फोहर व्यवस्थापनमा नमुना बन्दै धनगढी उपमहानगर

समाचार सारांश
- धनगढी उपमहानगरपालिका फोहर व्यवस्थापनमा नमुना बन्दै, सफाइ अभियान प्रभावकारी।
- स्वतन्त्र उम्मेदवार गोपाल हमालको नेतृत्वमा फोहर व्यवस्थापनलाई प्राथमिकता, घरघरमा डस्टबिनको प्रयोग।
- फोहर वर्गीकरणलाई अनिवार्य गर्दै उपमहानगरपालिकाको कडाइ, जरिवानाको व्यवस्था।
- उपमहानगरले फोहरबाट आम्दानी गर्न थाल्यो, वर्गीकरण केन्द्रबाट १५० जनालाई रोजगारी।
धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पछिल्लो समय फोहर व्यवस्थापनमा नमुना सहर बनेको छ । सुदूरपश्चिमकै मुख्य व्यापारिक सहर धनगढीमा स्थानीय सरकार र नगरवासीको साझा प्रयासमा सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख जितेका मुख्य स्थानीय तहमा धनगढी उपमहानगर पनि एक हो । काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भए । त्यस यता यी तीन वटै पालिका देश–विदेशमा रहेका नेपालीको मुख्य चासोको विषय बन्दै आएका छन् ।




धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएसँगै फोहर व्यवस्थापनलाई निकै महत्त्व दिइएको स्थानीय बताउँछन् । तीन वर्ष अघिसम्म सडकका छेउछाउमा फोहरको थुप्रो देखिने धनगढीमा अहिले त्यो अवस्था नरहेको धनगढी–३ की द्रौपदी भट्टले बताइन् । ‘पहिला त सडक छेउछाउमा फोहर हुन्थ्यो, अहिले ठाउँठाउँमा डस्टबिन राखिएका छन् । फोहर देखिँदैन,’ उनले भनिन् ।
भट्टका अनुसार धनगढीका जनतामा फोहर व्यवस्थापनमा नयाँ जागरण पनि आएको छ । फोहर जथाभाबी फाल्नु हुँदैन, कुहिने र नकुहिने फोहर अनिवार्य छुट्ट्याएर अलग–अलग डस्टबिनमा राख्नुपर्दछ भन्ने चेतना यहाँका नागरिकमा विकास भइसकेको उनले बताइन् ।

धनगढी उपमहानगरपालिका–२, मिलनचोककी कलावती खत्रीले आफ्नो घरमा पाँच वटा डस्टबिन राखेकी छन् । प्रारम्भमा तीन डस्टबिन (कुहिने, नकुहिने र सीसा लगायतका वस्तु राख्न) प्रयोग गरेकी उनले थप दुईथरि फोहरका लागि डस्टबिन थपेकी हुन् । स्यानिटरी प्याड, डाइपर, प्याम्पर्सका लागि एउटा डस्टबिन र कुखुराका प्वाँख, रौँ, हड्डी राख्न अर्को डस्टबिन आवश्यक भएको उनको भनाइ छ ।
पहिले सबै प्रकारका फोहर एउटै डस्टबिनमा राख्ने बानी परेकी उनी अहिले शिक्षित नागरिकको रूपमा फोहर छुट्ट्याएर राख्न सक्रिय छिन् ।
धनगढी उपमहानगरपालिकाले हाल उत्पत्तिको स्रोतमै फोहर वर्गीकरण अनिवार्य बनाएको छ । वर्गीकरण नभएको फोहर उपमहानगरले उठाउँदैन । कुहिने र नकुहिने फोहरका लागि अलग–अलग ट्याक्टर टोलटोलमा पुग्ने गर्छन् ।
धनगढी–२ कै शीतल टोलकी भागादेवी महराका अनुसार पहिले फोहर जथाभाबी फालिने गरेकोमा हाल उपमहानगरले ल्याएको नयाँ व्यवस्थाले सहज भएको छ ।
धनगढी अहिले सफा भएको छ । जथाभाबी फोहर फालेको देखिँदैन । जथाभाबी फोहर फालेमा दण्ड जरिबाना तिर्नुपर्छ । सार्वजनिक स्थानमा जथाभाबी फोहर फालेमा पाँच सयदेखि १५ हजार रुपैयाँसम्म जरिबाना लाग्ने व्यवस्था गरिएको छ ।

