बेलायतमा महारानी एलिजाबेथको मृत्युसँगै अन्योलमा राजतन्त्र
२४ भदौ, काठमाडौं । तीन महिनाअघि मात्र बेलायतमा महारानी एलिजाबेथ द्वितीयाको राज्याभिषेकको ७०औं वार्षिकोत्सव मनाइएको थियो ।
उनको शासन बिहीवार (८ सेप्टेम्बर) मा अन्त्य भयो । सत्तरी वर्षसम्म गद्दीमा बसेकी महारानीको मृत्यु भएको घोषणा बकिंघम राजदरबारले गरेको छ ।
एलिजाबेथको मृत्युले बेलायतमा मात्र नभई संसारभरि नै विभिन्न किसिमका भावनाहरूलाई अभिव्यक्त गर्ने अवसर दिनेछ ।
बेलायत र कमनवेल्थ मुलुकहरूमा लाखौं प्रजाहरूले महारानीका रूपमा एलिजाबेथलाई मात्र चिनेका छन् ।
उनीहरूको सिक्का र रुपैयाँमा एलिजाबेथको तस्वीर छ अनि पुस्तौंदेखि उनीहरूको टेलिभिजनको पर्दामा उनको उपस्थिति कायम छ ।
विश्व उपनिवेशवाद र विदेशी प्रभुत्वको अन्धकारमय युगबाट निकै अघि बढिसकेको भए पनि एलिजाबेथ त्यस युगको निरन्तरताको प्रतीकका रूपमा रहेकी थिइन् ।
बेलायती मुकुट अब चार्ल्सको शिरमा राखिनेछ । अहिले ७३ वर्ष पुगेका चार्ल्स जिन्दगीभरि मुकुटको प्रतीक्षा गरिरहेका थिए ।
सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरिने समारोहमा चार्ल्सलाई सामान्य व्यक्ति जस्तो गरी व्यवहार गरिएपछि उनले ‘साम्राज्यको अन्त्य’ भनी आफ्नो डायरीमा त्यो क्षणको सम्झना गरेका थिए । उनी र उनका सम्भावित उत्तराधिकारी विलियमले राजतन्त्र अन्त्य भएको देख्ने सम्भावना प्रबल छ ।
महारानीको मृत्युको दुईवटा कुरालाई उजागर गर्छ: पहिलो, बेलायतीहरूका लागि उनको शक्ति एक प्रतीकका रूपमा रहेको थियो । दोस्रो, राज्य संयन्त्र उनीविना पनि चलिरहनेछ ।
चार्ल्सले अब एक उपाधि र भूमिको स्वामित्व विरासतमा प्राप्त गरेका छन् । अर्को आमनिर्वाचनपछि उनले नयाँ सरकार बनाउने अनुमति दिनेछन् । तर यो कुरा उनकी आमाको छायाँमा गरिनेछ ।
अनि उनले गर्ने सबै कामहरू नाटक जस्तो मात्र हो भन्ने ज्ञान उनलाई हुनेछ । मुकुट र राजदण्ड राजपहिरनको एक हिस्सा हो ।
यसले चार्ल्सलाई आधुनिक संवैधानिक गणतन्त्रको युगमा राजतन्त्रको पनि भूमिका छ भन्ने भ्रम दिलाइरहनेछ ।
एलिजाबेथ बेलायतको गद्दीमा बस्दा बेलायती साम्राज्यअन्तर्गत विदेशमा ७० वटा मुलुक थिए । त्यतिखेर भारत स्वतन्त्र भएको पाँच वर्ष मात्र भएको थियो । त्यसपछिका पाँच दशकमा अन्य मुलुकहरू धमाधम स्वतन्त्र भए ।
एकपछि अर्को देशले आफ्नो भाग्यमा आफैं नियन्त्रण कायम गर्न थालेपछि बेलायती साम्राज्य छिन्नभिन्न हुँदै गयो । इजिप्ट, केन्या र अन्य मुलुकमा उठेका क्रान्तिलाई क्रूरताका साथ दमन गर्न खोजेको भए पनि एलिजाबेथका मन्त्रीहरू राजा जर्ज तृतीयका कदमको अनुसरण गर्दै मुलुकहरूको स्वतन्त्रता मागलाई स्वीकार गर्न बाध्य भए ।
उत्तरी आन्ध्रमा रहेको सानो टापु बेलायतमा एलिजाबेथकी जिजुआमा महारानी भिक्टोरियाले कुनै बेलामा सम्राज्ञीका रूपमा शासन गरेको भए पनि एलिजाबेथको पालामा आइपुग्दा बेलायतले समुद्रहरूमा प्रभुत्व जमाउन सकेन र विश्वलाई आफ्नो इच्छा लदाउन पनि सकेन । साम्राज्य गुमाउन पुग्दा बेलायतले क्रमशः विश्व मामिलाबाट अलग्गिन थाल्यो ।
