बुझ्नेलाई यही कुरा गहिरो छ

सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएर छोटो समयमै डेढ दर्जन महत्वपूर्ण नेताहरूलाई भेटी फर्किए । उनको भ्रमणले सिर्जना गरेको तरंग सेलाएको छैन । यसका पछाडि केही कारण रहेको नेपाल–भारत सम्बन्धका जानकारहरू बताउँछन् । एक परराष्ट्र मामिला विश्लेषकका अनुसार भारत छिमेकीहरूसँग सम्बन्ध बिग्रिएका बेला नेपालसँग समेत चिसिएको सम्बन्धलाई सन्तुलनमा राख्न चाहन्छ ।

स्रोतका अनुसार, उनले एमाले नेताहरूसँगको भेटमा यो गठबन्धन कति समयसम्म जाने हो भन्नेबारे धेरै चासो राखेका थिए । बितेका सात आठ महिनालाई कसरी लिनुभयो र एमाले–कांग्रेस समझदारीले निरन्तरता लिने योजना कस्तो छ भन्नेबारे समेत सोधेको बताइन्छ । चौथाइवालेले हालको सत्ता गठबन्धन परिवर्तन गर्नेबारे आफूहरूले नसोचेको बरु स्थायित्वका लागि आवश्यक भूमिका निर्वाह गर्न तयार रहेको जानकारीसमेत एमाले नेताहरूलाई दिएका थिए । १८ जना नेतालाई भेटेका चौथाइवालेले त्यसको ठ्याक्कै आधा अर्थात् नौ जना त नेपाली कांग्रेसका नेताहरूलाई प्राथमिकता दिएबाटै के विश्लेषण गरिँदै छ भने नेपालको राजनीतिमा केही परिवर्तन आउने हो वा यसले निरन्तरता पाउने हो भने त्यो काम नेपाली कांग्रेसको इच्छा र चाहनाअनुसार मात्र सम्भव छ । 

frontline

सम्बन्धित नेताहरूमध्ये केहीले बताएअनुसार उनले नेपालमा राजावादीले गरेको आन्दोलनप्रति आफूहरूको खासै चासो नराखेको बताएका थिए । समाचार स्रोतका अनुसार, ‘राजतन्त्र फर्काउने वा त्यस प्रकारका गतिविधि गर्नेलाई सहयोग गर्ने भन्ने हाम्रो नीति छैन,’ उनले सबैलाई स्पष्ट भाषामा भने । चौथाइवालेले यसपटक उच्च नेतृत्वलाई मात्रै केन्द्रमा राखेनन् । प्रचण्डपछि जनार्दन शर्मा र वर्षमान पुनलाई पनि भेटे । त्यसैगरी, केपी ओलीमा मात्र सीमित नरही विष्णु पौडेल र शंकर पोखरेललाई समेत भेटे । विश्लेषकहरू भन्छन्, ‘भारतले पछिका दिनहरूमा पनि निकट राख्नुपर्ने र सम्बन्ध सुमधुर बनाउनुपर्ने व्यक्तिहरूको पहिचान गरिसकेको देखिन्छ । त्यसैले हाल दोस्रो तहमा रहेका प्रभावशाली नेताहरूसँग महत्वका साथ भेटघाट गरेका हुन् ।’

राष्ट्रिय राजनीतिमा चर्चामा रहेको सरकार ढल्ने वा चल्ने भन्ने विषय नसेलाउँदै यो भ्रमण भएका कारण यसको महत्व बढेको हो । त्यसो त केपी ओलीलाई पनि हरेक हप्ता जसो सरकार टिक्छ भन्ने कुरा दोहोर्‍याइ राख्नुपर्ने बाध्यता छ । त्यस्तो किन भने प्रचण्डले प्रत्येक साता सरकार ढल्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । प्रचण्डले उपचारका लागि भन्दै थाइल्याण्डतर्फ जान लागेका देउवालाई फोन गरेर भने, ‘ल जाँदै हुनुहुन्छ, आएपछि भेट गर्नुपर्छ, कुराकानी छ है ।’ देउवाले स्वाभाविक जवाफ दिए, ‘हुन्छ । फर्केपछि भेटौंला ।’ त्यति भए प्रचण्डलाई नयाँ खुराक बनिहाल्यो । उनले सार्वजनिक गरे, ‘देउवा आएपछि भेटघाट हुन्छ र नयाँ गठबन्धनबारे छलफल अघि बढ्छ ।’ 

त्यसको जवाफ दिन ओलीले देउवालाई फोन गर्नुपर्‍यो । अनि देउवा र ओली दुवैले भन्नुपर्‍यो कि सरकारलाई सञ्चै छ । केही नेता भन्ने गर्छन्, ‘कांग्रेसमा देउवा परिवार र केही व्यक्तिबाहेक अरु सबै झुल बाहिरका लामखुट्टेजस्ता हुन् । हिजो एमालेसँग गठबन्धन बन्दासमेत उनीहरूले सुइँको पाएका थिएनन् । न त यो सरकार ढल्ने हो भने कहिले र कसरी भन्ने कुरामै उनीहरूसँग सरसल्लाह हुन्छ ।’ त्यसैले कांग्रेस होइन, देउवाको इच्छा र निर्णयमै सरकारको भविष्य अडिएको छ भन्ने कुरा बुझेका कारण केपी ओलीले उनका कुनै प्रस्ताव नटार्ने र पटक–पटक भेटेर केही गरिदिनुपर्ने बाँकी छ कि भनी सोध्ने गरिरहेका छन् । देउवा पनि रिसाउनुपर्ने वा नयाँ ढंगले सोच्नुपर्ने अवस्था छैन किनकि उनले चाहे र मागेभन्दा बढी केपी ओलीले दिइरहेकै छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here