फर्जी सेयर कारोबार गरेर कसरी जनता फसाउँछन् दीपेन्द्र अग्रवाल ?

दीपेन्द्रले सानो पूँजी भएका कम्पनीको सेयर कर्नरिङ गर्ने, म्याचिङ गर्ने र लगानीकर्तालाई बिक्री गरेर आफूले कमाउने धन्दा गरेको भएर नै धितोपत्र बोर्ड र प्रहरीले अनुसन्धान गरिरहेका छन् । धितोपत्र ऐनअनुसार यस किसिमको कारोबार दण्डनीय अपराध हो ।
५ जेठ, काठमाडौं । २५ पुस २०८१ मा सेयर कारोबारी दीपेन्द्र अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता सेयर ज्योति अग्रवाललाई बिक्री गरे । त्यसपछि ज्योति अग्रवालको टीएमएस पनि दीपेन्द्रले नै चलाइ १६ वैशाख २०८२ मा बैंकको २० हजार कित्ता सेयर स्मार्ट डोर्स लिमिटेडलाई बिक्री गरे । स्मार्ट डोर्स लिमिटेडमा दीपेन्द्र सञ्चालक हुन् । उक्त कम्पनीमा उनो ०.०४ प्रतिशत सेयर छ । साथै, उनका पिता जयप्रकाशको २२.१३ प्रतिशत सेयर छ ।




त्यसैगरी दीपेन्द्रले गोर्खाज फाइनान्सको सेयर ज्योति अग्रवालको नामबाट किनेका छन् । यो अवधिमा सेयर मूल्य बढाउन उनले आफ्नो नामको सेयर पनि ज्योतिलाई खरिद गराएका छन् । आफ्ना बुबाबाट रामसिंह साउदका नाममा खरिद गरेका छन् । सोही अवधिमा उनले आफ्ना पिताबाट नेपाल बैंकको सेयर खरिद गरेका छन् । उनले यसरी सेयरको मूल्यमा चलखेल गर्न १५ जनाको नामबाट आफैँ खरिद–बिक्री गर्ने गरेको धितोपत्र बोर्डकै अध्ययनले पुष्टि गरेको छ ।
दीपेन्द्रले सेयरमात्र होइन, ती सबैको खाताबाट सेयर किनबेचको पैसा पनि ट्रान्स्फर गरेर आफ्नोमा ल्याउने तथा ती खातामा पठाउने गर्छन् । उनले आफ्ना बुबाको खाताबाट सविता अग्रवालको खातामा पठाउने र सविताको खाताबाट आफ्नोमा पठाउने गरेको देखिन्छ । त्यसपछि ज्योतिको नाममा किनिएको सेयर भुक्तानीका लागि पनि पिता अग्रवालको खाताको रकम प्रयोग गरेका छन् ।
दीपेन्द्रले खरिद गरेको सेयर आफूलाई पायक पर्ने गरी क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मार्फत निक्षेप खातामा पठाउन लगाउने । उनले आधिकांश सेयर जुन कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सँग लिंक भएको हो, त्यसमा नभई अन्य ब्रोकर कम्पनीमा रहेको निक्षेप खातामा पठाइ कारोबार गर्छन् ।
सेयर कारोबारी अग्रवालले सेयर वास्तविक स्वामित्व परिवर्तन गरी कसरी कारोबार गर्थे भन्ने कुरा माथिका उदाहरणबाट पनि स्पष्ट हुन्छ । उनले सेयरको मूल्य बढाउन र धेरै सेयर खरिद गरेर राख्नका लागि १५ व्यक्तिको नामबाट कारोबार गर्छन् ।
सेयर मूल्य बढाउन पर्दा तिनै खाताबीच कारोबार गराउँछन् । साथै, उनले अहिलेको नेप्सेको कारोबार प्रणालीको कमजोरीको पनि फाइदा लिएका छन् । एक व्यक्तिले धेरैमा २ वटा सम्म निक्षेप खाता खोल्न सक्छ । सोही आधारमा २ वटासम्म टीएमएस लिन सक्छ । त्यसलाई अग्रवालले एक धितोपत्र ब्रोकरबाट किन्ने र सेयर भने अर्कोमा राख्न लगाउने गरी लगानीकर्तालाई झुक्याउन प्रयोग गरेको देखिन्छ ।
दीपेन्द्रले बजारमा अस्वाभाविक गतिविधि गर्ने र ब्रोकरलाई पनि झुक्याउन खोजेपछि विगतमा पनि तीन ब्रोकर कम्पनीसँग सम्बन्ध बिगारेको एक धितोपत्र ब्रोकरले बताए ।
‘दीपेन्द्र आफूले लिनुपर्ने पैसा लिने तर ब्रोकरलाई तिर्नुपर्ने पैसा नतिरेपछि ती ब्रोकरसँग सम्बन्ध बिग्रेको साथीहरूको गुनासो थियो,’ ती ब्रोकरले भने, ‘फर्जी खाताबाट कारोबार मात्र नभई अग्रवालले नेप्सेको कारोबार प्राणलीको कमजोरी प्रयोग गर्दै ब्रोकरलाई पनि फसाउन खोजेको देखिन्छ ।’
धितोपत्र ब्रोकरका अनुसार दीपेन्द्रजस्ता कारोबारीका कारण धेरै लगानीकर्ताले सेयरबजारमा पैसा गुमाउने गरेका छन् । दीपेन्द्रले समाजिक सञ्जाल मार्फत हल्ला गर्ने अनि बजार खुलेपछि आफूले बेच्ने गर्दा धेरै लगानीकर्ताले गुमाएका ब्रोकरहरूको भनाइ छ ।
