प्लास्टिकमुक्त सहर बनाउन टपरी उद्योगमा महिला
कैलालीको धनगढी उपमहानगर निवासी पूजा कुँवर चौधरी बिहानको घरायसी काम सकेर सामुदायिक भवन पुग्छिन्। उनीमात्र होइन वल्लोपल्लो घरका अरू महिलाहरू पनि पुग्छन्। दिनभरि गर्ने कामको बाँडफाँड गर्छन्।
पात सुकाउने, पात गाँस्ने, सफा गर्ने, सिन्का बनाउने, मेसिन चलाउने लगायतका कामको बाँडफाँड हुन्छ। समूहका केही सदस्य जंगलमा रूखबाट झरेका सालका पात जम्मा गर्न जान्छन्। कोहीकोही रूखमा चढेर पनि पात टिप्छन्।
यसरी जम्मा गरेको पात बोरामा कसेर सामुदायिक भवनमा पुर्याउँछन्।
सफा गरेका हरिया पात सिन्काले गाँसेर लाफा बनाउँछन्। सानाठूला लाफा घाममा सुकाउँछन्। सुकेका लाफा मेसिननमा हालेर सानाठूला साइज (आकार) का दुना र टपरी बनाउँछन्।
धनगढी उपमहानगरपालिका–१३, हिमाली टोलका ‘हिमाली महिला समूह’ को यो टिम यति बेला व्यावसायिक रूपमा दुनाटपरी बनाउने काम गरिरहेको छ।
यो समूहले दैनिक सरदर नौ सय जति दुनाटपरी बनाउँछ। यसरी समूहमा काम गर्न थालेपछि महिलाहरूको जीवनमा केही परिवर्तन आएको छ।
यो समूहका महिलाहरूको बस्ती सामुदायिक वनको छेउमै छ।
पूजाले झरेर खेर जाने सालका पातबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने त सोचेकै थिइनन्।
सानैदेखि पूजापाठ, विवाह, ब्रतबन्धमा लगायतका सांस्कृतिक काममा दुनाटपरी बनाउने गरेको उनले देखेकी थिइन् तर आफैँले बनाउन सिकेकी थिइनन्।
एक महिनाअघि धनगढी उपमहानरले सालको पातको दुनाटपरी बनाउने तालिम दिएको थियो। त्यही तालिमपछि पूजा र उनीजस्ता अन्य महिलाहरू व्यावसायिकरूपमा दुनाटपरी बनाउने काममा लागेका हुन्।
उनले भनिन्, ‘तालिमपछि एउटै पातबाट पनि १० रुपैयाँसम्म कमाइ हुन्छ भन्ने थाहा पायौँ। समूहमार्फत हामी महिलाहरू मिलेर काम गरिरहेका छौँ।’
दिदीबहिनी मिलेर यो काम गर्न थालेपछि बच्चाले ‘ममी पाँच रुपैँया दिनुहोस् न’ भन्दा ‘बाबासँग माग’ भन्ने दिन गएको उनले बताइन्।
पूजाकै समूहमा छिन् शर्मिला कुँवर। उनी पैसा कमाउन विदेश जाने सोच बनाउँदै थिइन्। अहिले उनको सोच बदलिएको छ।
‘घरमा समस्या छ, आफूले पनि कमाउँनु पर्छ भनेर विदेश जाने सोचेकी थिएँ। यो (दुनाटपरी बनाउने) काममा लागेपछि अहिले बाहिर (विदेश) जाने विचार छाडिदिएँ,’ उनले भनिन्।
दिउँसो फुर्सदको समय यसै बित्थ्यो। अहिले घरको काम र दुनाटपरी बनाउने दुबै काम सजिलै गर्न सकेको उनले बताइन्। गत महिना दुनाटपरी बेचेर समूहका प्रत्येकलाई १८ हजार रुपैयाँका दरले वितरण गरेको समूहकी एक सदस्य रोजनी थापाले बताइन्।
समूहकी अर्की सदस्य ममता विष्ट बानिँयाका अनुसार यो समूहबाट ४० जनाले दुनाटपरी बनाउने तालिम लिएका थिए। ती मध्ये ३० जना समूहमा सक्रिय छन्।
उनका अनुसार यसअघि दिदीबहिनी एक ठाउँमा जम्मा भएर काम गर्दा आपसरी आत्मीयता पनि बढेको छ। पैसा आउने काम पनि भएको छ।
‘हामी एउटै परिवारभित्रका दिदीबहिनी जस्तै भएका छौँ। हाँसोठट्टा हुन्छ। रमाउने, एउटाको दुःख अर्कोलाई पोख्ने अवसर पनि मिलेको छ,’ ममताले भनिन्।
प्रतिक्रिया दिनुहोस्