बजिरहेको घण्टी र नमरेको……….. म !(कोरोना १९ सम्बन्धित कथा)

रात अनिँदो र उकुसमुकुसमा छिप्पिदैंछ । म निरन्तर मौन अनि छट्टपट्टी र किंकर्तब्य बिमुख हुँदैछु । मौनता केवल म अनि मेरा हृदयको शुन्यतामा मात्र छैन । हजारौ म माथी उठेको प्रश्न पनि मौन छ मेरो जवाफहिनताबाट । आज हजारौ सपना निख्रिएर आँधी पछि शुन्यता छाई रहेको छ । रात छिप्पिदै जाँदा अझै एक्लो र निमुखा अनि जवाफहिन र उर्जाहिन बन्दैछु । कयौं रात मिठापल बिताएको थिँए यहि खटियामा ती रातहरु कहिल्यै प्रतिकुल भएन मेरा लागि तर आज आफै अनुत्तरित छु । आफै सँग अनि परिबेश सँग । आकाश हेर्छु असंख्य जुनको चकमन्नता गिज्याउछन मेरा असामान्य वर्तमानको छाया नियाल्दै । मलाइ याद आउँछ । चियाको चुस्की सङैग बिहान चिया पसलको चर्या ।र पुर्ब बिद्रोहिको निर्दोस आवाज । सपना भत्किए पछि एउटा युद्धमा पराजित सिपाही जो घाइते छ । पराजित अस्विकार गर्छ र अहम बोकेर शक्तिहिन सिपाहि जो घिस्रदै आफ्नो भुतकाल लाई अनियन्त्रीत शब्द बर्साउदै नथाकेको मान्छे, जो निरन्तर वरवराइ रहेको छ । उसको आक्रोश धारा प्रवाह कुर्ली रहन्छ । मानौ अझै बिद्रोह मरेको छैन र आगो ओकलिदै छ । आज चिया पसलमा उसको कुरा सुन्न चाहेर पनि नसुन्ने धेरै थिए । तर जसले जे भनुन उ बोल्न छोडदैन । उ कुनै बेला राजनैतिक कार्यकर्ता थिए । सबैले माने भन्थे खास नाम मान बहादुर (चत्याङग )हो । आफ्नो अनुत्तरित र अनपेक्षित परिबेशको असन्तुस्टी पोख्दै छन । कुनै बेला उसको कुराले यो शहरको गल्ली मौन हुन्थे । आज उस्को ठूलो स्वार मात्र बाकी छ ।

यद्यपी उ बोल्न छोडेको छैन । किन भने क्रमशः क्रान्तिले सन्तुष्टी दिएको छैन र उ अधुरो आकांक्षाको प्रतिनिधित्व गर्छ । आज उसको त्यो चिच्याहटले चिया पसल गुन्जायमान थियो । आज मलाइ यस्ले भित्र सम्म छुयो किन किआज म राहन बिना आहत हुन्दैछु ।सम्साझै टेबुलमा निख्रिएको गिलास, बोतल र प्लेट अनि बिग्रिदै गएको मौसम, टाढिदै गएका आफन्तहरु सम्झिन नि मन लग्दैन । किन कि यथार्थपरक हुन नसक्दा खिइदै गएको सम्बन्ध र महशुसले अचाक्ली पीडाबोध गराउँदो रहेछ ।समयले धेरै कोल्टे फेरेको छ । एउटा सपना साचेर शहर छिरेको म दिन रात लेकबेशि खोलाको किनार गोरेटो, घोडेटो, खोल्सा, बारिका पाटा हुदै शहरको गन्तब्यमा सपना देख्न आएको पनी दशकौ भएछ । भारिले मलाई र मैले भारीलाई बोक्दै जीवन जिउन सिकेको थिए । नाम्लो सङ्ग एक मात्रा मितेरी गासेर जीवन गुजारेका बिगतहरु फर्केर हेर्छु ।त्यो हाकुचा साहु जहिले जिस्काउ थे । ओइ… खेचा ठन आउ …. अलि अलि नेवारी र नेपाली भाषा मिसाएर बोल्ने बानी मलाइ मीठो लाग्छ उसको । दिन भरी काम सकेर उसको पसलमा बास र छोइला अनि कहिले काहीँ कचिला र भुटनमा ! होटलमा खाजा खान लाग्दा प्लेटमा उम्रने अनियन्त्रित गफले देश र बिदेशमा राजनीतिको हल्का दीक्षित हुन पाउँथ्यो तर नाम्लो र भारीले थिचिएकालाई कहिल्यै चेतना उम्रिएन ।

