बुहारीहरूले हाँकेको होमस्टे

News Summary

Generated by OK AI. Editorially reviewed.

  • चितीखोला सामुदायिक होमस्टे २०७६ मा स्थापना भएको र गाउँको पहिचान बनेको छ।
  • होमस्टे महिलाहरूले सञ्चालन गरी गाउँको जीवनशैली र अर्थतन्त्रमा परिवर्तन ल्याएको छ।
  • होमस्टेले १,२५० रुपैयाँको प्याकेजमा परम्परागत खानपान र सांस्कृतिक सेवा प्रदान गर्दछ।

५ जेठ, दमौली । भानु नगरपालिका वडा नं. ९ चितीखोला तनहुँकी ७० वर्षीया जमुनामाया थापाका ६ छोरा–बुहारी छन् । तीमध्ये तीन बुहारीहरू गाउँमै बसेर होमस्टे सञ्चालन गरिरहेका छन् । तिनै बुहारीहरुको समेत सक्रियतामा वि.सं. २०७६ सालमा स्थापना भएको चितीखोला सामुदायिक होमस्टे अहिले गाउँको पहिचान बनेको छ ।

frontline

चितीखोला होमस्टे मुख्य रूपमा गाउँका बुहारीहरूले नै सञ्चालन गर्दै आएका छन् । जमुनाकी जेठी बुहारी सुकुमाया थापा मगर, साहिँली बुहारी हरिमाया सारु र कान्छी लक्ष्मी सारुमगर होमस्टे सञ्चालनमा सक्रिय छन् ।

त्यस्तै, शुशीला पुलामी, धन कुमारी सारुमगर, गीता अधिकारी पाण्डे लगायत गाउँका अन्य महिलाहरू पनि होमस्टेमै संलग्न छन् । पहिले खेतीपाती र घरायसी काममा सीमित हुने चितीखोलाका महिलाहरू अहिले पाहुनाको स्वागत सत्कारमा व्यस्त हुन्छन् ।

सुकुमाया थापा मगरले भनिन्, ‘पहिले हामी खेतबारी र घरायसी काममा मात्र व्यस्त थियौं, पर्यटकहरू गाउँमा आउने कुरा कल्पनासम्म थिएन । तर विगत केही वर्षयता होमस्टे सञ्चालन भएपछि हाम्रो जीवनमा ठूलो परिवर्तन आएको छ ।’

उनले थपिन्, ‘अहिले हामी पाहुनाको स्वागत गर्न, खाना पकाउन, गाउँको संस्कृतिको परिचय दिन गर्व महसुस गर्छौं । यसले हाम्रो आत्मविश्वास मात्र बढाएको छैन, आर्थिक रूपमा पनि धेरै मद्दत गरेको छ ।’

चितीखोला सामुदायिक होमस्टेले १ हजार २५० रुपैयाँको प्याकेजमा लोकल कुखुराको मासु, परम्परागत खानपिन, साँझको खाजा र बिहानको नास्तासहित सेवा दिन्छ ।

२१ घरधुरी रहेको चितीखोलामा हाल ४२ जना पाहुना एकै पटक बस्न सक्ने क्षमताको होमस्टे छ । होमस्टेकी सचिव शुशीला पुलामीका अनुसार यो होमस्टे सञ्चालन भएपछि गाउँमा महिलाहरूको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ ।

उनले भनिन्, ‘हाम्रो यो सामुदायिक होमस्टेले पर्यटकलाई शान्त र प्राकृतिक वातावरणमा बस्न अवसर दिएको छ, तर यहाँका महिलाहरूलाई पनि सशक्त बनाएको छ । पाहुनाले पनि हाम्रो गाउँको मौलिकता र आतिथ्यताको धेरै राम्रो प्रतिक्रिया दिएका छन् ।’

चितीखोलामा हरियालीले ढाकिएको वन, चिटिक्कका घर, शान्त वातावरण र पाहुनाप्रतिको हार्दिक स्वागतले जो कोहीलाई लोभ्याउँछ । चितवन, पोखरा, काठमाडौं, लमजुङ लगायतका ठाउँबाट आन्तरिक पर्यटकहरू आउँछन् । कहिलेकाहीं विदेशी पाहुनाहरू पनि आउँछन् र गाउँको संस्कृति, रहनसहन, खाना र संगीतबाट प्रभावित भएर फर्किन्छन् ।

खानेपानी, बिजुली, शौचालय, बासस्थान र सञ्चारको सुविधा राम्रो छ । पाहुनाहरूलाई गाउँका महिला स्वयंसेवकहरूले गाउँ घुमाउने, परम्परागत नाच देखाउने गर्छन् । होमस्टे सञ्चालक धनकुमारी सारुले भनिन्, ‘पहिले आफ्नै गाउँमा पाहुना आउँछन् भन्ने कल्पना पनि थिएन । अहिले त पाहुना आउने खबर सुन्नासाथ सबैजना जुट्छौं । खाना, सफाइ, कोठा मिलाउने, नाचगानको तयारी सबै काम मिलेर गर्छौं ।’

बुहारी होमस्टे

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here