बिजुलीमा लापरबाहीले निरन्तर गुम्दैछ जनताको ज्यान

हरेक वर्ष ३ सय बढीको करेन्ट लागेर मृत्यु

विद्युत प्राधिकरण तथा ठेकेदारको लापरबाहीका कारण करेन्ट लागेर ज्यान गुमाउने उपेश अपवाद होइनन् । उनीजस्ता धेरै कामदारले प्राधिकरणकै लापरबाहीका लागि मृत्युवरण गरेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • पछिल्लो ५ वर्षमा करेन्ट लागेर १६ सयभन्दा बढी नागरिकको ज्यान गएको तथ्यांक छ।
  • मजदूरले अनाहकमा ज्यान गुमाएका केही घटना समान प्रकृतिका देखिन्छन्।

६ जेठ, काठमाडौं । ३ जेठमा काभ्रेको धुलिखेल नगरपालिका- ७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडि बिजुलीको पोलमा एकजना मजदूरले प्राण त्यागे ।

सर्लाहीको ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश नेपाली बिजुलीको पोलमा चढेर काम गर्दै थिए । सोही क्रममा ११ हजार भोल्टको हाइटेसन लाइनको करेन्ट लागेर पोलमै उनको मृत्यु भयो ।

कमजोर आर्थिक अवस्थाबाट गुज्रिएका उपेश १ जेठको हुरीले उडाएको घरको छानो टाल्न नपाउँदै आफैं अस्ताए ।

तार जोड्न पोलमा चढेका उपेशको विद्युत प्राधिकरणले विनासूचना लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । अघिल्लो दिन मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन सूचना निकालेको थियो । तर कार्यालयकै असावधानीले एकजना मजदूरले अनाहकमा ज्यान गुमाए ।

पोलमै ज्यान गुमाएपछि अर्का व्यक्ति चढेर उनको शव निकाल्नु परेको थियो । विद्युत प्राधिकरण भने सूचना पहिले नै निकालेकाले आफूहरूको लापरबाही नरहेको दाबी गर्छ ।

‘अघिल्लो दिन मात्रै चार्ज गरिने भनेर सूचना निकालिएको थियो । यति हुँदाहुँदै पनि ठेकेदारले काम गरेकाले दुर्घटना भएको हो,’ प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले अनलाइखबर भने, ‘यद्यपि, यस विषयमा हाम्रो तर्फबाट छानबिन अघि बढाउँछौं ।’

प्राधिकरणले विद्युत लाइन मर्मतको जिम्मा सुदिपा निर्माण सेवालाई दिएको थियो । ठेक्का दिएको कम्पनी र प्राधिकरणबीच समन्वय नभई काम हुँदा उपेशले ज्यान गुमाएको प्रष्ट देखिन्छ ।

यो घटनामा सुदिपा निर्माण सेवा र उपेशकी श्रीमती रश्मिला परियारबीच गत आइतबार सहमति भएको छ । जसमा उपेशको परिवारलाई ७ दिनभित्र १० लाख दिने, छोराछोरीलाई शिक्षाका लागि क्षतिपूर्ति उपलब्ध गराउने बताइएको छ ।

विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रले विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली अनुसार अधिकतम १० र न्यूनतम ५ लाख रुपैयाँसम्म उपलब्ध गराउन कार्यकारी प्रमुख अमृतबाबु अधिकारीले पहल गर्ने सहमति पनि भएको छ । उपेशकी श्रीमती रश्मिलालाई रोजगारी दिने सहमति पनि भएको छ ।

विद्युत प्राधिकरण तथा ठेकेदारको लापरबाहीका कारण करेन्ट लागेर ज्यान गुमाउने उपेश अपवाद होइनन् । उनीजस्ता धेरै कामदारले प्राधिकरणकै लापरबाहीका लागि ज्यान गुमाउनु परेको छ ।

उपेशकै प्रकृतिको मृत्यु अर्का मजदूर आर्यनसिंह ठकुरीको पनि भएको थियो । ३ महिनाअघि २५ माघमा नवलपुरको गैंडाकोटस्थित कालिकाचोकमा विद्युत् लाइन मर्मतका लागि पोलमा चढेका जाजरकोटको भेरी नगरपालिका घर भएका ३३ वर्षीय ठकुरीको पनि बिजुलीको पोलमै मृत्यु भएको थियो ।