frontline

देश चली रहेकै छ । म चली रहेकै छु । खासै मन तानिन्नथ्यो राजनितिमा । हुन त तानेर नि के गर्न सक्छु र ? बड्का बड्काहरु जेल र नेल, बन्दुक र बोली, तर्क र बितर्क गर्नेहरुले त तारे भिर बाझै राखे ! नपढे पनि चिया पसलको गर्मागर्मी बहसको राप र तापले त्यस्तै सकेत गर्थे ! र म मौन सुन्थे । किन कि नजाने गाउँको बाटो नसोध्नु भने झै ।किन कि मलाइ यो हाकुचा साहु औधी मन पर्छ । उ खुसी भएको बेला दुई चार टुक्रा छोइला थपी दिन्छ । थाकेर आएको बेला उसले अनुहार हेथ्र्याै र भन्थ्यो ल खाउ आज थाकेर आए जस्तो छ । माया गर्छन । मलाई लाग्थ्यो यो शहरको एक मात्र आफ्नो मान्छे हो । हाकुचा साहु …….. । सबैले छि छि र दुर दुर गर्थे पहिला पहिला उसको छोयला पसलमा जान थाले पछि उसको कुरा सुन्न थाले पछि म पनि अनायासै रम्न थालेको छु । यो लाछीमा ! उसले मात्र अलि अलि सकेत दिन्थ्यो । तर उसको श्रीमती चाहिँ जहिले मुख चलाएर बस्छ । ओइ तिम्ले भनेको कुरा बुझ हाम्रो बारीमा गएर दाउरा ल्याईदेउ । म जिस्काउँदै भन्छु ग्याँस किनेर बाल्नु नि लोभी साहुनी ….उ हास्दै भन्छे । ढेवा कमाउन कति गाह्रो छ ! जाउ जाउ ल्याइ देउन ! म दुनिया कै भारी मात्र बोक्न जन्मिएको झै लाग्थ्यो र मान्थे उस्को कुरा ! तर उस्को हातले बनाएको चटामारी खुब मिठो छ र शहरका ठिटाठिटी मस्किदै खाएको हेर्न पाउँदा मलाई खुसी लग्थ्यो ! शहर अचेल उखर माउलिएको छ ! कसैले कसैलाइ वास्ता गर्दैन किन कि यहाँ मान्छे उदेश्यहरुले बाँडिएको छ ।अनायासै मान्छे अरुले भने पछि हो भन्ठान्छ र कुदिरहेको हुन्छ । लाछीचोक आज बेस्ट र अनियन्त्रणमा बित्नु पर्नेमा उदास र उजाड छ !

