बालबालिकामा बढ्दै कडा ज्वरो , एडिनो भाइरसको आंशका

फाइल तस्बिर

८ साउन, काठमाडौं । महाराजगञजस्थित कान्ति बाल अस्पतालमा ज्वरोका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता ओपीडी (बहिरंग) तथा आकस्मिक कक्षमा भाइरल जीवाणुको संक्रमणले गर्दा ज्वरो आएका बालबालिकाको संख्या बढ्न थालेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए ।

अस्पताल प्रशासनको तथ्यांक अनुसार ओपीडीमा दैनिक ९०० भन्दा बढी र आकस्मिक कक्षमा ३०० सयको हाराहारीमा बिरामी आउने गरेका छन् । चिकित्सकहरुका अनुसार अस्पतालमा ओपीडी सेवा लिन आउने बालबालिकामध्ये ५० प्रतिशतमा भाइरल ज्वरो देखिएको छ ।

frontline

ज्वरो आउने, आँखा पाक्ने, घाँटी दुख्ने, शरीर दुख्ने जस्ता समस्या देखापरेको डा. बसौलाले बताए । ‘बालबालिकामा ज्वरोको समस्या बढ्सँगै आकस्मिक कक्ष र सबै वार्डहरु भरिभराउ छन्,’ डा. बसौलाले भने, ‘हेर्दा मौसमी रुघाखोकी देखिन्छ, तर बालबालिकामा देखिएको अन्य विभिन्न समस्याले गर्दा एडिनो भाइरसको आंशका गरेका छौं ।’

चिकित्सकका अनुसार एडिनो भाइरसले गर्दा बालबालिकाको एकतिरको आँखा पाक्ने, रुघाखोकी, कडा ज्वरो, निमोनिया गराउने, तथा जन्डिस गराउने हुन्छ । ‘एडिनो भाइरस बेला–बेला आइराख्ने हुन्छ ।

पहिला पनि बेला–बेला देखिन्थ्यो । अस्पतालमा बढी भीडभाड बढेपछि केही मिल्दोजुल्दो लक्षण भएकाले एडिनो भाइरसको आंशका गरिएको हो,’ अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले भने ।

‘जाडो मौसममा बालबालिकामा ज्वरो आउँदा तीन–चार दिनमा निको हुने र सामान्य खालको हुन्थ्यो । तर अहिले कडा ज्वरो देखिएको छ’, डा. चापागाईंले भने, ‘अधिकांश बालबालिकालाई निको हुन ७ दिनभन्दा बढी लाग्छ ।

ज्वरो १०३ वा १०४ डिग्री आइराखे एन्टिबायोटिक औषधि चलाउनुपरेको छ ।’ कान्ति बाल अस्पतालले बालबालिकामा एडिनो भाइरसको शंका लागेर केही नमुना परीक्षणका लागि टेकु पठाएको छ ।

बालबालिकामा यस्तो समस्या देखिँदा आत्तिनु नपर्ने उनी सुझाव दिन्छन् । यस्तो लक्षण देखिए, पानी खुवाउने, ज्वरो आए कपडा खोलिदिने, पानीपट्टी लगाउने, झोलिलो पदार्थ खुवाउने, सिटामोल खुवाउने डा. चापागाईंको सुझाव छ ।

‘निरन्तर ज्वरो आएपछि अभिभावक आत्तिनुभएको छ । व्यक्तिगत सरसफाइ, खानपानमा ध्यान, सिटामोल तथा पानीपट्टी गर्नुपर्छ । यस्ता समस्याबाट हुने मृत्युदर कम छ,’ डा. चापागाईंले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here