बुद्ध किन पूर्णिमाको दिन जन्मे ?

कसैले ओशोलाई प्रश्न गर्छन्— बुद्ध पुरुषसँग पुराणका कथाहरू किन जोडिन्छन् ?
यो धेरै महत्त्वपूर्ण प्रश्न हो । सबै बुद्ध पुरुषहरूको जीवनमा कथा जोडिन्छन् । यसको कारण छ ।




ओशो व्याख्या गर्छन्— पहिलो कुरा, बुद्ध पुरुषहरूको जीवनबाट हामीले कथालाई झिक्यौँ भने के बाँकी रहन्छ त ? कोरा खाका मात्रै बाँकी रहन्छ । बुद्ध कहिले जन्मे, कुन तारिखमा जन्मे, कसको घरमा जन्मे ? यो थाहा पाएर के हुन्छ ? कहिले जन्मे र कहिले मरे भन्ने थाहा नपाउँदा पनि के फरक पर्छ र ? जन्म र मरणले बुद्ध पुरुषहरूको मूल्य राख्दैन । किनभने जो जन्म्यो र मर्यो त्यो त शरीर थियो, त्यो त रूप थियो । यस्तो कुरामा हिसाब राख्नुको कुनै सार छैन । त्यो त गौण छ, असार छ ।
इतिहासले त्यो असारमा ध्यान दिन्छ, पुराणले सारलाई समाउँछ । पुराणले बुद्ध कहिले जन्मे भनेर चिन्ता गर्दैन, बुद्धत्व के हो भनेर मनन गर्छ । पुराण अखबार होइन, घटनाहरूको चिन्ता गर्दैन, घटनाहरूको पछाडि लुकेको आभालाई समाउँछ ।
छोरालाई हेर्न बुद्ध गए कि गएनन्, यो कति पनि महत्त्वपूर्ण होइन, तर जानुपर्छ । मनुष्यको स्वभाव हो, अवश्य जान्छ । बुद्ध चुपचाप गएका थिएनन् त्यहाँ, तर मलाई लाग्छ कि पुराण महत्त्वपूर्ण छ, बुद्धलाई पुराणले त्यहाँ लिएर गयो । यो सबै मनुष्यको भित्र घट्छ नै ।
त्यो रात जब बुद्धले आफ्नो महल छाडे, त्यो बेला बुद्धभित्र के भयो होला ? महल छाडे, यो बाहिरको घटना हो । यो इतिहासमा आइहाल्छ, तर महल छाड्दै गर्दा बुद्धको चेतनामा कस्तो तुफान उठ्यो ? कसैले इतिहासमा त्यसलाई अंकित गर्न सक्दैन । सुन्दर पत्नीलाई छाडेर जाँदै थिए, भर्खर जन्मेको छोरालाई छाडेर जाँदै थिए । मनमा कस्तो तुफान उठ्यो होला ? जब छाडेर गए, अन्तिमचोटि मनमा आयो होला, गएर एकचोटि हेरुँ ! कमसे कम छोरालाई त हेरुँ, फेरि भेट हुन्छ कि हुँदैन ? आमाको आँचलमा छोरा लुकेर सुतिरहेको थियो । यशोधरा गहिरो निद्रामा सुतिरहेकी थिइन् । बुद्धको मनमा आयो कि आँचल उठाएर छोराको मुख एकपल्ट हेरुँ । उनले आफूलाई रोके, किनभने त्यसो गर्दा यशोधरा ब्युँझिन सक्छिन्, रुन सक्छिन् र म रोकिन पनि सक्छु भन्ने उनलाई लाग्यो । यस्तै सोचेर विनाआवाज चुपचाप ढोकाबाटै फर्किए ।