उपमहानगरपालिकाका कर्मचारीले जथाभाबी फोहर नफाल्न बेलाबेला माइकिङ समेत गर्दै आएका छन् । नियममा कडाइका साथै जनमानसमा सचेतना ल्याएर फोहर व्यवस्थापनमा उपमहानगरले निर्वाह गरेको भूमिकालाई जनताले नमुना कामको संज्ञा दिइरहेका छन् ।
धनगढीको सफाइ देखेर स्थानीय खुसी छन् । धनगढी–उपमहानगरपालिका–४ की सुनिता विष्ट भन्छिन्, ‘धनगढी सुदूरपश्चिम प्रदेशकै मुख्य सहर हो । व्यस्त बजारमा सरसफाइ व्यवस्थापनको काम हुनु उदाहरणीय छ । टोल अनुसार समय तालिका मिलाएर फोहर सङ्कलन गर्न सफाइ कर्मचारी समयमै आउँछन् ।’
यो अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘अझ प्रभावकारी रूपमा यो कामलाई अगाडि लैजान जरुरी छ ।’
हाल उपमहानगरमा स्थायी फोहर व्यवस्थापन केन्द्र नभए पनि वडा नम्बर ७ मा ४३ बिघा क्षेत्रफलमा ल्यान्डफिल साइट निर्माणको योजना बनाइएको छ । त्यो काम कहिले सुरु हुने भन्ने टुङ्गो लागेको छैन । तत्कालका लागि उपमहानगरपालिकाले अलग–अलग गाडी पठाएर वडा नम्बर २ मा रहेको फोहरमैला सूक्ष्म वर्गीकरण केन्द्रमा सङ्कलन गरेर थप वर्गीकरण गर्दै आएको छ । सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालन पश्चात् फोहर व्यवस्थापनको कामसँगै उपमहानगरपालिकाले लाखौँ रुपैयाँ आम्दानी समेत गर्न थालेको छ ।
२०८० असोजमा धनगढी उपमहानगरपालिका र स्रोत व्यवस्थापन प्रालिबिच फोहर व्यवस्थापन अन्तर्गत सरसफाइ कार्यक्रम चलाउने विषयमा सम्झौता भएको थियो । त्यसपछि सो कम्पनीले उत्पत्तिको स्रोतमै फोहर वर्गीकरणको अभ्यास सिकाएको थियो ।
वर्गीकरण केन्द्र निर्माण सम्पन्न नभएसम्म वैकल्पिक उपायस्वरूप घरघरमै फोहर छुट्ट्याउने अभ्यासलाई प्राथमिकता दिइएको थियो । त्यो बेला उपमहानगरले टोल विकास संस्था, आमा समूह र विद्यालयहरूमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । नगरवासीहरूमा व्यवहार परिवर्तन गराउन अभिमुखीकरण र जनचेतना कार्यक्रमलाई प्रभावकारी बनाइएको थियो । ती काम अहिले पनि सञ्चालनमा छन् ।

