प्रहरी धरपकडपछि राजावादी त्रसित

समाचार सारांश
- प्रहरीले धरपकड गरेपछि राजावादीहरू त्रसित बनेका छन्, कतिपय नेताहरू मोबाइल बन्द गरेर बसेका छन्।
- काठमाडौं महानगर क्षेत्रमा विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ, जसका कारण जनआन्दोलन समितिले बैठक बोलाएको छ।
- प्रशासनले चक्रपथ भित्र धर्ना, जुलुस लगायतका कार्यक्रममा रोक लगाएको छ, निषेधाज्ञा २ महिनासम्म कायम रहनेछ।
काठमाडौँ । प्रहरीले धरपकड सुरु गरेपछि राजावादीहरू त्रसित बनेका छन् । पक्राउ पर्ने डरले कतिपय नेताहरू मोबाइल फोन बन्द गरेर बसेका छन् । यस्तै सोमबारदेखि स्थानीय प्रशासनले काठमाडौँ महानगर क्षेत्र लक्षित विरोधका कार्यक्रम गर्न रोक लगाएको छ ।
बिहीबारदेखि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले अनिश्चितकालीन आन्दोलन सुरु गरेको थियो । तर, पाँचौ दिन आइपुग्दा सोमबार राजधानीमा राजावादीको कुनै विरोध प्रदर्शनका कार्यक्रम छैन ।




आन्दोलन समिति मातहतको निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्य पक्षबाट धरपकड सुरु भएको बताउँदै अब कसरी अघि बढ्ने भन्नेबारे समितिले आन्दोलनका कार्यक्रम सूचनामार्फत सार्वजनिक गर्ने बताइन् ।
आगामी कार्यक्रमकै बारमा छलफल गर्न सोमबार समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा राजधानीमा बैठक बसेको छ । बैठकले सोमबार राजधनीमा कुनै प्रदर्शन नगर्ने निर्णय भएको छ । बैठकपछि सुवेदीले जारी गरेको विज्ञप्तिमा आज राजपरिवारका सदस्यहरुको हृदयविदारक देहवसान भएको सबै नेपालीहरुको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु केही नगरिएको उल्लेख छ ।
विज्ञप्तिमा आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रम गरिने समितिको भनाइ छ । यसबाहेक आन्दोलनमा कार्यक्रमहरु अन्य सूचनामार्फत जानकारी गराइने बताइएको हो ।
वर्तमान व्यवस्थालाई नै चुनौती दिने प्रयास स्वरुप गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजवादी र हिन्दुवादी संघ संगठनको सहभागिता रहेको छ ।
यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ भित्रका मुख्य सार्वजनिक स्थानहरूमा धर्ना, अनशन, जुलुस, सभा तथा विरोधका कार्यक्रमहरू गर्न नपाइने गरी निषेध गरेको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको निषेधाज्ञा आदेशमा सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि बालकुमारीसम्मको क्षेत्र तथा बल्खु क्षेत्रमाबाहेक अन्यत्र प्रतिबन्ध लागु हुने उल्लेख गरिएको छ।
चक्रपथ भित्रका स्थानहरूमा विरोध कार्यक्रम गर्दा सार्वजनिक सेवा र यातायातमा अवरोध पुगेको जनगुनासोका आधारमा सो निर्णय गरिएको प्रशासनको भनाइ छ ।
प्रशासनले अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न सक्ने सम्भावनालाई आधार बनाउँदै निर्णय लिएको स्पष्ट पारेको छ। साथै, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हुने विरोध कार्यक्रम भने गर्न पाइने व्यवस्था गरिएको छ। प्रशासनले यस्तो निषेधाज्ञाको अवधि प्रारम्भमा २ महिनासम्म कायम रहने पनि स्पष्ट पारेको छ ।
प्रशासनको सो आदेशअघि राजावादीले दिउँसो नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत पक्राउ परेका थिए । तर राति उनी छुटेका थिए । सरकारले राजावादीलाई धरपकड गर्ने नीति लिएको जस्तो पछिल्लो घटनाक्रमबाट देखिन्छ । त्यसबाट राजावादी त्रसित हुँदै नयाँ रणनीति बनाउन जुटेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्