ब्रिक्सले जुराएकाे सम्बन्ध सुधार्ने अवसर

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले पाँच वर्षमा पहिलोपटक औपचारिक वार्ता गरेका छन् । भारतका सरकारप्रमुख र चीनका राष्ट्रप्रमुखबीचको भेटवार्ताले सन् २०२० मा भएको घातक सैन्य झडपका कारण बिग्रिएको एसियाका दुई शक्तिशाली राष्ट्रहरूबीचको सम्बन्धमा अभूतपूर्व सुधार आउने संकेत देखाएको छ । 

सीमा क्षेत्रको तनावका कारण दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला ब्रिक्स सम्मलेनमा भाग लिन रुसको कजाक सहर पुगेका मोदी र सीले साइडलाइन वार्ता गरेका हुन् । सम्मेलनको पूर्वसन्ध्यामा भारत र चीनबीच सीमाक्षेत्रमा जारी तनाव अन्त्य गर्न उनीहरुबीच सहमति भएको थियो ।

frontline

भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार सीमाक्षेत्रमा गस्तीको व्यवस्था गर्ने र तनाव अन्त्य गर्ने सहमति भएको थियो । ‘भारत–चीनबीच सीमा क्षेत्रहरूमा एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल) मा गस्ती प्रबन्धका विषयमा सम्झौता भएको छ । यसले चार वर्षदेखिको तनाव अन्त्य गरेको छ,’ उनले भनेका थिए ।

भेटका क्रममा मोदी र सीले आफ्नो राष्ट्रिय झण्डा देखाइएको पृष्ठभूमिमा हात मिलाउँदै दुई देशबीच जारी विवादहरू समाधान गर्न आवश्यक रहेकामा जोड दिएका छन् । त्यस्तै, समस्या समाधान गर्न आ–आफ्ना शीर्ष अधिकारीबीचको बैठकका लागि पहिले नै मिति तय गर्न सहमत भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्ध विश्वव्यापी शान्तिको लागि महत्त्वपूर्ण भएको बताएका छन् । ‘सीमामा शान्ति र स्थायित्व कायम राख्नु हाम्रो प्राथमिकता हुनुपर्छ । पारस्परिक विश्वास, आपसी सम्मान र पारस्परिक संवेदनशीलता नै हाम्रो सम्बन्धको आधार बन्नुपर्छ,’ भेटमा मोदीले भनेका छन् ।

३६ देशका नेताहरू सहभागी ब्रिक्स सम्मेलनमा व्यापारका लागि अमेरिकी डलरको विकल्पमा मुद्रा विकसित गर्ने उपायहरूबारे पनि छलफल भएको थियो । १६ औं ब्रिक्स शिखर सम्मेलनमा संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसका साथै टर्की, इरान, दक्षिण अफ्रिका इजिप्ट, इथियोपिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया र अजरबैजान लगायत देशका नेताहरूको सहभागिता थियो ।

बीबीसीका अनुसार राष्ट्रपति सीले मोदीलाई अन्तर्राष्ट्रिय समुदायले ब्रिक्स बैठकलाई नजिकबाट नियालिरहेको बताएका छन् । सीले दुवै देश विकासको निर्णायक चरणमा रहेकाले ‘विभिन्नता र असहमतिलाई होसियारीपूर्वक सम्हाल्न तथा एकअर्काको विकास आकांक्षाहरू पूरा गर्न सहज बनाउनुपर्ने बताएको’ चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ ।

‘दुवै पक्षका लागि हाम्रा अन्तर्राष्ट्रिय जिम्मेवारीहरू निर्वाह गर्नु, विकासोन्मुख देशहरूको बल र एकतालाई बढावा दिनु र बहुध्रुवीकरणमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध र लोकतन्त्र प्रवर्द्धनका लागि योगदान दिनु महत्त्वपूर्ण छ,’ सीले भने, ‘चीन र भारत दुवै प्राचीन सभ्यता, प्रमुख विकासशील देश र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्यहरू हुन् । हामी दुवै हाम्रो सम्बन्धित आधुनिकीकरण प्रयासमा एक महत्त्वपूर्ण चरणमा छौं ।’

दुई नेताबीचको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भारतीय विदेश सचिव विक्रम मिश्रीले दुई छिमेकी र ठूला राष्ट्रका रूपमा भारत र चीनबीचको स्थिर, अनुमानित र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धले क्षेत्रीय र विश्वव्यापी शान्ति र समृद्धिमा सकारात्मक प्रभाव पार्ने दुई नेताले पुष्टि गरेको बताएका छन् ।

भारत–चीन सम्बन्ध दशकौंंदेखि तनावपूर्ण छ । यसको मूल कारण ३ हजार ४ सय ४० किलोमिटर लामो विवादित सीमा हो । दुई देशबीच सन् १९६२ मा भएको युद्धमा भारतले ठूलो हार बेहोरेको थियो । भारतले सन् २०१९ मा कश्मीरलाई विशेष मान्यता प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌मा चीनले उक्त कदमको निन्दा गरेको थियो । त्यसका साथै, चीनले दाबी गरेको लद्दाखलाई कश्मीरमा समावेश गरिएको छ ।