गाईजात्राको चटारो छ तर हिडडुल पातलो र सुनसान छ । सधै गाईजात्रामा वर्षाैसम्म सयौ परिवारजनको देहावसनमा दुख पीडा र मनोरञ्जन गाजिने यो चोक आज मौन, निरस, उदास उभिएको छ । एक हुल बच्चाहरु घिन्ताङ मुनि नाच्दै टिन ठोक्दै बजार घुम्छ । मानौ बजार जिउँदो रहेको जानकारी गराउदै अघि बढछ । म यो चोक र आसपाससमा बर्षाै भयो नाम्लो र भारी सँग बिताएर रमेको ! मैले आफ्नो गाउँ बिर्षेको दसकौ भयो ! गाउमा केही गरि खान्न भनेर बा ले गरेको गाली सुन्न मन नपराएर हिडेका आज अपरिचित बस्ती र मान्छे सँग रमाउदै छु । लाग्छ लाछि (चोक) मेरो एउटा पहिचान भएको छ ! यहाको मन्दिर, सोह्खुट्टे पाटी अनि पोखरी आफ्नोपन देखाउदै म सँग साउती मार्छ । लाग्छ जुद्ध शम्शेर म सगै उभिएर तिम्रो तिर्खा मैले नै मारेको हो भन्दै छन । र खुसी मान्दै छु । किन कि भर्खरै जिर्णोद्वार भएर सुन्दर देखिएको छ । जुद्धधारा …….अचेल । भाले बास्ला र बिहानी होला भन्दै रातलाई निक्कै धकेल्न खोज्छु । उसको गति छोडन मान्दैन । मेरो मन कुदेर कहाँ हुन्छ नियम उसै सँग छ । अलि खुलेको झै थियो आकास ! हुरिले हुटुटु….टुटु गर्दै चिसो हावा म नजिक भएर गयो ! सायद पानी पर्ने हो कि भन्ने संकेत गर्दैछ । यो बर्ष अचम्मै भाको छ । चैत्र महिना देखि पानी पर्दैछ ! बर्षादले धेरैको घर बारी बगायो र ठूलो क्षति पु¥यायो । दसा बाजा बजाएर आउँदैन भन्ने जस्तै भयो यो साल त्यसै तर्साउदै छ ।

वुहानबाट सुरु भएको कोरोना, लकडाउन, बर्षात, बोरोजगारी र क्रमिक रुपमा खस्किदै गएको आर्थिक परिस्थिती ब्यक्ती र समाजले गाजिँदै आज निकै पेचिलो बन्दै छ । उफ भोलि बिहानै धेरै काम छ तर कमजोर छु ! बिसन्चोले छुएको छ । आज निन्द्राले छुदैन मलाई किन होला ?खेत अचेल धान गोड्ने बेला भएको छ । बिस्तारै लहलह धानको बाला सँगै मेरो दिनचर्या बित्ने छ । मेरो लागि त के छ र ? खाइ सार, लाई सार, मरे पछि लम्पसार ….. तर बिस्तारै जीवनलाई निरुउदेश्ययी बाँच्नुको अर्थ छैन भन्ठान्छु ! मेरो बिकल्प पनि त छैन । गाउँ छोडे, आमा र बाउ छोडे यो चोक बडो बेईमानी रहेछ । मलाई भुलाउने र अल्झाउने । जवानी सायद आएन झै लाग्छ मेरो । भारी बोक्दै साहुको खेत वारि अनि पसलको भारी यताउता गर्दै दिन खाएछु मैले त । ओहो……. कति सहज हुँदै गएको मेरो बर्तमान । सायद कुनै कर्मको खेल हो कि यो अन्जान र अपरिचित शहर मेरो आफ्नो बन्दै गएको ।सबैले ए……… पुर्णे ……..भनेर बोलाउँछ । खुसी हुन्छु । यत्रो शहरमा सबै भन्दा अपुर्ण र दिन हिन म । बाउ आमाले त राम्रै नाम राखी दिएका हुन तर कर्म दुखी भएछ कि बुद्धि थाहा भएन झोका झोकमा घर बाट हिदे । आज यो हाल भोग्दै छु । बिहान मन्दिरको घन्टी बज्दै छन बुढाहरुलाई निन्द्रा लाग्दैन कि बानी परेका हुन । गौखुरेस्वर मन्दिर हिड्न हल्ला गर्दैछन । जय शम्भो………. जय शम्भो ……भन्दै बोलाउँदै । जय शम्भो भनेको कि नेवार साहुजीले मन मनै पैसा कम भो भनेका हुन …..? कर्म नगरी हुन्न । देउताले दिने भए त मैले पो के पाप गरेको थिए र कुल्ली भएर बाँच्नु परेको ? मन्दिरको घन्टा बज्दै गर्दा रात सकिदै छ भन्ने आभाष पाँए ।