बेलायती उपिनिवेशबाट स्वतन्त्र भएका मुलुकलाई बेलायतसँग जोडिरहन खोज्ने कमनवेल्थलाई एलिजाबेथले दह्रो समर्थन गर्ने गर्थिन् । स्वतन्त्र मुलुकहरूमा उनको शक्ति चल्दैनथियो तर कतिपयले उनलाई राज्यप्रमुखका रूपमा लिन्थे र नयाँ सरकारलाई मान्यता दिन उनको स्वीकृति खोज्थे ।
तर वर्षहरू बित्दै जाँदा त्यस्तो स्वीकृति खोज्ने मुलुकको संख्या १४ मा झरेको थियो । कतिपय मुलुकले राजतन्त्रसँग पूरै सम्बन्ध तोडे । पछिल्लो उदाहरण सन् २०२१ मा बार्बेडोसले प्रस्तुत गरेको थियो ।
संसारबाट बेलायती उपनिवेशका निशानहरू हराउन थालेसँगै बेलायत युरोपेली महादेशसँग पनि जोडिन अनिच्छुक छ । युरोपेली संघभन्दा अघिको युरोपेली कोइला र स्टील समुदायसँग बेलायतले गरेको सम्झौतालाई एलिजाबेथले आफ्नो शासनकालको आरम्भतिर देखेकी थिइन् ।
सन् १९७२ मा बेलायत युरोपेली समुदायमा जोडिँदा एलिजाबेथले त्यसलाई शाही स्वीकृति दिएकी थिइन् । सन् २०१८ मा बेलायत युरोपेली संघबाट बाहिरिँदा पनि त्यसमा एलिजाबेथको स्वीकृति थियो । त्यसपछि नै बेलायतले ब्रेक्जिटको सम्झौतालाई अघि बढायो ।
एक्लै उभिएको तर संसारबाट नएक्लिएको बेलायत अब पहिलेको जस्तो उपनिवेशवादी शक्ति रहेन जबकि केहीले बेलायतलाई त्यो पहिलेकै जस्तो स्थितिमा पुर्याउने इच्छा व्यक्त गर्ने गरेका छन् ।
सानो टापुमा सीमित बेलायतमा अब चार्ल्सले शासन गर्नेछन् । बेलायतीहरूमाझ एलिजाबेथ लोकप्रिय थिइन् तर राजतन्त्रप्रति उनीहरूको आस्था कमजोर बन्दै गएको छ ।
एलिजाबेथको राज्यारोहणको ७० औं वार्षिकोत्सवको समयमा गरिएको सर्वेक्षणमा चार्ल्स आफ्नी आमा जति लोकप्रिय थिएनन् । एलिजाबेथको मृत्युपछि यसमा परिवर्तन आउन सक्छ किनकि यस्तो बेलामा राजतन्त्रप्रति सहानुभूति राख्नुपर्छ भन्ने भाव जनताको मनमा आउन सक्छ । तर यो सहानुभूति क्षणिक मात्र हुनेछ ।
बेमनले भए पनि बेलायतमा राजतन्त्र अन्त्य गराउने व्यक्ति चार्ल्स नै हुन सक्छन् । चार्ल्सका पुर्खा चार्ल्स प्रथमलाई बेलायती गृहयुद्धमा सत्ताच्युत गरी टाउको काटिएको थियो । त्यसले गर्दा केही समयका लागि बेलायती राजतन्त्र अन्त्य भएको थियो । रिस्टोरेसनको समयमा चार्ल्स द्वितीय गद्दीमा फर्किए तर कुनै समयमा राजासँग रहेको निरपेक्ष शक्ति संसदमा निहित हुँदै गयो ।
त्यसपछिका शताब्दीमा राजाको शक्ति झन् झन् क्षीण हुँदै गएको छ । अहिले राजतन्त्र वास्तविक आवश्यकता भन्दा पनि विगतको गौरव सम्झेर बस्ने मात्र स्थितिमा छ ।
चार्ल्स वा उनका छोरा विलियमको शासनकालमा राजतन्त्रप्रति मानिसको आस्था बढ्न पनि सक्छ । तर बेलायती जनतामाथि वास्तविक शासन गर्ने अन्तिम महारानीका रूपमा इतिहासले एलिजाबेथ द्वितीयालाई हेर्ने सम्भावना बढी छ ।
श्रोत : ईन्टरनेट
प्रतिक्रिया दिनुहोस्