भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?

  • ग्रेग टोरोड

हङकङ । कश्मीरमा भएको पछिल्लो घटनालाई लिएर भारत–पाकिस्तानबिच भइरहेको द्वन्द्वले चीनलाई भारतसँगको प्रतिस्पर्धामा सम्भावित रूपमा महत्त्वपूर्ण खुफिया जानकारी संकलन गर्ने अवसर दिइरहेको थियो । यस युद्धमा पाकिस्तानले प्रयोग गरेका लडाकु विमान र अन्य हतियारहरूमार्फत चीनले डेटा संकलन गरिरहेको थियो ।

रक्षा विशेषज्ञ तथा कूटनीतिज्ञहरूका अनुसार, चीनको सैन्य आधुनिकीकरण अब त्यस्तो बिन्दुमा आइपुगेको छ, जहाँ उसले आफ्ना सीमास्थित चौकीहरू, हिन्द महासागरमा रहेका सैन्य वेडाहरू र अन्तरिक्षबाट पनि भारतीय गतिविधिहरूको वास्तविक समयमा नजिकबाट निगरानी गर्न सक्छ । 

frontline

सिङ्गापुरस्थित रक्षा विश्लेषक अलेक्जान्डर निलले रोयटर्सलाई भने, ‘गुप्तचरीको दृष्टिकोणबाट, यो चीनको सिमानामै भई रहेको एक दुर्लभ अवसर हो, जसमा सम्भावित मुख्य प्रतिस्पर्धी शक्ति नै संलग्न छ ।’ 

दुई जना अमेरिकी अधिकारीका अनुसार, चीनले निर्माण गरेको जे–१० पाकिस्तानी लडाकु विमानले कम्तीमा दुईवटा भारतीय सैन्य विमानहरू खसाल्यो, जसमध्ये एउटा फ्रान्समा निर्मित राफेल लडाकु विमान थियो । 

भारतले आफ्नो कुनै पनि विमान खसेको पुष्टि नगरेता पनि पाकिस्तानी रक्षा तथा परराष्ट्र मन्त्रीले जे–१० विमानको प्रयोग भएको स्वीकार गरेका छन् । तर, कुन हतियार प्रयोग गरियो भन्नेबारे उनीहरूले कुनै टिप्पणी गरेनन् ।

यस्तो हवाई भिडन्त संसारभरका सेनाहरूका लागि पाइलट, लडाकु विमान र हवाईदेखि हवाई मिसाइलको वास्तविक युद्धको अध्ययन गर्ने दुर्लभ अवसर हो, जसको प्रयोग आफ्ना वायुसेनालाई युद्धका लागि थप परिष्कृत गर्न सकिन्छ ।

भारत र चीन दुई प्रतिस्पर्धी क्षेत्रीय महाशक्ति, आणविक शक्ति तथा दीर्घकालीन रणनीतिक प्रतिद्वन्द्वी मानिन्छन् । उनीहरूबिचको तीन हजार आठ सय किलोमिटर लामो हिमालयन सीमा सन् १९५० को दशकदेखि विवादित रहँदै आएको छ । यही विवादले सन् १९६२ मा छोटो युद्धसमेत निम्त्याएको थियो ।

हालैको सीमा विवाद सन् २०२० मा सुरु भएको थियो, जुन गत अक्टोबरमा दुवै पक्षबिच गस्तीसम्बन्धी सहमति भएपछि केही सहज भएको छ । सुरक्षा विश्लेषकहरूका अनुसार यसबिच दुवै देशले सीमामा आफ्ना सैन्य पूर्वाधार र क्षमता बलियो बनाउनका लागि स्पष्ट कदम चालेका छन् । यद्यपि, अन्तरिक्षमार्फत गुप्तचर जानकारी सङ्कलन गर्ने मामिलामा चीन अझै बलियो देखिन्छ ।

लन्डनस्थित इन्टरनेसनल इन्च्यिुट्युट फर स्ट्राटिजिक स्टडिज (आईआईएसएस) का अनुसार, चीनसँग अहिले दुई सय ६७ उपग्रह छन्, जसमध्ये एक सय १५ गुप्तचर, निगरानी र पहरेदारीका लागि तथा थप ८१ सैनिक सञ्चार तथा संकेतहरू अनुगमन गर्नका लागि प्रयोग गरिन्छन् । 

यो संरचना चीनका क्षेत्रीय प्रतिस्पर्धीहरू जस्तै भारतको तुलनामा यो संख्या निकै धेरै हो । यो संख्या अमेरिकापछि दोस्रो स्थानमा पर्छ ।

हवाईस्थित प्यसिफिक फोरम थिंक ट्याङ्कका सहायक अध्येता नील भन्छन्, ‘अन्तरिक्ष र मिसाइल ट्रयाकिङ क्षमताका हिसाबले चीन अब जुन कुनै घटनाहरू वास्तविक समयमा निगरानी गर्न सक्षम भइसकेको छ ।’

