छिमेकी जिल्ला घुमेर आउने गर्छन्। ३ घण्टाको दूरीलाई ९ घण्टा लामो कष्टकर यात्राले समय र पैसा दुवै खेर जाने कुदाककाउलेका सन्तोष बस्नेतले बताए।
उनी भन्छन्, ‘सरकारी कर, नागरिकता, राहदानी बनाउनै ३÷४ दिनै माया मार्नुपर्छ, काम पनि बित्छ महंगो होटललज बसाइ पनि हुन्छ।’
यस्तै, दक्षिणी हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका, रामप्रसादराई गाउँपालिका जोडिने मुख्य सडक पनि निरन्तरको वर्षाले खसेको पहिरोले अवरोध पु¥याएको छ।
दुईपाङ्गे्र सवारी मात्रै चलिरहेको उक्त सडकखण्डमा वर्षात मौसम सुरु भएसँगै पैदलै यात्रा गर्नुपर्ने बाध्यता छ। हतुवागढी गाउँपालिका रानीबासका शम्भु वालाहाङ राईले बताए।
सदरमुकामदेखि हेलौंछाको तीन तलेसम्म १३ किलोमिटर सडकखण्ड र षडानन्द नगरपालिकाको किमालुङ, बैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्लाबजारसम्मकोे सडकखण्ड हिलाम्मे हुन्छ।
सडकका योजनामा राम्रै बजेट लगानी गरिए पनि विविध कारणबस जनताले सडकको सास्ती झेल्नुपरेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदासले बताए।
प्रतिक्रिया दिनुहोस्