अब यो घटना भयो कि भएन, यो कुरा महत्त्वपूर्ण हैन, तर यो घटना घट्नुपर्छ । इतिहासमा घटेका घटना मात्रै लेखिन्छ तर पुराणका लागि यो घटना भयो कि भएन भन्ने अर्थहीन कुरा हो । छोरालाई हेर्न बुद्ध गए कि गएनन्, यो कति पनि महत्त्वपूर्ण होइन, तर जानुपर्छ । मनुष्यको स्वभाव हो, अवश्य जान्छ । बुद्ध चुपचाप गएका थिएनन् त्यहाँ, तर मलाई लाग्छ कि पुराण महत्त्वपूर्ण छ, बुद्धलाई पुराणले त्यहाँ लिएर गयो । यो सबै मनुष्यको भित्र घट्छ नै ।
तिमी अलिकति सोच त, एक रात तिमी घर छाडेर जाँदै छौ भने, आफ्नी पत्नीलाई एकचोटि हेर्न चाहँदैनौ ? जसलाई यति चाह्यौ, जसलाई प्राणभन्दा बढी माया गर्यौ ! आफ्नो छोरालाई एकपटक हातले छुन चाहँदैनौ ? यो एकदम स्वाभाविक हो, मनोवैज्ञानिक पनि हो, तर ऐतिहासिक हो या होइन, यसमा कुनै अर्थ छैन ।
जसले यो कुरा लेखे, उनले मनुष्यको मनलाई बुझेर लेखेका हुन् । हुन सक्छ, बुद्ध जिद्दी किसिमका मानिस थिए र त्यसै गए, तर यो कुरा मेल खाँदैन । बुद्ध चुपचाप उठे र हिँडे, फर्केर पनि हेरेनन् भनेर लेखेको भए मानवीय हुँदैनथ्यो अमानवीय हुन्थ्यो । मानिसले फर्केर हेर्छ, फर्की–फर्की हेर्छ, पछुताउँछ, हजारचोटि सोच्छ, फर्की–फर्की आउँछ, गयो भने पनि फर्की–फर्की आउँछ ।
फेरि कथाले भन्छ, सायद यस्तै भएको भए पनि यो ऐतिहासिक हुन सक्छ । बुद्ध आफ्नो रथमा सवार भई गएको भए उनको घोडाको टापको आवाज यति ठुलो हुन्थ्यो कि सारा नगर ब्युँझिन सक्थ्यो । राजाको घोडा, राजाको रथ, घोडाको टाप— सारा गाउँ ब्युँझन्थ्यो, झन् जान गाह्रो हुन्थ्यो । पुराण भन्छ, देवताहरूलाई लाग्यो कि मानिस ब्युँझे भने बुद्धको यो जुन महाअभिनिष्क्रमण छ, त्यो रोकिन्छ ।
देवता शुभको प्रतीक हो, शैतान अशुभको । कुन देवता कस्ता हुन्छन् भन्ने होइन, जेहोस् देवता शुभको प्रतीक हो । यो अस्तित्वलाई पनि शुभलाई बचाउने आकांक्षा हुन्छ, हुनुपर्छ, यो पुराणले भन्छ ।
जब तिमी खराब कार्य गर्छाै भने तिमी एक्लो हुन्छौ, तब तिमीलाई अस्तित्वले साथ दिँदैन । खराब कार्यको तिमी एक्लै जिम्मेवार हुन्छौ । यसैले खराब कार्य गर्दा यसलाई सम्झनामा राख्नु । तिमी राम्रो कार्य गर्छाै भने अस्तित्वले साथ दिन्छ । अस्तित्व जहिले पनि शुभ चाहन्छ ।
अनि देवताहरूलाई लाग्यो— यो घोडाको टापले कतै बुद्ध नरोकिउन् । बुद्ध जानबाट रोकिए भने अनन्त–अनन्त कालमा मुस्किलले कोही बुद्ध हुन्छ, यो महाघटना रोकिनेछ । बुद्ध बुद्ध भएनन् भने करोडौँ मानिस बुद्धत्वको यात्राबाट वञ्चित हुन्छन् । यसैले अस्तित्वमा जुन शुभको तत्त्व छ, त्यसले तत्काल कमलको फूल बाटोभरि बिछ्याइदियो, घोडाको खुर कमलको फूलमा पर्न थाल्यो, अनि त्यसको चोट गाउँमा कसैले पनि सुन्न सकेनन् ।