चीनको रक्षा मन्त्रालयले रायटर्सका उपग्रह परिचालनसम्बन्धी र अन्य गुप्तचर सम्बन्धी प्रश्नहरूमा तत्काल प्रतिक्रिया जनाएको छैन । पाकिस्तानको सेनाको सूचना शाखा र सूचना मन्त्रीले चीनसँग सूचनाको आदानप्रदान भएकोबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

यद्यपि पाकिस्तानले चीनसँग सबै मौसमका लागि रणनीतिक सहकार्य रहेको बताउँदै आएको छ । भारतले औपचारिक रूपमा यसबारे केही प्रतिक्रिया दिएको छैन । तर, बेलायतस्थित भारतीय उच्चायुक्त विक्रम दोराइस्वामीले स्काई न्युजसँग भने, ‘चीनलाई सबै छिमेकीहरूसँग राम्रो सम्बन्ध चाहिन्छ र त्यसमा हामी पनि पर्छौँ ।’

मिसाइल प्रक्षेपणहरू

विश्लेषक र कूटनीतिज्ञहरूका अनुसार, चीनका सैन्य गुप्तचर टोलीहरू भारतीय वायु सुरक्षा प्रणाली र क्रूज वा ब्यालेस्टिक मिसाइल प्रक्षेपणबारे सूचना सङ्कलन गर्न इच्छुक हुनेछन् । त्यसमा मार्ग, सटीकता र कमाण्ड प्रणालीसम्बन्धी जानकारी समेत समावेश हुन्छ ।

विशेषज्ञहरूका अनुसार भारत–रुसले संयुक्त रूपमा विकास गरेको ‘ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइल’ को प्रयोग भएमा त्यो चीनका लागि विशेष चासोको विषय हुनेछ । किनभने यसलाई अहिलेसम्म वास्तविक युद्ध मैदानमा प्रयोग गरिएको छैन ।

समुन्द्रमा पनि चीनले गुप्तचर प्रयासलाई तीव्र बनाएको थियो । विशेष गरी अन्तरिक्ष ट्रयाकिङ जहाज, समुद्री अनुसन्धान र माछा मार्ने जहाजहरूमार्फत, उसले हालका वर्षहरूमा हिन्द महासागरमा आफ्नो गतिविधि बढाइरहेको थियो । 

क्षेत्रीय कूटनीतिज्ञहरूका अनुसार यद्यपि चीनको नौसेनाले भारतीय महासागरमा ठुलो संख्यामा युद्धपोत नपठाए पनि, उनीहरू अन्य ‘नागरिक देखिने’ जहाजमार्फत सक्रिय रूपमा गुप्तचरी जानकारी संकलन गरिरहेका थिए ।

गत साताको घटनामा, केही खुला स्रोत अनुगमनकर्ताहरूले देखे अनुसार, पाकिस्तानी तनाव चुलिँदै गर्दा, अरबी समुद्रमा भारतीय नौसैनिक अभ्यास नजिकै १२० नौटिकल माइलभित्र चीनका माछा मार्ने दुई सय २४ वटा जहाजहरू एकै साथ घुमी रहेका थिए ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका रिपोर्ट र विश्लेषकहरूका अनुसार, चीनका माछा मार्ने यस्ता बेडाहरू प्रायः ‘मिलिसिया’ भूमिकामा पनि प्रयोग हुने गर्छन्, जसले गुप्तचर गतिविधिमा योगदान पुर्‍याउँछन् ।

ओपन–सोर्स ट्रयाकर डेमियन साइमनले मे १ मा आफ्नो ट्विटरमा लेखे, ‘यी जहाजहरू चीनको कानका रूपमा प्रयोग गरिएका हुन सक्छन् । गतिविधिको तालमेल र प्रतिक्रियाका ढाँचाहरू ट्रयाक गर्दै उनीहरूले प्रारम्भीक चेतावनी तथा नौसैनिक सूचनाहरू आफ्ना संरक्षकहरूलाई उपलब्ध गराउन सक्छन् ।’

चीनले प्रायः यस्ता मिलिसिया वा गैरसैनिक जहाजमार्फत गुप्तचरीको कार्य गर्ने कुराको खण्डन गर्दै आएको छ । चीनको पाकिस्तानसँग गहिरो रणनीतिक साझेदारी भएकाले, त्यहाँ अवस्थित आफ्ना सैनिक प्रतिनिधि र राजदूतमार्फत चीनले आवश्यक सूचनाहरू सजिलै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

सिङ्गापुरस्थित एस. राजरत्नम् स्कूल अफ इन्टरनेशनल स्टडिजका चिनियाँ रक्षा विशेषज्ञ जेम्स चारका अनुसार, ‘पाकिस्तानको रक्षा मन्त्रालयले चीनबाट अत्याधुनिक हतियारहरू आयात गरिरहेकाले, त्यहाँ चिनियाँ सैन्य सल्लाहकार र अन्य कर्मचारीहरूको उपस्थिति सामान्य कुरा हो । त्यसैले चिनियाँ जनमुक्ति सेना (पीएलए) ले आवश्यक डेटा प्राप्त गर्न सक्ने सम्भावना ज्यादा छ ।’

(रोयटर्सबाट)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here