बाँके नरैनापुर गाउँपालिकाका अधिकांश खेत बाँझै

१९ भदौ, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका अधिकांश खेत अझै बाँझै छन्। नेपालगन्जबाट हुलाकी राजमार्ग हुँदै नरैनापुरको भारतीय सीमावर्ती क्षेत्र सुइँयासम्मको ४४ किलोमिटर क्षेत्रमा पुग्दा राजमार्गकै किनारमा धेरै ठाउँमा खेतमा रोपाइँ हुन सकेको छैन। खेतमा स्थानीयले चौपाया छाडा छोडेका छन्। अघिल्ला वर्षसम्म यसबेला यी फाँट लहलहाउँदो धानले हरियाली हुन्थे। तर, यसपालि आकासे पानीका भरमा खेती गर्ने धेरै किसानले धान रोप्न पाएका छैनन्। 

केहीले पम्पसेटबाट सिँचाइ गरेर रोपाइँ गरे। आकासे पानीमै निर्भर किसान वर्षा होला र रोपौंला भनेर अझैसम्म पर्खिरहेका छन्। गाउँपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ। अघिल्लो वर्ष पनि बेमौसमी वर्षाबाट खेतमै धान नष्ट भएकाले किसान भोकमरीको अवस्थामा पुग्ने देखिन्छ। 

frontline

‘२ दिन पहिले ४ परिवार मेरो घरमा आएर खाना छैन भन्दै रुन थाले। अनि म उनीहरूको घर गएर केही चामल दिएर आएँ। यस्तो समस्या बढ्दै गएको छ,’ शुक्रबार गाउँपालिका पुगेका अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सुक्खा क्षेत्र नरैनापुरको अवस्थाबारे अवगत गराए।

 नरैनापुरको धान खेती हुने ४ हजार २ सय हेक्टर खेतमा १५ प्रतिशत मात्र रोपाइँ भएको छ। अध्यक्ष शाहले रोपाइँ भएका खेतमा मात्र झार उम्रेको बताए। उनले रोपाइँ भएको खेतमा पनि चारो मात्र हुने धान देख्न नपाइने उनले दुःखेसो गरे। नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले अघिल्लो वर्ष समयमा वर्षा भएकाले खेती सप्रिए पनि बेमौसमी वर्षाले काटेको धान सबैै नष्ट भएकाले यो वर्ष अनिकाल हुने बताए। उनले भने, ‘गत वर्ष वर्षाले खेतमै धान नष्ट भयो। यो वर्ष सुक्खा भयो। किसानले के खाने भन्ने चिन्ता थपेको छ।’

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले सुक्खा क्षेत्र नरैनापुरका किसानलाई सरकारले अल्पकालीन र दीर्घकालीन राहतको व्यवस्था गर्नुपर्ने सुझाव दिइन्। ‘हामीले अर्थमन्त्रीलाई वैकल्पिक खेतीका लागि सिँचाइ गर्न डिप बोरिङ माग गर्दै ज्ञापनपत्र बुझाएका छौं’, उनले भनिन्, ‘अनिकाल पर्ने सम्भावना भएकाले किसानलाई तत्काल राहतको आवश्यकता छ।’

अर्थमन्त्री शर्माले सुक्खाग्रस्त क्षेत्रको स्थलगत अवलोकनबाट किसानको मर्का थाहा पाएकाले प्रधानमन्त्री र मन्त्रिपरिषद्मा राहतका लागि ध्यानाकर्षण गराउने बताए। नरैनापुरका किसानका लागि अल्पकालीन रूपमा हरेक वडामा कम्तीमा ३ वटाका दरले डिप बोरिङ गाड्ने, धान रोप्न नपाएका किसानलाई अनिकालबाट जोगाउन विशेष राहत प्याकेजका लागि पहल गर्ने र सिँचाइ समस्याको दिगो समाधानका लागि सिक्टा सिँचाइ आयोजनाको कामलाई निरन्तरता दिन आवश्यक बजेटका लागि पहल गर्ने आश्वासन दिए। भने, ‘नरैनापुरवासीलाई म भोकै मर्र्न दिन्न। राहातको व्यवस्था गर्र्छु।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here