प्राधिकरणले भारतमा शुरु गर्यो विद्युत निर्यात

नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी दिए ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- नेपाल विद्युत प्राधिकरणले शनिबार रातिबाट भारतलाई विद्युत निर्यात गर्न थालेको छ।
- प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले पानीको बहाव बढेसँगै विद्युत उत्पादन बढेको बताए।
- नेपालले यस वर्ष भारतबाट एक हजार मेगावाटसम्म विद्युत आयात गरेको र निर्यात बढी भएको जानकारी दिइएको छ।
७ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी दिए ।
शनिबार राति २ सय मेगावाट विद्युत निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको उनले बताए ।
केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत निर्यात गर्न थालेको हो । भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत भएको छ ।
नदीमा पानीको बहाव बढेसँगै नेपालको पिक लोडमा हुने मागकै हाराहारीमा विद्युत उत्पादन भइरहेको प्रवक्ता सिल्पकारले जानकारी दिए ।
अहिले पिक समयमा १९५० मेगावाट विद्युतको माग छ । नेपालका आयोजनाहरूबाट १९२५ मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको उनको भनाइ छ ।
पिक डिमान्ड भएको समय र दिनमा भने अझै पनि भारतबाट विद्युत आयात भइरहेको छ । मंगलबार भारतबाट २ सय ७८ मेगावाट विद्युत आयात भएको उनले बताए ।
यो वर्षको सुख्या याममा नेपालले एक हजार मेगावाटसम्म विद्युत भारतबाट आयात भएको थियो । बर्खाका बेलामा नेपालले विद्युत निर्यात गर्दै आएको छ ।
गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युतको परिमाण बढी भएको थियो । अर्थात्, नेपाल खुद विद्युत निर्यातक बनेको थियो ।
कुन दिन कति निर्यात भयो विद्युत
शनिबार – २ सय मेगावाट
आइतबार – १७५ मेगावाट
सोमबार – १७० मेगावाट
मंगलबार – १५० मेगावाट
प्रतिक्रिया दिनुहोस्