स्रोत व्यवस्थापन प्रालिका कार्यकारी निर्देशक कृष्ण भण्डारी परामर्शदाताको रूपमा सूक्ष्म वर्गीकरण केन्द्रमा केही समय कार्यरत रहे । केही समय उपमहानगरपालिकाले नै उक्त वर्गीकरण केन्द्र सञ्चालन गरेको थियो ।
२०८१ साउन १ देखि नन्दादेवी सेवा केन्द्रलाई वर्गीकरण केन्द्र उपमहानगरपालिकाले ठेक्कामा दिएको छ । उक्त केन्द्रमा हाल १५० जना मानिसले रोजगारी पाएका छन्, जसमा आर्थिक अवस्था कमजोर भएकाहरूलाई प्राथमिकतामा राखेर रोजगारी दिइएको वर्गीकरण केन्द्रका कर्मचारी जगतलाल चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार यहाँ घर, होटल, कलकारखाना र बजारबाट सङ्कलन गरिएका नकुहिने फोहर वर्गीकरण गरेर पुनः प्रयोग हुने वस्तु छुट्ट्याइन्छ । कुहिने फोहर बायोग्याँस प्लान्टमा पठाइन्छ भने नकुहिने वस्तु प्लास्टिक, कागज, टिन, फलाम, सीसा आदि छुट्ट्याएर पुनः प्रशोधनका लागि उद्योगमा पठाइन्छ । प्लास्टिक र धातुजन्य वस्तु मेसिनले च्यापेर सानो बनाइन्छ, जसलाई डल्लो वा पाता बनाएर बिक्री गरिन्छ ।
बायोग्याँस प्लान्टको सञ्चालन निजी कम्पनी ‘देव तालिम तथा व्यवस्थापन केन्द्र’ ले गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८ करोड अनुदान र कम्पनीको २० करोड ८४ लाख लगानीमा प्लान्ट निर्माण भएको सञ्चालक रवीन पन्तले जानकारी दिए । कम्पनीले यो प्लान्ट २० वर्षसम्म चलाएर उपमहानगरलाई हस्तान्तरण गर्नेछ । प्लान्ट दैनिक ३० टन कुहिने फोहर खपत गर्न सक्ने क्षमताको छ । यहाँ उत्पादन हुने ग्याँस खाना पकाउने, वेल्डिङ गर्ने तथा सवारी साधन चलाउने प्रयोजनमा प्रयोग गर्न सकिनेछ ।
ग्याँस उत्पादनपछि बाँकी लेदो पदार्थलाई मलको रूपमा प्रयोग गरिनेछ । प्लान्ट सञ्चालनका लागि चाहिने जग्गा र फोहर उपमहानगरले उपलब्ध गराएको हो । ग्याँस परीक्षण सफल भइसके पनि व्यावसायिक बिक्री सुरु हुन भने केही तयारी बाँकी रहेको कम्पनी सञ्चालक रवीन पन्तले बताए ।

सूक्ष्म वर्गीकरण केन्द्रमा काम गर्ने मीना चौधरीले प्रारम्भमा सहरभरिको फोहर हातैले छान्दा अत्यन्तै गाह्रो भएको अनुभव सुनाइन् । अहिले उनले काममा सन्तुष्टि पाइरहेकी छन् । ‘फोहरबाट मोहर बन्ने कुरा थाहा पाएपछि काम गर्न सुरु गरेकी हुँ । अहिले थोरै भए पनि कमाइ हुन्छ,’ उनले भनिन् ।
पहिले फोहर भन्नासाथ नाक खुम्च्याउने मानिसहरू अहिले उत्सुकताका साथ वर्गीकरणबारे सोध्न आउन थालेको चौधरीले बताइन् ।
अस्पताल तथा उद्योगबाट निस्कने हानिकारक फोहर व्यवस्थापन गर्न सूक्ष्म वर्गीकरण केन्द्र नजिकै अर्को केन्द्र निर्माण भएको उपमहानगर प्रमुख गोपाल हमालले बताए । उनले भने, ‘धनगढीलाई स्वच्छ र व्यवस्थित सहर बनाउन हामी योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ ।’
हाल उपमहानगरपालिकामा ६० सफाइ कर्मचारी, ६ चालक, ३ सुपरभाइजर र सूक्ष्म वर्गीकरण केन्द्रमा १२ कर्मचारी कार्यरत छन् । प्रत्येक भित्री सडकमा दैनिक झाडु लगाउने र फोहर नियमित उठाउने काम भइरहेको सरसफाइ इन्चार्ज हरिदत्त प्रसाद भट्टले जानकारी दिए ।
फोहरबाट उपमहानगरले हालसम्म २२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ । चालु आर्थिक वर्षमा मात्र ठेक्का दिएको सेवा केन्द्रले ९४ लाख रुपैयाँ राजस्व बुझाएको छ । समुदायमा स्थानीय अगुवा र जनप्रतिनिधिहरू जागरूकता फैलाउँदै वर्गीकरण अभ्यासलाई सफल बनाउन सघाइरहेका छन् । उपमहानगरले भविष्यमा जैविक मल उत्पादन तथा फोहरबाट बिजुली उत्पादन गर्ने सम्भावनाको समेत अध्ययन गरिरहेको छ ।
‘हाम्रो धनगढी, सफा धनगढी’ भन्ने मूल नारासहित उपमहानगरले सञ्चालनमा ल्याएको सूक्ष्म वर्गीकरण केन्द्रले धनगढी सहरलाई सफा राख्न सहयोग पुर्याइरहेको छ । फोहरबाट आम्दानीको स्रोत समेत बन्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्