अब यस्तै भयो भनेर त भन्न सकिन्न, तर यस्तो हुनुपर्छ । यो हाम्रो आकांक्षा हो । पुराण मनुष्यको उदात्त आकांक्षा हो ।
पुराणले हामीलाई यो भनिरहेको छ कि यो अस्तित्व हामीप्रति उपेक्षापूर्ण हुन सक्दैन, जब तिमी शुभ कार्य गर्छाै भने अपूर्व र अनन्त शक्तिहरूले तिम्रो साथ दिन्छ । यो कुरालाई प्रतीकमा राखिएको छ । जब तिमी खराब कार्य गर्छाै भने नितान्त तिमी एक्लो हुन्छौ, जब तिमी असल कार्य गर्छाै भने सारा अस्तित्वले तिम्रो साथ दिन्छ । हुनु पनि यस्तै पर्छ !
अस्तित्व तटस्थ छ, उसलाई हाम्रो जीवनसँग केही लिनु–दिनु छैन । हामी चोरी गरौँ, हत्या गरौँ, पुण्य वा दान गरौँ, प्रेम वा घृणा गरौँ, धन जम्मा गरौँ कि ध्यान गरौँ— अस्तित्वलाई कुनै मतलब छैन । यो संसार ज्यादै फिका छ । हामीले जेसुकै गरे पनि अस्तित्वलाई केही लिनु–दिनु छैन, फेरि हामीले गरेको कामको मूल्य के हो ? हामीले धन जम्मा गरौँ कि ध्यान जम्मा गरौँ, दुवैमा अस्तित्वले कुनै भेद गर्दैन । यहाँ साधु–असाधु बराबर हुन्छन् ।
पुराणले भन्छ— होइन, अस्तित्वले पनि हाम्रो चिन्ता गर्छ । जब तिमी खराब कार्य गर्छाै भने तिमी एक्लो हुन्छौ, तब तिमीलाई अस्तित्वले साथ दिँदैन । खराब कार्यको तिमी एक्लै जिम्मेवार हुन्छौ । यसैले खराब कार्य गर्दा यसलाई सम्झनामा राख्नु । तिमी राम्रो कार्य गर्छाै भने अस्तित्वले साथ दिन्छ । अस्तित्व जहिले पनि शुभ चाहन्छ । यो महत्त्वाकांक्षालाई, यो अभीप्सालाई कथामा देखाइएको मात्र हो ।
कथामा त प्रतीक हुन्छ, प्रतीकहरूमा रहस्य लुकेका हुन्छन् । देवताहरूले कमलको फूल बिछ्याइदिए, घोडाको टाप कसैले सुनेनन् । देवताहरूले गाउँमा निद्रा यसरी फैलाइदिए कि सारा राजधानी गहिरो निद्रामा सुत्यो । जुन गाउँतिर जाने द्वार, पुरानो राजकोटको द्वार खोलिँदा त्यसको आवाज कोसौँ सुनिन्थ्यो, जब द्वार खोलियो सारा गाउँले ‘क्लोरोफार्म’ दिएका जस्ता भए ।
के यस्तो भएको हो र ? यो प्रश्न होइन । यो नसोध कि यस्तो भयो कि भएन । यो सोध कि तिमीले गलत प्रश्न सोध्यौ तर यस्तो हुनुपर्छ । बुद्धको महाअभिनिष्क्रमणको रात, जीवनको शुभतत्त्वले सबै किसिमले साथ दियो ।