‘फर्जी खाताबाट कारोबार मात्र नभई अग्रवालले नेप्सेको कारोबार प्राणलीको कमजोरी प्रयोग गर्दै ब्रोकरलाई पनि फसाउन खोजेको देखिन्छ ।’
उनले सेयर खरिद गरेर एकीकृत गरिसकेपछि हल्ला फैलाउने र मूल्य बढाएर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने गर्दै आएका छन् ।
दीपेन्द्रले सानो पूँजी भएका कम्पनीको सेयर कर्नरिङ गर्ने, म्याचिङ गर्ने र लगानीकर्तालाई बिक्री गरेर आफूले कमाउने धन्दा गरेको भएर नै धितोपत्र बोर्ड र प्रहरीले अनुसन्धान गरेको तर्क ब्रोकरहरूको छ । धितोपत्र ऐनअनुसार यस किसिमको कारोबार दण्डनीय अपराध हो ।
उदाहरणका लगानी केही कम्पनीको ५२ साताको उच्च र न्यून मूल्य हेर्दा पनि दीपेन्द्रले लगानीकर्तालाई फसाएको स्पष्ट हुन्छ । उनले ५२ साता अवधिमा नेपाल फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य २ हजार ६ सय १४ रुपैयाँसम्म पुर्याएका छन ।
त्यसैगरी समस्यामा रहेको कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य ३ सय २० बाट ८ सय ७० सम्म पुर्याएका थिए । अहिले नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ६ सय ८ छ । त्यसैगरी कर्णाली डेभलमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि सेयर कारोबार बन्द छ ।
दीपेन्द्र अग्रवालले जनता फसाउन प्रयोग गरेका केही कम्पनी र तिनको ५२ साताको उच्च, न्यून र हालको सेयर मूल्य : | |||
कम्पनी | न्यून मूल्य (रुपैयाँ) | उच्च मूल्य (रुपैयाँ) | सोमबारको मूल्य |
नेपाल फाइनान्स | ४८७ | २६१४ | ६०८ |
सिन्धु विकास बैंक | ३६८ | १४८२ | ७९६ |
पोखरा फाइनान्स | ३३९ | ७९४ | ४११ |
जानकी फाइनान्स | ४०० | १०८३ | ४७३ |
जोशी हाइड्रोपावर | २६५ | ५२१ | ३८१ |
कर्पोरेट डेभलपमेन्ट बैंक | ४६२ | २८४२ | २,१०९ |
कर्णाली डेभलपमेन्ट बैंक | ३२० | ८७० | ८१० |
सप्तकोशी डेभलपमेन्ट बैंक | ३१५ | १६२२ | ७८७ |
कालिका पावर कम्पनी | ६५२ | ३९९ | ५२८ |
आईसीएफसी फाइनान्स | ५०४ | ९१० | ६०७ |
ग्रीन डेभलपमेन्ट बैंक | ४१७ | २००१ | १,०५५ |
दीपेन्द्रले दैनिक कारोबार गरिसकेपछि आफ्नो र आफ्ना अन्य फर्जी व्यक्तिको कारोबार नेटिङ गराउने गरेको बोर्डको अध्ययनमा पनि देखिइसकेको छ । उनले धितोपत्र बजारका सक्ने जति सबै गैरकानुनी काम गर्ने तयारीसाथ आएको देखिने बताउँदै एक ब्रोकरले भने, ‘अग्रवालले पारिवारिक हिसाबमा आफू फसेको खण्डमा अन्य सदस्यको सम्पत्ति जोगिने गरी यस्तो खालका कारोबार गर्दै आएका छन् ।’
दीपेन्दका गतिविधिले पूर्णतयारी साथ लगानीकर्ता ठग्न बजार कारोबार गरेको अनुमान धेरै ब्रोकरको छ । कतिपय ब्रोकरले त उनको गतिविधि बुझेपछि कारोबार नै गर्न इन्कार गर्दै आएका छन् ।
हालको कारोबार प्रणालीमा एउटै व्यक्तिले एकै पटक सेयर खरिद र बिक्री गर्न नसक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) का एक अधिकारीले बताए ।
‘फर्जी खाताहरूबाट एकअर्कोमा खरिद–बिक्री गर्न मिल्ने भएकाले दीपेन्द्रले म्याचिङ गरेर सेयर मूल्यको उतारचढावमा प्रयोग गरेको देखिन्छ,’ ती अधिकारीले भने ।
केही समयअघि दीपेन्द्रले अन्य ३ धितोपत्र दलाल कम्पनीबाट पनि फर्जी कारोबार गरेका कारण विवाद भएपछि कारोबार गर्न छाडेको कुरा नेप्सेका अधिकारीले पनि दोहोर्याए ।
‘फर्जी खाताहरूबाट एकअर्कोमा खरिद–बिक्री गर्न मिल्ने भएकाले दीपेन्द्रले म्याचिङ गरेर सेयर मूल्यको उतारचढावमा प्रयोग गरेको देखिन्छ,’ उनको भनाइ छ ।
फर्जी कारोबार गरेर ब्रोकर तथा लागानीकर्ता फसाउने कारोबारीलाई ब्रोकर कम्पनीले पनि स्पेस दिन नहुने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए ।
त्यसका लागि नेप्से तथा धितोपत्र बोर्डले प्रभावकारी सुपरीवेक्षण गरेर बजार विरोधी गतिविधि नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्