प्रिमियर कप खेल्ने टोली घोषणा : सन्दीप अटाए, आरिफ अटाएनन्
एसीसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।
एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले मंगलबार रोहितकुमार पौडेलको कप्तानीमा नेपालको १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।
एसीसी प्रिमियर कप चैत ३० देखि ओमानमा हुँदैछ। टोलीमा रोहितसँगै कुशल भुर्तेल, आशिफ शेख, गुल्शनकुमार झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल र प्रतिश जीसीले निरन्तता पाएका छन्।
उनीहरूले गत वर्ष नेपालमै भएको प्रिमियर कपमा पनि टोलीमा स्थान बनाएका थिए। यस्तै, सन्दीप जोरा, अनिलकुमार साह र विवेकुमार यादवले टोलीमा स्थान बनाउँदा आरिफ शेख र भीम सार्की भने टोलीमा अटाएका छैनन्।
यस्तै, युवा बलर आकाश चन्द पनि १४ सदस्सीय टोलीमा अटाउन सकेनन्। टी–२० फर्म्याटमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरब छन्। समूह ‘बी’ मा आयोजक ओमानसहित यूएई, कुवेत, बहराइन र कम्बोडिया छन्।
नेपालले समूह चरणको पहिलो खेल मलेसियासँग ३० चैतमा खेल्नेछ। यस्तै, दोस्रो खेल कतारसँग १ वैशाख, तेस्रो खेल हङकङसँग ३ वैशाख र चौथो खेल साउदीसँग ५ वैशाख खेल्नेछ।
समूहमा शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल ७ वैशाखमा हुने छ। सेमिफाइनल जित्ने दुई टोलीले ९ वैशाखमा फाइनल खेल्नेछन्।
यो प्रतियोगिता जित्ने टोली सन् २०२५ मा टी–२० फर्म्याटमा आयोजना हुने एशिया कपमा पुग्नेछ। शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्