पुराणको अर्थ हामी जे भन्ठान्छौ, त्यो होइन । पुराणको अर्थ जे देखिँदैन, त्यसलाई उजागर गर्नु हो । जे देखिन्छ, त्यो त इतिहासले भन्छ, जुन देखिँदैन त्यसलाई पुराणले भन्छ । पश्चिममा पुराणजस्तो कुनै कुरा हुँदैन । यसैले पश्चिमको इतिहास दरिद्र छ । पश्चिमको इतिहासमा काव्य हुँदैन । जब इतिहासमा काव्य जोडिन्छ, अनि पुराण जन्मन्छ । पूर्वले इतिहास लेखेनन्, पुराण लेखे, पश्चिमले इतिहास लेखे ।
यसैले जब पश्चिमको कुनै विचारक आउँछन् त उनीहरू व्यर्थको कुरा सोध्छन् कि बुद्ध यो तारिखमा जन्मेका हुन् कि होइनन् ? यस्ता कुरामा वर्षौं मेहनत गर्छन्— मानिस कुन तारिखमा जन्म्यो, हामी यसको चिता गर्दैनौ । हामी भन्छौँ— कुनै पनि तारिखले काम दिन्छ ।
बुद्धको जीवनीमा उल्लेख छ— उनी पूर्णिमाको रातमा जन्मे, पूर्णिमाकै रातमा सम्बोधि प्राप्त गरे र पूर्णिमाको रातमा उनको देहावसान भयो ।
यो कुरा हामीलाई पुराणजस्तो लाग्न सक्छ, इतिहासजस्तो लाग्दैन । यस्तो पनि हुन सक्छ कि कोही मानिस संयोगवश पूर्णिमामै जन्मेको होस्, पूर्णिमामै ज्ञान प्राप्त भएको होस्, पूर्णिमामै देहावसान भएको होस् । त्यही दिन जन्मिनु, त्यही दिन ज्ञान प्राप्त गर्नु, त्यही दिन देहावसान हुनु— यत्रो संयोग हुन पक्कै गाह्रो हुन्छ । यो सायद इतिहासको कुरा नभए पनि घटना धेरै मूल्यवान् छन् ।
पूर्णिमा त प्रतीक हो, पूर्णताको । त्यो पूर्णताको प्रतीकलाई समाएर पुराण बोल्छ । बुद्ध पूर्ण जन्मेका हुन्, पूर्णिमाको रातमा जन्मेका हुन्, शीतलता लिएर जन्मेका हुन्, पूर्ण छवि लिएर जन्मेका हुन्, पूर्ण सौन्दर्य लिएर जन्मेका हुन्, अपूर्व अमृत लिएर जन्मेका हुन् । अनि पूर्णिमाको रातमै उनीभित्र लुकेको यो अमृत बग्यो, प्रकट भयो, स्फुटित भयो, कमल खिल्यो । फेरि पूर्णिमाको रातमै बुद्धलाई ज्ञान प्राप्त भयो, किनकि ज्ञान पनि पूर्णिमाको रात नै हो ।
फेरि बुद्ध पूर्णिमाको रातमै बिदा भए, किनकि मृत्यु पनि बुद्धको पूर्ण हो, जन्म पनि पूर्ण हो । बुद्धको जीवनमा सबै पूर्ण छ । हामीले पूर्णिमाको रातलाई यो प्रतीकका रुपमा छान्यौ । मानिसले अलग–अलग प्रतीक छान्छन्, तर प्रतीक मूल्यवान् होइन, प्रतीकमा हामी जुन अर्थ हाल्छौ त्यो मूल्यवान् हो ।
यसैले बुद्ध पुरुषसँग पुराण उभिन्छ, पुराणका कथा निर्मित हुन्छन् । त्यही पुराणका कथाहरूको अर्थलाई बुझेर तिमी बुद्धत्वको अर्थ बुझ्छौ ।