सन् २०२० को मेमा दुई देशको सीमाक्षेत्र गलवान उपत्यकामा तैनाथ सैनिकहरूबीच झडप भएको थियो । सन् १९७५ पछिकै घातक भिडन्तमा भारतका २० र चीनका ४ सैनिकको ज्यान गएको थियो । भारत र चीनबीच १९९६ मा सीमानजिक बन्दुक र विस्फोटक पदार्थको प्रयोगलाई निषेध गर्ने सम्झौता भएका कारण चार वर्षअघि गलवान उपत्यकामा सैनिकहरू मुक्का र लठ्ठीले लडाइँ गरेका थिए ।

पछि पछि दुवै देशहरूले विवादित सीमाका केही भागहरूबाट सेना फिर्ता गरे र तनाव कम गर्ने बताए पनि स्थिति तनावपूर्ण रहिरह्यो । दुई देशका सेनाबीच सन् २०२१ मा उत्तरी सिक्किम क्षेत्रमा र २०२२ मा सीमाको तवाङ सेक्टरमा पनि भिडन्त भएको थियो ।

सैन्य गतिरोधले दुई देशबीचको व्यापारिक सम्बन्धमा पनि नकारात्मक असर पारेको छ । भारत सरकारले आफ्नो देशमा चिनियाँ लगानीको छानबिन बढायो र टिकटकसहित धेरै लोकप्रिय चिनियाँ मोबाइल एपहरूमाथि प्रतिबन्ध लगायो । भारतले चीनसँगका सिधा यात्रुवाहक उडानहरू पनि बन्द गर्नुका साथै चिनियाँ नागरिकलाई भिसा दिन रोकेको थियो ।

२०२३ मा भारतीय विदेशमन्त्री एस जयशंकरले कजाकस्तानमा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको साइडलाइन बैठकमा चिनियाँ समकक्षी वाङ यीसँग गरेको भेटमा वार्ता जारी राख्ने सहमति जुटेको थियो । गत महिना जयशंकरले सीमा क्षेत्रको तनाव करिब ७५ प्रतिशत सुल्झाइएको बताएका थिए । त्यसको केही दिनमा दुवै पक्षका नागरिक उड्डयन अधिकारीहरूको वार्ताले सीधा उडान सुरू गर्न सहमति गरेका थिए ।

भारतीय व्यवसायीहरूले चीनमाथिको प्रतिबन्ध खुकुलो पार्न सरकारलाई दबाब दिएका ब्लूमबर्ग लगायतका सञ्चार माध्यहरूले जनाएका छन् । तर भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भने चिनियाँ व्यवसायमा लगाइएका प्रतिबन्धहरू खुकुलो पार्दा भारत सतर्क रहने प्रतिक्रिया दिएकी छन् ।

गत मंगलबार भारतीय विदेशमन्त्री जयशंकरले दुई देशहरू सीमा गस्ती पुनः सुरू गर्न र सीमाक्षेत्रको स्थिति २०२० मा झडप हुनुअघिको अवस्थामा फर्कन सहमति जुटेको जनाएका थिए । ‘हामी चीनसँगको तनाव अन्त्य भएको भन्न सक्छौं,’ जयशंकरले भनेका थिए । भारतीय सेना प्रमुख जर्नेल उपेन्द्र द्विवेदीले दुवै देशले अब विश्वासको वातावरण निर्माणमा जुटिरहेको बताएका छन् ।

चीनको विदेश मन्त्रालयले पनि दुई पक्ष सान्दर्भिक मुद्दाहरूमा समाधानमा पुगेको बताएको थियो । ‘पछिल्लो समय भएको प्रगतिको चीन प्रशंसा गर्दछ र यी संकल्पहरूको ठोस कार्यान्वयनका लागि भारतसँग काम गरिरहनेछ,’ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबारको पत्रकार सम्मेलनमा भनेका थिए ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मोदी र सीले विशेष प्रतिनिधिहरूको बैठकले सीमा समस्याको निष्पक्ष, व्यावहारिक र पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्ने घोषणा गरेको उल्लेख छ । त्यसका लागि विभिन्न मन्त्री तथा अधिकारीहरूले द्विपक्षीय सम्बन्ध पुनः सुधार गर्न काम गर्ने मन्त्रालयले जनाएको छ ।

दुई नेताबीच यसअघि २०१९ को अक्टुबरमा भारतको तमिलनाडुको तटीय सहर ममल्लापुरममा भेटवार्ता भएको थियो । त्यसलगत्तै गलवान उपत्यकामा झडप भएपछि बेइजिङ र नयाँदिल्लीबीच सम्बन्ध तनावपूर्ण बनेको थियो । त्यसपछि दुई नेताबीच २०२२ नोभेम्बरमा बालीमा भएको जी–२० सम्मलेन र सन् २०२३ अगस्टमा जोहानेसबर्गमा ब्रिक्स सम्मेलनका क्रममा छोटो कुराकानी भएको थियो । भेटका क्रममा दुई नेताबीच तनाव अन्त्य गर्ने सहमति भएको थियो ।

२०२३ को सेप्टेम्बरमा नयाँदिल्लीले आयोजना गरेको ‘जी–२०’ सम्मेलनमा भने चिनियाँ राष्ट्रपति सी सहभागी भएनन् । सीको अनुपस्थितिलाई दुई देशबीचका सम्बन्धमा अर्को धक्काका रूपमा हेरिएको थियो । तर पछिल्लो भेटवार्ताले भने तनाव अन्त्य गर्न र दुई देशको सम्बन्ध सुधार गर्न इमानदार रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here