पुरानो पोलबाट नयाँ पोलमा बिजुलीको लाइन सार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । यसमा पनि प्राधिकरणमै लापरबाही रहेको औंल्याइएको छ । लाइन सार्ने क्रममा प्राधिकरणले एक्कासी करेन्ट छाडेपछि ठकुरीको मृत्यु भएको दाबी गरिएको थियो ।

पछिल्लो ५ वर्षयता झण्डै १ हजार ६ सय नागरिकले करेन्ट लागेर ज्यान गुमाएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले जानकारी दिए ।

मजदूरले अनाहकमा ज्यान गुमाएका यी दुई घटना समान प्रकृतिका देखिन्छन् । यस किसिमका दुर्घटना पटक-पटक हुने गरेको पाइए पनि त्यसबाट सिक्दै गल्ती नदोहोर्‍याउने प्रवृत्ति भने देखिँदैन । मर्मत गरेर आम नागरिकलाई उज्यालो दिने उद्देश्यले पोलमा चढेका मजदूर अनाहकमा डढ्नुपर्ने अवस्था आउनुमा प्राधिकरणको पनि लापबाही हुँदै आएको छ ।

कतिसम्म भने, सडकमा गुडिरहेको गाडीमा करेन्ट लागेर ज्यान गुमाउनुपरेको उदाहरण पनि ताजै छ ।

करिब एक महिनाअघि ८ वैशाखमा मे१भ ३०११ नम्बरको जिप ताप्लेजुङ सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथिभरातर्फ जाँदै थियो । फुङलिङ नगरपालिका-१० सेवारो चोकमा पुगेपछि लत्रिएको बिजुलीको तारमा उक्त जिप अल्झियो ।

सडकमै लत्रिएको नांगो तारको करेन्टले जिपमा आगो सल्कियो । पाथीभरा दर्शन गर्न हिँडेका ४ यात्रुले बीच बाटोमै अनाहकमा ज्यान गुमाउनुपर्‍यो ।

ललितपुर महानगरपालिका-१० बस्ने सविना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका- १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक फुङलिङ-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराईको घटनामा मृत्यु भयो । विनोद र सरिता सविनाका बुबाआमा हुन् । यो घटनामा नातिनीसहित हजुरबुवा, हजुरआमा र चालकको मृत्यु भयो ।

ताप्लेजुङबाटै निर्वाचित सांसद योगेश भट्टराईले विद्युत् प्रसारण लाइन, पोल तथा अन्य उपकरणको गुणस्तरमा ध्यान दिन प्राधिकरणको ध्यानाकर्षण गराए । अहिले यो घटना सामसुम जस्तै छ ।

हरेक वर्ष करेन्ट लागेर ज्यान गुमाउने नेपालीको संख्या ठूलो छ । विद्युत प्राधिकरणको लापरबाहीदेखि आफैंले सावधानी नअनाउँदा नागरिकले ज्यान गुमाउने गरेका छन् ।

यसबारे प्राधिकरणका प्रवक्ता शिल्पकार प्राधिकरणले आफ्नो काम गरिरहेको दाबी गर्छन् । ‘कहीँ छिटपुट घटना भएका होलान् । तर प्राधिकरणले केही गरेको छैन भन्ने होइन । प्राधिकरणले आन्तरिक रूपमा काम गरिरहेकै छ । अपुग भएको होला । सुधार्दै लैजाने हो,’ उनले भने ।

हरेक वर्ष करेन्ट लागेर ३ सय बढी मानिसले ज्यान गुमाउँदै आएका छन् । पछिल्लो ५ वर्षयता झण्डै १ हजार ६ सय नागरिकले करेन्ट लागेर ज्यान गुमाएको तथ्यांक रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ को चैतसम्ममा मात्रै १५ सय ७८ व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको विवरण आउन बाँकी नै रहेकाले यो संख्या थप बढ्ने निश्चित छ ।