सधै चार बजे उठ्ने बानी परेका साहु र मन्दिरका पुजारी चल्मलाउँदै छन तर आफ्नो रात अनिँदो नै छ ।ठूलो आवाज आयो रोदनको के भो भनेर आवाज आएको तिर दगुरेर जान खोज्छु । पाईला चल्दैन । चिसोले कठाङ्गग्रिएछ । चिसो, कमजोर र भोको म र मेरो यथार्थ धेरै दिन देखी लुकामारी खेल्दै थिए । मैले हाकुचा साहुको फेरि एउटा अनुभूति सम्झे ! उ सङ्गको धेरै टीठलाग्दो कुरा छन तर आज उस्को कथा सम्झे ।हेर पुर्णे …. मैले पनि धेरै दुःख पाएको थियो । सानैमा आमा र बा मरेर छोडेर गयो । हैजाले मरेको भन्थो कसैले छुन दिएन रे सर्छ भनेर । पछि दाजु र भाइ लाई टि वि लाग्यो । अहिले कोरोना आयो भनेर पठाएको छ । यसले धेरै मान्छे लान्छ । मने….. हेरेर बस । हामी बालखै हुँदा टिवि आएको थियो । त्यो बेला पनि धेरै मान्छे म¥यो । अहिले कोरोनाले पनि सुख दिदैन । सत्य भनेको मैले अस्ति ९८ बर्षको बुढा म¥र्यो । नानी पाएको मान्छे म¥र्यो । त्यसैले यता उता नजाउ तिम्रो कोइ छैन गह्रो हुन्छ । कस्ले हेर्छ तिमीलाइ ? मैले काम नगरी खान पाउँदैन मेरो को छ र ? अस्तिको राहत सकियो । खान परिहाल्यो । यत्रो शहरमा मलाइ भोको मार्दैनन होला नि साहुहरुले ? सेवा गरेको छु । हाकु साउले मलाई न बिर्से भै हाल्यो नि म हजुरलाइ स्वर्ग नर्क जहा गए पनि गुण तिरौला साहु । अस्ति पनि मलाइ अति दुःख लागेको थियो । राहत लिन लाइन बस्दा । राहत लिन नगरिकता चाहिन्छ भने पछि । मैले आफुसँग नागरिकता नभएको र बर्सौ यो शहर आफ्नो भन्ठानेको थिएँ । छानाबाट खसे झै भएको थियो । आफ्नो जन्म थलो छोडेर आए …..बिरानो र पराई आफ्नो ठाने । जसलाइ आफ्नो भन्ठाने त्यो आफ्नो होइन रहेछ । घर जाउ भने घर बिर्से । गाउँ बिर्से । आफन्त छैन । यो लाछी वरपर नै आफ्नो सबै भन्ठानेको त मनमा घोच्यो ! आफ्नो कोहि रहेनछ । शहरको स्वार्थ बुझ्न सकेनछु । धेरै बेर बोल्न सकिन म बेहोस भएछु । सबैले उठाएर मन्दिरको छेउमा राखेर शितलमा राखेछन । एक छिन पछि होस आएछ । रोएछु धेरै बेर । जुन स्थानलाई आफ्ने भन थानेको थिँए त्यहा पराई ठाने पछि असाध्य मन रुदो रहेछ ।म बिस्तारै घिस्रदै भिडबाट निस्कन खोजे । मन असहज हुँदै गयो । एकान्तमा गएर मन भरिको आँसु झार्न मन लाग्यो । र उठाए सबैले ! हाकु साहुको बुढीले ए … पुर्णे भन्दै बोलायो । यो चमाल लैजाउ तिमिलाई दिएको । झन्डै नदिने भनेर पठाएको थियो । मैले यो सानै देखि यतै बसेको हो देउ यसलाइ भनेकोले दियो । यसको कोहि छैन काम पनी छैन अहिले देउ खान नपाएर मार्नु हुन्न । भने छन र राहत पाए । बुढिले पनि सम्झाए छन ।