संसारमा दुई प्रकारका अबुझ हुन्छन् । एउटा त्यो हो— जो पुराणका कथा साँचो हो भनेर सिद्ध गर्ने कोसिस गर्छन् । ऐतिहासिक अर्थमा यो साँचो हो, यिनीहरू पागल हुन् । यिनीहरूकै कारण व्यर्थको झन्झट उत्पन्न हुन्छ । यिनीहरू कवितालाई सत्यसिद्ध गर्नतिर लाग्छन् ।
कसैले भन्यो, चन्द्रमालाई देखेर मलाई मेरी प्रेयसीको याद आयो र चन्द्रमा यस्तो लाग्यो कि मेरी प्यारीको मुहार हो ।
अब तिमी ऊसँग झगडा गर्न सक्छौ कि तिम्री प्यारीको मुहारसँग चन्द्रमाको कुनै सम्बन्ध छैन । कहाँ चन्द्रमा, कहाँ प्यारीको मुहार ! तिमी होसमा त छौ ! त्यति ठुलो चन्द्रमा र त्यति सानो मुहार ! तिमीलाई थाहा छ, अहिले त वैज्ञानिकले चन्द्रमाबाट ढुङ्गा–माटो लिएर आएका छन्, त्यहाँ कुनै सौन्दर्य छैन । ढुङ्गा–माटो, पत्थर आदि छन् त्यहाँ । कहाँ प्यारीको मुहार, कहाँ चन्द्रमा ! कहाँ ढुङ्गा–माटोसँग तिमी प्यारीको मुहार तुलना गरिरहेका छौ ! होसमा त छौ ?
कसैले यस्तो जिद्दी गरे भने गाह्रो हुन्छ । तिमी प्रमाणित गर्न सक्दैनौ, तिमी भन्नेछौ— क्षमा गर, कविता लेखेँ, गल्ती भयो ।
तिमीले बुझेनौ । कविता जसले लेखेका थिए उनले यो पनि भनेका छैनन् कि जो तिमी भनिरहेका छौ । उनी त यति मात्र भनिरहेका थिए— चन्द्रमालाई हेरेर केही साम्य र केही सौन्दर्यको लहरले मभित्र जन्म लिन्छ । त्यो लहर ठिक त्यस्तै हो, जस्तो लहर मेरी प्रेयसीको चेहरालाई देख्दा मभित्र उत्पन्न हुन्छ । यी दुवै सौन्दर्यमा केही समता छ, केही तालमेल छ, यति मात्र उनले भनेका हुन् ।
चन्द्रमा र मेरी प्रेयसीको मुहार एउटै चिज हो भनेर उनले भनेकै थिएनन् । किनभने उनी कुनै गणितको हिसाबले बोल्दैनन् । उनी केवल यति मात्रै भन्छन् कि म मेरी प्यारीको मुहार देखेर प्र्रेमले मग्न हुन्छु ।
यसैले बुद्ध पूर्णिमामा जन्मेका हुन्, पूर्णिमामै ज्ञान प्राप्त गरे र पूर्णिमाको दिन शरीर त्यागे— कसैले यस्तो लेखेको हुन सक्छ । हुन सक्छ, पूर्णिमा उनको भक्तको हृदयमा अविस्मरणीय थियो ।
बुद्ध दशमी तिथिमा जन्मे, एकादशी तिथिमा ज्ञान प्राप्त गरे भन्न अलि ठिक लाग्दैन । अलिकति तपाईं सोच्नुस् त ? दशमी तिथिमा बुद्ध जन्मनु ठिक लाग्दैन । पूर्णिमामा एकदम ठिक लाग्छ, यस्तो हुनुपर्छ, जसले बुद्धलाई प्रेम गरेका थिए, उनीहरूले यस्तै ठान्थे ।