आर्थिक वर्ष २०७७/७८ मा मात्रै ३१४ नागरिकको करेन्ट लागेर ज्यान गएको थियो । जसमध्ये २३० जना पुरुष, ४७ जना महिला, २८ जना बालक र ९ जना बालिका छन् । यही आर्थिक वर्षमा करेन्ट लागेर ७ पुरुष, ५ महिला, १ बालक र २ बालिका गरी १५ जना घाइते भएका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा भने यो संख्या बढेर ३८४ पुगेको प्रहरीको तथ्यांक छ । जसमा २८२ पुरुष, ७२ महिला, २२ बालक, ८ बालिका छन् । यो आर्थिक वर्षमा ५ पुरुष, २ महिला, बालबालिका २ जना गरी ९ जना घाइते भएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा भने यो संख्यामा केही कमी भएको थियो । यो आर्थिक वर्षमा करेन्ट लागेर ३१६ जनाले ज्यान गुमाएका थिए । जसमा २३५ पुरुष, ४६ महिला, २२ बालक र १३ बालिकको ज्यान गएको थियो । ४७ पुरुष, १८ महिला, ८ बालक र १ बालिका गरी ७३ जना करेन्ट लागेर घाइते भएका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा ३०६ जनाको करेन्ट लागेर ज्यान गएको थियो । जसमा २१३ पुरुष, ६३ महिला, २४ बालक, ६ बालिकाको मृत्यु भएको थियो । यो वर्ष ३ पुरुष र १ बालक गरी ४ जना घाइते भएका थिए ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म २५८ जनाको करेन्ट लागेर मृत्यु भएको छ । जसमा १७८ पुरुष, ४६ महिला, १७ बालक र ८ बालिका छन् । १५ पुरुष र ३ महिला गरी १८ जना घाइते भएका छन् ।

यो त मानवीय क्षतिको विवरण भयो । करेन्ट लागेर पशु चौपाया मरेका घटना पनि त्यति नै मात्रामा छन् । तर पशु चौपायको यकिन डाटा भने नरहेको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

पुरुष व्यक्ति करेन्टको उच्च जोखिममा रहेको तथ्यांकले देखाएको छ । पछिल्लो ५ आर्थिक वर्षमा करेन्ट लागेर ज्यान गुमाएका १५ सय ७८ मध्ये ११ सय ४७ जना पुरुष छन् । जबकि, महिला २७४ र १५७ बालबालिका छन् ।

यो तथ्यांकले पुरुष व्यक्ति करेन्टको उच्च जोखिममा रहेको औंल्याएको छ । बिजुलीमा काम गर्ने तथा पोलमा चढेर काम गर्नेहरू पनि अधिकांश पुरुष हुने भएकोले उनीहरू नै जोखिममा हुने र बढी मृत्यु हुने बताइन्छ ।

धेरैजसो महिलाको घरभित्रै काम गर्दा करेन्ट लागेर मृत्यु हुने गरेको प्राधिकरणको दाबी छ । करेन्ट लागेर मृत्यु भएका धरैजसो बालबालिकालाई भने घरभित्रैको लापरबाहीले करेन्ट लाग्ने गरेको पाइन्छ ।

‘सुरक्षामैत्री भौतिक संरचनामा जोड दिनुपर्छ’

करेन्ट लागेर हुने मानवीय क्षति न्यूनीकरण गर्न सुरक्षामैत्री भौतिक संरचनामा जोड दिनुपर्ने जानकार बताउँछन् । विद्युतीय सुरक्षाका विषयमा चासो राखेर काम गरेका नेपाल विद्युत प्राधिकरणका पूर्वकर्मचारी शुप्रभात भण्डारी सुरक्षामैत्री भौतिक संरचनामा जोड दिनुपर्ने बताउँछन् ।

‘करेन्ट लागेर मृत्यु हुनु राम्रो होइन । हाम्रा भौतिक संरचना पनि सुरक्षाको हिसाबले कमजोर छन् । अब सुरक्षामैत्री भौतिक संरचनामा जोड दिनुको विकल्प छैन,’ भण्डारीले अनलाइनखबरसँग भने ।

भौतिक संरचना सुरक्षाको हिसाबले मजबुत र आम मानिसलाई कष्ट नहुने किसिमले बनाउन र बिजुलीका तार अन्डर ग्राउन्ड गर्न उनी सुझाउँछन् । साथै, करेन्टबारे सामान्य जानकारी समेत नहुँदा मृत्यु भइरहेकोले चेतना फैलाउनुपर्ने उनको भनाइ छ ।

विद्युत प्राधिकरण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here