कहिलेकाँहि शहर नजिक बसेर मन टाढा हुने ठाउँ हो । आफ्नो स्वार्थलाई पहिलो दर्जा राख्ने गर्छन । अरुको स्वार्थ स्वार्थ नै होइन भन्छन । दुखी गरिब र कमजोरको राज्य कहिले हुने हो ? एक ताका खुब गाउँ गाउँ बाट उठ भनेको थियो यहाँ त शहर मै पनि उठन कठिन रहेछ । हुन त म जस्तो ज्यामी काम गर्ने सिमान्तकृत र शहरी गरिबको पीडा कसले बुझ्नु र । यहाँ आफन्त भनेकै हाकुचा साहु हो मेरो लागि । अलि कति आत्मियता दिन्छ उसले । सायद उ पनि दुखमा हुर्केको र सानैमा आमा बाउ गुमाएर होला मान्छेले मान्छेलाई माया गर्नु पर्छ भन्छन । मेरो मन भरी कति कुरा खेलेको आज । फेरि ठूलो आवाज आयो । चोकमा मान्छेहरु उठान थाले । रुवाइको स्वर बढन थाल्यो । मैले बिस्तारै झ्याल खोल्दै हेरे । धेरै महिला पुरुष रुदै छन । बच्चाहरुको हुल चिच्याउँदै थिए । का… हाकु साहुलाई कोरोना लागेर बित्यो । अघि हस्पितल लगेको थियो बुढा गएछन । मलाइ नियास्रो लाग्दै गयो । घरी धरी हाकु साहुको याद आउन थाल्यो । बच्चै देखि चिनेको । दुख सुख बुझ्ने मलाइ कयौ पटक अपठ्यारो पर्दा साथ दिएको थियो । हस्पिटलमा कोरोना टेष्ट गरेर पशुपतिमा लास लगेको रहेछ । कसैले पानी खुवाउन पाएन । दाहसंस्कारमा आफन्त रहेनन । त्यस्तो पापी त थिएनन उनी तर कर्मको रेखा बुझ्न नसकिने रहेछ ।

हाकु साहु जानू भो तर मलाइ नमिठो लाग्यो । साहुनी मौन छ । सधै हाँसी खुसी बोली रहने उनि आजकाल मौन छन । मलाइ पनि कसै सँग बोल्न मन छैन । र बोल्दिन झ्यालबाट हेरि रहे एकनास बन्द पसल खुल्दैन । बर्सौ भयो उसको पसल कहिले बन्द भएको थिएन आज हाकु साहु सँग स्तब्ध छ । सायद यत्तिका दिन मलाइ न परेको चोट परेको थियो । किन कि मैले चिनेको र भलादमी ठानेको मान्छे अनायासै बिलाए झै लाग्यो । र म हिजो नखाई भोको बसेको कसैलाई थाहा छैन किन कि ? कोरोनाले रोग मात्र ल्याएन सहरमा मानिसको काम खोस्यो र दु:ख थप्यो र म रुदै थिए । रेडियोबाट देशमा कोहि भोको हुने छैन भन्ने प्रधानमन्त्रीले बोलेको स्वर सुन्दै सुस्केरा लामो लिएँ र अलि कति आशा जगाएँ र फेरि उठन प्रयास गरे तर उठन सकिन । घाम छिप्पिदै गए मेरा मनहरु घामको राप झै छिप्पिदै गयो । सुक्सुकाउदै फेरि हाकु साहु कै स्मरणमा आफुलाइ मन्दिर र उसको नजिकैको बन्द पसल नियाल्दै छु । दिन हिनहरुका लागी हरेक चोट, चोट मात्र हुँदैन त्यहा जीवनको अनुभूति हुन्छ । बन्द पसल, सुनसान बजार र निख्रीएको साहुनीको हाँसो र अनिँदो मेरो जीवन बोझिलो बनाउँदै मौन छु …कोरोनाको ज्वरो, रुघा, खोकी र पुरानो भत्किन लागेको थोत्रो जिर्ण शरीर खियाउँदै ।लाछीचोकमा आफ्नो अन्तिम श्वास लिँदै छु । र पुर्णे…… को जीवनमा कहिले नआएको पुर्णिमा पर्खदँै । मेरो शहरको सुन्दर भोक आज मैले पहिलो पटक अनुभूति लिएको छु । र आज गरिबिको सत्य बुझ्दै मन्दिरको घण्टीसँगै म मेरो आवाज दबाउन बाध्य भए ।

अशोक ब्यान्जु धुलिखेल, काभ्रे

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here