कथाले भन्छ, जुन वनमा निरञ्जनाको तीरमा बसेर बुद्धलाई ज्ञान प्राप्त भयो, अचानक बेमौसम फूल फक्रियो । कुनै वैज्ञानिकले यसको परीक्षण गर्यो भने बेमौसममा फूल फक्रेको पाउँदैन, तर फक्रिनुपर्छ । यति मानिसको हृदयमा फूल फक्रियो, यसलाई कसरी प्रकट गर्ने ? यसलाई प्रकट गर्नका लागि एउटा व्यवस्था खोजे, एउटा काव्य बनाए कि बुद्धलाई जब ज्ञान प्राप्त भयो, वृक्षहरूमा बेमौसमको फूलहरू फक्रिन थाले । मौसम अनुकूल थिएन, तर यति ठुलो घटना घट्दा कसले मौसम, गैरमौसमको चिन्ता गर्छ ? मौका आएको छ कि फूल फक्रिनुपर्छ । सुकेको वृक्ष पुनः हरियो भयो, जसमा वर्षौंसम्म अंकुर आएको थिएन, अंकुर पलायो । हुनुपर्छ यस्तो ।
कैयौँ सुकेका हृदय अंकुरित भए, यसलाई कसरी परिभाषित गर्छाै ? कैयौँ मानिस जन्मैदेखि सुकेका थिए, बुद्धको अमृतकण उनीहरूमा पर्यो र उनीहरू हरिया भए, उनीहरूमा नयाँ अङ्कुर पलायो । जीवनले नयाँ हरियाली देख्यो, नयाँ गीत गायो । यो कुरालाई प्रतीकका रूपमा स्वीकार गर्यौ भने पुराणको अर्थ थाहा हुन्छ ।
यसैले एक त यस्ता मानिस छन्, तिनले जे पुराणमा लेखिएको छ, त्यो नै ठिक हो भन्छन् । उनीहरूले पनि पुराणको हत्या गर्छन् । अर्काेतिर यस्ता पागल छन्, उनीहरू भन्छन् कि जे पनि पुराणमा छ, त्यो सबै असत्य हो । उनीहरूले पनि पुराणको हत्या गरिदिन्छन् ।
यहाँ न सबै सत्य हो, न सबै असत्य हो । पुराणमा बडो काव्यात्मक सत्य छ । काव्यात्मक सत्यको अर्थ हुन्छ— सत्य बडो प्यारो र मिठो तरिकाले भनिएको छ । कुनै कुरालाई प्यारो र मिठो तरिकाले भन्नका लागि असत्यको उपयोग गरिन्छ । पुराणमा सत्यलाई भन्नुपर्दा असत्यको पनि उपयोग गरिएको छ । यो धेरै अद्भुत कुरा हो । यस्तै हुनुपर्छ कि असत्य पनि सत्यको भर्याङ बनोस् । बुद्धको प्रसंगमा केही छाडिएन, जीवनमा जेजति थिए सबलाई ठिक ढङ्गबाट प्रयोग गरिए, बुद्धको महासंगीतका लागि ।
यसैले बुद्ध पुरुषहरूबाट अनौठा कथा जन्मन्छन् । त्यो मानिसलाई म ठिक–ठिक समझदार मानिस भन्छु, जो न पुराणलाई अक्षरशः सत्य सिद्ध गर्ने चेष्टा गर्छ, न त अक्षरशः झुट सिद्ध गर्ने चेष्टा गर्छ, केवल पुराणलाई काव्यका तरह बुझ्ने कोसिस गर्छन् ।
यसरी गहन अर्थ प्रकट हुन्छ । यस्तो अर्थ जुन कुनै अरु तरिकाले लेखिन सक्दैनथ्यो, न भन्नै सकिन्थ्यो । जीवनको गहन सत्यलाई प्रकट गर्नका लागि पुराण एक अनौठो शैली हो
(ओशोको प्रवचनको भावानुवाद : रमा दुलाल)
प्रतिक्रिया दिनुहोस्